सांकेतिक तस्बिर

आफ्नो देशमै केही गरौँ

  • डम्मर बम
डम्मर वम

नेपालको अस्थिर राजनीति, गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका लागि किशोर किशोरीहरूको गन्तव्य अहिले तेस्रो मुलुक भएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने परम्परासँगै अहिले कक्षा १२ पास पश्चात् किशोर किशोरीहरू उच्च शिक्षाका साथसाथै रोजगारीका लागि तेस्रो मुलुक जान थालेका हुन् । यो रहर नभएर बाध्यता भएको उनीहरूको भनाई छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षण अनुसार २०६९ फागुनसम्मको अवधिमा उच्च शिक्षा अध्ययनका लागि ५ लाख १३ हजार ६२ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जुन अनुपात आर्थिक वर्ष २०७०/०७१ देखि बढ्दो रहेको छ ।

एकातर्फ विदेश गएर उच्च शिक्षासँगै आम्दानी गर्ने र बाँकी जीवन उतै व्यतीत गर्ने अधिकांशको मनसाय हुन्छ नै । अर्कोतर्फ विदेशमा उच्च शिक्षा हासिल गरी नेपालमा त्यसको प्रयोग गर्न सकिन्छ भन्ने हेतुले उच्च शिक्षा सकेर स्वदेशमै रोजगारी गरिरहेका उदाहरण छन् । विदेशको शिक्षा र सिप प्रयोग गरेर राम्रो आम्दानीको श्रोत बनाएका मध्ये केहीसँग हामीले नवीन सन्देशका लागि कुरा गरेका छौँ ।

दिपिका शर्मा,
अफिस म्यानेजर, प्रोजेक्ट म्यानेजमेन्ट सर्पोट टिम
म २००९ मा बेलायत गएको थिएँ । सामान्यतया भन्नुपर्दा आजभोलि नेपालमा कक्षा १२ पछि विदेश पढ्न जाने संस्कार नै बसिसकेको छ । उच्च शिक्षाका लागि बाहिर गएर अध्ययन गर्ने मनसाय बनाएँ । नेपालमा स्नातकसम्म पढेको थिएँ । पाँचौँ सेमेष्टरको पढाइ रोकेर बेलायत पढ्नका लागि गएँ । विशेष कारण भन्नुपर्दा पढाइको साथसाथै पैसा कमाउनु पनि थियो । विदेशमा धेरै पैसा कमाउन सकिन्छ र अभिभावकलाई पनि सहयोग गर्न सकिन्छ र आफुपनि आत्मनिर्भर हुन सकिन्छ भन्ने मलाई लाग्छ ।

बेलायत निकै राम्रो देश रहेछ । त्यहाँको संस्कार एकदमै शान्त लाग्यो । मान्छेहरू आत्मनिर्भर छन् । त्यहाँको सरकारले जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य, वृद्धवृद्धाहरूलाई केयर होम र बेरोजगारहरूलाई खाना बस्ने व्यवस्था गरेको छ । मैले बेलायतमा स्नातक पोष्ट ग्र्याजुएट गरेँ । त्यहाँको विद्यार्थी जीवनका बारेमा भन्दा सामान्यतया युवाहरू विद्यार्थी युनियनमा आबद्ध हुँदैनन् र आन्दोलन पनि गर्दैनन् । यदि गर्नैपर्ने अवस्था आएमा सभ्य तरिकाको नारा हुन्छ र सरकार पनि छिटो भन्दा छिटो समस्या समाधान गर्नतिर लाग्छ ।

हामी नेपालीहरूको वैदेशिक भूमिमा गइसकेपछि बाँकी जीवन उतै बिताउने मनसाय हुन्छ । बेलायतमा सेटलमेण्ट भिसाको लागि १० वर्ष बस्नुपर्ने हुन्छ । त्यहाँको आम्दानी थोरै छ । मेन्टेन गर्न गाह्रो छ । मलाई बेला बेलामा यसरी कति वर्ष बस्नुजस्तो लाग्थ्यो । १० वर्ष पुर्‍याउन अझै ४ वर्ष बाँकी छ भन्ने तनाव थियो । त्यहाँ एकदमै अनुशासनमा बस्नुपर्ने हुन्छ । कलेज निरन्तर जानुपर्ने अनि खर्चको लागि जागिर गर्नुपर्ने हुन्छ । त्यसैले ६ वर्ष कडा मेहनतको तालिकामा बस्दा बस्दै तनाव जस्तो भयो । त्यहाँ बस्दा फाष्ट फुडमा अनलाइनबाट अर्डर लिने काम गरेँ । त्यसपछि प्रशिक्षक क्रुको रूपमा काम गरियो । जस बापत मैले प्रति घण्टा छ पाउण्ड १० पैसा पाउँथे अन्य नगदमा पनि काम गर्थे । प्रत्येक कलेजमा सेमेष्टरको साढे चार सय पाउण्ड, कोठाको भाडा ४ सय पाउण्ड खाना हप्ताको ५० पाउण्ड, यातायात २० देखि २५ पाउण्डसम्म खर्च हुन्थ्यो । खर्च व्यवस्थापन गर्न एकदमै मुस्किल हुन्छ त्यहाँ नेपाली विद्यार्थीहरूलाई ।

बेलायतमा एन्म् को पढाइ सकेँ । अब एमबिए बरु नेपालमा नै गरौँला भन्ने सोच आयो । बेलायत नबस्ने खालको निर्णय गरेर नेपाल आएँ । आज म नेपाल आइसकेपछि आफ्नो देशमा बस्दा आनन्द महसुस गर्छु । हाल एउटा कार्यालयको अफिस म्यानेजरको रूपमा कार्यरत छु । अर्कै खालको सन्तुष्टि महसुस हुन्छ, आफ्नो देशमा बस्दा । दुःख सुख गरेर पढेकोले नोकरी पनि छ । आफ्नो जीवन बाँच्नका लागि म पैसालाई मात्रै महत्त्व दिन्न । आफूलाई पुग्ने छँदैछ । ज्यानै फालेर दुःख गर्नुभन्दा नेपालमै आनन्द लागेको छ । अर्को कुरा आफ्नो देशमा एक्लोपन हुँदैन । पारिवारिक र सामाजिक जीवन हुन्छ । तनाव लिने भनेको आफ्नो सोच पनि हो । यदि जे छ त्यसमा खुसी हुने बानी छ भने नेपाल जत्तिको आनन्द अरू कुनै ठाउँमा छैन ।

मैले आज यो निर्णय लिनसक्नु पनि आफ्नो जीवनको भोगाइले हो । जीवनमा धेरै महत्त्वपूर्ण कुरा भनेको अनुशासन हो । विदेशको संस्कृतिले मान्छेलाई जसरी पनि अनुशासनमा बस्न सिकाउँछ । समय, पैसा, परिवार साथी सबैको मूल्य गर्न सिकाउँछ । राज्यले पनि रोजगारीको राम्रो सिष्टम बनाएर आफ्नै देशमा सम्भावना दिनसक्यो भने कसैले पनि देश छोड्ने परिवार छोड्नुपर्ने अवस्था आउँदैन र छोडेर जाने इच्छा हुँदैन । हामीले हाम्रो देशका लागि जति सक्यो त्यति गर्नुपर्छ हाम्रो दायित्व पनि हो । देश बनाउन देशमै बस्नुपर्छ । सिप बाहिर सिकेर नेपालमा त्यसको प्रयोग गर्न सक्यो भने देशकै लागि राम्रो हुन्छ । त्यो किसिमको वातावरण सरकारले तयार गर्नुपर्छ ।

सुनिता थापा,
कन्सुलर, क्यालिबर कल्सल्ट्यान्सी
खासमा भन्नुपर्दा नेपालको अस्थिर राजनीतिका कारणले हो म उच्च शिक्षाका लागि बेलायत गएको । नेपालमा सैद्धान्तिक र घोकन्ते पढाइ हुन्छ । त्यसको तुलनामा विदेशको पढाई प्रयोगात्मक तथा अनुसन्धानात्मक हुने भएकोले धेरै ज्ञान तथा सिकाइ हुन्छ । जसबाट हामीलाई धेरै कुराको सिकाई हुन्छ । विदेशबाट उच्च शिक्षा हासिल गरेपनि नेपालमै केही गर्छु भन्ने सोच थियो नै । नेपालप्रति अगाध माया भएरै होला उच्च शिक्षा हासिल गरेर आफ्नो देशलाई केही दिन सकिन्छ की भन्ने मनमा हुटहुटी नै थियो । त्यहाँ बस्दा फाष्टफुडमा काम गरियो । जस बापत मैले प्रति घण्टा ६ पाउण्ड पाउँथे र कलेजको प्रत्येक वर्ष दुई हजार पाउण्ड, कोठाको भाडा ३ सय ५० पाउण्ड । खाना हप्ताको १ सय पाउण्ड खर्च हुन्थ्यो । मैले त्यहाँ छ वर्ष बसेर अध्ययन गरेँ । मार्केटिङ्गमा स्नातकोत्तर पास गरेँ । धेरै दुःख गरेर पढियाे, त्यहाँको अनुभव छुट्टै छ ।

म बेलायत पढ्न जाँदा नेपालमा पहिले शिक्षा प्रणालीमा ज्ञान र शिक्षा सिकाइमा केही कमजोरी थियो । बेलायतको बसाई र पढाइले अब त केही सिकाई भएको महसुस हुन्छ । आफ्नै देशमा केही गर्ने सोच बनाएको छु । पक्कैपनि आफूले सिकेका, भोगेका र हासिल गरेका कुराहरू नेपालमा व्यवहारिकरुपमा लागू गर्ने नै छु । सँगसँगै नेपाल सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैभन्दा पहिले सरकारी तथा प्राइभेट स्कुलको ट्याग हटाउनुपर्‍यो । सबै विद्यार्थीलाई समान व्यवहार गर्नुपर्‍यो, अनि स्कुल चलेन भनेर विद्यार्थीहरूलाई जुन घोकन्ते शिक्षा प्रणाली छ, त्यसलाई हटाएर प्रयोगात्मक पढाइमा बढी जोड दिनुपर्‍यो । विदेशमा जस्तै नेपालमा पनि निःशुल्क शिक्षा हुनुपर्‍यो । अर्को महत्त्वपूर्ण कुरा के हो भने विदेश जानेहरूका लागि जसरी बैंकले शैक्षिक कर्जा सहजै उपलब्ध गराउँछ त्यसैगरी नेपालमै पनि बसेर पढ्छु भन्नेहरूको लागि पनि शून्य प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा उपलब्ध गरिदिनुपर्‍यो । ताकी कुनैपनि गरिबका छोराछोरीले पैसाका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् ।

जब शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत कुरा निःशुल्क रूपमा उपलब्ध हुन्छ, पक्कै पनि देश साक्षर हुन्छ । स्वदेशमै आफ्नो परिवारसँग बसेर मान्छेले खुसी हुँदै काम गर्छ । अहिले विश्वव्यापीकरणको समय पनि हो । त्यस किसिमको सूचना प्रविधिमैत्री शिक्षा लागु गर्नुपर्‍यो । नयाँ—नयाँ आविष्कार हुँदैछन् । नेपालले पनि नवप्रवर्तनका काम गर्न सक्यो भने विकासको सम्भावना रहन्छ । मैले पनि विदेशमा उच्च शिक्षा हासिल गरेँ । आफ्नो देशलाई केही दिन सकिन्छ की भन्ने उद्देश्यले नेपाल फर्किएर आएँ । –नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस