पानवाली बहिनीकाे क्यारेमबाेर्ड…(यात्रा संस्मरण-३)

  • महेशराज खरेल

गत हप्ताकाे निरन्तर…।

हामी हाटतिर लाग्यौं। बाटामा कहीँ भरखर धान काटेर पाँजा हालिएका, कहीँ धानका बिटा उठाउँदै गरेका, कहीँ वस्तुभाउ चर्दै गरेको, कही भने खेत बाँझो नै रहेको उस्तै थियाे परिवेश ।

“यी यति राम्रो उब्जनी हुने खेत जनबल नहुँदा यसरी बाँझै रहेको छ।”

मैले सम्झें वास्तवमा देशले रोजगारी सृजना गर्न नसक्दा देशका युवाहरु विदेशमा खुन पसिना बगाउन बाध्य छन्। प्रकृति प्रदत्त उत्पादन हुने धरती बाँझै छ। कहिले देशको मुहार फेरिएला, कसले फेरिदेला, म चिन्ताले सतायाे । विकासको शुन्यताले थिचिएको देशको तल्लो तहमै पूर्वाधार नपुर्याए गफाडिको गफ मात्र हुन्छ विकास , त्यही संकेत हो देशका युवाको रगत पसिनाले साटेको विप्रेषणमा विकासको स्याल हुँईया गर्नु ।

बाबु चिप्लिएर लडेछन् र अलि अलि माटो दलिएछ। भतिज चेतनले उठाए। बाबुको अनुहार मलिन देखियो। उसकी मम्मीले “विस्तारै हिँड है बाबु,, चप्पल गलाउने बानी छैन, चिप्लिएला भनेको होइन ?” भनेर कराइ्न्।

“केही छैन भाइ यहाँ यस्तै हो, भरे देखौंला नी, यहाँको हाट बजारमा कस्ता कस्ता झुत्रे झाम्रे, धुलै मैलै भएर आउँछन्” बाबु धुलो टक्टकाँउदै अगाडी बढे। हामी सबै हाटको वल्लो चोकमा पुग्यौं।

यो चोक,पहिले तास खेल्नेहरुको नामी चोक। हरेक दिन विहानै घरको चिया छोडेर यहाँको चिया पिउन, धाउने। घरको दूध बोकेर वा यसै पनि उमेरको खास अवधि नाघेका वा घरमा हेपेर काम ठगहरु सदा आउने।

ट्वान्टीनाइन, दच्काउने, किट्टी, जुटपत्ती, छपछपे, तासका विविध खेल, चियाको बाजीमा साझेदारीमा तास खेल्ने ठाउँ। सानो रकम, ठूलो रकमका बेग्ला बेग्लै खेल हुने। हरेक दिनजसो नै समाजका जेष्ट नागरिक वा घरमा हेपुवाहरुको भेला हुने गर्थ्याे यहाँ।आजकल पनि उस्तै रहेछ। चार वटा खटियामा झल्ला ओछ्याएर सोह्र जना र हेर्ने करिव १० जना जतिको जमघट थियो। उनीहरुले हामीलाई हेर्ने, देख्ने कुरै भएन । हामीले उनीहरुको यस्तो उत्कृष्ठ कार्यलाई अवरोध गर्नु पनि उचित थिएन।

हामी, यसै टहल्यौं, बाटामा दाईले चुरोट किनेर सर्काे लिन थाल्नु भयो। मेरो दिमाग उनै तासमा संसार नाप्ने र जित्ने अनि आफ्नो जेष्ट नागरिकको सगौरव परिचय बनाएका तर्फ अझ भनौं यीनको सहारामा युवासमेतको उपस्थितिप्रति केन्द्रित हुँदै विगततर्फ हठात विचरण गर्न पुग्यो।

पञ्चालयत काल थियो। राज्य पक्ष जनतालाई राजनैतिक सचेत हुन दिँदैनथ्यो। यसर्थ जनताका यस प्रकारका क्रिया तास खेल्ने, रक्सी पिउने लगायतका विविध अनुत्पादक गैह्रकानूनी कार्य तर्फ लाग्दा प्रशासन आँखा चिम्लिन्थ्यो। राजनैतिक कुरा गर्यो भने मामाघरमा यातना शिविरको पाहुना हुनु पर्दथ्यो । त्यसताका तल्ला टोलको सुवेदारको छोरो रण बहादुरले खुल्लमखुल्ला पञ्चायतको विपक्षमा मत जाहेर गर्दा सरकारी पाहुना हुन मात्र परेन एउटा खुट्टा र तीन वटा करङ नै काम नलाग्ने भएको घटनाले गाउँ थर्कमान भएको थियो। हुन त हरेक वर्ष जसो रणबहादुर जन्मिन्थे नै गाँउमा। नियन्त्रणले निष्ठा कुल्चेर मर्दैन, त्यो त, काप कापबाट चेप चेपबाट उम्रीन्छ अनि मौलाएर आँउछ।

फेरि अर्को मनले भन्यो भेट्ने कसरी ?, के उसले चिन्लिन् मलाई ? अनि के म चिनुँला उनलाई । अनि चिनीहाले पनि मेरो मनमा उत्पन्न चमेली प्रतिको मेराे भाव, झै त्यस्तै पन होला र उनमा ? उनले पहिले झै नै सत्कार साथ ब्यवहार गर्लिन्?

गाउँका मानिसको यस प्रकारका क्रियाले, कहिले घरमा विरामीका लागि औषधि लिन हिँडेका मानिस समयमा औषधि लिएर घर नआउने । स्कूलको बच्चाको फि भनेर वा जनवलको ज्याला भनेर बोकेको रकमसमेत तासमा हारेर सम्बन्धितलाई समयमा नदिँदा र पाउनेले समयमा नपाउँदाको अप्ठेराे अवस्थाले विश्वसनियतामाथि नै प्रश्न चिन्ह लाग्थ्याे। अझ भनौं तासमा समय गुजारेर ,पैसा पनि हारेर औषधि नलिई घर आँउदा औषधिको आसमा बसेको बिरामीले औषधि नपाएर सिकिस्त हुँदा वा स्कुलकाे शुल्क समयमा नतिरेका कारण वच्चालाई स्कूलले क्लासमा छिर्न नदिँदा समाजका प्रतिष्ठित भनाउँदाहरुको सचित्र जीवनचरित्र उतारिदिन्थ्यो। अझ कहिले काहीँ पैसा हारेको झोक र विहानदेखिको खाली भएको पेटले रिसाएको पुरुष घरमा खाना कुरिरहेकी श्रीमती भोकै एक्लै कामको चटारोले थकित भएको अवस्थामा पनि लोग्नेको घुक्र्याइँमा पर्दा मर्दको पाइन विचित्र ढंगले स्थापित हुन्थ्यो। भए भरका भाँडा बटुकाको बाजा बज्थ्यो। महिना दिनसम्म थला पर्थी निर्दोष श्रीमती।

अनावस्यक रुपमा उधारो चिया र नास्ता खाएर घरको खाना फालेर, सिजनको फसलको एक हिस्साको हिसाब नै घरमा नभित्रिँदा बाह्रै महिना २४ सै घन्टा घरको काम र फसल स्याहारमा लागेका महिलाहरुको आर्थिक परनिर्भरताले कुरीकुरी गरेको प्रष्ट देखिन्थ्यो। अझ बच्चाले समयमै स्कूलको फी, नयाँ क्लासका पुस्तक, कापी , कलम र मसी, अनि नयाँ नाना माग्दा पाएकाे खप्पीले बिक्षिप्त बच्चाको मनोदशा हेर्न लायक हुन्थ्यो ।कैयौंका घरमा श्रीमती टिक्न नसकेर भाग्ने, अर्कै घरबार गर्ने घटना नभएका पनि होइनन् । एक चोटी स्वास्नी गुमाएको लोग्ने मानिसले जति कोशिस गर्दा पनि अर्की स्वास्नी भेटने कुरा प्रायः असम्भव थियो । यस्ताे अवस्था हुँदा पनि कहिल्यै चेत आउँदैन थियो वीर पुरुषहरुलाई। आज पनि यस्ता क्रियामा कुनै परिवर्तन भेटिएन।

मैले आफैंलाई नापे, कुनै ताका म आफैं पनि यही क्रियामा संलग्न नभएको कहाँ हो र? धन्य मैले यहाँ रोजगारी नपाएको कारण निबृत्त हुन पाएँ। नत्र मेरो पनि खेलाडि नम्बर सायद यिनकै कुनै स्थानमा स्थापित हुने पक्का थियो !

हिजो पञ्चायतका कारण भनिएको यस्तो क्रिया, आज बहुदल, लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि सामाजिक जागरुकतामा खासै भिन्नता नहुनु, भनेको परिवर्तनको राप र ताप तलसम्म नपुग्नु वा माथि नै सेलाउनु हो भनी बोध गरेँ मैले ।

हामी मुल बजारमा पुग्न लागेका थियौं। बाटामा हाट बजारमा आआफ्नै पहिचानसहितका पोशाकमा सतार्नी, झाँगर्नी, सतार, भाँगरहरु आ-आफ्ना घरेलु उत्पादन,लिएर बजार गैरहेका थिए। नवयौवना सतार्नी, झाँगर्नीको पहिरनबाट चिहाएको वा प्रस्फुटित भएको यौवनाङ्गलाई चिहाएर धित मार्ने उरन्ठेउला केटाहरुको हर्कतले कतिपय अवस्थामा लज्जाबोध गराउँदथ्यो। के…गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हुन्थ्यो । उरुन्ठेउला केटाहरु भने काम नभए पनि हिला धुलामा यही नजर रोमान्सका लागि लामो बाटो नाप्थे भोको पेटले।

हामी मुल चोकमा गुग्ने वित्तीकै ठूली दिदी (बढोवुवाकी छोरी) सित भेट भयो, उहाँको घर नै त्यही थियो। नमस्कार, आदान प्रदान पछि दिदीले घर तर्फ जाने ईशारा गर्नु भयो, हामी सबैलाई ।

मैले भनें “दिदी यिनीहरु जान्छन् भने लग्नु, दाइको के छ ? म चाँही यसो साथीभाईसँग एक सरो भेटु क्यार ?” दिदीले भन्नु भयो “तिमी दाजुभाई आफ्नो काम सकेर आउ, यिनीहरुले के हाट हेर्छन र? राजधानीका बासिन्दा, हेर्नुपरे यही बरन्डाबाट सबै भ्याई हालिन्छ। यिनीहरु यतै बस्तै गर्छन्, म खाजा बनाउँछु। बरु छिट्टै आउनु। ”

दिदीको कुरा सबैले स्वीकार्यौं, श्रीमतीजी र केटाकेटी दिदीकोमा गए । दाइ आफ्नो काम तर्फ लाग्नु भयो। म बजारमा कहिले यो छेउ त कहिले त्याे छेउ गर्दै रहे। भेटिएका साथीभाइ सित भलाकुसारी गरेँ। कति साथीभाइको चिया पिइयो, कतिका प्रस्ताव भरखर पिएको भन्दै फुत्किएँ।

मेरो ध्येय थियो पानवाल्नी चमेलीलाई भेट्ने। कस्ती भएकी होलिन् उनी अहिले । उनको विवाह भएको त उतिखेरै सुनेको हो। हाँस्दा सुन्दरता देखाउन सुनले मोरिएको दाँतको चमक अझै छ कि छैन। केटाकेटी कति भए होला उनका । एक मनले भन्यो के सरोकार र उनका अन्य कुरा सित मलाई। म त उनै पुरानी हिस्सि परेकी, हँसिली, रसिली, कसिलो जीउकी डालिली आकर्षक उस्तै राता पोटिला गाला भएकी चमेली भेट्न चाहान्थें। हाँस्ताको उनकाे बान्की परेको हँसाइलाई साथ दिने सुन ठोकेको दाँत र देब्रे गालाको डिम्पल एक पटक हेर्न चाहान्थें। पहिले जसरी नै मन खोलेर खितितिति हाँसेर हात समाएर अपनत्व जाहेर गरेको महसुस गर्न चाहान्थें।

फेरि अर्को मनले भन्यो भेट्ने कसरी ?, के उसले चिन्लिन् मलाई ? अनि के म चिनुँला उनलाई । अनि चिनीहाले पनि मेरो मनमा उत्पन्न चमेली प्रतिको मेराे भाव, झै त्यस्तै पन होला र उनमा ? उनले पहिले झै नै सत्कार साथ ब्यवहार गर्लिन्? ,वा समयको बहावले उछिट्याएर निख्रिएकाे अपनत्व मरुभूमी झै बनेको निरस जीवन र रस निख्रिएको सुस्क पन मै उनी रुमली रहलिन् ? फेरि हामी दुबै आ-आफ्ना परिवार भएका मानिस, के साईनाले भेट्ने उनलाई ? के भन्ने ? उस्ले वास्तै गरिनन् भने ? वा यत्रो वर्ष एक पटक पनि देखा परेनौ त भनिन् भने ? के भन्ने ?

फेरि कसैले मैले चमेलीलाई खोजेको थाहा पाए वा घरकाले बुझे भने मेरो अन्तस्करणको चाहा ? , के हुन्छ गति मेराे । म के भनेर सफाई दिन सकुँला ? होस् बेकारमा वास्तवमा म किन भेट्ने र उनलाई ? यो मनको बेग र ब्यथा मात्र हो, यसको कुनै न मर्म छ न धर्म नै । मनको क्षणिक बेग नियन्त्रण गरे मेराे सकिगयो नि। आजसम्म यो मन आफ्नै ठाउँमा थियो , भएकै थियो। उहिले पो चुरोट, पान खाईन्थ्यो, अब त त्यो बाहाना पनि त सकियो नि। म के अब पान वा चुरोट किन्न खान सक्छु?, अहँ सक्दिनँ। त्यसो भए के बहानामा जाने त ?

मध्य हाटमा म यसै यताउती हेरिरहेको थिए । एक जना धुरमैलो लुगा लगाएको, आधा तालु खुइलिएको दारी जुँगा नकाटेको सायद २/४ दिनदेखि स्नान पनि नगरेको एक व्यक्तिले मलाइ ग्याम्म अँगालो हालेर “हैन तिमि शंकर हैनौं?’ भनेर पिठ्युमा धाप मार्यो। म चकित भएर उसलाई हेरें।

“हो त’ तिमी सुमन?’” भनेर उसलाई मज्जाले अगालोमा कसें । उसको शरीरबाट निस्केको अमिलो उच्छ्वासकाे भनक मेरो निमित्त आत्मिय सुवासना भयो। मैले निकै बेर उसलाई अँगालोमा कसी राखे। निकै लामो समय अन्तरालको आत्मियताको स्वास प्रस्वास हामीले एकापसमा साट्यौं।

“कति लामो समय पछि भेट भयो हाम्रो। सायद २५ वर्ष भयो क्यार। पोहर परार कहिले हो ? तिमी आएको सुनेर भेट्न गएको त तिमी गैसकेका रहेछौं। ठाने अब तिमी पनि शहरिया नै भएछौं।, कहिले आयौं ?” सुमनले एकसासमा भनि सिध्याए।

मैले मनमन मै उसले शहरिया भएछौ भनेको कुरालाई मनन् गरे र आत्मबोध गरें, साँच्चै म मा पनि शहरिया पनले जरो गाड्दै गरेको पाँए आफूमा ।

अनि भनें “सरि सुमन मलाई थप लज्जाबोध नगराउ। हिजो बेलुका आएको उस्ले सोध्यो “एक्लै ?”

“सेवा निवृत भएकोले सपरिवार नै हो । जागिरे जीवन सधैं ब्यस्त। आफूले चाहेर पनि भेटघाट गर्न नसकिने । अब त फुर्सद भयो, यसो पुराना ईष्ट मित्र, साथीभाई पुरानाे ठाउँथलोको सम्झनाले तानेर ल्यायाे।”

मैले यति बताएपछि उनले भने “साथी तिमी त जागिरे भयौ राम्रै होला, यी हामी त उस्ताको उस्तै ।“
मैले भने “हेर सुमन मन सानो गर्न हुन्न। तिमीहरु नै हामी सबका अन्न दाता हौ नि ।“

सुमनले के बुझे ,के विचारे कुन्नी? उनको थोतो भएको मुखको एक कुनाबाट खिस्स हाँसेर, मेरो हात कडा ढंगले समातेर पान खाने प्रस्ताव गर्दै पान पसल तर्फ डाेर्याएर लगे। मलाई मन भित्र ‘के खाेज्छस् कानो आँखो’ भयो ।

हाटको उत्तर पश्चिम कुनामा पानका लहरै तीनवटा घुम्तिहरु थिए। पहिले तिनका अगाडि अजंगका काठे वर र पिपलका रुखहरु थिए। हाल काटिएको कारण त्यहाँको सौन्दर्यतामा ह्रास आएको ठान्यो मेरो दिमागले। सुमनले छेउको घुम्तीमा मलाई लग्यो र पानको अडर दियो। घुम्तीहरुमा क्यारेम खेल्ने, पान खानेको पहिले जति पनि भिड थिएन। हामी उभिएको घुम्नी भन्दा उताका घुम्ती अगाडीका क्यारेम र पान पसलमा अलि बडि भिड थियो। हाम्रो अगाडिको थोत्रो बोर्डमा एक हल उमेर नाघेका देशका सम्मानित नागरिक झै लाग्नेहरुले भरखर गेम सिध्याएर खाली थियो। यो स्थान पहिले भन्दा अलि फरक भएको ठाँने मैले।

“पान कस्तो चल्छ हजुरलाई?“

एउटा महिला तिखो आवाजले मलाइ तान्यो। मेरो ध्यान उनी तिर गयो। गाडिएका चिम्सा आँखा, मासु सकिएको चाउरिएका गाला, हड्डीमा छाला टाँसिएको, निधारमा प्रश्नै प्रश्नका रेखा, हातमा छाला र नीला नसाको नक्सा नै छर्लङ्ग झै भएका, केही दाँत झरेर थोतोपनकी एक कुपोषणले ग्रसित झै लाग्ने अधबैंसे महिला, जिज्ञासा साथ मलाइ नै हेरेर हँसिरहेकी थिइन्।

“खासै आदत त छैन, तै पनि मीठा“ मैले यति के भनेको थिए,

सुमनले भने “चमेली तिमीले यी साहेवलाई चिन्यौ?“ चमेलीका तीखा नजर म मा परे, म मुस्कुराईदिएँ अनि यिनी चमेली नै भएको तथ्य सुमनको भनाईले प्रष्ट पारेको थियो। चमेली पनि पुनः मुस्काइन् । पानको पातमा खयर र चुना दल्दै गरेको उनका हात रोकिए। उनले आफ्नो हात लम्काएर मेरो हात जोडले समातेर भनिन् “ओ हो शंकर ? माथ्ला टोलको,?”

मैले हो मा शिर हल्लाई दिएँ।
राम ! राम !! राम !!! म त छक्कै परे त आज ,अन्त भेटेको भए त लु..मरिजाँउ हाेला चिन्नै नसक्ने “
म उनकाे विदिर्ण भएकाे शारीरिक अवस्थामा घाेत्लिन पुगेँ।

उनी भन्दै गइन् “हेर हेर कस्तो युवा जस्तो भरीलो, हन के खाएर यस्तो भईन्छ हँ? उही दाल भात तरकारी अचार हैन? हामीले पनि त्यही त खान्छौं नि? यी हाम्रा हालत हेर्नु त ! त्यस्तो हुइने भए त लु के खाँदा हुन्छ, म पनि खान्छु भनेर चमेली मस्तले हाँस्न पुगिन्।

हँसाइमा उनको पुरानै पारा थियो। पुरै मुख खोलेर,हाँस्दा सबै दाँत देखाउन । त्यसताका टम्म मिलेका सेता राम्रा दाँत भरिलो अनुहार आकर्षक भाव, मीठो बोलीकी चमेलीका साथ कुरा गर्नेको लर्काे हुन्थ्यो। म पनि त्यस भिडको एक पात्र थिएँ। आज भरखर त मैले उनै चमेलीलाई उस्तै रुपमा कल्पेको थिए नि ।

चमेलीको पुरानो बानी नै थियो , कोही चिनेको साथीभाई केहीदिन पछि भेट्दा उनी हात समाएर खुशीदिलले हाँसेर कुरा गर्दथिन । उनमा रतिभर अन्य भाव लुकेको पाईंदैनथ्यो। आज यत्रो समयान्तरालपछि यतिका बिध्न परिवर्तनपछि अथवा भनौ उनकै पनि पन र तनमा परिवर्तनले गाज्दा पनि उनकाे सहृदयी पनमा कुनै खोट देखिएन, बरु उनको त्यो ब्यवहार जस्ताको तस्तै सग्लो महसुस गरे मैले।

चमेलीले हाँस्ता उनका गिजाबाट उछिट्टीएका केही दाँतको कारण थोतो भएको अनुहारमा पनि उनले जवानीमा देखाउन सुनले मोरेको दाँत र हँसाइको भावभंगीलाई साथ दिने देब्रे गालाको डिम्पलले भने उनलाई साथ छोडेको रहेनछ। हिस्सी पारेरै हाँसिन उनी ।

मैले गहिरो गरेर चमेलीलाई हेरें, उनी पनि गरिहिएरै मेरो भित्रसम्म पुग्ने कोशिसमा थिइन क्यार ! सुमनले भन्यो “चमेली पान बनाउने हैन“ चमेलीले मेरो हात खुकुलो पार्दै विस्तारै सुस्केरा छाडदै भनिन्।

“लु पोडे, होला, किरिया कासम होला, मैले चिन्ने भए त मर्नु धन्न सुमनले यहाँ ल्याएर कल्याण भयो” भन्दै पान बनाउन थालिन्। मैले र सुमनले पानको विडा मुखमा राख्दै पिचिक्क भुइमा थुक्यौं, “फेरी भेटौला शंकर, म अहिले लाग्नु पर्यो भनेर सुमन म बाट विदा भए।

चमेली दाँया हातमा एउटा चुरोट लिएर देब्रे हातले मेरो हात समातेर चुरोट थमाउने कोशिसमा पाएर मैले भनें

“चमेली मैले चुरोट छोडेको जुग भइ सक्यो “ उनले भनिन् “यो मेरो मनको चुरोट हो ।“

मैले उनलाई निहारें। उनी विचित्रको भावमा मलाई नै हेरिरहे कि थिइन्। म किंकर्तब्यविमुड भएर उनको हातको चुरोट लिएर सल्काएँ। लामो समय अन्तरालको धुम्रपानले खोकीको को सकसकैे बिचमा पनि उनले मायाले दिएको चुरोट तान्दै धुवाँको मुस्लो उडाउँदै मैले सोधें,
“चमेली के छ, तिम्रो हाल खबर?

हँसाइमा उनको पुरानै पारा थियो। पुरै मुख खोलेर,हाँस्दा सबै दाँत देखाउन । त्यसताका टम्म मिलेका सेता राम्रा दाँत भरिलो अनुहार आकर्षक भाव, मीठो बोलीकी चमेलीका साथ कुरा गर्नेको लर्काे हुन्थ्यो। म पनि त्यस भिडको एक पात्र थिएँ। आज भरखर त मैले उनै चमेलीलाई उस्तै रुपमा कल्पेको थिए नि ।

उनले भनीन् “के हुनु छ र? सोचेको कुरा, चाहेको कुरा कस्को पो पुगेको होला र ? भन्छन् नि सोचेजस्तो हुन्न जीवन….भोगे जस्तो हुन्छ । बुढाे क्यान्सरले बिते, छोरो विदेशबाटै बुहारीको भयो । एउटी छोरी थिइ पिङकी उ हुईन्जेल यहाँको ब्यापार फस्टाउँदै थियो। चार वर्ष भयो, गाउँको गंगेसँग भागी। अहिले हेटौंडामा छन्। मेरो त टेक्नु न समाउनु। पसलको हालत देखि हाल्नु भयो । उतातिरका पसल्नी राम्रा जवान छन्, अझ नवदुलही पनि घुम्तीमै बस्छन्, बोर्ड पनि नयाँ नै छन्। नयाँका अगाडि पुरानाको के भाउ हुँदो रहेछ र खै? आखिर समय न हुँदो रहेछ, बलेको आगो न ताप्ने रहेछन् सबैले। निभ्न लागेको आगोमा के को राप र? वहाँ भन्नु हुन्थ्यो ।

“जीवन भनेको चर्खाको माल्काको गाँठो हो, त्यो घुम्दा वरीपरी नै घुम्छ।”
हिजो म कहाँ ग्राहकको भिड हुन्थ्याे, पिङकी गए पछि सुक्यो। अहिले उनीहरु कहाँ, सरेको छ, यति त रहेछ नि संसार। सबैले आफैंलाई हेर्ने हो क्यारे। “

मैले चमेलीका कति कुरा बुझें थाहा छैन । थाहा यति छ कि उनी जीवन भोगाइको आत्मानुभूति पोखी रहेकी थिईन म सित । मलाई त्यो पोख्न उपयुक्त पात्र ठानेर नै पोखेकी होलिन सायद उनले। म त्यो पोखिएको जीवनबोधको रस निहार्न सक्थ्यें, हेर्न सक्थें तर उठाउन सक्दिन थिएँ। मैले चुरोटको धुवाँ फुरुरुरुरुरु उडाउँदै माथि आकाश तिर हेरें, पर ….क्षितिजमा एक जोडा काग कावा खाँईरहेका थिए । सायद जीवनको रमाईलो अनुभुति साटासाट थियो तिनीहरुको । म फर्किएर बिस्फारित नजरले चमेलीलाई निहारे अनि निहार्रे पल्लो घुम्ती, वल्लो घुम्ती, पान पसल र क्यारेम बोर्डलाई। कहीँ भिडम्भीड कहीँ खाली ? मैले सम्झिएँ चमेलीलाई अनि चमेलीको विगतलाई ।

यही स्थानमा सबैभन्दा हँसमुख फरासिली सबैले रुचाएकी, सबैलाई समान ब्यवहार गर्ने खुल्ला मिजास र यौवनले उन्मत्त विगतकी चमेली अनि बिहानदेखि साँझसम्म प्रायः खाली नहुने उनको क्यारेम बोर्ड र घुम्ती पसल। अहिले आएर चमेली र चमेली झै नै जिर्ण त्यो क्यारेम बोर्ड अनि घुम्ती पसल, मानिसहरुका निमित निरस भएर हो कि चमेलीको समय सकिएर हो ? सबै उपेक्षित झै भान भयो मलाई । यसका बाबजुत पनि चमेली मुस्कुराउँदै केही थप बोल्न कोशिसरत थिइन्, आवाज गलामै अवरुद्ध भयो उनकाे । केही आशय साथ उनी मलाई निहार्दै बोल्न पुनः कोशिस गरिन किन हो कुन्नी उनको आवाज निस्किएन। घाँटी सफा गर्नै कोशिस गर्दै खा.. खा.. खु.. खु.. गरिन उनले आवाज निस्किएन। यसै बिष्मय भावकी चमेली केवल मलाइ नै हेरि रहेकी थिईन् ,,।मैले पनि अर्थको गहिरो भँगालो खोज्न चमेली र उनको बिष्मित भावलाइ निहाली रहे हेरिरहे……अनि पनि हेरिरहे…..र.. हेरि नै रहे……..।।।

याे पनि

पानवाली बहिनीकाे क्यारेमबाेर्ड (यात्रा संस्मरण-२)

पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस