पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

  • महेशराज खरेल

करिब ३० वर्षे जागिरे जीवनबाट निवृत भएपछि गाउँ जाने रहरको ढोका खुल्यो। नानी बाबुको कजेज छुट्टीले श्रीमती जीलाई पनि फुर्सद मिल्यो। आमा यसै फुर्सद हुनुहुन्थ्यो। उमेरले नेटो काटेको भए पनि (परार साल चौरासी गरे पछि स्वास्थ्य अझ सुध्रिएको थियो ।) आमामा घुम्ने र गफ गर्ने उत्साह रत्ति घटेको थिएन। यसरी सबैको एकैचोटी फुर्सद मिल्नु संयोग मात्र थिएन मेरा निमित एक सुन्दर अवसर पनि भयो।

अर्को कुरा निवृत कर्मचारी र उसका परिवारका तोकिएका सदस्यलाई एकातर्फी यातायात सुविधा जागिर गरिएको संस्थाले निःशुल्क दिने नियमको कारण पनि हाम्रो यात्रालाई प्रेरित गर्यो।

गाउँ जाने भनेपछि अघि आफूहरु बसेको ठाँउ, आफन्त, ईष्टमित्र साथीभाई सितको भेट रित्तो पार्न पनि भएन। विशेषतः आमाको तयारी अलि खँदिलो हुनु नै पर्दथ्यो। उहाँ गाउँमा सबैकी मान्य हुनुहुन्थ्यो। भेट्न आउनेलाई रित्तोहात बिदा गर्ने उहाँको चलन थिएन । किनमेलले पुरै ३ दिन खायो।

पाउन त एकातर्फी प्लेन टिकटै पाउने भएता पनि गाउँमा घुम्न अप्ठेरो हुने भएका कारण साधन आफ्नै गाडीलाई बनाउने निधो भयो। लामो बाटो भए पनि बाबु छोराले आलो पालो चलाउने सल्लाह गरियो।

हाम्रो गाउँ मोरङको रजनी, जहाँ धनीका नाममा सामन्त खासै थिएनन्। अलिअलि भएका पनि अलि पर नै थिए। बिशेषतः २०२४ सालमा झोडा फडनी गरेर आवाद गरिएके हे, रजनी। हामी झोडा फडनीकर्ता नभइ अरुले फँडनी गरेको जग्गा किनेर बसेका थियौं।

गाँउमा प्रायः आफन्तकै बसोबास थियो। जो पराया थिए ती पनि समय क्रम र ब्यवहारिक अन्तर घुलनले आफन्त बनसिकेका थियौं । सबैले सबैलाई प्रायः माथिल्लो पुस्तामा नाताले नै बोलाउने र तल्लो पुस्तामा भने नामले नै बोलाउने चलन थियाे।

हाम्रो यात्रा काठामाण्डौं कोटेश्वरबाट सिन्धुली (बीपी मार्ग) हुँदै जाने तय भयो। पहाडी बाटो भएकाले यता पट्टीको बाटो डोर्याउन म चालक सिटमा बसें। आमा अगाडिको सिटमा बस्नु भयो । नानीबाबु र उनीहरुकी मम्मी पछाडि बसे।

हामी भक्तपुरकाे सूर्य विनायक, बनेपा, धुलिखेल हुँदै भकुण्डेबेशीतर्फको रमाइलो खुल्ला मार्गमा यात्रा गरिरहेका थियौं। धुलिखेल मेडिकल कलेजमार्ग र नमोबुद्ध स्तुपासमेतको दर्शन गर्दै रमाइला घुम्ति र मोडहरु छिचल्दै , हरिया बोट बिरुवा र भुईघाँस हेर्दै, ठाँउठाँउमा यात्रुका निमित स्थापना गरिएका चिया खाजा ,पसल वा रेष्टुराँ हेर्दै रमाइलो साथ गुडिरहेका थियौं ।

गाँउमा प्रायः आफन्तकै बसोबास थियो। जो पराया थिए ती पनि समय क्रम र ब्यवहारिक अन्तर घुलनले आफन्त बनसिकेका थियौं । सबैले सबैलाई प्रायः माथिल्लो पुस्तामा नाताले नै बोलाउने र तल्लो पुस्तामा भने नामले नै बोलाउने चलन थियाे।

प्राकृतिक मनोरमले झकिझकाउ यस स्थान विशेषले हाम्रो यात्रालाई आनन्दित बनाइरहेको थियो। शहरको धुलो धुँवाले वाक्क भएका नानी बाबुले बेग्लै रमाइलो मानिरहेका थिए। आमा आफ्नै पारामा बाटा छेउका रुख बिरुवाको नाम सम्झँदै हातले देखाउँदै भन्दै सुनाउनु हुन्थ्यो। हामी यीनै रमाइला पल र क्षणबिच भकुण्डेवेशी पुग्यौं। चिया खाजाका लागि हामी केही बेर रोकियौं।

हामीले चिया नास्ता लियौं। आमाले घरबाटै आफूसित ल्याएका केही फलफूल खानुभयो। भर्खर सूर्यका किरणहरुमाथि हिमाललाई चुम्बन गर्दै सुनौलो रंग बोकेर पहाडका भित्ता पाखाहरूमा रमाइलो गरिरहेका थिए। हामी सुनकोशी नदी किनारको मार्गमा आफ्नै मनको सँगीत साथ मनकै लयमा गीत गाँउँदै दौडिरहेका थियौं। सूर्यका किरणहरु भीर पाखाहरुबाट सिलिलिलि खेल्दै ओरालो चिप्लिरहेका थिए। बिहानको शितल हावाको स्पर्स र सुनकोशी नदीको कलकल आवाजले प्रतिध्वनित हाम्रो मन चँगाझैं उडिरहेको थियो। पुलकित हाम्रो मनले सारा प्राकृतिक मनोरस सेवन गरिरहेको थियो।

हामी आफ्नो गन्तब्यमा एकपछि अर्काे स्थान छोडिरहेका थियौं अनि, एकपछि अर्काे स्थान भेटिरहेका थियाैं, टेकिरहेका थियौं । यस्तो लाग्थ्यो हाम्रो यात्रा दौडमा, सूर्यका किरणहरु हामीसित होडबाजी गरेर दौडिरहेका छन्। नदीको घुम्ती कुइनेटोमा कहिले हामी उछिनीरहेका हुन्थ्याैं, कहिले सूर्यका किरण । यो लुकामारी यात्राले मनै चन्चल बनेको थियो मेरो। यात्राको रौनक बढेको अनुभव भइरहेथ्याे।

आखिर प्रकृतिको लामो फड्कासित यी हाम्रा छोटा अनि साना प्रयत्नहरुले उछिन्ने कुरै थिएन। त्यो त एउटा मनको रमाइलो मात्र न थियो। सूर्यका किरणहरुले हामीलाई पछाडि छोडेर अगाडि बढी नै गए। हामी पछ्याउने र भेट्टाउने असफल प्रयत्नसाथ सपरिवारको यो पहिलो यात्रा दौडिरह्यौं। यहीक्रममा हामी सुनकोशी नदीलाई खुर्कोटबाट बिदा गर्दै सिन्धुलीतर्फ लाग्यौं।

सिन्धुलीको त्यो ऐतिहासिक किल्ला, हामीले धेरे पटक इतिहासमा पढेको। बीर बलभद्रले बीर नेपाली बहादुर र बीरंगना नेपाली चेलीको बलले, निष्ठाले, विश्व साम्राज्यबाद पराजित गरेको ठाँउ । यो ठाँउ हेर्ने लोभले सिन्धुलीगढीतर्फ लाग्यौं । यो स्थान देखेर हाम्रो मन आँशुले भिज्यो। त्यत्रो अँग्रेजसित लडेको र विजय प्राप्त गरेको स्थान, प्रजातान्त्रिक आन्दोलनका बिबिध आयाममा आफूलाई दर्ज गर्न सफल सिन्धुलीगढी जिर्णोद्वारको अभावमा अवशेष मात्रमा रुपान्तरण हुन पुग्नु दुःखद मात्र होइन लज्जाबोध पनि भयो मलाई। मैले सम्झिएँ हामीले लडेर ल्याएको प्रजातन्त्र र लोकतन्त्र, अनि सम्झिएँ परिवर्तनका निमित अगुवाई गर्ने नेतृत्व गणलाई र भन्न मन लाग्यो मलाई कठै हाम्रो देश अनि बरै हाम्रा नेता।

हामी सिन्धुलीगढीबाट बिस्मितभावमा सिन्धुली बजार तर्फ मोडियाैं। सिन्धुलीगढीको अवस्थाले बिरक्त भएको हाम्रो द्रबित मन, सिन्धुली मार्गको घुमाउरो मनमोहक मार्गले पखाल्न सहयोग गर्यो।जापान सरकारले एक लेन नै सही, बनाएर गरेकाे सहयोगले बिकासको मार्गको रुपमा बर्णित यो स्थानले मन नै रोमान्चित बनायो। आमा र बुहारीले बारम्बार गाडी रोकाउँदै बाहिर नै निस्किएर दृष्य अवलोकन र ब्याख्याले नानी बाबुहरूले पनि रमाइलो मानिरहेका थिए। राम्रा राम्रा दृष्यहरुमा आफ्नो फोटो मिसाएर क्यामेरामा कैद गर्न होडबाजी नै चलेको थियो सबैमा। सबै जना आज छुट्टै प्राकृतिक र मानव निर्मित मिश्रित साैन्दर्यको रसस्वादनमा लिन थिए । म सबैका मनको बिशाल फाँटमा उदाएको आन्नदको किरण आफैंमा आत्मसात गरिरहेको थिएँ ।

हामी सिन्धुली बजारमा पुगेर खाना खान थाल्यौं। आमाले आफैंसँग ल्याएको खानेकुरा खानु भयो। बाटाको होटलको खानामा सबैले स्वाद लिईरहेका थिए। मलाई भने पीरोले कन्चट तताईरहेको थियो ।

खानापछि भौगोलिक अवस्थिति, फराकिलाे बाटाे र कम चापकाे कारण बाबु ड्राईभर सिटमा बसे। म पछाडि परिवारसँग बसें। हाम्रो यात्रा सिन्धुलीबाट भिमानतर्फ लाग्यो। भिमान पनि प्रजातान्त्रिक आन्दोलनले चर्चित स्थान। यसकाे पनि हालत उस्तै थियो । बिरक्तिएको भिमानको सामान्य अवलोकनपछि हामी अगाडि बर्दिबास तर्फ लाग्यौं, जहाँ पूर्वपश्चिम राजमार्ग भेट हुन्थ्यो। हाम्रो यात्राले बर्दिबासबाट महेन्द्र राजमार्ग ग्रहण गर्यो र पूर्व तर्फ लाग्याैं। अनयास मेरो दिमाग आफ्नै बिगत र रजनीको परिवेशसित बिचरण गर्न पुग्यो।

हामी किसान परिवारका मानिस हौं। किसान पेशा आम नेपालीको आफ्नो पेशा हो। हामीले त्यसताका किसानले गर्ने सबै काम, हलो जोत्ने , कोदालो खन्ने , दाउरा चिर्ने, धान रोप्ने काट्ने, झाँट्ने , बताउने, थन्काउने, बेच्ने, परालको मचान बनाउने, पाटा गोड्ने काट्ने, झार्ने, तोप्ने धुने सुकाउने, बनाउने, गोरुगाडा राँगा गाडा हाँक्ने। कुटानी पिसानी मिलमा यिनै गाडाहरुबाट गर्ने। बजारको सौदा ल्याउने वा घरको फलन बेच्ने लगायत सबै काम गर्दथ्यौं।

हामी सिन्धुली बजारमा पुगेर खाना खान थाल्यौं। आमाले आफैंसँग ल्याएको खानेकुरा खानु भयो। बाटाको होटलको खानामा सबैले स्वाद लिईरहेका थिए। मलाई भने पीरोले कन्चट तताईरहेको थियो।

अझ त्यसताका भाइ र म धान रोप्न औधी छिटामा गनिन्थ्याैं। बहादुर हौं भन्ने रोपाहारलाई हामी परास्त गर्थ्यौं , मेलो बाँडेर रोप्दा । गाँउमा छिटा रोपाहार भनेर कहलिएका बागी र चित्री दिदी बहिनीलाई समेत धान रोपाईंमा परास्त गर्न सकेको पुरानो सम्झना ताजा बनेर आयो। उनीहरुलाई एक पटक मेरो मानसपटलमा स्मरण गरें मैले, कहाँ होलान् तिनीहरू अहिले ? के गर्दै होलान? कस्ता भए होलान्? अहिले भेट भए चिन्लान कि नचिन्लान्? के भन्लान्? त्यस ताका खुब लजाउँथे हामीसित उनीहरु, अझै लजाउँछन् की? प्रश्नले आफूलाई उही उमेरको उही परिवेशमा कल्पँदा मनै पुलकित हुन पुग्यो। जीवनका आरोह, अवरोह, सजिलो, अप्ठेरो, मिठो नमिठो, राम्रो नराम्रो, ठिटो बुढो लगायत सबैको एकमुष्टसँग म त रहेछ नि जिउनुको सार भनौं वा जीवन।

रजनीमा हप्तामा दुईपटक हाट लाग्छ। सोमबार र शुक्रबार। किसानहरुका दैनिक आवस्यक सामाग्री किन्ने वा आफ्ना खेत बारीको उत्पादन बिक्री गरि आर्थिक गर्जो टार्ने। हली गोठाला खेताला, रोपाहार, जन बन, आदिको ब्यवस्था गर्ने ठाउँ गाउँको हाट बजार । फुर्सदमा गफ गर्ने, आफ्नो पहुँच र पुरुस्वार्थ अरुलाई सुनाउने,सन्चो बिसन्चो आदान प्रदान गर्ने ठाउँ। शहर बजारका खै खबर बटुल्ने ठाउँ गाउँको हाट बजार। ब्यापारीले ब्यापार गर्ने थलो, तरुना तरुनीले एकार्कामा आँखा जुधाउने, नचाउने, मधुर मुस्कान छर्ने, हुन सके आफ्नो भबिष्यको बन्दो बस्तसमेत मिलाउने लगायतका काममा हाट बजार तत्कालिन समयमा राम्रो माध्यम नै मानिन्थ्यो। अक्कल झुक्कल राजनैतिक कुरा पनि चल्दथ्ये। पन्चायती ब्यवस्था भएकोले पन्चायत ईतरका राजनैतिक कुरा गर्न जोगिन पथ्र्यो। हाट बजारका कुना काप्चा ,त्यसका लागि उपयोगी हुन्थे। पन्चायतका गीत गाउन त जहाँ पनि स्थान नै स्थान र मन्च नै मन्च थिए। ईतर राजनैतिक कुरा गर्न पन्चायतले सुराकी छोडेको हुन्छ भनेर खासका बिच बाहेक कुरा हुँदैनथ्यो। कान थाप्नेहरुबाट जोगिएरै कुरा हुन्थे। घरभित्र नै पन्चायतले सुराकी राख्छ रे भनेर मानिस हाँसो पनि गर्दथे।

त्यस बाहेक पनि रजनी हाटमा मानिस भेला हुन आकर्षकको ठाउँ भनेको बर पिपलको छेउमा लहरै रहेका पान पसल र ती पान पसलेका क्यारेमबोर्ड थिए। लहरै बसेका तीनवटा घुम्तीहरमा , पान मसला, बिंडी, चुरोट, खैनी धुप , चक्लेट, मसिना बच्चाका खेलौना लगायत सामाग्रीका अलवा गच्छे अनुसारका संख्यामा क्यारेमबोर्ड हुन्थे। पान पसलको र क्यारेमबोर्डको अवस्था पसल चलाउनेको हान्की बान्की,चालढाल, हसमुख तौर तरिका लगायतका आधारमा बडी र कम चल्दथ्यो। जसकाे बडी चल्थ्यो घुम्ति पनि सामानले टन्न भरिएको हुन्थ्यो। खोजेको सबै सामान पाईन्थ्याे। क्यारेमबोर्ड पनि नयाँ हुनाको कारण सबैजसो मानिसको प्राथमिकता त्यतै हुन्थ्यो। त्यहाँ नपाउने मात्रले अन्यमा जाने गर्दथे। फेरि अरुबेला जे भएपनि गेम खेलेका बेला अर्कोको पसलबाट सामान किनेको राम्रो मान्दैनथिए घुम्तिवाल्नीहरु। उनीहरुको ग्राहक संकलनको माध्यम नै क्यारेमबोर्ड खेल थियो।

चमेली भर्खरकी नवयौवना। उमेरभन्दा शरीरले तरुनी बनेकी । मानिस थिई पनि त्यस्तै। सबैसित हँसमुख दिलदार। कसैलाई भनी नबिझाउने । बरु दुई कुरा आफैं सहने। हाँस्ता मज्जाले हास्ने, सबै दाँत देखाउने। उसकाे हँसाईको राैनक त अझ उस्को देब्रे गालाको डिम्पलले सिगारी दिन्थ्यो। उ हुर्कनु अघि उस्की आमा शोभालाई खानको नै धौ धौ परेको थियो रे भन्थ्ये मानिसहरु। आफ्नो पसल नचल्नु र अरुको पसल चलेको देख्दा अनयासै शोभा चमेलीको बिकास हुँदै गरेको शरीरलाई हेरेर आश्वस्थ हुँदै भन्थिन् रे, साह्रै लक्षणकी छ यो चमेली।

अर्को रोज्जा पसल थियो जुनेलीकी आमा सरिताको। पहिले सरिता आफैं रहँदा पनि राम्रै पसल चलाएकी, छोरी जुनेली हुर्किएपछि ह्वात्तै ग्राहक बढेका थिए रे सरिताको घुम्तिमा। तब त सरिताको हैन, जुनेलीको घुम्ति भन्न थालेका थिए मानिसहरु। जुनेली नभागीन्जेल सरितालाई खुब फापेको थियो घुम्ति र क्यारेमबोर्डकाे व्यापार। एक दिन सुनियो जुनेली पुसे सित भागि रे, भन्थे मानिस , नाक काटी त्यसले, सौतामाथि हाम फालेर। जुनेली भागेपछि सबै ग्राहक चमेलीतिर सरेको सुनाउँथे मानिसहरु।

अर्को पान पसल रमिताको थियो। अली काली भए पनि हिस्सी परेकी रमाइलो गर्ने स्वभावकी। उमेर अलि गुज्रिएका कारण अधबैंसेहरुको रोजाइमा पर्दथ्यो उनको क्यारेमबोर्ड।

म लगायतका ठिटाहरुको रोजाइमा चमेलीको क्यारेमबोर्ड पर्दथ्यो। हामीले अरुको बोर्डमा खेल्दा किन हो कुन्नी ? रिसाउँथिन् उनी। चमेलीको मिठो मुस्कान र अपनत्व पाउन हामी पनि धेरै काम छोडेर उनकै क्यारेमबोर्डमा खेल्ने पर्खाईमा कति काम बिग्रन्थ्यो हाम्रो। आज कस्ति भइन् होलिन् चमेली ? उस्तै फुर्का लगाएको रातो रिवनले चम्काएको उनको शिर एबम् उत्साहित मुस्कानले मानिसहरुलाई मुग्ध बनाएकै होलिन्। कता कता चमेली र उनको पान पसल अनि क्यारेमबोर्डले मेरा अन्तस्करणलाई छोयो।

रजनीमा हाट लाग्ने ठाँउमा ठूला ठूला बर र पिपलका रुख थिए । यिनै रुखलाई छहारी बनाएर चौतारो बनाएको थियो। चौतारोमा शितल ताप्ने, गफ गर्ने, चार्ड बार्डमा साँस्कृतिक कार्यक्रम, नाटक आदि देखाउने। अन्य बेलामा पान पसल र क्यारेमबोर्डको रमिता भ्याउने सबैको थलो। कहिले काहीँ राजनैतिक माहौल खुकुलो हुँदा पक्ष बिपक्षको राजनीति गर्ने थलो पनि यही थियो। जनमत संग्रहताका खुब राजनीति जमायो यस चौतारोले। जनमतको परिणाममा ४८ प्रतिशत मतका साथ बहुदललाई हराएको घोषणाले तत्कालिन जनमत बिभाजित मात्र होइन, गहिरो राजनैतिक चेतनाको बिजारोपण हुन पुग्यो। यसले पाएको मतले जनता रुपी थाँग्रोमा लहराउने अवसर पायो र चेतनालाई स्थायीरुपमा ध्रुबिकरण गर्न पुग्यो। अरु समयमा पन्चायती चुनाबको प्रचार गर्ने स्थान पनि थियो यो।

जनमत संग्रहमा बहुदललाई हराएर सुधारिएको पन्चायतले देश संचालान हुन थाल्यो। आखिर टालेको कोट, एकातिर टाले अर्को तिर भ्वाँग हुने नै भयो। स्थायित्व त बिचारगत स्थापित मान्यताले मात्र हुन सक्थ्यो। नबराज सुबेदीहरुले बिश्वकै उत्कृष्ठ पन्चायती ब्यवस्था भने पनि जनताको स्तरमा बाँधिएका पन्चायती राजनीतिका सबै जुईना कमजोर बनिसकेका थिए।

जनमत संग्रहमा बहुदललाई हराएर सुधारिएको पन्चायतले देश संचालान हुन थाल्यो। आखिर टालेको कोट, एकातिर टाले अर्को तिर भ्वाँग हुने नै भयो। स्थायित्व त बिचारगत स्थापित मान्यताले मात्र हुन सक्थ्यो।

प्रतिबन्धले सकारात्मक परिणाम दिँदैन भन्ने बुझ्न देशले एक दशक पर्खनु पर्यो। म पनि स्थानीय स्तरमा शैक्षिक बेरोजगार रहें। मेरा निमित प्राथमिक स्कुलको अस्थायी शिक्षक नै दुर्लभ भयो। सुलभ भएको भए मेरो घरायसी परिबेश घर छोडेर हिड्न सक्ने थिएन। कति रुनु भयो आमा मैले घर छोड्दा । म भित्रको आकाँक्षाको ज्वाला र तत्कालिन परिवेशमा भएका निर्णयप्रतिको बिग्रहले आमाका आँशुले मेरा लक्ष्य रोकिएनन्। आज सम्झन्छु, म पखेंटा लागेको चरो। आफ्नै मिहेनतको गुणमा रमाउनु गलत थिएन। धन्य हो मैले त्यो सुबिधा नपाउनु , नत्र आज म त्यही थोत्रो गुँडमा भत्किएका ठाँउमा सिन्काले टालटुल गरिरहेको हुन्थें। भनिन्छ कहिलेकाहीँ तत्कालका नकरात्मक परिणाम पनि जीवनका सकारात्मक मार्ग बन्छन्। मेरा निमित ठूलो सानो, थोर धेर जे भयो राम्रै भयो, त्यो त्यसैको परिणाम थियो।

हामी थाहै नपाई ढल्केबर पुगेछाैं। नानीले हेरेर कराईन्
“उ ढल्केबर ढक्लेबर..! ”

ढल्केबर पनि जनकपुरतिरकाे बाटाे छुटिने चर्चित स्थान हाे महेन्द्र राजमार्गकाे। जनकपुर जानकी मन्दिर रहेकाे स्थान यसकाे ऐतिहासिकताका विषयमा बताइरहन पर्दैन। ढल्केबरबाट हामी पूर्वतर्फ हुईंकियाैं।

आमाले साेधनु भयाे “,कहाँ आईपुग्याे अरे सरु ?”
सरुले “ढल्केबर रे आमा” भनेर जवाफ दिइन्। आमाले बुझेकाे टाउकाे हल्लाउनु भयाे।

राजमार्ग फराकिलाे सडक, प्राय काठमाण्डाैं हेरि खाली नै हाे भनु, बाबु अग्रिमले काठमाण्डाैंमा मस्तले गाडी कुदाउन नपाएकाे, यहाँकाे खाली सडकमा गाडीकाे बेग ९०/१०० कि.मी प्रतिघन्टाकाे गतिमा चलिरहेकाे थियाे। दिनकाे मध्यान्ह गर्मी बढेकाे थियाे। खाना खाएकाे भद्दा शरीर, दिउँसाेकाे समय, गाडीकाे तेज गतिले सबैलाई निद्रा लागिरहेकाे थियाे। बाबु र म निदाउने कुरा पनि भएन। गाडी मिर्चैया, जहाँबाट कटारी हुँदै आेखलढुङ्गा जाने सडक छुट्छ,’लाई पछाडि छाेड्दै चाेहर्वा सिराहातर्फ जाने सडक कटेर हामी लहान पुग्याैं।

आमा नानी र उस्की मम्मी उङ्दै, निदाउँदै थिए। लहानबाट पूर्व कदमाह, गाईघाट जाने सडक छाेडेर कल्याणपुर पछि माहुली खाेला तर्दै कञ्चनपुर हुँदै हामी एकनास हुईंकीरह्याैं। बाटाे खाली थियाे। बेलाबेला बस, ट्रक, साना गाडी, कहिले कही बस्तुभाउ, कताकती साईकिल कुदाउँदै गरेका महिला पुरुष आदि बाटामा देखा पर्दथे। सडकका छेउछाउ रहेका, आँप, शिरीष शिशाै लगायतका बृक्षहरु एकएक गर्दै भेटिंदै र छुट्दै थिए। परपर खेतमा धानकाट्ने काम भैरहेकाे देखिन्थ्याे। हामी यही क्रममा बरमजिया, असली पेडा पाईने ठाउँमा पसगेर , अलिकति बिसायाैं, पेडा किन्याैं। आमा र केटाकेटीले पेडा मिठाे मानेर खानु भयाे।

हामी भरहदह पुग्याैं, यहीँबाट हनुमाननगर हुँदै राजबिराज जाने पुरानाे सडक छाेडेर सप्तकाेशी तर्फकाे बाँधकाे बाटाे लाग्याैं। ५ मिनेटमै हामी सप्तकाेशी पुलमा पुग्याैं। आमाले एकछिन गाडी राेकाएर गाडीकाे सिसा खाेलेर के यस्तै एउटा पाेकाे सप्तकाेशी नदीमा फाल्नु भयाे, छाेरीले के फालेकाे भनेर चासाे राखिन् , आमाले ‘केही हाेइन’ काे जवाफ दिनुभयाे।

सप्तकाेशी पुल तरेर हामी पारीपट्टी भाण्टाबारी, इनरुवा, झुम्का हुँदै हाम्रो यात्रा इटहरी पुगेको कुरा आमाले थाहा पाउनु भयाे।

“हैन लौ कति छिटो इटहरी आईपुगेछ, लु हेर त, यी यता देब्रेतिर धरान, उता अगाडि दमक जाने, यता दाहिने तिर बिराटनगर, हामी जाने बाटो” भनेर आफ्नो पहिचान गर्ने क्षमतामा हाँस्नु भयो।
सबैले टाउको हल्लाएर स्वीकृति जनाउने कार्य भयो।

क्रमश:……

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जीवित हुँदा आमाबाबुको सेवा: साँचो पुण्यको मार्ग

‘मरेपछि पुण्य कमाउन श्राद्ध गर्ने होइन, जिउँदो हुँदा आमाबाबुको सेवा गरेर पुण्य कमाउनुपर्छ' भन्ने कुराले जीवनको मूल अर्थलाई समेट्छ । हरेक वर्षको श्राद्धमा हामीले स्वर्गवासी पितृहरूलाई श्रद्धासहित सम्झन्छौं, तर जीवनको साँचो पुण्य भने जीवित हुँदा आमाबाबुको सेवाबाट प्राप्त हुन्छ । शनिबार १६ श्राद्धको दिन, विशेष रूपमा मेरो ससुराको तिथिमा, उहाँलाई सम्झँदा म केवल उहाँकै मात्र होइन, हाम्रो परिवारका सबै स्वर्गीय पितृहरूलाई सम्झिरहेकी छु ।

प्रतिकृया दिनुहॊस