कलङ्की–महाराजगञ्ज खण्ड विस्तारको तयारी, चालु आर्थिक वर्षभित्र सम्पन्न हुने

काठमाडौँ । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज विस्तारको तयारी सुरु भएको छ । यस खण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको सडक विभागले जनाएको छ । “चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गरिने यस खण्डको डीपीआरको काम चीनले शुरु गरिसकेको छ, चालु आर्थिक वर्षभित्र यो काम सम्पन्न हुनेछ” सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

डीपीआर तयार भइसकेपछि त्यसको प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाउने छ र विस्तृत छलफल गरेर अन्तिम रूप दिएपछि विस्तार कार्यलाई अगाडि बढाइने पनि उनले जानकारी दिए । उनले चिनियाँ पक्षले चक्रपथको यस खण्डको डीपीआर तयार गर्नुका साथै प्रारम्भिक अध्ययन समेत गरिरहेको बताए । प्रारम्भिक अध्ययन प्रतिवेदनलाई समेत समेटेर डीपीआर तयार गरिने छ । कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको कूल लम्बाइ १७ किलोमिटर छ ।

प्रारम्भिक अध्ययन र डीपीआर निर्माणको क्रममा नेपालको सन्दर्भमा सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायत विभिन्न ट्राफिक नियमबारे विशेष ध्यान दिन चिनियाँ पक्षलाई आग्रह गरिएको बताउँदै उपमहानिर्देशक शर्माले कोटेश्वर–कलङ्की खण्डमा देखिएका केही समस्या यस खण्डमा नआओस् भनेर नेपाल पक्ष सचेत रहेको स्पष्ट पारे । सडक विभागका अनुसार, कलङ्की–महाराजगञ्ज खण्ड विस्तारको क्रममा सडकको बीच भागमा हरियाली सहितको मध्यखण्ड राखेर डीपीआर तयार गर्न चिनियाँ पक्षलाई नेपाल पक्षबाट सुझाव दिइएको थियो ।

रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडियन’ राखिने भएको छ । कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस