वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि पानी पर्न सकेको छैन । आकाशमा रहेका धुलोका कणहरू फैलिएपछि वायु अस्वस्थ बनिरहेको छ । काठमाडौं शहर विश्वको प्रदूषित सहरमा दर्ज भएको छ । तथ्यांकले विश्वकै सबैभन्दा प्रदुषितमा पर्नु हाम्रा लागि निकै खराब अवस्था हो । एकातीर विश्वकै सबैभन्दा धेरै प्रदुषित शहरका रुपमा सुचीकृत भयो भने अर्कोतीर यसले स्वास्थ्य जोखिममा पारेको छ । नेपालको संविधाकामा स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको मौलिक हक हो भनिएको छ । तर व्यवहारमा भने लागू हुन सकेको छैन । काठमाडौं प्रदुषित शहर त थियो नै । स्वच्छ हावाका लागि प्रख्र्यात मुगुको राराताल क्षेत्रको हावासमेत प्रदूषित भएको छ । काठमाडौंको हावा र राराताल छेउछाउको हावाको गुणस्तर करिब उस्तै रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ ।

काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । राराताल आसपासको हावा काठमाडांैको बराबरी हुनु निकै दुःखद् पक्ष हो । वन डढेलोका कारण पनि हावा प्रदुषित बनेको छ । वायु गुणस्तरविज्ञ डाक्टर भूपेन्द्र दास काठमाण्डौ, जुम्ला र मुगुमा वायु प्रदूषण उस्तै देखिएको बताउँछन् । देशका धेरजसो स्थानमा डढेलो लाग्दा देशभरकै हावा प्रदूषित बनेको छ । अहिले वातावरण विभागले राखेका धेरैजसो वायु प्रदुषण मापन केन्द्रले रातो सङ्केत दिएका छन् । यसको अर्थ भनेको हावाको अवस्था अस्वस्थकर छ । डढेलोले बन तथा पशुचौपयाको क्षति भइरहेको छ । डढेलो बस्तीमा पुगेर घरगोठ जलेर जनधनको विनाश भइरहेको छ । विश्वकैं नंवर वान प्रदुषित शहर काठमाडौं भइरहँदा सरकारले नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन ।

वायु प्रदूषणमा १० माइक्रोनभन्दा साना धुलोको कण- पी.एम. १०, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनडाईअक्साइड तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन लगायत छन् । वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्याँस थपिइरहेका छन् । त्यसैले काठमाडौं उपत्यकाको वातावरण बिग्रदै गएको छ । यहाँको वायुप्रदूषणको मुख्य जिम्मेवार सवारीसाधनबाट निस्कने धुवाँ हो ।

हाल विपद्कै रूपमा वायु प्रदूषण देखा परेको छ । उपत्यकामा बढ्दै गरेको प्रदूषणको अवस्था जटिल छ । नेपाल विश्वका अतिधेरै वायुप्रदूषण उत्सर्जन गर्ने मुलुक चीन र भारतबीच छ । नेपाल सरकारको २०७६ मा पारित काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले वायु प्रदूषण सूचकांक तीन सयभन्दा बढी भएको अवस्थालाई विपद् मान्न सकिने उल्लेख गरेको छ । यो असाध्यै खतरनाक र आपतकालीन अवस्था हो । विगतमा पनि दुईपटक आपतकालीन अवस्था आएको थियो । जसका कारण विद्यालय बन्द गर्नुपरेको थियो भने सवारीसाधनमा कटौतीसमेत गरिएको थियो ।

मानव शरीरका लागि नभई नहुने तत्व अक्सिजन हो । प्रत्येक मानिसले दिनमा करिब २२ हजार पटक सास फेर्छ । जसका लागि २५ किलो शुद्ध हावा जरुरी हुन्छ । स्वास्थ्य मन्त्रालयको ढोकामा २०२३ मा झुन्ड्याइएको ‘हेपा फिल्टरजडित कृत्रिम फोक्सो’ १५ दिनमै कालो भएको थियो । १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी हरेक दिन प्रदूषित हावामा सास फेरिरहेका छन् । उनीहरूको स्वास्थ्यमा यसले नराम्रो प्रभाव पारिरहेको छ । जसका कारण १० जनामा १ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले देखाएको छ । हरेकवर्ष नेपालमा ४२ हजार १ सयको अल्पायुमै मृत्यु हुने गरेको छ ।

वायुप्रदुषणले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरण शक्तिमा ह्रास, खाना नरुच्नेलगायतका समस्या ल्याउँछ । गर्भवती तथा गर्भको शिशुमा नराम्रो असर गर्छ । समयपूर्व र कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ । एलर्जी, नाक, कान, घाँटीको संक्रमण, खोकी, थकान, आँखा पोल्ने र लामो समयसम्म प्रदूषण भए ५० वर्ष नपुग्दै दम लाग्ने खतरा हुन सक्छ । मुटुको रक्तनली ब्लक हुनसक्छ । श्वासनली, छाला तथा फोक्सोको क्यान्सर लाग्न सक्छ । पक्षघात र मस्तिष्कघातको खतरा बढेर जान्छ । वायुप्रदुषण विज्ञ डा.भुपेन्द्र दास डढेलोको कारण अहिले वायु प्रदुषण अत्यधिक बढेको धारणा राख्छन् ।

पछिल्लो समय देखिएको वायु प्रदूषणको कारणहरू के के हुन् ? काठमाडौं त विश्वकै नंवर १ प्रदुषित शहरका रुपमा दर्ज भइसकेको छ, होइन त ?
अहिले देशैभरी वायु प्रदुषण बढेको छ । काठमाडौँंमा अत्यधिक प्रदुषण बढ्नुको कारणहरुमा आन्तरिक स्रोतहरू जस्तैः यातायातका साधनहरू, कलकारखाना, इट्टाभट्टा, फोहोरमैला जलाउनेजस्ता गतिविधिहरू १२ महिना नै भइरहेको हुन्छ । तर अहिलेको बेलामा कृषि अवशेषका कारण पनि मात्रा बढीरहेको छ । गहुँको बोक्रा जलाउने बेला अहिले नै हो । आन्तरिक स्रोतहरु र गहुँको बोक्रा जलाएका कारणले गर्दा चाहिँ बढी समस्या आएको हो । हाम्रो वरिपरिको जंगलमा वन डढेलो पनि देखिन्छ । काठमाडौँको वरिपरि पनि डढेलो लागेको छ । अहिले सासै फेर्न अप्ठेरो हुनेगरी भएको प्रदुषण चाहिं यिनै कारणबाट भएको हो ।

पहिले पनि यस्ता समस्या देखिन्थे तर यो वर्ष अलिक बढी देखिएको हो ?
सबैभन्दा बढी सन् २०२१ मा देखिएको थियो । अहिलेसम्मको रेकर्ड ब्रेक गरेको वर्षपनि त्यहि नै थियो । त्यसपछि अहिले फेरि यो वर्षलाई नराम्रै मानिन्छ । पानी परेपछि प्रदुषण अलि घटेको छ । पानी पर्नुभन्दा अगाडिको अवस्था त एकदमैं खराब थियो ।

मानवीय कारणले प्रदुषणमा बृद्धी भएको हो वा प्राकृतिक कारणले ?
वायु प्रदुषण हुनुमा दुइवटा कारण हुन्छ । एउटा प्रकृतिको कारणले र अर्को हाम्रो आफ्नै कारणले । प्राकृतिक कारणमा त हाम्रो नियन्त्रण छैन । मानवीय कारणलाई कम गर्न सक्छौं । जंगलमा आगो लगाउने काम त मानिसबाटै भएको हो नी । सवारी साधनहरूलाई समयमा सर्भिसिङ नगर्ने अनि बिग्रेर थोत्रो भएपछि पनि चलाइरहने कारणले पनि हाम्रो हावा दुषित भइरहेको छ । जथाभावी फोहोर फ्याल्ने र कृषि अवशेष पनि बालिरहनेजस्ता मानवीय क्रियाकलापले बढी मात्रामा समस्या ल्याइरहेको छ ।

वनमा डढेलो लाग्ने अवस्था मान्छेकै कारण हो वा आफैपनि डढेलो लाग्छ ? खासमा यसको प्रमुख कारण के रहेछ ?
नेपालमा मोटामोटी जतिपनि बन डढेलो हुन्छ, धेरैजसो मानयीय कारणले हुने गरेको छ । नेपालमा प्राकृतिक कारण भनेको फिक्सनबाट आगोलागी हुने वा तापक्रम ३० डिग्री पुगेपछि हुने हो । तापक्रम पहिलाको भन्दा बढेपनि अहिले भइरहेको आगलागीका घटना प्राकृतिक कारणले नै भएको भनेर पुष्टि गर्न गाह्रो छ । चुरोट खाएर फ्याल्ने बानीका कारण पनि कतिपय अवस्थामा आगलागी हुने गरेको छ । के कारणले गर्दा आगलागी भइरहेको छ भनेर अनुसन्धान गर्न जरुरी छ । सन् २०१२ देखि २०२१ सम्मको तथ्यांक अनुसार आगलागीको संख्या ३ लाखभन्दा धेरै छ । यो वर्षको हालसम्मको अवस्था हेर्ने हो भने ४५ सय भन्दा धेरे पुगिसकेको छ । घटना अझै हुनसक्छ ।

वायु प्रदुषणले पछिल्लो समय मानवीय स्वास्थ्यमा कस्तो समस्या देखिएको छ ।
हामीले यसका विषयमा अध्ययन गरिरहेका छौँ । इट्टाभट्टा र सवारी साधनबाट कति प्रदुषण हुन्छ ? यसको प्रतिवेदन बुझाउने बेला भइसकेको छ । त्यसबाट के देखिएको छ भने दमका रोगीहरू बढिरहेका छन् । धुलाका कणहरुले एलर्जी हुने र रुघाखोकी लाग्ने समस्या तीब्ररुपमा बढिरहेको छ । इटाभट्टा नजिकको बाटोको साइडतिर वायु प्रदुषण बढी हुन्छ । अहिले युवा अवस्थामा ब्लड प्रेसर देखिन थालेको छ । वायु प्रदूषणको कारणले गर्दा मुटु, दमको रोग लाग्नेको संख्या ग्रामीण भन्दा शहरी क्षेत्रमा बस्नेमा बढी देखिएको छ । शहरी क्षेत्रमा चाहिँ बच्चाहरूलाई पनि कफ हुने, बान्ता गर्ने, एलर्जी हुने त्यस्ता लक्षणहरू देखा परिरहेका छन् । यो सबैको कारण भनेको वायु प्रदुषण नै हो ।

बालवालिका र बृद्धबृद्धाको स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
साना बालवालिकामा फोक्सो सम्बन्धि समस्या देखापरेको छ । मुटु कमजोर देखिएको छ । शारीरिक विकास हुने क्रममा प्रदुषणले समस्या उत्पन्न गराउँछ । सास फुल्ने समस्या बढिरहेको छ । दिल्लीमा स्वासप्रश्वासमा समस्या भएका बच्चाहरुमध्ये १० प्रतिशतलाई हार्टअट्याक भएको तथ्यांक सार्वजनिक भएको छ । हामीले त्यति गहिरिएर अध्ययन गरेका छैनौं । बृद्द अवस्थाका व्यक्तिहरुमा गम्भीर समस्या देखापरेको छ । २०० एमजीको औषधि प्रयोग गरेकाले ३०० बनाउनुपर्ने हुन्छ । औषधिको मात्रा बढाइदिंदा औषधीको साइड इफेक्ट हुन्छ । शरीरले धान्न सक्दैन । हार्टफेल हुने संभावना बढेर जान्छ । निमोनियाका बिरामीहरु पनि बढ्छन् । दीर्घरोगीलाई झनै समस्या देखापर्छ ।

काठमाडौँमा फोहोरमैला र प्लाष्टिकहरु जलाउने गरेको पाइएको छ, यसको असर कस्तो देखिन्छ ?
काठमाडौं उपत्यकामा एक वर्षमा ७ हजार ४ सय मेट्रिकटन फोहोर मैला जलाइँदो रहेछ । यो अध्ययन २०१८ मा भएको थियो । त्यही अध्ययन अहिले हामी दोहोर्याएर गर्दैछौं । यसको तथ्याङ्क आउन बाँकी छ । तर शहरी क्षेत्रमा बालिने फोहोरको असर अतिनै गम्भीर हुन्छ । मजाले हावा पास हुन सक्दैन । जसका कारण प्रदुषणले तत्कालै असर गर्छ । काठमाण्डौ महानगरपालिकाले यस्तो गर्नेलाई दण्ड सजाय गर्नुपर्छ । अरु चीज भन्दा फोहोरमैला जलाउँदा प्रदुषण बढी निस्किन्छ भनेर सर्वसाधारणलाई जानकारी दिन ढीला भइसकेको छ ।

समस्या समाधानको लागि के गर्नुपर्ला ?
सबैभन्दा पहिले त हामी आफै सचेत हुनुपर्छ । फोहोर बाल्दा यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ भनेर थाहा पाउनुपर्छ । अर्को भनेको सरकारी पक्षबाट पनि यसको विश्लेषण जरुरी छ । फोहोरमैला सम्बन्धि नीति नियमहरु स्पष्टरुपमा लागू हुनुपर्छ । यदि कसैले वातावरण बिगार्ने काम गर्दै छ भने उसलाई दण्डको भागीदार बनाउनुपर्छ । इण्डियामा कृषि अवशेषहरू चलायो भने त्यसलाई गैरकानुनी मानिन्छ । नेपालमा अहिलेसम्म त्यसका लागि कुनै प्रावधान नै बनाएको छैन । जसलाई जति मन लाग्यो पोल्ने चलन हामीकहाँ छ । इण्डियामा त पराल बाल्यो भनेपनि गैरकानुनी मानिन्छ । हामीकहाँ खेतहरुमा पराल बाल्ने चलनै जस्तो छ । फोहोर बाल्ने र आगलागीमा संलग्न हुने जोकोहीलाई कडा सजाय दिने कानून पालना हुने हो भने यस्ता समस्या कम भएर जान्छन् ।

तपाई लामो समयदेखि यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ, वायु प्रदूषणलाई कसरी कम गर्न सकिएला ?
सरकारी तहबाट पनि यसलाई अलि बढी प्राथमिकता दिनुपर्छ । राजनीतिक पार्टीहरूले पनि यो एजेण्डालाई प्राथमिकतामा राख्नुपर्छ । पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्छ । यो सम्बन्धि जानकार व्यक्तिहरुमाथी लगानी गर्नुपर्यो । सही मानिसलाई सही समयमा सही ठाउँमा दिन सकियो भने त्यसले दिने प्रतिफल पनि धेरै राम्रो हुन्छ । हामीकहाँ जे विषय पनि राजनीतिसँग जोडिएको अवस्था छ ।युवाहरूलाई आकर्षण गर्ने कार्यक्रम देखिएको छैन । युवाहरूलाई पनि यस्ता विषयमा समावेश गराउनुपर्छ । युवाहरुले आफ्नो ज्ञान र क्ष्मतालाई उजागर गर्न पाएका छैनन् । युवालाई पनि स्थान दिनुपर्यो । उनीहरुले चाहिँ सरकारलाई अपडेट दिनसक्ने अवस्थामा छन् तर अवसर पाएका छैनन् । अब सरकारले उचित बजेटको व्यवस्था गरेर क्ष्मतावान् युवालाई यो क्षेत्रमा काम गर्न हौंस्याउनुपर्छ । जसले समस्या पहिचान र समाधानमा सहयोग गर्छ ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds