उडुससँग जुझ्न दक्षिण कोरियाको सङ्घर्ष, ५ करोड १० लाख छुट्याइयो

काठमाडौँ । दक्षिण कोरियाका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको सङ्क्रमणसँग जुध्न सङ्घर्ष गरिरहेको बताएका छन् । राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन् ।

दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ । दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय समुदायलाई आतङ्कित बनाएको थियो । गएको सेप्टेम्बरमा नै दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विश्वविद्यालयमा उडुसको सङ्क्रमण देखिएको थियो ।

मान्छे र जनावरको रगत चुस्ने उक्त परजीवीको सङ्क्रमणपछि पर्यटकहरू बस्ने आवास र एउटा सार्वजनिक ‘सोना’ घरमा देखिएको थियो । उडुसको डरले कैयौँ दक्षिण कोरियालीहरूले सिनेमा हलमा जान र सार्वजनिक बसहरू चढ्न छाडेका थिए । दक्षिण कोरियाको इडेली न्यूजले सउलकी बासिन्दा ३४ वर्षकी चोइले केही समयका लागि कपडाको खोलभएको सीट हुने रेल चढ्न छाडेको बताइन् । उक्त विवरण अनुसार उडुस अकस्मात् देखिनसक्ने डरले उनले आफ्नो घरभरी किटनाशक औषधि समेत छर्किएकी छन् ।

इडेली न्यूजले अर्का स्थानीयवासी सिओलाई उद्धृत गर्दै उनी आफ्नी प्रेमिकासँग केही समय घरमै बस्ने उल्लेख गरेको छ । हालैको प्रकोपभन्दा अघि दक्षिण कोरियाले सन् १९६० को दशकमा नै उडुसहरूलाई उन्मुलन गरेको ठानिएको थियो ।

उडुसको टोकाइले कस्तो समस्या निम्त्याउँछ
उडुसले रोग नसार्ने भएपनि यस किराको टोकेपछि बेस्सरी चिलाउँछ । त्यसलाई कम गर्ने प्रयास गर्दा घाउ हुनसक्छ जसले सङ्क्रमण वा चोट पनि निम्त्याउछ ।

पखेटा बिनाको उक्त परजीवी ओछ्यानमा बस्ने गर्छ र त्यसले ठूलो मानसिक पीडा समेत दिनसक्छ । उडुसकाकारण मानिसहरूले असहज र अप्ठेरो महसुस गर्नुका साथै सुत्न पनि डराउँछन् । सउलका मानिसहरू सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा गइरहेका छन् र उनीहरूले कुनै परजीवीले आफूलाई टोकेको या नटोकेको जाँच गराइरहेका छन् ।

सउल महानगरले करिब ३,२०० सार्वजनिक भवनहरूको सरसफाइ जाँच गर्ने भनेको छ जसमा होटल र स्नानघरहरू छन्। उडुस नियन्त्रण गर्ने उपयुक्त कदमहरूबारे छलफल गर्न सरकारले विज्ञहरूसँग पनि परामर्श गर्दैछ । सउलले भूमिगत रेल प्रणलाी, सब वे ,को कपडाका सीटका खोलहरूलाई तातो बाफले नियमित रूपमा सफा गर्ने योजना बनाएको छ । स्थानीय सञ्चार माध्यमहरूले अन्य सीटका खोलहरूलाई पनि हटाउने भनिएको जनाएका छन् ।

अधिकारीहरूले किटनाशक औषधीहरू प्रयोग गर्ने भनि गरेका निर्णयहरू विवादमा तानिएका छन् किनभने कतिपय त्यस्ता औषधि अप्रभावकारी देखिएको दक्षिण कोरियाली समाचार पत्र जूङआङले जनाएको छ ।

कति हानिकारक हुन्छ उडुस
सरसफाइका कारण साङ्लाको सङ्ख्या घटेकाले पनि उडुसको सङ्ख्या बढेको हुन सक्छ। साङ्लाले उडुसको सिकार गर्छ । उडुस मार्नैका लागि घरमा फेरि साङ्ला भित्र्याउनुपर्छ भन्ने चाहिँ हैन ।

उडुस हानिकारक हुन्छ । तर त्यसबाट हुने खतरा भौतिकभन्दा बढी मनोवैज्ञानिक हुन्छ । उडुसले दुःख दिन सक्छ तर यसले रोग फैलाउँदैन । उडुसले टोकेको हामीलाई मन पर्दैन तर त्यस्तो दुखाइ लामो समय रहँदैन । उडुसले आफ्नो खोल बारम्बार फेर्छ। यसले रगत चुस्छ र काला थोप्लाजस्ता दाग बस्ने गरी बिस्ट्याउँछ । मान्छेको गन्ध थाहा पाउँदा यो उत्तेजित भएर रगत चुस्न दौडिँदै आउँछ । अनि यो एक वर्षसम्म नै केही नखाई बाँच्न सक्छ । यी कुनै पनि कुरा हाम्रा लागि प्रिय छैनन् । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस