जीवित हुँदा आमाबाबुको सेवा: साँचो पुण्यको मार्ग

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

‘मरेपछि पुण्य कमाउन श्राद्ध गर्ने होइन, जिउँदो हुँदा आमाबाबुको सेवा गरेर पुण्य कमाउनुपर्छ’ भन्ने कुराले जीवनको मूल अर्थलाई समेट्छ । हरेक वर्षको श्राद्धमा हामीले स्वर्गवासी पितृहरूलाई श्रद्धासहित सम्झन्छौं, तर जीवनको साँचो पुण्य भने जीवित हुँदा आमाबाबुको सेवाबाट प्राप्त हुन्छ । शनिबार १६ श्राद्धको दिन, विशेष रूपमा मेरो ससुराको तिथिमा, उहाँलाई सम्झँदा म केवल उहाँकै मात्र होइन, हाम्रो परिवारका सबै स्वर्गीय पितृहरूलाई सम्झिरहेकी छु ।

सासू ससुरा चाँडै नै यो संसारबाट बिदा हुनुभयो, तर उहाँहरूसँग बिताएका हरेक पलहरू अझै पनि ताजै छन् । स्मृतिहरूले हामीलाई भावुक बनाउँछन्, कतिपय सम्झनाहरूले हर्षित गर्छन् भने कतिले थोरै पछुतो पनि जगाउँछन् । हामीले जति गर्न सक्यौं, त्यो सोच्दा शान्ति मिल्छ, तर कतिपय काम गर्न सकिएनन् भन्ने सोचले मनमा सधैं केही खालीपन छोडिदिन्छ । तर, बुबा मम्मीको आशीर्वाद हाम्रो परिवारको लागि प्रसादजस्तै पवित्र छ, र त्यो आशीर्वाद आज पनि हाम्रो साथमा छ ।

जीवनका अनुभवहरूले मानिसलाई धेरै कुरा सिकाउँछन् । मैले पनि सानै उमेरमा पारिवारिक जिम्मेवारी सम्हाल्दै, जीवनका अनेकन् तिता मिठा अनुभव सँगालेकी छु । सासू ससुराको निधनपछि हामीलाई थाहा भयो कि जीवनको साँचो अर्थ के हो—आमाबाबुको सेवा गर्नु, सम्मान गर्नु, र उहाँहरूका लागि सधैं ख्याल राख्नु । यस्ता अवसरहरूमा म मेरो जीवनका अनुभवहरूमार्फत केही सन्देश दिन चाहन्छु ।

सबैभन्दा पहिले, दाजुभाइबीचको सम्बन्धमा कहिल्यै कर्तव्यको हानथाप गर्नु हुँदैन । परिवारमा दाजुभाइले एक अर्कालाई समर्थन गर्दै अगाडि बढ्नुपर्छ, किनकि कर्तव्यको नाममा हुने तर्क-वितर्कले परिवारलाई केवल विघटनतर्फ लैजान्छ । दोस्रो कुरा, छोरीहरूले ‘सम्पत्ति छोरालाई मात्रै दिन्छन्, हामीलाई केही पाइँदैन’ भन्ने कुरा कहिल्यै भन्नु हुँदैन । सम्पत्ति भन्दा पनि महत्त्वपूर्ण कुरा भनेको आमाबाबासँगको आत्मीय सम्बन्ध हो, जुन समान रूपमा सबै छोराछोरीलाई प्रदान गरिन्छ ।

बाबुआमाले जतिसुकै धेरै छोराछोरी भए पनि उहाँहरूको माया सबैमा बराबर हुन्छ, भलै हामीले कहिलेकाहीँ बुझ्न सक्दैनौं । यो बुझाइको फरकले गर्दा कहिलेकाहीँ हामीलाई अन्यायको महसुस हुन्छ, तर साँचो कुरा भने, आमाबाबाको माया कहिल्यै विभाजन हुँदैन ।

सत्य यो पनि हो कि आमाबाबालाई महँगो उपहार, मिठो खाना वा लुगा भन्दा धेरै, हाम्रो स्नेह, सम्मान, र न्यानो बोली चाहिन्छ । हामीले उहाँहरूलाई दिनसक्ने सबैभन्दा ठूलो उपहार भनेको उहाँहरूप्रति हाम्रो आदरभाव र स्नेह हो । बाबुआमालाई कहिल्यै हामीभन्दा तल्लो ठान्नु हुँदैन, किनकि हामी जति शिक्षित, बाठो वा सफल भए पनि बाबुआमा भन्दा ठूलो सन्तान कहिल्यै हुँदैन । उहाँहरूको अनुभव र आशीर्वादले नै हामीलाई यो संसारमा सही बाटो देखाएको छ ।

मृत्युपछि श्राद्ध गरेर बाबुआमालाई पुण्य दिने कुरा हाम्रो परम्परा र संस्कारको एउटा पाटो हो। यसले हाम्रो समाजमा संस्कार र संस्कृति जोगाइराख्न मद्दत गर्छ, तर वास्तविक पुण्य भने जीवित रहँदा आमाबाबुको सेवा गरेर प्राप्त हुन्छ। उहाँहरूको आशीर्वाद पनि त्यही बेला प्रभावकारी हुन्छ, जब हामी उहाँहरूको सेवा गर्ने अवसर पाउँछौं । मरेपछि गरिने श्राद्धले भलै परम्परालाई निरन्तरता दिन्छ, तर जीवित हुँदा उहाँहरूको सेवा नगरीकन मात्र श्राद्ध गरेर पुण्य प्राप्त हुँदैन ।

त्यसैले, सधैं ध्यान दिनुपर्छ कि हाम्रा कारण बाबुआमाको आँसु कहिल्यै नझरोस् । उहाँहरूको आँसु अमृत बनोस्, विष नबनोस् । यो जीवनमा आमाबाबासँग बिताएको हरेक क्षणलाई स्नेहपूर्वक स्वीकार गर्न र उहाँहरूको लागि जति सकिन्छ त्यति सेवा गर्न मन लाग्नुपर्छ । मृत्युपछि गरिने श्राद्धले हाम्रो संस्कारलाई संरक्षण गर्छ, तर जीवित हुँदा गरिने सेवा र स्नेह नै साँचो पुण्य हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आकाश र धर्ती : बुवा र आमा

आमा धर्ती हुन् भने बुवा आकाश । हामीले यो बच्चैदेखि सुन्दै आएको प्रसंग हो । आमाबिना बुवा र बुवाबिना आमाको अस्तित्व सम्भव छैन । धर्ती र आकाशको संयोजननै बुवा र आमाको अस्तित्व हो अथवा भनौं बुवाआमा दुबैका कारण आज संसार टिकेको छ ।

प्रतिकृया दिनुहॊस