देशभर माघे संक्रान्ति पर्व मनाइँदै, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडाैँ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ। आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने पनि विश्वास गरिन्छ।

तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडीजस्ता परिकार खाएर आज देशभर धुमधामका साथ माघे संक्रान्ति मनाइँदैछ। जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

यस पर्वका अवसरमा आज देशका विभिन्न तीर्थस्थलमा स्नान गरी दान तथा पूजा गर्नेको भीड लागेको छ। खासगरी चितवन-नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट-रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा भक्तजनको घुइँचो लागेको छ।

यस्तै थारु समुदायमा माघी पर्वको रौनक छाएको छ। आजका दिनलाई यो समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँछन्। स्नान, दान, एवम् खानपिन र रमाइलो गर्छन्। तराई क्षेत्रमा माघी पर्व पाँच दिनसम्म धुमधामका साथ मनाइन्छ।

पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरिएको छ। आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ। काठमाडौंमा बस्ने थारूहरूले आज टुँडिखेलमा सामूहिक कार्यक्रम गर्दैछन्।

यस्तै मगर संघसंस्थाहरूले पनि टुँडिखेलमै माघे संक्रान्तिका अवसरमा विशेष सांस्कृतिक एवं खानपिन कार्यक्रम गर्दैछन्। उक्त कार्यक्रम आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मगर संघ नेपालले जनाएको छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्तिको अवसरमा शुभकामना दिएकी छन्। थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि उनले शुभकामना व्यक्त गरेकी छन्।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहेर यस पर्वलाई मनाउने सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै यस्ता पर्वका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रहिआएको बताउँदै सरकारले २०६४ सालमा यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने निर्णय गरिसकेको स्मरण गराएका छन्।

उक्त पर्वका अवसरमा अन्य विभिन्न दलका नेताले पनि शुभकामना व्यक्त गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कञ्चनपुरका घर घरमा बाढी : ७ महिने शिशुको मृत्यु, ६२२ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन …

प्रतिकृया दिनुहॊस