कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक

काठमाडौँ । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि-साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि-समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक-समीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए ।

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हैन, आम सामान्य मान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपी, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’

‘कवि तारकिणीले आफ्नै भूमिकामा ‘कविता आफ्नो हतियार’ हो भनेका छन् । प्रायः सबै मार्क्सवादीले यसो भन्छन् । त्यसैले तारकिणी मेरो छेउछाउ र मेरै स्कुलका कवि हुन् कि जस्तो लाग्यो,’ श्यामलले थपे, ‘राजेन्द्रका कविता आफ्नै शैलीका छन् । कवितामा आफ्नो निजत्व छ ।’

कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले भने, ‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु । कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०-१२ वटा कविता सम्झिएँ । त्यसैले यो कृति सफल छ ।’ उनले तारकिणीका कविता कुनै वादसँग जोड्नु आवश्यक नरहेको बताए । ‘तारकिणीका कविता उनको मनकै अभिव्यक्ति हुन्, ती कवितामा आफ्नै शैली भएकाले सफल छन्,’ उनले अगाडि भने ।

कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरूका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताए । उनले भने, ‘तारकिणीका कविता विम्बैविम्बले भरिएका छन् । दोहोरिएका विम्ब छैनन् ।’

कार्यक्रममा युवानेता माधव पन्तले कविबारे संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि शहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र हालको संघर्षबारे बताएका थिए । यसैगरी नेपाली साङ्केतिक भाषामा पहिलो शोध (थेसिस) गरेकी शिलु शर्माले साङ्केतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कवि-समीक्षक भरत कुमार साउँदले गरेका हुन् ।

कवि तारकिणीले ‘बिगन रामको मादल’ कृतिगत हिसाबले चौथो कृति रहेको र यसमा पछिल्लो एक दशक अवधिमा लेखिएका सशक्त कविताहरू सङ्कलित रहेको जानकारी दिए । उनले आफ्नो मन्तव्यमा भने, ‘हाम्रो पुस्ताले पछिल्ला कालखण्डमा ठुला त्रासदी र उथलपुथल भोगेको छ । दशवर्षे सशस्त्र द्वन्द्व, नयाँ संविधान निर्माणका क्रममा भएका राजनीतिक रस्साकस्सी, विनाशकारी भुईँचालो, भारतीय नाकाबन्दी, कोरोना महामारी आदि ! मैले कवितामा आम मान्छेका आवाजलाई उनेको छु, मेरो कविताको आवाज राज्यले सुनोस् भन्ने चाहन्छु ।’

आफू बाँचेको कालखण्ड झल्किने गरी आम साधारण मान्छेको आवाज मुखरित गर्दै लेखिएका तारकिणीका कविताले तत्कालीन समाज र समयको चित्र बिम्बित गरेको वक्ताहरूको निष्कर्ष थियो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ । जसमा ५४ कविता संग्रहित छन् भने पुस्तकको मूल्य ३०० रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस