- महेशराज खरेल ।
गत हप्ताकाे बाँकी…।
नानीले भोक लाग्यो भनेर केही खाने इच्छा देखाइन्। सबैको मतो मिल्यो, हामी एक फाष्टफुडमा पस्यौ। बाबुले आमाका लागि केही फलफूल किनेर ल्याए । खाजा पछि हामी पुनः यात्रा आरम्भ गर्यौं। नानी बाबूले आज बिराटनगर बसेर भोली मात्र रजनी जाने मत राखे । विराटनगर उनीहरुको मावली घर थियो । हत्त न पत्त श्रीमतीजीको समर्थन आयो, उनको त माइतीघर आउँदा आउँदै पस्न बस्न पाइने, कोसेलीपात बाँड्न पाइने, सबैको प्रशस्ती सुन्न पाइने, के चाहियो र उनलाई। मेरो लागि पनि ससुराली, लामो समयपछि आएको ज्वाईंराजा बेग्लै मेजमानको मज्जा।
आमाका कुराले सबैलाई झसङ्ग बनायो समय यत्रो बाँकी छ, रजनी सबेरै पुगिन्छ , कहाँ बिराटनगर बस्ने नि ? , उतै जाने ,आफ्नै घर । फोन गर, दाजुलाई रजनीमा। बिराटनगरबाट एक घण्टा त हो नी ? आफ्नो गाडी हुँदा त, कति छिटो हुन्छ हेरत आफ्नाे साधन हुँदा ।” भनेर मलाई आदेश दिनु भयो।
आमाको आदेशको अवज्ञा कस्ले गर्ने ? आखिर आफ्नाे रहर भन्दा ठूलाको कुरा शिरोधार्य गर्नु नै हाम्रो संस्कृति थियो। आमा हाम्री ठूली मात्र हुनुहुन्थेन, जीवनदाता र मान्य जननी हुनुहुन्थ्यो ।
मैले रजनीमा दाईलाई आउँदै गरेको जनाउ दिएँ। आमाले मुस्कुराउँदै भन्नु भयो ,
“हेर त मोवाइलले कति सजिलो भयो, ठाउँको ठाउँ बोल्न, भन्न सकिने। पहिले हामी सानो काममा पनि आ वा गर्न बिराटनगर धाउनु पर्थ्याे । हुलाक धाउनु पर्थ्यो , हरेक कुरामा कति दुःख थियो। अब त जे भा, पनि जमाना फेरियो।”
नानी,बाबु र उनीहरुकी मम्मी बिस्मित भावमा आमाका कुरा सुनिरहेका थिए , उनीहरुलाई त्यो जिन्दगीको कठिन जँघारबारे स्यालको कथा नै थियो।
हो त साँच्चै समयको गतिसँगै प्रविधिमा भएको बिकाशले आज संसारलाई साँघुरो गाउँमा रुपान्तरण गर्न सकेको छ। हिजो एकाघर परिवारका मानिस घरबाट हिँडेपछि घरकै पिँढीमा आईनपुगुन्जेल उसका बिषयमा घरकालाई र घरका बिषयमा उसलाई थाेरै मात्र पनि जानकारी हुँदैनथियो । मर्यो बाँच्यो दैब भरोसा, मानेर कुनै अलौकिक शक्त्तिमा आफूलाई समर्पित गरेर, आउने मानिसका लागि बाटाभरी आशाका दृष्टि बिच्छ्याउँदै दिन गनेर बिताउने समयको खोंचबाट आज हरेक क्षण हरेक पल संसारको जुनसुकै कुनाबाट पनि आफ्नो अवस्था बताउँन सक्ने स्तरमा हामी बिकास भएका छौं। प्रबिधिको यस चमत्कारिक बिकासलाई नमन गर्नै पर्छ। अन्य औधोगिक उत्पादन वा सामाग्री जस्तो बाटो हिँडेर आउनु पर्ने भए सायद हामी जस्ता पछौटे मुलुकका जनताले आजसम्म पनि यस प्रबिधिको कुरा सुनेका मात्र हुने थियौं। धन्न यसकाे गन्तब्य यात्राको गति, हनुमान पुत्र पवनको भन्दा लाख गुणा बढीरहेकोले हामी भाग्यमानी हुन सक्यौं।
आमाको आदेशको अवज्ञा कस्ले गर्ने ? आखिर आफ्नाे रहर भन्दा ठूलाको कुरा शिरोधार्य गर्नु नै हाम्रो संस्कृति थियो। आमा हाम्री ठूली मात्र हुनुहुन्थेन, जीवनदाता र मान्य जननी हुनुहुन्थ्यो ।
संचारको साधन नहुँदा मूख्य समाचारको माध्यम आकाशवाणीमार्फत् सम्प्रेषण हुँदा कसले के भन्छ ? कसले के बुझ्छ ?,कसलाई के संप्रेषित हुन्छ ? र कस्तो संचार उपयोग गरिन्छ ? को कठिन बिषयको कुरा गरि साध्य छैन। एक थोक भनेको अर्कोले अर्कोथोक सुन्ने । त्यसले अर्कै भन्ने , परिणाम अर्कै आउने। हिजो परेवालाई सन्देश बाहकको रुपमा प्रयोग गरेका हाम्रा पुर्खाहरुको कथा सुनेका हामी र गाउँमा छँदा एक बिहानको बाटो हिँडेर हुलाकलाई संचारको बिश्वासिलो आधार मानेको यो हाम्रो पुस्ता आजको प्रबिधि देखेर नतमस्तस्क छ।
संचारले आज मानिसको दैनिकी सरल र सहज बनेको छ। प्रायः सबैका घरमा टेलिभिजन र इन्टरनेट, टेलिफोन, हातमा मोवाइल त्यो पनि स्माटफोर्न, जसले संसारलाई मुट्ठीमा कसेर दिमागले हरेक क्रियालाई हरेक समय बिचरण र परीक्षण गर्न सक्ने अवस्था बनेको छ। गुण र अवगुण अथवा राम्रो र नराम्रोको मिश्रण नै संसार हो। कुनै पनि युग भनौं वा बिकासको चरण भनौं यी दुईको अन्तर संघर्षको परिणति नै हो। समाज प्रबिधिको यो बिकासले बनिबनाउ सामाजिक परिबेश र मान्यताबाट फुत्किँदै सामाजिक संजालको नाममा असामाजिक क्रियाका कारण कतिपय नकारात्मक परिणाम र अपसंस्कृतिका विकास भएका छन्, यसका वाबजुद पनि यो बिकासको उपल्लो प्राप्ति नै हो। यसका अवगुणहरु पन्छाउँदै गुणहरुको उपयोगले आधुनिक विश्वभित्र रम्नु रमाउनु मानिस मात्रको आजको अपेक्षित ध्येय हो।
सडकमा खासै भिडभाड थिएन। हामी बिराटनगरबाट पूर्व हानिएका थियौं। बाबुले काठमाडाैंमा राम्ररी हाँक्न नपाएको गाडी हँकाईको स्वाद यहाँ पनि फेरिरहेको आभास हुन्थ्यो। गाडीको गतिलाई नियन्त्रण गर्न आमा , बाबुलाई “अलि विस्तारै है बाबु , के हतार छ र अब पुगिहालिन्छ नि!”
भनेर गति रोक्न लगाउनु हुन्थ्यो। बाबु केहीबेर गति न्युन गरेर फेरि तेज गतिमा कुदाएकै हुन्यो।
सडकका दाँया बाया खेतहरुमा धान काटेर बिध्योनाझैं मिलाएका पाँजाहरु आराम साथ बिश्रान्त देखिन्थ्ये खेतभरि। कतै धानका पाँजा उठाएर बिटाका बिटा टाउकामा, गाडामा ओसारी रहेका थिए मानिसहरु। मनको भाव पोख्न तरुना तरुनी आफ्नै लयमा, आआफ्नै भाषामा गीत गाईरहेका थिए । खाली खेतमा गाईभैसी बाख्रा पाठालाई दशैं लागे झैं तँछाड र मछाडको शैलीमा हरियो घाँस चरिरहेका थिए । कहीँ खेती नभएर बाँझा खेतका फाँटहरु लमतन्न लम्पसार परेर सुतेका देखिन्थ्ये। बेलुकीको ३ बज्न लागेको थियो। शिरिरिरि चिसो हावाको स्पर्स र सुगासहितका चराहरूको करवल ध्वनीले यात्रा सुखमय महसुस भएथ्यो मलाई । कहीँ कहीँ नयाँ फसलका निमित जमिन जोतेर बनेका साधु साधुनीका पोशाक झैं फुस्रो देखिन्थ्यो धरती। बाबु , नानी र उनीहरुकी मम्मीले नयाँपनको नयाँस्वाद लिईरहे जस्तो गरि एकापसमा मुखामुख गरेर हाँसिरहेका थिए।
यस्तै दृष्यहरुसाथ हामी नयाँबजार, कद्यमाहा, कर्सिया, भलुवा बेतौना हुँदै आम तोला पुग्यौं।आमाले सबै स्थानको नामसहितको परिचय फलाकी रहनु भएको थियो। आमतोलामा चिया खाएर जाने आमाको इच्छा र अगुवाईलाई देखेर नानी बाबु मुखामुख गर्दै गिज्याए जस्तै भावमा इशारा गरिरहेका थिए। साढे आठ दशक नाघेको शरिर, यति लामो यात्रामा किन्चित थकाई महसुस् नगरि, प्रफुल्ल देखिन सक्नु अन्तर आत्माको उर्जा नै त होला नी ? नत्र त आमाको अनुहारले हर्षको प्रकाश छरिरहेको थियो। आखिर मानिस आफ्नै प्रकारको आत्मबोधको आनन्दले सजीव रहन्छ र त, पहेंलो भैसकेका जीवनका लहरामा पुनः मुना पलाउँछ र हरियाली छाउँछ । मनै भित्रबाट जीवन बोधको निसृत भाव उत्पन्न आनन्दले उसका सारा थकानहरु क्षण भरमै बिलिन हुन्छन् र स्फुर्ति जागृत हुन्छ । यस्तै बोध भएथ्यो मलाई आमा प्रति।
हामीले आमतोलामा चिया पिईन्जेल रजनी तर्फका त्यहाँ उपस्थित सबैसित आमाले एकसरो भलाकुसारी भ्याउनु भयो । मैले पनि थोरबहुत साथ दिएँ। लामो अन्तरालपछिको आमाको सोधखोज निकै आत्मिय रह्यो। हामी आमतोलाबाट करिब पाँच किमी उत्तर रजनी तर्फ लाग्यौं। बाटो धुलाे र उवडखाबड भएका कारण गति सिमित गर्दै शिशा बन्द गर्नुको बिकल्प थिएन। हामी गाडीभित्रैबाट दृष्यावलोकन गर्न बाध्य भयौं।
हामी रजनी तल्लोटोल, दयानन्द टोल, सतारटोल हुँदै मन्द गतिमा गइरहेका थियौं। खेतमा उही धानका बिटा उठाएका ठाउँमा आइमाइ केटाकेटी शिला धान खोज्दै थिए। कोही जवानहरु मुसाले लुकाएको धान निकाल्न आली खन्दै थिए । दृष्यहरुसाथ विवेकेशिल जनावर मुसो, पछिको लागि अहिले नखाई संचित गर्छ । एउटाको कमाइ अर्कोले चोर्छ, अर्कोको संचिति अर्कोले लुट्छ। संसार सबैको हो, बहादुरले जहिल्यै र जहाँ पनि आफ्नो सत्ता स्थापित गर्दछ। संसारको नियती नै यही त हो । कानून त निर्धाका लागि बनाइएमा हुन्। बलियाले कहाँ कानूनकाे पालना गर्छन् र!
गाडाका गाडा धानका बिटा घरतर्फ लगिरहेका थिए किसानहरु, साथै कोही तरुना तरुनीहरु टाउकामा बिटा बोकेर दौडिरहेका थिए। जवान सतार्नीहरुको एकसरो यसो लाज छोप्न शरीरमा ओडाइएको कपडा आफ्नै हातले माथि बिटामा समाउँदा सोहोरिएर शरिरको माथ्लो लाज उदाँगो हुँदा पनि बेफिक्री गीत गाउँदै हिँडेका देखिन्थे। सबै कुरा समाजको विकास स्तर अनुरुप त हुने हो नी ?, हामीले सुनेका हाम्रा पुर्खाहरू लाज छोप्न, रुखका बोक्रा र ठूलाठूला पातको प्रयोग गर्थे रे , आज हामी त्यो देख्न मन पराउँदैनौं। उता पश्चिमाहरुमा, छोटा र पारदर्शी कपडाले उत्तेजना सृजना गर्ने होड नै चलेको छ भनिन्छ।
हामी रजनी स्कुल छेउ पुगेछौं। आमाले लौ, यो त रजनी स्कूल , यी यता पट्टी कडरियाको घर उता उ लाहुरे राईको, उता त्यो ग्वारको, लु लु एक छिन गाडी रोक बाबु भन्नुभयो। बाबुले गाडीलाई साईड लगाए र रोकेपछि हामी सबै गाडीबाट ओर्लियौं।
साँझको समय, मंसिरको महिना, गर्मी पछिको शितल हावाले मनभित्रैसम्म छिचोलेर पुलकित बनायो मलाई। म बिषरहित शितल हावाले तन र मन नै बेसरी नुहाइरहेको थिएँ । यस्तो भान भएथ्यो , शहर बजारको बिषाक्त्त बायुको आयु बिस्थापित गरेर संजीवनीयुक्त्त स्वास प्रस्वास लिइरहेको थिएँ। नानी बाबुको नाक र फोक्सोलाई सहज भएर हो कि के हो कुन्नी तिनीहरु पनि खुशीले गदगद थिए। उनीहरुकी मम्मीले पनि आन्नदानुभूति गरिछन् कि क्या हो, स्वास फेर्न कति सजिलो भएको सुनाइन्। आमाले त्यहाँ भएकाहरु सित सोधखोज दुखाई पिराई सोधी सक्नु भयो।
रजनी स्कुल जहाँ हाम्रा भाई बहिनीले पढेका थिए । छानो सबै खिया लागेर बिरुपको भएछ। मैले मन मनमै सोचें समयले सबैलाई बुढो बनाउँछ, परिवर्तन गर्छ र अन्त्य गर्छ तर समय भने सदा जवान रहन्छ। समय समग्र परिवर्तनको संवाहक हो र त सजिव जीवनस्तरले यसकाे मापन गर्छ। हामी सायद भाषाको परिवर्तन खाइरहेका छौं स्वादले । यस्तै के के सोच्दै हामी घरतर्फ लाग्यौं। स्कुलबाट घर झण्डै एक किलोमिटर टाढा थियो।
पूर्व जानकारीका कारण घरमा हामीसँग भेट गर्नेको संख्या राम्रै थियो। विशेषतः आमालाई भेट्न र श्रीमती अनि नानी बाबु नयाँ भएका कारण उनीहरुलाई हेर्न, अनि म सितको सामान्य भलाकुसारी उनीहरुको ध्येय बुझिन्थ्याे।
घरमा केही कोसेलीपात र स्तर अनुसारका साैगात आमाले सबैलाई बाँड्नु भयो। सबैले आमाप्रति श्रद्धा एवं आदर प्रकट गरे। हामीसितको भलाकुसारी केही बेर चल्यो। दुःख सुखका। रात छिपिन लागेकोले गाउँलेहरु आआफ्नो घरतर्फ लागे । हामीलाई पनि भाउजुले खानाको लागि बोलाउनु भयो ।
खाना खाइ सकेर हामी हाम्रो घरायसी कुरामा केन्द्रति भयौं। गाउँ नै खाली पारेर युवाहरु खाडीतर्फ लागेका कारण गाउँमा काम गर्ने मानिसहरुको अभाव रहेकाले कैयौंका खेतहरु बाँझो रहन पुगेको कुरा थाहा भयो। हाम्रोमा चैं धन्न जंगे झागर, खाडीमा विरामी परेर फर्केका कारण र उस्को परिवार नै हामीकैमा बसेकोले बाँझो हुन पाएन छ। त्यही जंगेलाई पनि फकाउनेको लर्काे ! पुरानो गुन सम्झेर साथ दिएको हो रे जंगेले ।
हामी रजनी तल्लोटोल, दयानन्द टोल, सतारटोल हुँदै मन्द गतिमा गइरहेका थियौं। खेतमा उही धानका बिटा उठाएका ठाउँमा आइमाइ केटाकेटी शिला धान खोज्दै थिए। कोही जवानहरु मुसाले लुकाएको धान निकाल्न आली खन्दै थिए ।
दाईले भन्नु भयो ।
“कसरी खेती गर्ने र खै? काम गर्ने मानिस एउटा पनि भेटिँदैन। सबै विदेशी खाडीमा गए। अब आफू मात्रले के सम्भव हुन्छ र ? बेचु भने एक मुष्ट किन्ने ग्राहक पनि पाइँदैन , भाउ पनि दिँदैनन्। यस पालीदेखि म यसै दुविधामा परेको छु।”
दाईको कुरा सुनेर आमाले म तिर हेर्नु भयो ।
मैले भनें, अब खेतीमा जनबलको समस्या भएको नै हो भने आफैंले गर्न सक्ने कुरा पनि भएन । बेच्नुको बिकल्प पनि त रहे न नि। एक मुष्ठ विक्री हुँदैन भने टुक्रा पारेरै भए पनि बेच्नु पर्यो।”
मेरो कुरा सुनेर दाईले पुनः भन्नु भो “राम्रो नराम्रो अलग अलग ठाउँमा छ, कसरी वेच्ने त ?” आमाले भन्नु भयो “अब सालाखाला बिके ठीकै छ,’ नत्र जसरी बिक्छ नि, मर्नु भएन त।”
आमाको कुरा नै सदर भयो। बिकेको बिक्री गर्ने गरी जग्गा बेच्न सबै सहमत भइयो। घरायसी समस्या हलको एउटा विधि सकेर हमी विस्तरा तिर लाग्यौं। आमा र भाउजु कुरा गरिरहनु भएको थियो। दिनभरीका थकानले होला मलाई निन्द्रा देवीले शरण लिएको पत्तै भएन।
विहानको करिव ४ बज्दै रहेछ। कुखुराको भालेले मेरो निद्रा टुटायो। म विविध सपनाबीच रमाइलो निद्रामा लिन रहेछु । ब्युँझे पछि थाहा भयो। श्रीमती जी र नानी बाबु अगाडिनै उठीवरी बाहिर निस्किएर बरन्डामा गानगान गुनगुन गर्दै थिए। बजारका अल्छेहरु गाउँमा फूर्तिला भएछन् भनेर म पनि बाहिर निस्किएँ।
राता राता आँखा सबैका। निन्द्रा नपुगे जस्तो निहाउरो अनुहार देखेर म जिज्ञासु बनें। गाईवस्तुको गोवर गन्हाएर सुत्न नसकेको कारण परेछ। यही त फरक छ नि फूल ब्यापारीलाई फूलैको बास्ना, सुगन्ध, सिद्रा ब्यापारीलाई सिद्राको नै सुगन्ध। अझ चिल, चितुवाको कुरो बेग्लै। बजारको विषाक्त्त परिवेशबिच सहजता साथ जीई रहेका शहरीयालाई गाउँमा पालित जनावरको गोवर दुर्गन्ध हुन पुग्यो। गाउँका मानिस शहर पुग्दा त्यहाँ पाउने दुर्गन्धको कुरै बेग्लै ।
मैले सबैको मनोदशा बुझेर भने “विस्तारै बानी पर्छ, यहाँ त गोवरले भुइँ तला, सिकुवा, आँगन, सबै अहिले झाँगर्नी माइलीले लिप्छिन, त्यतिखेर झन सुवासिलो होला तिमीहरुलाई ।” मेरो कुराले उनीहरु एक आपसमा हेराहेर गरेर खारखार खुरखुर नाक बजाउन थाले।
खेतमा निकै नै धान काट्न बाँकी रहेकाे देखियाे। म बाहिर निस्केर घरबाटै खेतकाे वल्लाे छेउदेखि पल्लाे छेउसम्म नियाल्न थालेँ।
विहानको चिसो एवं स्वच्छ हावाले मेरो शरीर चन्चल बन्यो। म स्नानघरमा छिरें। स्नानपछि म खेतमा टहल्न पुगें। भर्खर उदयमान सूर्यको किरण रातभरको शीतले लपक्क भिजेका धानका पहेँला बाला र धानका पातम उनिएका शीतका थोपालाई सूर्यका सुनाैला किरणले स्पर्श गर्दा उत्पन्न मनाेरम दृष्यले मोतीलाई लालित्य प्रकाशले चुम्दा झैं चम्चमाइ रहेका थिए। सररर चलेको शितल हावाको प्रवाहले सुनौला बाला बोकेका धानका बोटहरु लहर मिलाएर बगेझैं लाग्दथ्यो। आखिर प्रकृति न हो, सबै सृजनाको द्योतक। मानव जीवनले यही प्रकृतिको रमणियतालाई अनुकरण गरेर आफ्नो जीवन आनन्दित बनाउन सिकेको होला सायद।
चियापछि हाम्रा सामान्य गफगाफ भए । गाउँका मानिसहरु आउने जाने क्रम चल्दै थियो।
खाना खाइसके पछि दाइले भन्नु भयो ।
“आज सोमबार हाट लाग्छ, जाने हैन ? यहाँ रहेका पुराना साथीभाई सबै सित एकमुष्ठ भेट हुन सक्छ।”
दाइको प्रस्तावलाई मैले पनि स्वभाविक नै ठानें। मेरो मन चमेलीलाई सम्झेर कताकता उद्वेलित भयो, उनलाई देख्न अनि भेट्न । श्रीमती जी र नानी बाबु नयाँ ठाउँ हेर्न जाने भए । आमा आउने जाने इष्ट मित्रहरुसँग भेट र कोसेली वितरणमै बिताउने हुनु भयो। भाउजुले आमालाई साथ दिने हुनु भयो । भतिजीहरु पनि आमासँगै रहने भए। भतिजाहरु नानी बाबुलाई बजार देखाउन घुमाउन जाने भए।
याे पनि
पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)
क्रमश:…..
प्रतिकृया दिनुहॊस