आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । आज हरितालिका तीज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले तीज को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

बिहीबार दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, तीन सदस्य पनि नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.दडिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।आज …

प्रतिकृया दिनुहॊस