आजको भोली नै प्राप्त हुने सफलता दिगो हुँदैन : सिइओ श्रेष्ठ (अन्तरवार्ता)

  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सिइओ उर्मिला श्रेष्ठसँग गरिएको कुराकानी :-

तपाईँ महिलाहरूलाई जागरूक बनाएर उद्यमी बनाउने प्रेरणाको स्रोत हुनुहुन्छ, यतिधेरै सकारात्मक ऊर्जा कसरी आउँछ ?
मैले आफ्नो लागि मात्रै सोच्दिन । एक्लैले गरेका कामहरू सफल पनि हुँदैनन् । समूह कार्य बाट नै सफलता हात पार्न सकिन्छ । समूहमा ताकत हुन्छ । मेरो ऊर्जाको स्रोत भनेको सम्पूर्ण महिला दिदीबहिनीहरू हुनुहुन्छ । उहाँहरूको क्षमता, योग्यता, धैर्यता नै सबैभन्दा ठूलो शक्तिको स्रोत हो । महिलाको रोजगारी, महिलाको उद्यमशीलता अथवा पेशामा महिलाको सहभागिता बढाउन आर्थिक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । एउटा उद्यमी महिलाले पूरै घरलाई नै प्रेरणा दिन सक्छन् । बिस्तारै समाजमा पनि यसको सकारात्मक प्रभाव पर्न थाल्छ । मेरो सिद्धान्त भनेको महिलाले आफूलाई कहिल्यै कमजोर ठान्नु हुँदैन । महिला हुँ भनेर आफूले आफूलाई नै कम आँक्ने भएकाले अवसरबाट वञ्चित हुनुपर्ने अवस्था पनि छ । मेरो विचारमा हामी प्रत्येक महिलाहरू प्रेरणाका स्रोत हौँ । सकारात्मक ऊर्जाबाट नै सफल हुन सकिन्छ । म सधैँ नै सकारात्मक सोच राख्ने भएका कारण पनि सकारात्मक ऊर्जा आउँछ ।

तपाईँको करियरको सुरुवाती अवस्थालाई कसरी सम्झिनुहुन्छ ?
मैले जागिरको सुरुवात गर्दा माथिल्लो तहमा कोही पनि महिला थिएनन् । त्यो मेरा लागि भयंकर चुनौती नै थियो । म सुरुमा नै माथिल्लो पदमा प्रवेश गरेको हुँ । सहायक व्यवस्थापकका रूपमा प्रवेश गरेपछि स्थायी भएँ । स्थायी भएपछि म्यानेजर भएँ । त्यो बेला महिलाको अण्डरमा बसेर काम गर्ने बानी पुरुषहरूमा थिएन । त्यो मेरा लागि चुनौती थियो । पुरुष कर्मचारीका लागि महिला हाकिम हुनु भनेको अचम्मको कुरा नै हुने रहेछ । नेपालभरीमा १० जना महिला पनि व्यवस्थापक पदभन्दा माथि थिएनन् । महिलाहरू पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने विश्वास गर्ने अवस्थाको निर्माण हुन सकेको थिएन ।

एउटा अविस्मरणीय घटनालाई स्मरण गर्नुपर्दा २०५३ सालमा कार्यालयको कामका लागि म हेटौँडा जानुपर्ने भयो । उक्त जिम्मेवारीका लागि पुरुषलाई अफर भएन या मलाई जानकारी भएन । मलाई तपाई के गर्नुहुन्छ ? भनेर टप म्यानेजमेन्टले सोध्यो, मैले उत्तरमा कार्यालयको कामका लागि सोध्ने होइन की जानुस् भनेर आदेश दिनुस् भनेपछि कार्यालयले अनुमति दियो र मैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेँ । ०५३/५४ सालमा हेटौडा माओवादीको दोस्रो हेडक्वार्टर थियो ।

मैले डर पाल्नुभन्दा पनि त्यो बेला काम गरेर देखाउने अवसर थियो । तर जनतामा निकै डर र त्रासको अवस्था थियो । कठिन समयमा नेपाल वनस्पतिमा डिजियमको रूपमा काम गरेँ । त्यसपछि खाद्य उद्योगमा पनि डिजियमको जिम्मेवारी पूरा गरेँ । डिजियमको पदमा रहेको भएतापनि जिएमको रूपमा काम गरेर आफूलाई प्रमाणित गरेँ । कामदारहरूसँग नजिक भएर काम गर्न पाएँ । आर्मीको प्रेसर पनि धेरै नै थियो । किसानहरू पनि माओवादीको डरले तनावमा थिए ।

२ वर्षको समयावधिमा तनाव व्यवस्थापनको ज्ञान पनि राम्रैसँग लिने अवसर पाएँ । त्यही अवधिमा मेरो बच्चा एकदमै बिरामी भयो । त्यस्तो कठिन समयमा पनि कार्यालयबाट बिदा मिलेन । मेरो अनुभवले के सिकाउँछ भने, जीवनमा आइपर्ने हरेक चुनौतीलाई स्विकार्नुपर्छ । हामीकहाँ महिलाको दोहोरो÷तेहरो जिम्मेवारी छ । घर, कार्यालय व्यवस्थापनका लागि पुरुषलाई भन्दा निकै असहज छ । यही सफल हुने र आफ्नो क्षमतालाई उजागर गर्ने हो भने घरको जिम्मेवारी घरमै र कार्यालयको जिम्मेवारी कार्यालयमा नै पुरा गर्ने दृढ इच्छा हुनुपर्छ । मैले आफ्नो करियरका दौरान आफ्नो जिम्मेवारीलाई सक्षमतापूर्वक निर्वाह गरेँ र सम्पूर्ण दिदीबहिनीहरूलाई दृढ भएर अगाडि बढ्न आग्रह गर्छु ।

नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको भूमिकालाई कसरी न्याय दिनुभयो ?
पहिला चेम्बरको बोर्डमा एकजना महिला हुनुहुन्थ्यो । म आएपछि दुईजना भयौँ । उहाँ राजदूत हुनुभयो । रिटाएर्ड भएपछि म त्यो जिम्मेवारीमा पुगेँ । उपाध्यक्षको जिम्मेवारी पूरा गर्दै गर्दा धेरै महिला÷दिदीबहिनीलाई उद्यमी बनाउने प्रयास गरेँ । पदमा पुगिसकेपछि अरूलाई सहायता गर्न सहज हुने रहेछ ।

उपाध्यक्षको जिम्मेवारी वहन गर्दा चेम्बर अफ कमर्सको माहौल कस्तो थियो ?
माहौल त मेरो पक्षमा नै थियो । कोभिडको समयमा साल्ट ट्रेडिङबाट खाद्यान्न आपूर्ति गरिरहेका थियौँ । कोभिड र भुइचालोको समयमा मैले एकदिन पनि बिदा नलिईकन खटिएर काम गरेँ । मेरो काम प्रतिको लगाव र मेहनत सबै साथीहरूलाई थाहा छ । उहाँहरूले मैले गरेको कामलाई मूल्यांकन गरेर जिम्मेवारी दिनुभएको हो । व्यक्तिगतरुपमा मप्रति सबैको सकारात्मक दृष्टिकोण थियो र छ ।

महिलाहरू सशक्त हुन के गर्नुपर्ला ?
अरूले सशक्त बनाएर हुँदैन । आफै हुनुपर्छ । म सक्छु, मेरो क्षमता छ भन्ने विश्वासका साथ अगाडि बढ्नुपर्छ । हामीलाई सशक्त बनाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको शिक्षा हो । सक्नेले पीएचडी गर्नुहोस् । नसके १० कक्षासम्म भएपनि अध्ययन गर्नुहोस् । सिप सिक्ने बानी बसाल्नुहोस् । आफ्नो योग्यता र क्षमता अनुसारको कामले तपाईँलाई बलियो बनाउँछ । हामी अरुमा निर्भर हुनुहुँदैन । आफूमा क्षमता वृद्धि गर्ने, सीप विकास गर्ने, ज्ञानको विकास गर्ने आफैले हो । हामीले हिमालयन प्याकेजिङमा महिला दिदीबहिनीलाई आबद्ध गरेका थियौँ ।

प्रायजसो कर्मचारीका श्रीमतीहरू सुरुमा १२ बजे कार्यालय आउने अनि दिउसो ३ बजे घरजाने सिस्टम थियो । मैले ९ः३० देखि ४ः३० सम्म अनिवार्य बस्नेगरी नियम बनाएँ । यसरी सुधारको प्रयास गर्दा महिला विरोधी भनेर मेरो विरुद्धमा जुलुस पनि आउँथ्यो । महिला भएर महिलाको समस्या नबुझ्ने भन्ने आरोप पनि खेप्नुपर्‍यो । मैले यसको परवाह नगरी अगाडि बढेँ । त्यहाँ मेहनत गरेका र उत्कृष्ट महिलाहरूलाई हामीले रोजगारी पनि दिएको छौँ । हाल प्याकेजिङमा ९९ प्रतिशत महिला कामदारहरू हुनुहुन्छ । जिम्मेवार र कर्तव्यनिष्ठ महिलाहरूलाई राष्ट्रिय महिला आयोगले सम्मान पनि गरेको छ । महिलालाई अरूले डोर्‍याएर सशक्त बनाउने होइन । आफ्नो मनदेखिनै म सक्छु भन्ने भावनाको विकास हुनुपर्छ । अगाडि बढ्ने हिम्मत गरेपछि साथ दिने हातहरू पनि बढ्दै जान्छन् ।

महिला भएकै कारण सुविधा पाउनुपर्छ भन्ने चलन पनि छ, अनि अर्कातिर जिम्मेवारी पाएपनि पूरा गर्न सकिँदैन की भन्ने सोच पनि कतिपय महिलामा देखिन्छ, यस्तो प्रवृत्तिको अन्त्य कसरी गर्न सकिन्छ ?
आफूमा भरोसा हुनुपर्छ । सबैभन्दा पहिले म महिला हो भन्ने बिर्सनुपर्छ । जागिर पनि चाहिन्छ, अगाडि पनि बढ्नुपर्छ । महिला भएकाले आरक्षण चाहिन्छ भन्नु गलत हो । क्षमता देखाउने ठाउँमा देखाउनुपर्छ । आफूमा सीपको विकास गर्नुपर्छ । दुर्गम जिल्ला र गाउँहरूका महिलाहरूलाई आरक्षण दिएर सशक्त बनाउनुपर्छ तर त्यस्तो अवसर एकचोटी मात्रै दिने हो ।

तपाईँ साल्ट्र ट्रेडिङको सिईओको जिम्मेवारीमा हुनुहुन्छ, कुशल व्यवस्थापनका लागि कस्तो क्षमता जरुरी हुन्छ ?
कुशल र क्षमतावान् आफूले आफूलाई देख्ने होइन । काम गर्दै जाने हो । कामको मूल्यांकनका आधारमा देखिने हो । स्वार्थ बिना निरन्तर असल कर्ममा लाग्नुपर्छ । आजको भोली नै प्राप्त हुने सफलता दिगो हुँदैन । मेरो जीवनमा पनि निरन्तर गरेको असल कर्मका कारण नै व्यवस्थापन पनि सहज भएको हो ।

तपाईँको बाल्य अवस्था र विवाहको बारेमा केही बताइदिनुस् न ?
मेरो जन्मथलो थहिटी हो । संयुक्त परिवारमा हुर्किएको हुँ । मेरो हजुरबा, हजुरआमा, काका काकी सबै सँगै बस्थ्यौँ । म चाहिँ कार्यालयमा काम गर्ने दोस्रो जेनेरेसनको महिला हुँ । माइली आमा सर्वोच्च अदालतको पहिलो महिला न्यायधिस हो । मेरो हजुरबा एकदमै आधुनिक अनि एकदमै अनुशासित र कडा स्वभावको हुनुहुन्थ्यो । विवाह वीरगन्जमा भयो भने सासू अनुशासनमा कडा खाले हुनुहुन्थ्यो । बुहारीले काम गरेर देखाउनुपर्छ भन्ने मानसिकता थियो । पारिवारिक साथ र सहयोगका कारण नै मैले आफ्नो लक्ष्य र उद्देश्य हासिल गर्न सफल भएको हुँ । –नवीन सन्देशबाट

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस