- कल्पना शर्मा
आमा धर्ती हुन् भने बुवा आकाश । हामीले यो बच्चैदेखि सुन्दै आएको प्रसंग हो । आमाबिना बुवा र बुवाबिना आमाको अस्तित्व सम्भव छैन । धर्ती र आकाशको संयोजननै बुवा र आमाको अस्तित्व हो अथवा भनौं बुवाआमा दुबैका कारण आज संसार टिकेको छ । आमाका बेदना र कथाहरू धेरै लेखिए । आमाको माया, त्याग, तपस्या र समर्पण शब्दमा व्याख्या सकिएला ? कहिल्यै सकिँदैन । आमाको बारेमा लेख्दै गर्दा बुवाको संघर्षलाई बिर्सनु उचित होला ? बुवा जग हुन् । जग बिनाको घर कस्तो होला ? कल्पना गरौं त ? हुन त आमाका विषयमा यत्रतत्र सर्वत्र प्रशंसा सुन्न र देख्न पाइन्छ । तर बुवाका संघर्षका कथाहरू खासै सुनिँदैन । आमाको माया झलक्कै देखिन्छ । एउटा बुवाको संघर्ष अन्तरमनले मात्र देख्न सकिन्छ । आमाको माया र बुवाको संघर्षभित्रनै सन्तानको वास्तविक संसार हुन्छ ।
महिला हुनु आफै एउटा संघर्षको पहाड हो । चुतीको त कुरै छाडौं । अघिल्लो पुस्ताका धेरैजसो महिलामा एकोहोरो जिम्मेवारी थियो । तथापि अनेकथरी चुनौती थियो । तर अहिलेकामा दोहोरो तेहेरो जिम्मेवारीको भारी छ । पढ्नु पनि परेको छ । कमाउनु पनि परेको छ । घरको काम, कार्यालय, छोराछोरी, श्रीमान् सर्बथोक सम्हाल्नसक्ने महिला नै हुन् फेरी । हाम्रो समाजमा पुरुषले सकेसम्म घरको काममा हात बटाउने चलन छैन भन्दा पनि हुन्छ । एकाध पुरुषहरू मैले देखेको छु जो घर र कार्यालयको दुवै काम गर्छन् । ती पुरुष महान् हुन्, जसले समानताका लागि प्रयत्न गरिरहेका छन् । त्यस्ता पुरुषले महिलालाई अन्तरमनदेखिनै सम्मान गर्छन् । महिला र पुरुष वैवाहिक सम्बन्धपछि बुवा र आमा बन्छन् । अनि सुरु हुन्छ उनीहरूको सन्तानप्रतिको जिम्मेवारी ।
आमाले मायाले हुर्काउँछिन् भने बुवाले सहारा दिन्छन् । जिम्मेवार बुवा आफ्नो सन्तानप्रतिको जिम्मेवारीबाट कहिल्यै विमुख हुँदैन । उ संघर्षका पहाडहरू उक्लिँदै सन्तानप्रतिको कर्तव्यमा सधैँ लागिरहन्छ, निरन्तर । सन्तानको खुसीका लागि जस्तोसुकै दुःख र पीडा खप्नसक्ने बुवा नै हुन् । यसो भन्दै गर्दा आमाको संघर्षलाई कम आकलन गर्न खोजिएको होइन । आजकालका आमाहरू सन्तानको रेखदेख मात्र होइन की उनीहरूका सबै आवश्यकताहरू पूरा गर्नसक्ने क्षमता राख्ने भइसकेका छन् । कयौं उदाहरण हाम्रा सामु छन् । दुवैको जिम्मेवारीलाई सक्षम तरीकाले निर्वाह गर्ने आमाहरू धन्यवादका पात्र हुनुहुन्छ । तथापि कतिपय बुवाहरू पनि आमाभन्दा कम हुनुहुन्न । केही अपबाद बाहेक जिम्मेवारी निभाउन कुनै कसर बाँकी राखेको देखिँदैन ।
बदलिँदो समय अनुसार सन्तानका जिम्मेवारी र आवश्यकता पूरा गर्न सजिलो छैन । शिक्षा, दीक्षा, पौष्टिक आहार लगायतमा ठूलो लगानी छ । यसका लागि मेहनत पनि उत्तिकै ठुलो हुन्छ । आमाको महत्त्व बुझ्दै गर्दा बुवाको त्यागलाई पनि बिर्सनुहुँदैन ।
आज परिवारको भरणपोषणका लागि तातोहावामा श्रम गरिरहेका तमाम बुवाहरू हामीमाझ छन् । त्यो श्रमको सही सदुपयोग गर्दै सन्तानको पढाइलेखाईमा रातदिन मेहनत गर्ने तमाम आमाहरू पनि छन् । वास्तवमा मेहनती बुवा र आमाका कारण नै आज संसार उज्यालो छ । सन्तानले बुवाआमा दुवैको माया महसुस गर्ने अवसर पाएका छन् । सन्तानको खुसीका लागि संघर्ष गर्दागर्दै कतिबेला बुवाको मुहारको हाँसो खोसिन्छ ? यो हामीलाई थाहै हुँदैन । उहाँको महत्वलाई कम ठानियो भने आफ्ना तमाम खुसीलाई तिलाञ्जलि दिएर सन्तानको खुसीका लागि सबै गुमाउन तयार बुवाप्रतिको अपमान हुनेछ । उहाँले हामीलाई माया मात्रै होइन, संघर्ष गर्नपनि सिकाउनुहुन्छ । रक्षक र पालनकर्ताका रुपमा पनि बुवा सम्माननीय हुनुहुन्छ ।
बुवा र आमाको माया, प्रेम, रेखदेखबाट नै हाम्रो संसार चलेको छ । दुवैको महत्त्व अधिक छ । आमाको सम्मान र माया गर्दै गर्दा बुवाको दुःख त्याग पनि नबिर्सौं । आमाभन्दा बुवालाई अलिक कठोर महसुस गरिएला तर वास्तवमा सन्तानलाई सही बाटोमा डोर्याउन र उनीहरू नबिग्रिउन् भन्नका लागि त्यो विशाल छातीलाई खुम्च्याएर कठोर बन्ने नाटक गरिरहेका हुन्छन्, बुवाहरूले । संसार जित्ने बुवाहरू आफ्नै सन्तानसँग हारिदिन्छन् । तीनै हार्ने बुवाहरूकै कारण आज यति सुन्दर संसारको अस्तित्व छ । मायाको भकारी आमा, संघर्षको पहाड बुवा दुवैको अस्तित्वलाई समानरुपमा बुझ्ने प्रयास नै जीवनको सार्थकता हो । –नवीन सन्देशबाट
प्रतिकृया दिनुहॊस