काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल प्रिमियर लिग (NPL) का लागि आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। मंसिर १५ बाट सुरु हुने यो लिगले नेपाली क्रिकेटको उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसमा देशका साथै अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता रहनेछ।
क्रिकेटप्रेमीहरू अब सजिलैसँग खल्ती एप मार्फत अनलाइन टिकट खरिद गरी स्टेडियममा पुगेर आफ्नो मनपर्ने टोलीलाई हुटिङ गर्न सक्नेछन्। खल्तीले अनलाइन टिकटिङलाई सहज बनाएको छ, जसले गर्दा फ्यानहरू केही क्लिकमै टिकट ‘क्याच’ गर्न सक्छन्। लिगका हरेक खेलमा चौका, छक्का, र विकेटका रमाइलो मोमेन्टहरू प्रत्यक्ष रूपमा हेर्नका लागि फ्यानहरूको उत्साह बढिरहेको छ।
फ्यानहरूले खेलका टिकटहरू खल्ती एपमा सजिलै खरिद गर्न सक्छन्। लिगका खेलहरूका लागि साधारण टिकटको मूल्य रु ३०० र भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ। पहिलो दिन, प्लेअफ र फाइनल खेलहरूका लागि टिकटहरू चाँडै उपलब्ध हुनेछन्। साथै, फ्यानहरूले सबै खेलका लागि एकमुस्ट सिजन पास पनि लिन सक्नेछन्, जसको मूल्य साधारण पासका लागि रु ४,४८० र भिआइपी पासका लागि रु ८,२४० निर्धारण गरिएको छ।
NPL मा ८ टोलीहरू सहभागी छन्: विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स। लिगका खेलहरू TU अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा आयोजना गरिनेछन्।
क्यानका सचिव तथा पूर्व नेपाली क्रिकेट कप्तान पारस खड्काले खल्तीलाई टिकटिङ पार्टनर पाउँदा निकै खुशी व्यक्त गर्दै सबै फ्यानहरूलाई स्टेडियममै आएर समर्थन गर्न आग्रह गरे। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल टिकटिङमा अग्रणी खल्तीको साझेदारीले क्रिकेट फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे।
खल्तीले आफ्नो सेवा प्रारम्भको आठौँ वर्षमा प्रवेश गरेको छ र यसले डिजिटल सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। खल्ती एपको माध्यमबाट प्रयोगकर्ताहरूले बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, टिकट बुकिङ, बिमा शुल्क तिर्ने, र सरकारी राजस्व लगायतका सेवा प्राप्त गर्न सक्छन्।
अधिक जानकारीको लागि, क्रिकेट फ्यानहरूले खल्तीको वेबसाइट www.khalti.com/app मा जान सक्नेछन्।
प्रतिकृया दिनुहॊस