एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ‘ह्याट्रिक’ जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रो पटक सांसद चुनिएका हुन् ।
मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए ।
भारतीय लोकसभा निर्वाचनको जारी मतगणनामा पछिल्लो परिणामअनुसार भारतीय जनता पार्टीका ३० उम्मेदवार विजयी घोषित भएका छन् । त्रिपुरा–२ बाट भाजपाकी कृतिदेवी देवबर्मन ४ लाख ८६ हजारभन्दा बढी मतान्तरले विजयी भएकी छन् ।
सुरतबाट भाजपाका मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए भने भाजपाले जयपुर र कनार्टकको चित्तदुर्गामा विजय हासिल गरेको छ ।
जयपुरका भाजपाकी मञ्जु शर्मा ३ लाख ३१ हजारभन्दा बढी मत अन्तरले विजयी भएकी छन् भने चित्तदुर्गाबाट भाजपाका गोविन्द मकथप्पा कजरोल ४८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । उता भारतीय राष्ट्रिय कंग्रेसले ७ सिटमा विजय हासिल गरेको छ ।
पञ्जाबको जालन्धरबाट कांग्रेसका चरनजित सिंह चन्नी १ लाख ७५ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । मेघालयको टुराबाट कंग्रेसका सलेङ ए साङ्माले जित हासिल गरेका छन् । जनता दल सेक्युलरले २ स्थानमा विजय हासिल गरेको छ भने आम आदमी पार्टीले एक स्थानमा विजय हासिल गरेको छ । शिवसेनाले १ स्थानमा विजय हासिल गरेको छ । जारी मतगणनामा भाजपाले २१२ सिटमा लिड गरिरहँदा कांग्रेस ९२ सिटमा अगाडि छ ।
प्रतिकृया दिनुहॊस