धनगढी ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन्। थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन्।
एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो।
नवनियुक्त आर्थिक मामिला योजना मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारा लामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए।
बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै थिइन्। एमाले विभाजनपछि उनले एकीकृत समाजवादी रोजेकी हुन्।
प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन्।न्युज कारखाना




