कविता : बादल लागेपछि

  • महेशराज खरेल

हिजो आकाश खुलेको बेला,
हाँसेका थिए
हिउँ बोकेका सेता हिमालहरू
आस्था चुलिएर मनले
नाघेको थियो अस्मेलका पहाडहरू ।

निर्मल स्वच्छ आकाशमा
खुसीले जून रमाएको थियो
सौम्य धरतीको प्राङ्गणमा
एकत्वको हातले हात समाएका थिए,
स्वस्थ शीतल हावाको स्पर्शले
शरद्को फूल मगमगाएको थियो
वसन्तको आगमनमा
नयाँ पाउलाहरू पलाएका थिए ।

आकाङ्क्षाका पखेरुहरू
उड्न थालेका थिए माथिमाथि
हिजो दुष्मन ठानिएकाहरू सबै
आज गला मिलाएर
बनेका थिए आपसका साथी ।

मेरो मन खुसीले
नाचिरह्यो वरिपरि
दिल दिमागले कल्पियो
यस्तै रहोस् सधैँभरि
निष्ठाका फूलहरू
फुलुन सौम्य बगैँचाभरि

तर कहाँ सधैँ यस्तो हुँदोरहेछ र !
समयको गर्मीसितै
मनभित्र गुम्सिएका
पिरा रागहरू
धुवाँसरी निस्कन थाले
असन्तुष्टिका स्वरहरू
मैमत्ता र लालसा बिचको द्वन्द्वले
एक्कासि पैह्रो आयो
मनको पहाडी भित्ताहरूमा
विभाजनका रेखा कोरिए
प्रत्येक कित्ता कित्ताहरूमा ।

बेमौसमी कुसंस्कारको रापले
फुल्न लागेका फूलहरू मुर्झाए
शरद्का बगैँचाहरूमा
फल्न लागेका फलहरू झर्नथाले
हुरीबतास र असिनको चुटाईमा
यो कस्तो बेमौसमी प्रहार हो प्रकृतिको
बुझ्नै नसकिने प्रहार भैरहेछ अनिष्ठको
ब्यूँझिएर छामेँ मैले मनका सबै यन्त्रहरू
आकाशतिर हेरेँ
जून छैनन् आकाशमा
बादलले लपक्कै ढाकेर
हराएका रहेछन् सबै ताराहरू ।

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । …

प्रतिकृया दिनुहॊस