म्युचुअल फण्डमा जोखिम कम छ : सबिर वादे श्रेष्ठ

  सबिर वादे श्रेष्ठ , सिईओ, नवील ईन्भेष्टमेण्ट बैंकिङ लिं

काठमाडौंको नयाँ बजारमा जन्मिएँ । पुर्ख्याैली घर बनेपा हो । प्लस टुसम्मको अध्ययन सेन्ट जेभियर्स स्कूलबाट गरें । प्लस टु सकेपछि १ वर्षका लागि यूके पुगेको थिएँ, सोही क्रममा एउटा कम्पनीमा जुनियर एकाउण्टेनको काम सुरु गरें ।

सन् २००७ मा सिएसम्बन्धि मल्टीनेशनल कम्पनी बिडीओमा असिष्टेण्ट म्यानेजर भएर काम गर्ने अवसर पाएँ । यो सिएसम्बन्धि विश्वकै दोस्रो ठूलो कम्पनी हो ।

सिए कम्पनीमा ५ वर्ष काम गरिसकेपछि इन्भेष्टमेण्ट कम्पनीमा काम गर्ने रहर जाग्यो । अडिटरकारुपमा काम गर्दागर्दै लगानीकर्ताहरुसँग सम्पर्क बढ्यो । लगानीका क्षेत्रहरुमा काम गर्न पाईने, पोर्टफोलियो पनि बन्ने भएकाले आफूले जानेको सिप आफ्नै भूमिमा प्रयोग गर्न मनलाग्यो ।

विदेशमा राम्रो अवसर पाएपनि लामोसमय बस्ने रहर भएन । बिदेश बस्दा आफ्नै देशमा गएर केहि गरौं भन्ने चाहना ओतप्रोत हुन्थ्यो । व्यापारका हिसावले उर्बर क्षेत्र, अवसर प्रशस्तै, करियर पनि असाध्यै राम्रो हुने देखेर इन्भेष्टमेण्ट कम्पनीमा काम गर्ने रहर उत्कर्षमा पुग्यो । फलस्वरुप आफ्नै देशमा फर्केर काम गर्ने निर्णय गरें ।

सायद यो निर्णय मेरो करियरको लागि अतिनै सुन्दर र सहि थियो । अहिले पनि बिदेशमा अध्ययन सकेर राम्रो पद, प्रतिष्ठा कमाएका र आम्दानी भएकाहरुले पनि नेपालमा आएर काम गर्न सक्छन् ।

आफूले जानेका र सिकेका ज्ञान आफ्नै माटोमा ल्याएर प्रयोग गर्नसक्ने हो भने देशको विकास चाँडो हुन्छ । सन्ततिले पनि कामकै लागि विदेशी भूमिमा पसिना खन्याउनुपदैन ।

पारिवारिक एकता र सांस्कृतिक पहिचान विदेशमा छैन । यी सबैकुरा मनन गर्दै मल्टीनेशनल कम्पनीमा काम गर्ने अवसरलाई थाती राख्दै नेपाल आएँ । अब नेपालमैं बसेर लगानीको क्षेत्रमा काम गर्नेछु ।

खेल र डकुमेन्ट्रीमा रुची लाग्छ । विद्यालयीयस्तरीय विभिन्न प्रतियोगितामा भाग लिन्थें । अतिरिक्त क्रियाकलापमा एकदमै रुची थियो र आज पनि छ ।

अन्तरविद्यालयीय प्रतियोगितामा सेक्सपियरको नाटकमा मैले पनि भूमिका निर्वाह गरेर पुरस्कृत भएको थिएँ । सुहाउँदो भूमिकामा अवसर पाए अझैपनि डकुमेन्ट्रीमा रुची छ । धेरैलाई मेरो आवाज मनपर्ने भएकाले न्यारेसन पनि गर्छु । यसमा आनन्द अनूभुति हुन्छ ।

जीवन जिउने आधारहरु वास्तवमै यस्तैबाट प्राप्त हुन्छ । काम त जिन्दगी रहुञ्जेल गर्नुनै छ ।
वर्षमा एकपल्ट १५÷२० दिन टेकिङमा जान्छु । मौका पाएसम्म शनिवार काठमाडौं नजिकको क्षेत्रमा हाईकिङ जान्छु । मल्टीनेशनल कम्पनीमा काम गर्दा युरोप भ्रमण गरें । अब आफ्नै नेपाल घुम्छु ।

खाली समयमा आफ्नो क्षमता अभिबृद्दिमा ध्यान दिन्छु । गुणस्तरीय जीवनका लागि के गर्न सकिन्छ भनेर सोच्छु । नयाँ सोच र विचारबाट नै जीवन सुन्दर हुने भएकाले हरेक दिन नयाँ सोच राखौं । ईन्भेष्टमेण्ट कम्पनीमा नयाँ नयाँ आईडिया सिक्न र लागू गर्न सकिने भएकाले यो क्षेत्र व्यापक छ । मेरो, क्षमता, योग्यता र योजना पनि यसै क्षेत्रमा भएकाले भविष्यमा पनि लगानी क्षेत्रमैं हुनेछु ।
नवील ईन्भेष्टमेण्ट बैंकिङ लिं
आजभन्दा ९ वर्ष अगाडि नवील ईन्भेष्टमेण्ट बैंकिङ लिंको स्थापना भएको हो ।

कम्पनीले सुरुमा म्युचुअल फण्ड, इस्यु म्यानेजमेण्ट र आईपीओको काम गर्दै आएको थियो । पुरातन मर्चेट बैकिङले गर्ने कामहरु गर्ने हिसाबले धितोपत्र बोर्डमा दर्ता भयो ।

पछि पोर्टफोलियो म्यानेजमेन्टमा यो कम्पनीले एकदमै राम्रो स्थान बनायो । पोर्टफोलियो र म्युचुअल फण्ड गरेर कम्पनीकाे साढे ४ अर्वको पूँजी रहेको छ । लगानीकर्तालाई डिभिडेण्ट र रिटर्न पनि अन्य कम्पनीको तुलनामा राम्रो प्रदान गरेको छ ।

समयमा बिक्री हुने भएका कारण पनि कम्पनीको ग्रोथ राम्रो छ । गएको वर्षदेखि त यो क्षेत्रमा सबैलाई पीडा छ । कसैले पनि एकदमै राम्रो छ भन्ने अवस्था निर्माण हुन सकेको छैन । हामीकहाँ भने समयमै किनवेच भएका कारण त्यतिधेरै जोखिम भएन ।
१८ सयबाट बजार ११ सयमा आईपुग्दा यो क्षेत्रमा लगानी गर्नेलाई पक्कैपनि समस्या परेकै हो ।

५०/६० प्रतिशत डाउनफल भएको अवस्थामा हाम्रोमा १०/१५ प्रतिशत डाउनफल थियो । नेपालमा गुणस्तरसँगै पीआर राम्रो हुनेहरुलाई सजिलो हुने भएकाले हाम्रो कम्पनीको ब्राडिङ र चर्चित व्यक्तित्वहरुको समूह भएकाले पनि बजारमा राम्रो उपस्थिति छ । चुनौतीपूर्ण अवस्थामा पनि १ अर्वभन्दा बढी नै जम्मा गर्न सफल भयौं ।

नागरिकको पैसा उठाएर राम्रो रिटर्न दिन सकिएन भने विश्वास गुम्छ । जुन पायो त्यहि कम्पनीलाई उनीहरुले पनि विश्वास गर्दैनन् । सीमित काम गर्ने तर गुणस्तरीयतामा ध्यान दिनुपर्छ । नवील ईन्भेष्टमेण्ट बैकिङ जनताको विश्वासलाई आत्मसात् गर्दै अगाडि बढ्दैछ ।

पहिले र अहिलेको लगानी गर्ने तरीकामा फरकपन
पहिले र अहिलेको तौरतरीकामा निकै भिन्नता छ । सुरक्षाको हिसावले पनि अहिले लगानीकर्ता सुरक्षित छन् । रेकर्ड राख्ने तरीका पनि पहिलेको भन्दा ब्यवस्थित भएको छ ।

प्रविधिका कारण मोवाईलमैं सबैकुरा हेर्न सकिने भएको छ । पहिलेको भन्दा पारदर्शी र सुरक्षित भएको छ ।

बजार कस्तो छ ? लगानी सुरक्षित छ की छैन ? भनेर स्पष्टसँग बुझेर लगानी गर्ने वातावरण निर्माण भएको छ ।

पहिले अरुले भनेका आधारमा आफ्नो ठूलो सम्पत्ति लगानी गर्नेहरु अहिले यससम्बन्धि अध्ययनपछि मात्रै निर्धक्क भएर अगाडि बढ्ने हुँदा पहिले र अहिलेमा आकाश जमीन फरक छ । आईपीओ भर्नका लागि पहिलेजस्तो चेक बोकेर बस्नुपर्ने बाध्यता छैन । अहिले ग्राहकमा पनि सचेतना आएको छ ।

१८८० को झट्का पछि धेरैलाई सचेत हुने अवसर मिलेको छ । भनेको कुरामा मात्रै लाग्न हुँदैन भन्ने क्षमतामा विकास भएको छ । लगानी गर्दा केके कुरामा विचार गर्नुपर्छ ? केके मिथ्या हुन् ? सबै बुझ्न सक्ने हो भने लगानी गरेर पछुताउनु पर्दैन । अहिले यसमा धेरै सचेतना आएको छ ।

प्रविधिले झन् सजिलो बनाईदिएको छ । हल्लाको पछाडि लगानी गर्ने प्रचलनमा ब्यापक परिवर्तन आएको छ ।


नवीलमा लगानीकर्ता कसरी सुरक्षित हुन्छन् ?
नवील ईन्भेष्टमेण्ट बैकिङ सिस्टममा चलेको कम्पनी हो । मिडिया, कसैले भनेको आधार वा खाली कम्पनीको ब्राण्डिङ मात्रै हेरेर लगानी गर्ने पुरातन प्रचलनमा हामी जाँदैनौं ।

हामीले स्कटवाईज हेर्छौ । यो समयमा कुनको मूल्य सबैभन्दा कम आएको छ भने हामी अध्ययन गर्छौं ।

राम्रो कम्पनीको मुल्य पक्कैपनि धेरै हुन्छ । यो धेरैलाई थाहा भएको कुरो हो ।
लगानीकर्तालाई लगानी गर्नुभन्दा पहिले जोखिम र अवसर के हो भनेर स्पष्टसँग बुझाईदिन्छौं ।

कस्तो स्टक किनेको भन्ने तनाव नहोस् भनेर हामी ज्यादै संवेदनशील छौं । हाम्रो बाहिरिने भन्दा प्रवेश गर्ने र रिन्यु गर्नेहरु बढी छन् ।

‍बजार नै ध्वस्त भएको समयमा पनि हामीलाई साथ दिंदै कम्पनीप्रति जुन विश्वास प्राप्त भएको छ, त्यो नै हाम्रो सफलता हो । सेवा विश्वसनीय भयो भने कम्पनी अगाडि बढ्छ । स्टाफ हायरिङमा पनि हामी ज्यादै सचेत छौं ।

बैंक र ईन्भेष्टमेण्ट कम्पनीविच भिन्नता
बैंकमा इनोभेसन ल्याउन निकै गाह्रो छ । बैंकमा त एजेन्सी र सेल्स टाईअप मात्रै हुने हो । क्यापिटल मार्केटमा ’यस्तो पनि हुन सक्छ’ भनेर नसोचेका कारण मर्चेन्ट बैंकिङ मात्रै भईरहेको छ । लगानी सम्मेलनपश्चात विदेशी लगानीको कुरा आएको छ । बैंक निश्चित दायरामा बस्न बाध्य हुन्छ भने ईन्भेष्टमेण्ट कम्पनीको दायरा फराकिलो हुन्छ । लगानी कुन क्षेत्रमा गर्ने त भनेर हामीले बाटोहरु पहिल्याउन सक्छौं । ईन्भेष्टमेण्टले लगानीमूलक र सेवामूलक काम गर्छ । बैंकमा रेगुलर काम हुन्छ भने र ईन्भेष्टमेण्ट कम्पनीमा नयाँ नयाँ सोचको विकास गरेर लगानी गर्न सकिन्छ ।

म्युचल फण्डमा किन लगानी गर्ने ?
फिक्स डिपोजिट र शेयरमा डाईरेक्ट लगानी हो । स्टक माईनस ३५ मा हुन्छ भने म्युचल फण्डमा माईनस १०—१५ प्रतिशत हुन्छ । ड्यामेज लिमिटेसन हुन्छ । स्टक मार्केटमा भन्दा कम जोखिम म्युचल फण्डमा हुन्छ भनेर बुझ्नुपर्छ ।
हामी कहिलेकाहिं नबुझेर लगानी गर्छौं । भिडको पछाडि लाग्ने हामीमध्ये धेरैको बानी हुन्छ । लगानी गर्ने सही समयमा बेच्छौं र बेच्ने समयमा भने किन्छौं । बजारको वास्तविकता पनि यहि नै हो ।

म्युचल फण्डको लगानी छोटो समयका लागि हुँदैन । २/४ महिना लगानी गर्छु भन्ने सोच राखेकाहरुको लागि त्यति उपयुक्त हुँदैन । यदि म्युचल फण्डमा लगानी गर्न चाहने हो भने कम्तीमा २/३ वर्ष कुर्नैपर्छ ।

पैसा लगानी गरेर धैर्यता हुनेहरका लागि भने यो एकदमैं राम्रो अवसर हो । राम्रो ठाउँमा लगानी गरेर रिटर्न पनि राम्रै आउने भएकाले म्युचल फण्डमा लगानी गर्नुपर्छ । १ वषैभित्रै हतोत्साही हुने हो भने फण्डमा लगानी गरेर काम छैन ।

शेयर बजारमा जोखिम बढी की म्युचुअल फण्डमा ?
अहिलेको बजारको अवस्था हेर्दा पक्कैपनि म्युचुअल फण्डमा जोखिम कम छ । लगानी गर्ने कम्पनी कस्तो हो त्यसमा निर्भर हुन्छ । म्युचुअल फण्डको डेटा हेरे पनि लगानी गर्ने वा नगर्ने निर्णय गर्न सकिन्छ । म्युचुअल फण्ड पनि एउटा स्टक नै हो ।

बाहिर हेर्दा नेपालको म्युचुअल फण्डमा त्यति राम्रो प्रतिफल छैन भनिन्छ नी ?
म्युचुअल फण्ड लिईसकेपछि हाम्रो होल्ड गर्ने बानी छ । हामी ट्रेड गर्दैनौं । भोलाटायल मार्केटमा ट्रेड गरेन भने त कसरी नाफा हुन्छ ? बजार यहि हो । ७ सयमा किनेको स्टक ९ सयको विन्दुमा पुग्दासम्म पनि हेरेर बस्ने स्वभावका कारण यसबाट आउने प्रतिफल बाहिरको तुलनामा खासै नदेखिएको हो । रेगुलेटर्सले सहयोग, ब्यवस्थापकले अब्बल ब्यवस्थापन, बजार परिपक्व हुने हो भने म्युचुअल फण्डले राम्रो प्रतिफल दिन्छ र ढुक्कसँग लगानी गर्न सकिन्छ ।

बाहिरतरि पनि हाम्रो भन्दा कमजोर अवस्थामा भएको हामीले पाएका छौं । उताको म्युचुअल फण्ड भाईब्रेन्ट हुन्छ । हाम्रोमा लगानीकर्ताहरु पनि सुस्ताउने भएका कारण वजार त्यति चलायमान हुदैन ।

नवील ईन्भेष्टमेण्ट बैंकिङका भावी रणनीतिहरु के के छन् ?
ईन्भेष्टमेण्ट बैंकिङले नयाँ क्षेत्रमा काम गर्ने अवसर पाउँछ । बजारलाई ती नयाँ क्षेत्रहरु केके हुन् त भनेर परिचय गराउने काम गर्ने रणनीति लिएका छौं । समग्र अर्थतन्त्र, लगानीकर्ता, सरकार लगायतलाई लगानीका क्षेत्रका बारेमा जानकारी गराउँछौं । कार्यालयको ढोका खोल्न वित्तिकै हुरुरु आउने व्यापार यो होईन । नागरिकलाई यसको बारेमा बुझाउन सक्नुपर्छ ।

हामीलाई नवीलको ब्राण्ड भएका कारण सबैलाई जानकारी दिनुपरेको छैन । धेरैले थाहा पाईसक्नुभएको छ । तथापि नवील ईन्भेष्टमेन्टले पनि अाफ्नो बेग्लै ब्राण्ड बनाईसकेको छ ।

सिईओ वादेसँग सम्पादक कल्पना शर्माले गरेकाे कुराकानी

फाेटाेग्राफी : रश्मी महत

बारेमा news

यॊ पनि हेर्नुहॊस

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर …

प्रतिकृया दिनुहॊस

This will auto close after