एआईजी सिफारिस विवादमाः बढुवामा पेलिएका तीन डीआईजीको लोकसेवामा उजुरी

काठमाडाैँ । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।

नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिसविरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

समितिले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न भन्दै सिफारिस गरेको थियो । सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री पनि असन्तुष्ट रहँदै आएका छन् । क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।

यसैगरी, बढुवामा नपरेका डीआईजी कार्कीले आफू अन्यायविरुद्ध अदालतको ढोकासम्म जाने जानकारी दिए । प्रहरी प्रधानकार्यालयले भने एआईजी बढुवामा डीआईजी अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक जना र धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न खोजेको थियो । तर, गृह सचिव टेकनारायण पाण्डेले सिंहबाहेकका दुई डीआईजीलाई बढुवामा पन्छाएपछि प्रहरी संगठनभित्र नैराश्यता बढेको छ ।

बढुवा सिफारिसमा परेका पन्त हालका आईजीपी क्षत्रीसँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनलाई प्रहरी संगठनबाट बिदा हुने समयमा सरकारले खुसी बनाउन एआईजी बढुवा गरेको हो । यसैगरी, वरीयताका आधारमा डीआईजीहरू अर्याल, प्रकाशजंग कार्की, पन्त, ईश्वरबाबु कार्की, सिंह, वसन्तकुमार लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी थिए ।

धानुक माओवादी केन्द्रको जोडबलमा एआईजी सिफारिस भएका हुन् । धानुकलाई एआईजी सिफारिस गरेको विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । उनलाई अर्थमन्त्री जनार्दन शर्माले एआईजी सिफारिस गर्न जोडबल गरेका हुन् ।

कांग्रेसका केही नेताहरूले भने लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिनेबेला कांग्रेस प्रमुख सचेतक निर्मला क्षत्रीसहितका प्रदेश सांसदलाई दुव्र्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब दिएका थिए ।

बढुवामा परेकामध्ये केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत सिंहका नाममा भने असन्तुष्टि छैन । उनी प्रहरी संगठनभित्र व्यावसायिक र स्वच्छ छविका प्रहरी अधिकारीमा गनिन्छन् । तर, बढुवामा परेका पन्त र धानुकको नाममा भने तीव्र असन्तुष्टि देखिएको हो । बढुवा सिफारिसमा परेकाहरूको बढुवाको निर्णय भने भइसकेको छैन ।

लोकसेवाले सुनुवाइ गर्ने
एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा तीन जना डीआईजीले उजुरी दिएपछि आयोगले सो उजुरीउपर सुनुवाइ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार आयोगका अध्यक्षको नेतृत्वमा सुनुवाइ समिति बनाएर आयोगले एआईजी बढुवा सिफारिसको प्रक्रिया र आधारलाई सूक्ष्म ढंगबाट हेर्ने भएको हो ।

‘आयोगले यसरी सुनुवाइ गर्दा निर्णय गलत भए निर्णय उल्टाउनेसम्मको अधिकार राख्छ, सिफारिस गर्दाको प्रक्रिया कस्तो रहेछ हेर्छांै, आवश्यक परे डकुमेन्ट पनि झिकाउँछौं, उजुरी परेपछि अब सिफारिसको रिभ्यु हुन्छ,’ लोकसेवा स्रोतले राजधानीसँग भन्यो ।

तर, बढुवा सिफारिस समितिले एआईजी बढुवाको सिफारिस गरे पनि हालसम्म मन्त्रिपरिषद्बाट भने सिफारिस स्वीकृत भइसकेको छैन । असन्तुष्ट रहेका डीआईजी अदालत गए अदालतले समेत बढुवाको निर्णयमा ब्रेक लगाउन सक्छ । अथवा अन्य दरबन्दी थप गर्न सरकारलाई आदेश दिन सक्छ । –राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस