हुम्ला : उत्तरी कर्णालीको रत्न

  • सुरेन्द्र तिमिल्सिना

हुम्ला, कर्णाली प्रदेशको सुन्दर जिल्ला जहाँ अहिलेसम्म राजमार्ग जोडिएको छैन । भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९° ३५” देखि ३०° ५७” उत्तरी अक्षांश र ८१° १८” देखि ८२° १०” मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।

भौगोलिक क्षेत्रको हिसाबले हेर्दा यो जिल्ला उच्च हिमाली क्षेत्रमा पर्दछ, जसको सदरमुकाम सिमिकोट समुद्र सतहदेखि २९५० मिटर उचाइमा अवस्थित छ । विकासको पर्खाइमा रहेको हुम्ला प्राकृतिक श्रोत साधनले भरिपूर्ण छ, जसको अधिकतम प्रयोग ले समग्र कर्णाली प्रदेशले विकासको काँचुली फेर्न सक्छ । देश स्थानीय, प्रदेश र संघीय संरचनामा गइसक्दा पनि कर्णाली राजमार्ग को ट्र्याक खोल्ने कार्यले द्रुत गति नपाउनु राजनीतिकर्मीले आ-आफ्नो छेत्रमा ध्यान नदिएको प्रस्ट देखिन्छ | जातीय हिसाबमा यस जिल्लाको माथिल्लो भेगमा भोटे जाति र तल्लो भागमा क्षेत्री, ठकुरी, ब्राह्मण र दलित जातिको बाहुल्यता रहेको छ । अझै नाम्खा गाउँपालिकामा ९५ % भोटे (तामाङ) जातिहरू छन् र प्रमुख धर्म बौद्ध मान्दछन् भने अन्य जातिहरू हिन्दु धर्ममा विश्वास राख्दछन् ।

उत्तर-पश्चिम छेत्र, तिब्बत र नेपालको सिमाना ‘हिल्सा’बाट बग्ने कर्णाली र उत्तर छेत्र कैलाश-मानसरोवर कर्णाली नदीका मुख्य उद्यम स्थल हुन् । धार्मिक आस्था सँगसँगै व्यापारिक इतिहास बोकेको हुम्ला, जहाँको मुख्य सडक सिमिकोट-हिल्सा जुन कर्णाली कोरिडोर हुँदै हिल्सा जोड्छ । कर्णाली कोरिडोर (हुम्ला)को ट्र्याक खोल्न बाँकी रहेको सडक खण्ड स्यालतडिदेखि रिप (१ कि.मि) (सर्केगाड गाउँपालिका)सम्म बाँकी छ, जुन नेपाली सेनाले खोल्दैछ र सलिसल्लादेखि सिमकोटसम्मको पुरै ढुवानी खच्चर मार्फत हुने गर्छ वा हवाई रुट मार्फत सिधै नेपालगन्ज- सिमकोट छ ।

तस्बिर: स्थानीय हरू लेकतिर सर्दै ।

उक्त ट्र्याक ले गर्दा सिमिकोट यति धेरै महँगो छ साथै दैनिक उपभोग्य बस्तुहरूको मूल्य आकासिएको छ कि ब्रोइलर को मासु ९०० प्रति केजी, डिजेल ४०० प्रति लिटर छ । जिल्ला सदरमुकाम नै यति महँगो भएपछि जिल्लाको कुनाकुना बस्ने को दैनिकी कसरी बित्छ होला ? अझै नम्खा गाउँपालिका को वार्ड ०६ बस्ने लिमिवासीले त एक दिन पुरै हिँडेर फेरि ६-७ हजार जिप भाडा खर्चेर (अर्को एक दिन)आफ्नो जिल्ला सदरमुकाम पुग्नु पर्ने अवस्था छ । म त हैरान भए… कोही आकस्मिक बिरामी भए हेलिकप्टर (भाडा १०-१२ लाख ) तिरेर उपचार गर्नु पर्ने अवस्था छ, त्यही नि मिल्दैन । सायद त्यही भएर बरु घर खेत बाझो छोडेर काठमाडौँ-नेपालगन्ज तिर भाडा मै बस्न रुचाउने रहेछन् यहाँका बासिन्दाले ।

नाम्खा गाउँपालिका वार्ड ०६, लिमि उपत्यकामा जम्मा तिन ओटा गाउँ तिल, हल्जी र ज्यांग जुन १ गाउँदेखि अर्को पुग्न करिब ३-४ घण्टा पैदल हिँड्न पर्छ, त्यो यात्रामा कुनै अरू घर, पसल केही भेटिँदैन । हल्जि गाउँ को गज्जब को आफ्नै नियम कानुन छ । जस्तै प्रत्येक परिवार बाट १ जना पुरुष गाउँ को स्तरोन्नति र विकास का काममा सहभागी हुन गाउँमै बस्नु पर्ने, यदि ३ जना पुरुष (बाउ र दुई छोरा) भए एक छोरा लामा भएर गुम्बा मा बस्नै पर्ने । लिमि उपत्यकामा मानिस मरेपछि गिद्धलाई खुवाउने चलन छ । सायद त्यही भएर होला गाउँ भरि हरेक उमेर समूहका मानिस भेटिन्छन् ।

तस्बिर: नेपाल र चीनको सिमाना हिल्सामा कर्णाली बग्दै ।

भोटे जातिहरू प्राय वैदेशिक रोजगारको अवसरमा तिब्बत जाने गर्दछन् र तल्लो भागका भारत र तिब्बत जाने गर्दछन् । सानो उमेरको विवाहले गर्दा अझै आर्थिक र सामाजिक दबाबले सानै उमेर मा वैदेशिक रोजगार लाई प्रोत्साहन गरेको छ । नेपाल तिरको हिल्सा बजार जहाँ नेपाली सिमको नेटवर्क आउँदैन,  इन्टरनेट चल्दैन । व्यापारी तथा बासिन्दाले चीनको सिमकार्ड  चलाउँछन् र चल्छ पनि, दैनिक उपभोग्य सामान सबै चिन बाट आउँछ र सस्तो पनि छ । हिउँदमा सेना बाहेक कोही हुँदैन यो क्षेत्रमा बस्न लाई हिउँ परेर कोही बस्दैनन् । भौगोलिक जटिलताले गर्दा कर्णाली लाई साँच्चै नै बिकट कर्णाली बनाएको छ ।

पर्यटक हब बनाउन यहाँ भएका प्राचीन गुम्बाहरू हाल्जी गुम्बा, यालबांग गुम्बा, लिमि उपत्यकाको स्तरोन्नति, तातोपानीका मुहानहरू संग्रछन् र महत्त्व बुझ्न जरुरी छ , कर्णाली नदीमा adventure जस्तै Rafting, Rock Climbing, trekking आदि, १ रुपैयाँको नो मा अङ्कित चंखेलि हिमाल, खर्पुनाथ मन्दिर, खानी तथा खनिज पहिचान र उत्खनन, लोकल उत्पादनहरूको बजारीकरण, कैलाश- मानसरोवर यात्राको लागि राम्रो पूर्वाधार विकास मुख्यतः पूर्वाधारका विकास को निर्माण आदिलाई सही उपयोग गर्न सके कर्णाली ई पर्यटक हब बनाउन सकिन्छ ।

तस्बिर: ट्र्याक खोल्न बाँकी सडक रिप (दायाँ) देखि स्यालतडी (बायाँ ) ।

लिमि उपत्यका यस उपत्यकामा जङ्गली, नाउर र  हिउँ चितुवा सहजै देखिन्छन् । हिमाली रातो भालु, जंगली चौरीगाई, गधा जसलाई स्थानीय भाषामा कयांग भनिन्छ फौजी जसरी लस्करै दगुरी रहन्छन् । कालिकण्ठे सारस नेपालमा यही ठाउँमा मात्र बस्छन् । यो क्षेत्रमा अहिलेसम्म ६६ प्रजातिका चरा, २१ प्रजातिका स्तनधारी, १४९ प्रजातिहरूका बिरुवा भेटिएका छन् । यस क्षेत्रमा १४ प्रजातिका मूल्यवान् जडिबुडीहरु समेत भेटिएका छन् (स्रोत: my sansar, Yadav ghimere) । यसको सीमाबाट चीनमा रहेको कैलाश हिमाल र मानसरोवर ताल पनि सहजै देखिन्छ । यस उपत्यकाको आफ्नै रीति रिवाज छ अलिकति तिब्बतको झल्को दिन्छ । यहाँको प्राकृतिक र सांस्कृतिक भरपुर प्रयोग गर्नु नै विकासको कोसेढुंगा साबित हुनेछ |

तातोपानी :
सलिसल्ला, खुर्पानाथ, उनापानी, केरमी, तुम्लिंग आदि ठाउँमा तातोपानीका मुहानहरू पाइन्छन्, केरमीमा त अझै तातोपानीको खोला बग्छ । तातोपानीको बाफको सेकाइले छालामा आउने समस्या, जोर्नी दुख्ने समस्या सन्चो हुन्छ भन्ने स्थानीयको विश्वास छ ।

गुम्बा/मन्दिर 
लिमि उपत्यकामा ११ औं शताब्दीको हाल्जी गुम्बा छ र यालबांग गुम्बा उपत्यका बाहिर पर्दछ । यस गुम्बामा सधुगुरु, काठमाडौँदेखि हेलिकप्टरबाट सिधै आउने गर्छन् साथै आन्तरिक तथा बिदेसी पर्यटकहरू नि आउने गर्छन् । बौद्ध धर्ममा यी गुम्बाहरूले धेरै मौलिक तथा धार्मिक आस्था बोकेको छ ।

तस्बिर: न्यालो लेक ( ५००० मि.) देखि लिमि उतटी तर्फ ।

हिन्दुको आस्था खुर्पानाथ मन्दिरसँग जोडिएको धेरै पुरानो हो  । यो मन्दिर खर्पुनाथ मा पर्दछ, कर्णाली नदी को बायाँ छेउमा । यस मन्दिर वरिपरि थुप्रै तातोपानीका मुहानहरू छन् ।

खानि तथा खनिज :
ग्रेनाट, मार्बल जुन decorative stone का रूपमा प्रयोग गर्न सकिन्छ | लीड (सिसा ), Zinc आदि मिनरलका खानिहरू यहाँ पाइन्छ ।

कर्णाली नदी:
विश्वव्यापी रूपमा Clean Hydrogen को कुरा चलिरहँदा कर्णालीको पानी खेर गएको महसुस हुन्छ, ठुलाठुला जलविद्युत आयोजना उत्पादन गर्ने क्षमता राख्छ हाम्रो कर्णालीले, Adventure को रूपमा rafting, rock climbing आदिहरू सञ्चालनमा ल्याउन सकिन्छ ।

लोकल उत्पादनहरू को बजारीकरण:
स्याउ, जौ, जडीबुटी, यार्सागुम्बा र गेडागुडी हरू प्रशस्त मात्रामा पाउँछ । यहाँ पाउने भोटे चिया जुन चौँरी को दूध, घिउ र तातोपानीको मिश्रण हुन्छ, अझै स्वादिलो हुन्छ । स्याउ र जौबाट उत्पादित लोकल रक्सी को बजारीकरण गर्न सके उचित मूल्य पाउने र स्थानीय नि प्रोत्साहित हुन्थे ।

  • लेखक तिमिल्सिना इन्जिनियरिङ भूगर्भविद् हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवित हुँदा आमाबाबुको सेवा: साँचो पुण्यको मार्ग

‘मरेपछि पुण्य कमाउन श्राद्ध गर्ने होइन, जिउँदो हुँदा आमाबाबुको सेवा गरेर पुण्य कमाउनुपर्छ' भन्ने कुराले जीवनको मूल अर्थलाई समेट्छ । हरेक वर्षको श्राद्धमा हामीले स्वर्गवासी पितृहरूलाई श्रद्धासहित सम्झन्छौं, तर जीवनको साँचो पुण्य भने जीवित हुँदा आमाबाबुको सेवाबाट प्राप्त हुन्छ । शनिबार १६ श्राद्धको दिन, विशेष रूपमा मेरो ससुराको तिथिमा, उहाँलाई सम्झँदा म केवल उहाँकै मात्र होइन, हाम्रो परिवारका सबै स्वर्गीय पितृहरूलाई सम्झिरहेकी छु ।

प्रतिकृया दिनुहॊस