खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । त्यस्तै, नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना रहेको छ । भर्खरै जाजरकोट र पश्चिम रुकुममा ठूलो भूकम्प गयो । अहिले पनि बेला बेलामा नेपालको पश्चिम क्षेत्रमा भूकम्पका धक्का जाने क्रम जारी छ । नेपाल पूर्णरुपमा भूकम्पीय जोखिममा छ, डा. अधिकारीको विश्लेषण छ । प्रस्तुत छ- वरिष्ठ भूकम्पविद् डा. अधिकारीसँग गरिएको कुराकानी :-
जाजरकोटमा कार्तिक १७ मा ६.४ रेक्टरको भूकम्प गएको छ, यसलाई भूकम्पले दिएको सन्देश मान्न सकिन्छ ?
यसलाई भूकम्पको सन्देश मान्न सकिन्छ । नेपालमा जाने प्रत्येक भूकम्पले दस्तक दिइरहेका छन् । यो भूकम्पले हामीलाई सजग हुने अवसर दिएको छ । ६.४ रेक्टरको अथवा ५.२ को जतिपनि भूकम्पहरू गइरहेका छन्, यस्ता भूकम्पहरूले ती क्षेत्रमा भूकम्पीय जोखिम छ अथवा अर्को भाषामा यो ठाउँमा चाहिँ भूकम्प जाने शक्ति सञ्चित भएर बसिरहेको छ भनेर देखाउँछ । हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ ।
नेपालको पूर्व भन्दा पश्चिमी भाग भूकम्पीय जोखिम बढी भएको क्षेत्र हो ?
भूकम्पीय जोखिमलाई पूर्व, पश्चिम र मध्य नेपाल भनेर छुट्याउनु पर्दैन । सम्पूर्ण नेपाल नै भूकम्पीय जोखिममा छ । फरक यत्तिमात्रै हो की कहाँ ? कहिले ? कतिबेला ? कति रेक्टरको ? भूकम्प जान्छ भन्ने हो । पश्चिम नेपालमा विगत ५०० वर्षदेखिनै ठूलो भूकम्प गएको छैन । यो क्षेत्रमा बर्षौंदेखि नै भूकम्पको शक्ति सञ्चित भएको र अहिलेसम्म सञ्चित शक्ति जम्मा भइरहेको हुँदा अहिले रुचिको विषय भएको हो ।
छिटो छिटो भूकम्प जाने ठाउँमा केही सानो भूकम्प आउँछ । ढिलो भूकम्प आयो भने ठूलो जाने सम्भावना पनि बढेर जान्छ । जति ठूलो भूकम्प जान्छ, विनाश पनि ठूलो नै गर्छ । पश्चिम नेपालमा १५०५ मा ठूलो भूकम्प गएको रेकर्ड छ तर मध्य नेपालमा २०७२ मा ठूलो भूकम्प गइसकेको छ । भूगर्भमा युरेसियन प्लेटको मुनि रहेको इण्डियन प्लेट प्रतिवर्ष २ सेन्टिमिटर माथि सर्छ । हिमालयमा सिधै छिर्न नपाएपछि खुम्चिन्छ । यो प्रक्रिया धेरै भएपछि त्यो चट्टान चिप्लिन्छ । यस्तो खाले शक्ति सञ्चय भएर बसेको पश्चिम नेपालमा ५०० वर्ष भइसक्यो ।
गोरखा भूकम्प त्यति ठूलो स्केलको होइन । त्यो भूकम्पबाट चुरेदेखि हिमालयसम्मको पूरै शक्ति गएको छैन । अझैँपनि काठमाडौं मुनिको भागमा केही शक्ति बाँकी नै छ । ८ रेक्टरभन्दा माथिको भूकम्प गयो भने काठमाडौँ मुनिको शक्ति चुरे पुग्छ । यसले धेरै मानवीय र भौतिक क्षति पुग्छ । जोखिमका हिसाबले सम्पूर्ण नेपालनै भूकम्पीय जोखिममा छ ।
भूकम्पबाट सुरक्षित हुनलाई कस्तो खालको संरचना उपयुक्त हुन्छ ?
अहिले जाजरकोटमा गएको भूकम्पलाई हेर्दाखेरि भूकम्पले मान्छे मार्ने होइन । हाम्रो भौगोलिक अवस्थिति नै जटिल प्रकारको छ । भूकम्पले ज्यान लाने भनेको भौतिक संरचनाका कारणबाट हो । हामीले बनाएका संरचना जबसम्म बलियो हुँदैनन् तबसम्म भूकम्पबाट हामी बाँच्न सक्दैनौँ । जाजरकोटमा रातीको समयमा आउँदा सबै मानिसहरू घरभित्र भएका कारणले धेरै क्षति भएको हो । यदि सोही रेक्टरको गएको भए त्यतिधेरै मानवीय क्षति हुँदैनथ्यो ।
कच्ची घरहरू भएका ठाउँहरूमा बढी क्षति पुग्छ । सुरक्षित आवासको निर्माण गर्नु नागरिकको दायित्व हो । यसतर्फ ध्यान दिनु राज्यको पहिलो जिम्मेवारी हो । भूकम्पीय जोखिम भएको हाम्रोजस्तो ठाउँमा यससम्बन्धी पढाइ हुँदैन । बालबालिकालाई विद्यालयले टाउको लुकाउन र जोगाउन मात्रै सिकाएका छन् । सावधान कसरी हुने भन्नेबारे कतै चर्चा नै हुँदैन । सबैभन्दा पहिले बलिया संरचना बनाउनुपर्छ । यसतर्फ जति छिटो काम गर्न सक्यो उति ठिक हुन्छ ।
भूकम्पको पूर्व तयारीको लागि के गर्नुपर्ला ?
नेपाल भूकम्पीय जोखिममा भएको सबैलाई थाहै छ । स्कुल तहदेखिनै पाठ्यक्रममा भूकम्पसम्बन्धी विषयवस्तु समेटिनुपर्छ । अब सचेत हुने बेला आइसकेको छ । अहिलेसम्म गएको भूकम्पको क्षतिलाई हेर्दा सबै क्षति कमजोर संरचनाले गर्दा नै भएको हो । अब भूकम्पबाट हुने क्षति कम गर्नका लागि बलिया संरचनाको निर्माणमा ध्यान दिनुपर्छ । हालसम्म जेजे भयो । भयो, अब महाभूकम्पको चर्चा भइराखेको छ । यसको तयारी अबको आवश्यकता हो । नयाँ बनाउने संरचनाहरू सरकारी मापदण्ड बमोजिमका हुनुपर्छ । सरकारले यसमा कडाइ गर्नैपर्छ । पूर्वतयारीका लागि आजैदेखि योजना बनाउनु आवश्यक छ । पछि पछुताउनु भन्दा बेलैमा सोचका राम्रो ।
प्रतिकृया दिनुहॊस