नेपाल चेम्बर अफ कमर्श अध्यक्ष कमलेश अग्रवालसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानी :-
देशको हालको अर्थतन्त्रलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
झण्डै चार वर्षदेखि हाम्रो अर्थतन्त्र भोलाटायल अवस्थामा छ । एउटा त कोभिडले ध्वस्त पार्यो । त्यसपछि संकुचित मौद्रिक नीतिका कारण समस्या उत्पन्न भयो । विदेशी मुद्रा कमी भएका कारण ल्याइएको संकुचित नीतिले निकै अप्ठेरो परिस्थिति उत्पन्न भयो । जसले अर्थतन्त्रमा शिथिलता ल्यायो । नीजि क्षेत्र ६ महिना लकडाउनका कारण नराम्ररी थला पर्यो । त्यसपछि उच्च ब्याजदरको दायित्वले यो क्षेत्र थप जटिल बन्यो । अर्को प्रमुख कारण भनेको घरजग्गा कारोबारमा मन्दी आयो । बैंकिङ माध्यमबाट उद्यमी, व्यवसायी ऋण लिन जाँदा अनेकन झमेला बेहोर्नुपर्यो । झमेलाबाट व्यवसायीहरु उत्साही हुन सकेनन् । आर्थिक मन्दीले तहसनहस पारेको नीजि क्षेत्र झनै संकटमा फस्दै गयो ।
कोभिडकै कारण शेयर बजार पनि नराम्ररी तल झर्यो । सहकारी क्षेत्र तहनसहस भयो । सहकारीको पैसा नचाहिँदो ठाउँमा प्रयोग भएको हामी सबैलाई थाहा छ । विभिन्न उद्यम, व्यवसायमा देखिएको कालो बादलका कारण अर्थतन्त्र शिथिल हुनपुग्यो । नीजि क्षेत्र कमजोर हुँदा सरकारको राजस्व पनि घट्यो । सरकारले दबाबमुलक हिसावले कर उठाउने प्रयास गर्नु पनि नीजि क्षेत्र कमजोर बनाउने अस्त्र बन्न पुग्यो ।
अहिलेको सबैभन्दा प्रमुख आवश्यकता भनेको स्थिर सरकार हो । शिथिल अर्थतन्त्र चलायमान बन्नुपर्यो । अर्थतन्त्रमा सुधार भएपछि पूँजी वृद्धि हुने हो । यो आर्थिक वर्षको सुरुवातमा संसद्का दुई ठुला दलहरु मिलेर सरकार बनाए । विष्णु पौडेल ३ वर्ष अगाडि अर्थमन्त्री हुनुहुन्थ्यो । त्यो समयमा पनि घरजग्गा कारोबार, शेयर मार्केट अत्यन्तै राम्रो अवस्थामा थियो । उहाँ अर्थमन्त्रीबाट बर्हिगमन हुनुभन्दा अगाडि शेयर बजार २९०० को हाराहारीमा थियो । अहिले पनि उहाँ आउन वित्तिकै नीजि क्षेत्र उत्साही भयो ।
व्यवसायीहरुमा आशा र आत्मविश्वास बढ्यो । साउनदेखि मौद्रिक नीति पनि सजगतापूर्वक लचिलो बन्यो । यसले पनि उद्योगी, व्यवसायीलाई केही आशा जगाउने काम गर्यो । अब आर्थिक नीति स्थायित्व हुन्छ भन्ने विश्वासका कारण पनि अर्थतन्त्र चलायमान भएको हो ।
त्यसोभए अब देशको आर्थिक अवस्था सुदृढ हुन्छ भन्न सकिन्छ ?
लामो समयदेखि शिथिल रहेको शेयर बजारमा उत्साह आयो । बजार ३००० सम्म पनि पुग्यो । अहिले फेरी घटेको छ । नाडा अटो शोका कारण पनि अर्थतन्त्र चलायमान देखियो । शेयर र अटो क्षेत्र चलायमान हुँदा अन्य क्षेत्रमा पनि आशा देखिएको छ । दैनिक २०—३० अर्ब रुपैयाँ कारोबार हुन थालेपछि घुमिफिरी पैसा बजारमैं जाने भयो । जसका कारण घरजग्गा व्यवसाय पनि चलायमान भएको जस्तो देखिएको हो । हाम्रा केही आर्थिक नीतिहरु परिवर्तन गर्नुपर्ने अवस्था छ । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने आवश्यकता सरकारले देख्नु यसको प्रमुख कारण हो । आज विदेशी मुद्राको अवस्था राम्रो छ तथापि आर्थिक गतिबिधि संकुचन अवस्थामैं छ ।
बैंकमा झण्डै ७ खर्ब रुपैयाँ गयो । जसबाट उद्योगी व्यवसायीहरु नयाँ लगानीप्रति आकर्षित भएका हुन् भन्न सकिन्छ । व्याजदर पनि घटेको छ । नयाँ लगानीमा थोरै भएपनि आकर्षण बढेको छ । अर्थतन्त्र अलिअलि चलायमान भएको छ । त्यसकारण देशको आर्थिक अवस्था सुधारोन्मुख देखिएको हो । सुदृढ हुन त समय लाग्छ ।
बैंकले व्यवसायीहरु कालोसूचीमा परेको सूचना धमाधम निकालिरहेको छ । यसैबीच ब्याजदर पनि घट्यो तथापि व्यवसायीहरु ऋण लिन किन आकर्षित नभएका हुन् ?
तीस वर्षको अवधिमा हाम्रो देशमा कालोसूचीमा पर्ने व्यवसायीहरु १ लाख २७ हजार ३ सय १८ थिए भने पछिल्लो २ वर्षमा यो मध्ये ७५ हजार ९ सय ५७ छन् । उद्योगी, व्यवसायीहरु यति ठुलो संख्यामा कालोसूचीमा पर्नुको अर्थ भनेको उनीहरुले बैंकको किस्ता र व्याज समेत तिर्न नसकेर हो । व्यवसायीमा आएको यस्तो जटिलताका कारण बैंकहरुमा पनि समस्या देखिएको हो । यो समस्याबाट पार पाउनका लागि आर्थिक गतिबिधिलाई चलायमान बनाउनैपर्छ । अर्को भनेको पुरानो दायित्व पूरा गर्नका लागि व्यवसायीलाई सहजीकरण गरिदिनुपर्छ । पुर्नतालिकीकरण गर्न सकियो भनेपनि सहज हुन्छ ।
हामीकहाँ पुरानो बोझ बाँकी नै छ । कोभिडको समयमा आर्थिक वृद्धिदर २ दशमलव ०६ प्रतिशत नकारात्मक थियो । तत्कालीन अवस्थामा विश्वव्यापीरुपमा नै नकारात्मक अवस्थामा थियो । आर्थिक अवस्था संकुचनमा गयो । समस्या देखेपछि सरकारले उदार आर्थिक नीति पनि ल्यायो । त्यसपछि अर्थतन्त्र राम्रो अवस्थामा आयो । आव ०७७÷७८ मा आर्थिक वृद्दिदर ३ दशमलव ६ प्रतिशत थियो । आव ०७८/०७९ मा ५ दशमलव ८ प्रतिशतको ग्रोथ भयो । त्यसपछि आव ०७८÷०७९ मा एक्सासी अर्थतन्त्रमा समस्या भयो । विदेशी मुद्राको सञ्चिति घट्यो । फलस्वरुप हामी डराएर संकुचित नीतिहरु ल्यायौं ।
१५÷१६ प्रतिशत ब्याजदर कायम भयो । पुरानो बोझ भन्नुको अर्थ थोरैमा लिएको ब्याज एक्कासी बढेका कारण ब्यवसायीहरु आतंकित हुने वातावरण बन्यो । उनीहरुमाथी ठुलो दायित्व सिर्जना भयो । अझैपनि कतिपय उद्यमी, व्यवसायीहरु पुरानो बोझको मारमा छन् । बैंकको ऋण तिर्नसक्ने अवस्थामा व्यवसायीहरु नभएका कारण पनि समस्या देखिएको हो । व्याज प्रतिशत धेरै हुनु, व्यवसाय ठप्प हुनु, ऋणीहरुको मनोबल घट्नुजस्ता कारणबाट अर्थतन्त्रमा समस्या आयो । व्यवसायीहरु समस्यामा परेपछि बैंकको ऋण नउठ्नु स्वभाविक नै हो । यसले पुरै बजारलाई समस्या पारेको छ । पुरानै ऋणले समस्यामा पारेका कारण नयाँ ऋणप्रति व्यवसायीहरुको आकर्षण नभएको हो ।
लगानीकर्तालाई व्यवसायमा आकर्षित र बजारलाई लयमा फर्काउन गर्न के गर्नुपर्ला ?
अहिलेको विश्ववजार खुला अर्थतन्त्रमा विश्वास गर्छ । हाम्रो उत्पादनमुलक क्षेत्र प्रतिस्पर्धी हुन सकेन । युवाहरु बिदेशिन थाले । नेपालमा व्यवसाय नभएका कारण उनीहरुले अवसर पनि देख्न सकेनन् । रेमिटेन्सको अवस्था राम्रो हुन थाल्यो । सरकारको नीति आयातलाई बढावा दिने खालको आयो । आयातमा ३५ प्रतिशत प्रिमियम सरकारले उठाइरहेको छ । सरकारको नीतिका कारण पनि आयातभन्दा निर्यातमुखी अवस्थामा व्यवसायीहरु फर्किए । उद्योगधन्दा र उत्पादनमूलक क्षेत्रमा लगानी कम हुँदै गयो ।
नेपालमा लोडसेडिङ अन्त्य भएपछि मात्रै व्यवसायीहरु उत्साही हुने वातावरण निर्माण भएको हो । लोडसेडिङले मारमा परेर भर्खर तङ्ग्रिदै गरेका हामीलाई कोभिडले फेरी ढाल्यो । हाम्रा युवाहरु धमाधम विदेशिँदैछन् । हाम्रा शक्ति, सिर्जनशील युवालाई रोक्न सकेका छैनौं । तीनै युवाले पठाएको रेमिटेन्सले राज्य सञ्चालन भइरहेको छ । हामी प्राकृतिकरुपमा धनी छौं । सुन्दर पनि छौं । कृषि र हाइड्रोमा हाम्रो उच्च संभावना छ । पर्यटन क्षेत्रमा हामी काम गर्न सक्छौं । अहिले हाम्रा नीति सहज नभएका कारण पनि समस्या देखिएको हो । हाम्रो प्राकृतिक स्रोतको सदुपयोग गर्ने बेला आएको छ । अर्को विदेशी लगानीकर्तालाई सहज वातावरण नभएका कारण पनि समस्या उत्पन्न भएको हो भने स्वदेशी लगानीकर्ताको मनोबल उच्च गर्नतर्फ सरकारको नीति आउनुपर्छ ।
लगानीमैत्री वातावरण सरल र सहज हुन जरुरी छ । हाम्रा आर्थिक नीतिहरुको विश्लेषण गरेर स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने खालका आर्थिक नीतिहरु बन्नुपर्छ । मौद्रिक नीतिहरु र करका नीतिहरु पनि सहज हुनुपर्छ । विदेशी लगानीकर्ता आउँदा हामीकहाँ अप्ठेरो छ की छैन ? यस्ता मसिना विषयमा ध्यान दिन सक्ने हो भने लगानीकर्तालाई आकर्षित गर्न र बजारलाई लयमा फर्काउन सकिन्छ ।
–नवीन सन्देशबाट
प्रतिकृया दिनुहॊस