सन्तोष कोइराला भोजपुर जिल्लाको भोजपुर नगरपालिका-४ साविकको सिद्धेश्वर गाउँ पञ्चायत-६ मा निम्न मध्यम परिवारमा जन्मिए । बाल्यकाल भोजपुरमैं बित्यो, गाउँकै कक्षा ५ सम्म सिद्धेश्वर माध्यमिक विद्यालय पढेका कोइरालाको परिवार पछि बसाई सरेर झापाको चन्द्रगढी आयो ।
बुवाको सरकारी जागिर थियो, झापा बसाइ सरेपछि वीरेन्द्र माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका कोइराला प्रथम श्रेणीमा एसएलसी पास भए । उच्चशिक्षाका लागि अमृत साइन्स कलेजमा भर्ना हुन काठमाण्डौ आए । उनले त्यहाँबाट आइएस्सी पास गरे भने मेची बहुमूखी क्याम्पसबाट बिकम र त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरे ।
स्कुल र क्याम्पसको जीवन सुखद् नै रहयो । उनले नेदरल्याण्डको एयरमर्स युनिभर्सिटीबाट एडभान्स लिडरसिप एण्ड मेनेजमेन्ट प्रोग्राममा डिप्लोमा गरेका छन् । सानैदेखि रुचि चाँहि इञ्जिनियर बन्ने थियो त्यहि भएर अस्कल क्याम्पसबाट आइएसी गरे तर, सोचेजस्तो सफलता हात नलागेपछि फेरी मेची क्याम्पसबाट बिकम गरे, बिकममा उनीले क्याम्पस टप गरे ।
थप अध्ययनका लागि फेरी काठमाण्डौ आए । शंकरदेवमा एमबिए भर्ना भए तर उनमा सिए पढ्ने रुचि जाग्यो र भारतको चेन्नई गए । त्यहाँ उनको बसाई सुखद् रहेन । बिरामी भएर रेष्ट गर्नु परेपछि सिएको पढाई बीचमैं छोडे । फेरी त्रिभुवन विश्वविद्यालयमा प्राइभेटबाट एमबिए पढे । एमबिए नसक्दै सन् २००० मार्चबाट कोइरालाले बैंक अफ काठमाडौंमा सहायकको रुपमा बैंकिङ करियर सुरु गरे ।
फुर्सदको समय खेलकुद र पढाईमा
सिईओ कोईराला फुर्सदको समयमा खेल र पढाइमा रुचि राख्छन् । सानैदेखिको उनको यो बानी अहिलेसम्म पनि उस्तै छ त्यसबाहेक अन्य समय टेलिभिजन हेर्न र सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा लकडाउन जारी रहेकाले उनले अहिले परिवारलाई राम्ररी समय दिन पाएका छन् ।
श्रीमतीको साथ र सहयोगले सहजता
अति नै ब्यस्त हुने भएका कारण कोइरालालाई सबैभन्दा ठूलो चुनौती परिवारलाई समय दिनु हो जस्तो लाग्छ । उनी भन्छन्- ‘सोचजस्तो समय दिन सकेको छैन तर, यो लकडाउनको समयमा भने प्रशस्त समय दिन पाएको छु ।’ परिवारमा अहिले श्रीमती र दुइवटा छोरी छन् । श्रीमतीले उच्च शिक्षा हासिल गरेको भएपनि छोरीहरुको रेखदेखमै व्यस्त हुनु परेको उनी बताउँछन् ।
कोइरालाको श्रीमतीले ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छिन् भने माइक्रो बाइलोजीमा बिएस्सी । काठमाडौं शहरमा दुई छोरी हुर्काउनुपर्ने बाध्यता भएकाले श्रीमती घरपरिवारकै काममा व्यस्त रहेको उनी भन्छन् । श्रीमतीले घरको काममा मुख्य भूमिका निर्वाह गरेकोमा कोइराला खुसी छन् र धन्यवाद दिन चाहन्छन् । सहयोगी र मिलनसार जीवनसाथी पाएका कारण नै उनी आफ्नो करियरमा सफलता हात पार्न सकेको धारणा राख्छन् ।
कोरोनाका कारण अर्थतन्त्र डामाडोल अवस्थामा छ । यसको लामो समयसम्म असर बैंकिङ क्षेत्रमा पर्ने सम्भावना देखिन्छ । आगामी दिनमा कोरोनाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? कोरोनापछि बैंकहरुको लगानीको मोडालिटी कस्तो रहला ? माछापुच्छ्रे बैंक यस्तो जटिल अवस्थाबाट कसरी अगाडि बढ्दैछ ? लगायतका विषयमा केन्द्रित रहेर सम्पादक कल्पना शर्माले माछापुच्छ्रे बैंक लिमिटेडका सिईओ सन्तोष कोईरालासँग गरेको कुराकानीको सम्पादित अंश :-
तपाई माछापुच्छ्रे बैंकमा सिइओमा नियुक्ति हुनवित्तिकै कोरोनाका कारण लकडाउन भयो, कस्तो अनूभुति हुँदैछ ?
आज बेलुका सिइओको निर्णय भयो बोर्डबाट, भोलिदेखि देशमा लकडाउन सुरु भयो । तरपनि मलाई खासै फरक अनुभूति भने भएन किनभने मैले ७ वर्षदेखि यसै संस्थामा काम गर्दै आएको थिएँ, विभिन्न भूमिकामा रहेर । सिनियर मेनेजरमा काम गरेपछि पछिल्लो समय डेपुटी सिइओको रुपमै कार्यरत थिए । गत दुई वर्षदेखि डेपुटी सिईओको रुपमा कार्यरत रहँदा पनि लगभग सिईओकै जस्तै मोडलको जिम्मेवारी हुनेगर्छ ।
वास्तवमा मलाई प्रमोशन भएजस्तो अनुभव भयो । यदि अर्काे अर्गनाइजेशनमा सिईओ भएर जान्थे भने त्यहाँ पूरै नयाँ वातावरण हुन्थ्यो, नयाँ परिवेश हुन्थ्यो होला अनि मलाई गाह्रो पनि हुन्थ्यो होला । अहिले लकडाउनको बेलामा कसरी काम गर्ने ? कसरी अर्गनाइजेशनलाई लिएर जाने ? भन्ने विषयमा नै केन्द्रित छु । नौलोपन केहि लागेन । सायद ! लामो समयसम्म यहि संस्थामैं रहेर होला फरक चाँही मलाई केहि पनि अनुभव भएन । सामान्य नै लाग्यो ।
दुई महिनाभन्दा बढी समय नागरिकले लकडाउनमा बिताए, लकडाउनका कारण भविष्यमा आर्थिकरुपमा कस्तो जोखिमको सामना गर्नुपर्छ ?
बैंकिङ क्षेत्रलाई भविष्यमा जोखिम ठूलै देखिन्छ । किनभने अब अहिले हेर्दाखेरी हामीले चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको र त्यसबीचमा राष्ट्र बैकले विभिन्न खालका परिपत्रहरु ग¥यो । त्यो अनुसार अहिलेसम्म ब्याज उठाउन राष्ट्र बैंकले नै असार १ सम्मको समय दिएको हुनाले ग्राहकहरुलाई ताकेता गरेका पनि छैनौं र गर्न पनि मिल्दैन । जसले गर्दाखेरी अब ठूला ऋणहरुको ब्याज बाँकी छ । बैंकहरुले तिनुपर्ने ब्याज कतिपयलाई हामीले तिरिसकेका छौं । लिनुपर्ने ब्याजहरु लिन पाइएको छैन, त्यहि भएर ठूलो ग्याप छ । आर्थिक अवस्था शून्य भएको अवस्थामा लकडाउन यसरी नै जारी रह्यो भने ग्राहकहरुले ब्याज तिर्नसक्ने अवस्था रहदैन ।
नेपालमा ठूला ऋण लिएकाहरुले ब्याज तिर्न सक्ने अवस्था रहेन भने सबैभन्दा जोखिम बैंकिङ क्षेत्रमा हुन्छ । ब्यवसायीहरुले ऋण तिर्नसक्ने अवस्था आएन भने सबै बैंकहरु घाटामा जान्छन् । अहिले नै तपाईले हेर्नुभयो भने चैतमा हामीले वितरण गर्नसक्ने मुनाफा १८ करोडमा झरिसक्यो, अब असारमा पनि रिकभर गर्न सकिएन भने त्यो शून्यमा जानेजस्तो देखिन्छ । कागजमा मात्रै नाफा भएर भएन । बैंकको ढुकुटीमा पनि नाफा हुनुपर्छ । अब सरकारले जनजीवनलाई सहज बनाउनतिर लाग्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई पनि सहजताको वातावरण तयार गरेर अगाडि बढ्न नसक्ने हो भने आर्थिक क्षेत्रमा ठूलो समस्या आउँछ । देशनै ठूलो आर्थिक भुमरिमा फस्नेजस्तो देखिन्छ ।
आर्थिक संकुचनका कारण अब बैंकको संख्या निकै कम हुने विश्लेषण हुँदै छ नी ?
अब अरु बैंकहरुको हामीले क्रिटिकल्ली विश्लेषण त गरेका छौनौं तर, मलाई के लाग्छ भने अझै असारदेखि नै राम्ररी काम गर्न सकिने अवस्था रह्यो भने बैंकहरु फेरि पुरानै अवस्थामा आउन सक्छन् । जोखिम त धेरै छ, उद्योग व्यवसाय नचलेको बेलामा । तरपनि व्यवस्थित रुपमा चल्नदिने हो भने फेरी पनि बैंकहरु रिभाइब गर्नसक्ने अवस्था छ । त्यस्तो एकदमै खत्तम भइसकेको, डुबिसकेको अवस्था छैन । मर्जरले बैंकहरुको संख्यामा कमी आउने पहिलेकै कुरो हो ।
मैले मर्जरको कुरो जोड्न खोजेको होईन, आर्थिक गतिविधी नै बन्द भएपछि बैंकहरु स्वतः घाटामा जान्छन् र संख्या घट्छ होइन र ?
त्यो त अब ग्राहकनै नै नभएपछि बैंक चल्ने कुरो पनि भएन । सारा ब्यवसाय चौपट भएका बेलामा बैंकमात्रै चल्ने र नाफा गर्ने भन्ने कुरो आउँदैन । त्यहि भएर अब सहज हुँदै आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्छ । मुख्यतया बैंकले गर्ने नाफामा चाँहि ठूलो घाटा लाग्ने देखिन्छ । तर बैंकिङ क्षेत्रले रिभाइब नै गर्न सक्दैन भन्ने खालको अवस्था अहिले आइसकेको छैन । मेरो विचारमा संख्यानै घटेर सानो चाहिं पक्कै हुँदैन ।
बजेटको सर्वत्र आलोचना भयो, वजेटबाट बैंकिङ क्षेत्रले राखेका आशा के कस्ता थिए ?
बैंकिङ क्षेत्रले बजेटबाट यो आउँछ त्यो आउँछ भनेर ठूलो आशा पनि राखेको थिएन । तर, सरसर्ती हेर्दाखेरी चाँहि बजेट सन्तुलित नै लाग्यो मलाई । किनभने जे आफूसँग स्रोत र साधन छ त्यहि स्रोतलाई प्रयोग गरेर बजेट ल्याउनुपर्ने थियो । जीडीपीको सबैभन्दा ठूलो हिस्सा भनेको रेमिटेन्स हो । नेपालमा चैतको फिगर हामीकहाँ आइसकेको छ । ७०-७५ अर्ब आउनुपर्ने ठाउँमा बैशाखमा आएर १३–१४ अर्बमा खुम्चियो भन्ने कुरा आएको छ ।
तर जेठमा अलिकति सुधार आएको सुनिन्छ । यसको बिस्तृत आउन बाँकी नै छ । अब सबैभन्दा ठूलो जिडीपीको स्रोत नै त्यसरी घटिसकेपछि बजेट एग्रेसिभ टाइपको ल्याएर हुँदै हुँदैन । अहिले नै आएको बजेटमा हेर्ने हो भने साढे ५ खर्ब जति आन्तरिक ऋण उठाउने भनेर भनेको छ । अनुदानबाट लिने भनेको छ । यो समग्रमा सन्तुलित नै हो । जुन रिलिफहरु दिने भन्ने कुरा भइरहेको छ त्यो चाँहि हामीसँग सम्बन्धित ग्राहकहरुलाई राष्ट्र बैंकको च्यानल हुँदै बैंकिङ च्यानलबाट गरेजस्तो देखिन्छ ।
लकडाउनबारे सरकारले विश्लेषण गरिरहेको होला तर मैले एउटा सिईओको रुपमा भन्नुपर्दा चाँहि यहि अवस्था जारी रहे अर्थतन्त्रमा ठूलो असर पर्छ । कोरोनासँग अभ्यस्त भएर जीवन पद्धति सञ्चालन गर्न दिनु आजको सबैभन्दा ठूलो बुद्धिमानी हो ।
किनभने रिफाइनान्सको रकम पनि ६० अर्बबाट १ खर्ब पु-याएको छ त्यो पनि बैंकिङ च्यानलबाटै हुने भयो, अर्काे ५० अर्बको एउटा फन्ट छ, त्यो चाँहि महामारीले असर गरेको क्षेत्रलाई मात्रै केन्द्रीत गर्ने भनेको छ तथापी त्यसको कार्यविधि बन्दै छ । यसबारे हामीसँग पनि राय सुझावहरु मागिएको छ । यसपाली बजेटमा स्वास्थ्य क्षेत्रमा धेरै लगानी बढाएको छ । योे अहिलेको आवश्यकता थियो । शिक्षा क्षेत्रमा पनि त्यस्तै छ, खर्चको हिसाबले कटौती गर्ने कुरा पनि केहि गरेको देखिन्छ ।
बैंकिङ क्षेत्रमा मौद्रिक क्षेत्रको कुरालाई हामीले बेला बेलामा उठाउने गरेका छौं, त्यसले गर्दा मौद्रिक नीति कस्तो आउँछ ? भन्ने हामीलाई ठूलो चासो छ । बजेटले त समग्ररुपमा आर्थिक परिसूचकहरु के कस्तो हुने भन्ने कुरा मात्रै हो हेर्ने हो । पर्टिकुलर बैंकिङ क्षेत्रलाई यस्तो उस्तो भन्ने त त्यसमा आउँदैन । तर मलाई लागेको चाँहि के हो भने अबका दिनमा बैंकिङ क्षेत्रहरुलाई अलि स्थीर बनाउने हो भने अहिले भन्दा बढी असर गर्न नदिने काम गर्नुपर्छ ।
राष्ट्र बैंकले आफ्नो नीतिहरुमा ऋण तिर्न नसक्नेहरुलाई इन्ट्रेस्ट क्यापिटलाईजेसन सुविधा दिनुपर्छ । लोन रिन्यूका कुरामा खुकुलो हुने, लोनलाई रिस्ट्रक्चर गर्न दिनेजस्ता सुविधालाई समेटिदिने हो भने बैंकिङ क्षेत्र डगमगाईहाल्ने अवस्थामा रहँदैन । लकडाउन मात्रै अन्तिम विकल्प होइन । यसरी आर्थिक गतिविधिहरु नै ठप्प पारेर लकडाउन गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ । अब यसबारे सरकारले विश्लेषण गरिरहेको होला तर मैले एउटा सिईओको रुपमा भन्नुपर्दा चाँहि यहि अवस्था जारी रहे अर्थतन्त्रमा ठूलो असर पर्छ । कोरोनासँग अभ्यस्त भएर जीवन पद्धति सञ्चालन गर्न दिनु आजको सबैभन्दा ठूलो बुद्धिमानी हो । लकडाउन जारी रहेका बेला हामीले ग्राहकलाई तपाइले लोन तिर्नुस् भन्न सकिने अवस्था पनि हुँदैन र भन्नु हुँदैन । किनभने भोलि तिनै ग्राहकहरुसँग काम गर्नुपर्ने हुन्छ ।
आर्थिक गतिविधि चलायमान भएपछि यो स्वतः मिलेर जान्छ तर यो अवस्था जारी रह्यो भने त सबै क्षेत्र धरासायी हुनसक्छ । राष्ट्र बैंकले सबै बैंकहरु सञ्चालन गर्न भनिसकेको छ तर ग्राहकहरुलाई आउन पनि सजिलो हुनुप-यो । बैंकहरु त खोलौंला, स्टाफहरुलाई बोलाउँला तर ग्राहकहरु पनि आउनुप¥यो । निक्षेप गर्ने, ऋण लिनेजस्ता बैंकिङ गतिविधिमा संलग्न हुनपनि त प-यो । आर्थिक सबै क्रियाकलापहरु हुन थालेपछि मात्रै बैंक राम्ररी सञ्चालित हुन्छ । त्यसैले चाँडै नै बजार व्यवस्थित गर्न सरकार लाग्नुपर्छ ।
ब्यापार ब्यवसाय ठप्प छ, आर्थिक गतिविधि नभएपछि ब्यवसायीले ब्याज तिर्नसक्ने कुरो पनि भएन, यस्तो अवस्थामा बैंकले ऋणीसँग सम्बन्ध कसरी अगाडि बढाउँछ ? (कतिपय बैंकले लोन तिर्न ऋणीलाई ताकेका पनि गरेको कुरो आएको)
हामीले ताकेता गरेका छैनौं । कसरी ताकेता गर्नु ? कुनैपनि ग्राहकलाई ताकेता गरेर ब्याज तिर्न आउनुस्, भन्नसक्ने अवस्था पनि छैन । अरु बैंकहरुका बारेमा त मलाई थाहा हुने कुरा भएन । माछापुच्छ्रेले चाँहि त्यसो गरेको छैन । जसको एकाउन्टमा पैसा थियो, अटोमेटिक रुपमा हामीले पैसा लिएका हौंला तर हामीले तपाईहरु ब्याज तिर्नुहोस् भनेका छैनौं । बरु हाम्रो बैंकले तपाईलाई ऋण चाहिन्छ, स्टाफलाई तलव खुवाउन गाह्रो भएको छ भने भन्नुहोस्, ऋण दिन्छौं, सहयोग गर्छाैं भनेका छौं ।
माछापुच्छ्रे बैंकको चैत मसान्तसम्मको वित्तीय अवस्था कस्तो रह्यो र अब यो आवको अन्त्यसम्म कस्तो रहला ? विश्लेषण गरिदिनुस् न ?
साधारणतया चैत मसान्तसम्म हाम्रो वितरणयोग्य नाफा १८ करोड मात्रै हो । मेरो बुझाईमा सबै बैंकको नाफा नकारात्मक भएर जान्छ । त्यसमा अलिकति राष्ट्र बैंकले रिल्याक्सेसन निकाल्छ भन्ने ठूलो आशा छ । इन्ट्रेस्ट क्यापिटलाइज गर्नसक्ने वित्तिकै जसले तिर्न सक्नुहुन्छ उहाँहरुले तिर्नुहुन्छ जसले तिर्न सक्नुहुन्न उहाँहरुले ऋणको रुपमा त्यो पैसा पाउनुहुन्छ । अब हामी अहिले राष्ट्र बैंकले कसरी संवोधन गर्छ त भनेर पर्ख र हेरको अवस्थामा छौं ।
हामीले तपाईहरु ब्याज तिर्नुहोस् भनेका छैनौं, बरु तपाईलाई ऋण चाहिन्छ, स्टाफलाई तलव खुवाउन गाह्रो भएको छ भने भन्नुहोस्, ऋण दिन्छौं, सहयोग गर्छाैं भनेका छौं ।
कोरोनापछि पुरानो मोडालिटीको बैंकिङ क्षेत्रमा कस्ता खाले परिवर्तन आउँछन् ?
बैंकिङ क्षेत्रमा कोरोनाले ल्याएको सबैभन्दा राम्रो एउटा पक्ष छ त्यो हो, डिजिटल बैंकिङ । डिजिटल बैंकिङका प्रयोगकर्ताहरु चाँहि अधिकतम बढेका छन् । एटिएमबाट कार्ड ट्रांन्जेक्सनहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङदेखि लिएर जतिपनि डिजिटल प्रोडक्टहरु हामीले लञ्च गरेका छौं त्यसमा प्रयोगकर्ताहरु धेरै बढेका छन् । ग्राहकहरुलाई सजिलो होस् भनेर मोबाइलबाट पैसा ट्रान्सफर गर्नुहोस् बरु आउँदैन भने हामी सिकाइदिन्छौं भनेर क्याम्पियन समेत गरेका थियौं । अबको युग भनेको डिजिटाइजेशनको हो । यसमा सबै बैंकहरुले त्यसरी नै काम गर्नुपर्छ । जोखिम पनि लिनुप¥यो । यो चाँहि कोरोनाले ल्याएको एउटा राम्रो पक्षका रुपमा म लिन्छु ।
अहिलेको अवस्थामा हेर्दाखेरी चाँहि सबैभन्दा बढी असर गरेको क्षेत्र पर्यटन हो । यसमा होटल, एयरलाइन्स, ट्राभर टुरलाई बढी असर गरेको छ । अब रिभाइब हुन पनि धेरै गाह्रो छ । जबसम्म कोरोनाको भ्याक्सिन बन्दैन, तबसम्म मान्छे ढुक्कसँग घुमफिरमा जाँदैनन् । यसबाट पर्यटन क्षेत्रमा ठूलो समस्या आउँछ । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रमा त यसले प्रभाव पारेको छ, त्यस्तै युरोपमा पनि । चीन र भारतलाई पनि अति आक्रान्त पारेको छ ।
अबको युग भनेको डिजिटाइजेशनको हो । यसमा सबै बैंकहरुले त्यसरी नै काम गर्नुपर्छ । यो चाँहि कोरोनाले ल्याएको एउटा राम्रो पक्षका रुपमा म लिन्छु ।
यस्तो अवस्थामा हामीले कृषिजन्य उत्पादनलाई बढावा दिने काम गर्नुपर्छ । बजेटमा पनि कृषिलाई प्राथमिकता दिईएको छ । स्वास्थ्य क्षेत्रतिर पनि लगानी बढाउनुपर्छ । त्यसपछि मिडियम साइज लोन (SME) हरुमा बढावा दिने तथा रिटेल साइजमा लोनलाई प्रोत्साहन गर्ने सोच हामीले वनाएका छौं । हामीसँग अहिले धेरै प्रकारका प्रोडक्टहरु छन् । लकडाउन खुलेर सहज हुनेबित्तिकै सबै ग्राहकलाई पक्कै जानकारी दिनेछौं ।
रेमिटेन्स घटेको छ, यसबाट रेमिटेन्स ब्यवसायमा ठूलो धक्का लागेको छ, बैंकिङ क्षेत्रमा यसले पार्ने प्रभावको चर्चा गरौं न ?
पूरै अर्थतन्त्रमा नै असर पार्ने भएपछि बैंकमा नपर्ने त कुरै आएन । बाहिरबाट पैंसा आउँदाखेरी तरलतालाई पनि सहज हुन्थ्यो । हुन त राष्ट्र बैंकले सिआरआरहरुलाई चाँहि घटाउने कुरा गरिरहेको छ । फिक्स डिपोजिटमा पनि यति भन्दा माथिकालाई शत प्रतिशत लोन दिएपनि फरक पर्दैन भन्ने कुराहरु पनि आएका छन् । रेमिटेन्सको नकारात्मक प्रभाव छ । यो देशको लागि एकदमै घातक हुन्छ । आजसम्म हेर्दा हाम्रो देशलाई धानेकै रेमिटेन्सले हो । यसबाट अर्थतन्त्रलाई नै असर हुन्छ भने बैंकलाई असर गर्दैन भन्ने त कुरै आउदैन । तथापि पछिल्लो समय अलिकति आशालाग्दो अवस्था पनि देखिन्छ । बैशाखमा भन्दा जेठमा रेमिटेन्स बढेको छ ।
नेपाल राष्ट्र बैंकले १५ लाखसम्मको साना, लघु र घरेलु उद्यमका लागि ल्याएको पुर्नकर्जा कार्यविधि मस्यौदा २०७७ का बारेमा प्रष्ट पारिदिनुस् न ?
यसमा दुई प्रकारको पुर्नकर्जा समेटिएको छ । बजेटले समेटेको कुरा गर्दाखेरी चाँहि साधारण पुर्नकर्जाका लागि भनेर ल्याएको ५० अर्बको एउटा फन्ट छ । त्यसमा क्षेत्रहरु छुट्याइएका छन् । त्यसको एउटा सीमा पनि तोकिएको छ । साधारण पुर्नकर्जामा चाँहि एउटा ग्राहकलाई २० वर्षसम्म दिने भन्ने हो । यसबाट विशेषत अहिले असर गरेको क्षेत्रलाई राहत मिल्ने देखिन्छ । महामारीले प्रभाव परेको क्षेत्रलाई माथि उकास्नका लागि यो पुर्नकर्जा ल्याएको हो । एकदमै सकारात्मक छ ।
माछापुच्छ्रे बैंक यस्तो जटिल अवस्थाबाट कसरी अगाडि बढ्दैछ ?
अब कोरोनासँग अभ्यस्त भएर अगाडि बढ्ने हो । एकदमै आक्रामक भएर म यो गर्छु, त्यो गर्छु भनेर भन्नसक्ने अवस्था छैन । हामीले बाहिरी वातावरणलाई पनि हेर्नुपर्ने हुन्छ । उद्योगधन्दाहरु कसरी अगाडि बढ्छन् ? लगानी गर्नेले लगानी गर्छ वा गर्दैन ? कुनकुन क्षेत्रमा लगानी गर्दा बैंक सुरक्षित हुन्छ ? अहिलेको लगानी गर्नुपर्ने क्षेत्र कुनकुन हुन् ? माग कस्तो आउँछ ? सबैभन्दा पहिले मसिनोगरी अध्ययन गर्छौ अनिमात्रै अघि बढ्छौं । यहि प्रश्न तपाईले फागुनमा सोध्नु भएको भए म यस्तो-उस्तो गर्छु भन्थें होला तर अब धेरै सोच्नुपर्ने बेला आएको छ ।
आगामी आवमा माछापुच्छे बैंकको प्राथमिकतामा कृषिमा आधारित उद्योगहरुमा पर्नेछन् । सानो-सानो लगानी गर्नेहरुदेखि लिएर ठूलो लगानी गर्नेहरु मध्यम वर्गीय परिवारका टेडिङ हाउसहरु लगायत साना उद्योगहरुमा लगानी गरेर पक्कै अगाडि बढाउँछौं ।
आगामी आवमा माछापुच्छे बैंकको प्राथमिकतामा चाँहि कृषिमा आधारित उद्योगहरुमा केन्द्रित हुन सकिन्छ । सानो-सानो लगानी गर्नेहरुदेखि लिएर ठूलो लगानी गर्नेहरु मध्यम वर्गीय परिवारका टेडिङ हाउसहरु लगायत साना उद्योगहरुमा लगानी गरेर पक्कै अगाडि बढाउँछौं । हाम्रो शाखा सञ्जाल पनि ठूलो छ । १६० शाखा छन् । ती शाखाहरु पुर्वदेखि पश्चिमसम्म र हिमालदेखि तपाईसम्म सबैतिर छरिएका छन् । तीनै सञ्जालहरुलाई प्रयोग गरेर त्यहाँका नागरिकलाई सेवा दिने हो ।
अन्त्यमा आफ्ना ग्राहकहरुलाई के भन्नुहुन्छ ?
माछापुच्छ्रे बैंकका समस्त ग्राहकहरु, तपाईहरु यस्तो अवस्थामा सबैभन्दा पहिले आफू सुरक्षित रहनुहोला । आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्ने रोगबाट हामी अहिले पिरोलिएका छौं । धैर्यताको पनि खाँचो पर्नसक्छ । विस्तारै लकडाउन खुकुलो हुँदै जानेछ भन्ने आशा राखौं । खुकुलो हुँदै गर्दा पनि हामीले पालना गर्नुपर्ने सामाजिक दूरी पनि कायम गरौं । भीडभाडमा नजाने, मास्कहरु लगाएर हिड्ने, सेनिटाईजरको व्यवस्था गर्ने, डिजिटल बैंकिङको प्रयोग गर्न अनुरोध छ ।




