अलौकिकताको आभाष दिने ‘घाम अस्ताएको होइन’

  • महेशराज खरेल

मलाई एकदिन मेरा गुरु प्रा डा. गोविन्दराज भट्टराईले बहिनी शशीलाई साथ लिएर र्कीिर्तपुर आउन भन्नुभयो । विषय खुलेको थिएन । शशी बहिनीलाई लिएर ट्याङ्ला चौक पुग्दा त्यहाँ सिक्खिमबाट राजेन सिवाकोटी आउनु भएको रहेछ । उहाँ राजनीतिको विभिन्न फेरा घुमेर हाल विश्व हिन्दु महासंघसंग आवद्ध भएको जानकारी पाईयो ।

उहाँ मेरी आमाका मामाका नाति अर्थात हामी दाजुभाइ रहेछौ । त्यसको अलावा उहाँ राम्रो साहित्यिक व्यक्तित्व पनि हुनुहुँदो रहेछ । त्यस भेलामा अतिथि राजेन सिवाकोटी, प्रा. डा.गोविन्दराज भट्टराई, प्रा. डा. अञ्जना भट्टराई, प्रा डा. कुमार प्रसाद कोईराला, डा. बिष्णु एस राई, डा. साधना प्रतीक्षा, कवि जय छान्छा , कवि बालकृष्ण माबुहाङ, कवि शशी श्रेष्ठ भट्टराई, समीक्षक अनिता पन्थी र म भेला भएका थियौ । माहौल साहित्यिक थियो । साहित्यका विभिन्न पाटाहरुको वर्णन र ब्याख्याले परिवेश रमाइलो बनेको थियो । हिउँदको मौसम भएर होला घाम प्यारा थिए । सबैले प्यारा घामको माया ग्रहण गरिरहेका थिए । सूर्य बिस्तारै पश्चिमतिर ढल्कँदै गरेको अवस्थामा एक जना महिला सहभागी थपिनुभयो । उहाँको नाम रहेछ डा. व्यञ्जना शर्मा ।

डाक्टर व्यञ्जना शर्मा अर्थात प्रा. डा. अञ्जना वस्ती भट्टराईकी बहिनी । यो डाक्टर नै डाक्टर उपाधि प्राप्त विद्वत परिवारभित्र अर्की डाक्टरसित परिचय भएको त्यो क्षण मेरो मनमा गौरव अनुभूति भयो । यति बिधि डाक्टरहरुको समूह भित्र म आफ्नै पाराले अटाउन पुगेकोमा खुशी लाग्यो । त्यसदिन हामीले आ आफ्ना कविता वाचन गर्याै, छुट्टिने बेलामा हामीले आ आफ्ना कृतिहरु साटासाट गर्याै । मैले ‘यात्रा जिन्दगीको’ मेरो उपन्यास दिएँ र डा.व्यञ्जनाबाट ‘घाम अस्ताएको होइन’ नामको पुस्तक पाएँ । मेरो पुस्तक पढेर डा. व्यञ्जनाल ‘अथक पाइलाहरु’ शीर्षकमा मेरो पुस्तकबारे मुल्यवान समीक्षा प्रकाशन गर्नु भयो । ‘मैले घाम अस्ताएको होइन’ पढ्न पाएको थिइँन ।

आज आएर मैले उक्त कृति पल्टाउँदा लाग्यो यो एक मनोविमर्स रहेछ । लेखक अष्ट्रेलियामा विद्यावारिधी गर्न गएको अवस्था । त्यही बिचमा लेखककी आमा (मुमा)को कीर्तिशेष हुनगएको कारण उत्पन्न दुःखद मनको अभिव्यक्ति रहेछ यस पुस्तकको अन्तर वस्तु । एकातिर आफ्नी प्यारी माताको कीर्तिशेष भएको, अर्काेतिर टाढा सात समुन्द्र पारिको कर्तव्य छोडेर आउन पनि नसक्ने स्थिति । माताको कीर्तिशेषको खबरले बिचलित बनेको मन, मातृवात्सल्यताले मात्र होइन समग्र मानवमूल्यले कसेर ल्याउँदा आमा शब्दले मनमा परेको गाँठो वा सकसबाट मुक्ति खोजेको अन्तर मन वा चेतको अभिव्यक्ति नै ‘घाम अस्ताएको होइन’ भन्ने बोध हुन्छ । एक प्रकारले भन्दा गद्य शोक ग्रन्थ हो यो भन्ने लाग्छ मलाई । घामलाई विम्व वा प्रतीक मानेर वा बनाएर आफ्नी माताको देहावसान पछिको आत्मासितको मनोगत सामिप्यता वा मिलनको माध्यमबाट आफ्नी आमाको भौतिक अनुपस्थितिको कारण उत्पन्न कहरलाई झेल्ने कोशिश यहाँ पाइन्छ ।

जब मानिस बाध्यताको फन्दामा जकडिन्छ स्वभाविक रुपमा उसमा एउटा बैकल्पिक प्रयत्न जाग्रित हुन्छ । पूर्विय दर्शनमा एउटा बिकल्प आत्मिक चेतको माध्यमबाट आत्मा देखि परमात्मा सम्मको मार्ग, मिलन र परम कर्तब्य निर्वाहको वा भनु मुक्ति प्राप्त गर्ने भनिन्छ÷ गरिन्छ । भौतिक जगतमा यो परीक्षण हुन नसकेको भएता पनि आत्मिक रुपमा स्थान जोडिएको ठानिन्छ । डा. व्यञ्जनाले पनि आफ्नी प्यारी आमाको अन्तेष्ठी कार्यमा आफु भौतिक रुपमा उपस्थित भएर निभाउनु पर्ने कर्तव्य निभाउन नसक्दा आत्मा र परमात्मा बिचको मनोगत ’वारलेस’ (तारले जोडेर कुरा गर्ने)मार्फत कुरा गरेर आफ्नी प्यारी आमासितको अभौतिक सामिप्यता जाहेर गरेको भेटिन्छ ।

यो आत्मसंलापभित्र ३१ शीशर्षकमा भिन्नाभिन्नै परिवेश, भाषा धर्म संस्कृति र भूगोलभित्रका आफ्ना दिवंगत पितृहरुप्रति सन्ततीले निभाएका भूमिका, अझ नमी औषधिमा राखेर जीवितझैको अवस्थामा आराधना गर्ने गरिएका बिभिन्न सन्दर्भ समाबिष्ट छन् । ती सबै शीर्षक बिषयमा चर्चा नगरेर म यहाँ केवल पुस्तकले बोल्न खोजेको सारमा मात्र केन्द्रित छु ।

ब्रह्माण्ड एक भौतिक उपरस्थिति हो । यस ब्रह्माण्ड भित्र पृथ्वी एउटा सानो ग्रहको रुपमा कृयाशिल छ । यसै पृथ्वीको प्रतिकुल वातावरण झेल्न नसकेर डायनासोर्सको अन्त्य हुनपुग्यो । त्यसपछिको अनुकुल वातावरण पाएर विभिन्न संघर्षको चरण पार गर्दै प्राणी जगतको विकास हुन पुग्यो । यही प्राणी मध्ये सबैभन्दा उच्च प्राणीको रुपमा मानवको विकास हुन पुगेको कुरा विज्ञानले प्रमाणित गरेको छ । अरु प्राणीको मस्तिष्क भन्दा भिन्न मानव मस्तिष्कले सोच्ने, सृजना गर्ने र विवेक प्रयोगको कारण संसारमा अरु प्राणी भन्दा मानव अगाडि आउन सकेको छ र विश्व प्रकृति एवम् प्राणी जगतमाथि आफ्नो आँट र कौशलले शासन गरिरहेको छ । यहाँनेर एउटा कुरा स्मरणीय के छ भने प्रकृतिबाट सृजित सबै तत्व जसरी बन्छन् त्यसरी नै नष्ट हुन्छन् । पुराना कुरा नष्ट भएपछि नयाँले ठाउँ लिन्छ, यो सार्वभौम झै नै हुन्छ ।

डायनासोर्सको पराजय पछि अन्य प्राणी झै मानवको पनि विकास भयो । आगामी हुनसक्ने अरु प्रलयहरुबाट अरु नै प्राणीको वा यस्तै केहीको अस्तित्व प्रकट वा स्थापित हुन सक्ने छ भन्न सकिन्छ । यसरी भौतिक बस्तुको सृजना र नष्ट हुने सार्वभौम नियम भित्र पनि (मानिसले जन्मनु र मर्नुका बिचमा) मानिसले आफ्नो चेतना, सृजना र विवेक प्रयोगको कारण अरु प्राणी भन्दा आफुलाई भिन्न वा मूल्यवान बनाउन प्रयत्न गर्याे । अरु प्राणीलाई झै माननवलाई केवल जन्मनु र मर्नुको भौतिक सिमामा सिमित नगरेर अति भौतिकवादी सोचबाट मुक्त गरेर मानव जीवनको महत्व भौतिक मात्र होइन, यो चेतनशिल, चिन्तनशिल, विवेकशिल भएको कारण व्यक्तिमा, परिवारमा, समाजमा, देशमा मानिसको योगदानको मूल्य स्थापित गर्न उसलाई (मानव) अमरत्व प्रदान गर्ने गरिएको छ ।

यसैले हाम्रा अग्रजहरु, पितृहरु यस भौतिक संसारबाट निवृत भए पनि अरु प्राणी भन्दा पृथक अस्तित्व वा भनु ओज एवम् गरिमा बचाउन हामी सफल भएका छौं । त्यसैले मानिसले आफ्ना स्वजनहरुको देहावसान पछि उनीहरुलाई बिर्सिदैन, बिर्सिन मिल्दैन । उनीहरुलाई मनको गरिमायुक्त स्थानमा राखिरहन चाहन्छ मानिस । यसो गर्न यस लोकबाट परलोक वा परमधाम गमनको कल्पना गरेर मानिस सजिव रहेको आत्म–स्वीकृति वा मान्यता स्थापित गर्न चाहन्छ । यही मर्म आजको युगमा पनि अध्यात्मिक मुल्य बनेर बसेको छ । यसकै सहारामा मानिस आफ्ना स्वजन, माता पिता, गुरु वा आदर्श पात्रलाई भौतिकरुपमा गुमाउन बाध्य भए पनि आत्मिक रुपमा निजको अस्तित्व अङ्गीकार गरिरहन्छ । यही स्वीकारोक्ति नै डा. व्यञ्जना शर्माको ‘घाम अस्ताएको होइन’ भन्ने आत्मसंलाप शोक पुस्तक हो भन्ने लाग्छ मलाई । यस शोकसंलाप मार्फत आफ्नी आमाको देहावसानले पारेको पीडा र कर्तब्य निर्वाहमा आफु उपस्थित हुन नसकेको परिवेशबिच मनोगत चेतना मार्गबाट आफ्नी प्यारी आमासितको भेट, लगाव जोड्न पुगेको बोध हुन्छ ।

मैले अघिल्लो वर्ष नै भाउजू प्रा. डा. अञ्जना वस्ती भट्टराईद्वारा लिखित ‘स्मृतिलोकको यात्रा’ पुस्तक उपहार पाएको थिएँ । उक्त पुस्तकमा उहाँले जीवन भोगाईको क्रममा देखेका, भेटेका, छामेका पात्रहरु समेतको स्मृतिमा आफ्नो संझना साकार गराएर पोख्नु भएको छ । बीस शीर्षक रहेको यस पुस्तकमा ‘आँशु’ शीर्षक दिएर उहाँले आफ्नी पूजनीय माताको देहावसानको परिवेशको चर्चा गर्नुभएको छ ।

मानिस आफ्ना कर्तव्यहरुमा बन्धित हुन्छ । कर्तव्य पथका सामाजिक,पारिवारिक भूमिकाहरु निर्वाह गर्दै जाँदा आफुले सन्ततिलाई जन्मदिने, हुर्काउने बढाउने ,विवाह दान गरिदिनेलगायत मात्रले सकिँदैन दायित्व । ‘के खायो, कस्तो खायो, कस्तो लायो, दुखाई बिमार कस्तो छ’ को सोधी खोजीले सम्बन्धका जुइनाहरु जोडिएका हुन्छन् । त्यो ओरालो बगेको हुन्छ ।

उकालोतर्फ फर्कँदा आफुलाई निर्माण गर्ने, आफ्नालागि सोच्ने, आफ्नो सिङ्गो भविष्य प्रति चिन्तित रहने अग्रज पुस्ता आमाबाबु भेटिन्छन् । ती मकाउन लागेका ढोड झै सुक्दै गरेका हुन्छन् । व्यवहार नामले हामीलाई सदा तिनको सामिप्यतामा रहन, बस्न दिंदैन । एक दिन सबैले धरतीको भोग सिद्याउन पर्छ । यो अवसम्भावी छ । यसै सिलसिलामा डा. अञ्जना वस्ती भट्टराईकी आमा लड्न पुग्नु भएको, औषधोपचारका निमित्त, धरान, बिराटनगर लगिएको, डाक्टरले बिरामीलाई घरै फर्काई दिएको परिवेश बिचमा कसरी आमालाई जीवितै भेट्न सकिन्छ भन्ने आतेशले दौडाउँदै गर्दा आफ्नी प्रिय आमालाई जीवित भेट्न नपाएको विलाप यस लेखमा पढ्न पाइन्छ । यिनै माताकी कान्छी छोरी डा. व्यञ्जना विद्यावारिधिका निमित्त त्यस क्षण अष्ट्रेलियामा भएकाले उपस्थित हुन नसकेको कारण मन मस्तिष्कमा परेको चोट मेटाउने चेष्टा साथ उनै आमाको दिवङ्गत आत्मासित मनोगत वार्तालाप गरेर आफुलाई एकाकार गराउने प्रयत्न गर्नु हुन्छ । यो एक अध्यात्मिक मार्गमा मनोगत बिचरण वा यात्रा गर्ने कुरा हो भन्ने लाग्छ मलाई । जहाँ भौतिक योगदान वा उपस्थिति सम्भव नहुँदाको बिकल्प अध्यात्म चेतको मार्गबाट पितृसितको सामिप्यता खोज्ने नवीन चेतयुक्त, सोचयुक्त वा भनु शिल्पयुक्त सृजना हो ‘घाम अस्ताएको होइन’ नामक पुस्तक ।

जसरी दिन र रातको एउटा भ्रम अर्थात सूर्यको उपस्थिति र केही समयको विलुपतामा उज्यालो र अँध्यारो बोध हुन्छ जीवन र आत्मा पनि त्यस्तै हुन । भौतिक बँचाई भनेको जीवन हो, आत्मा भनेको अमर अजर तत्व हो । मानिसको शरीर छोडेर पनि आत्मा आफ्नै ठाउँमा रहन्छ अर्थात आत्मा मर्दैन, एउटा डाँडाले छलेको मात्र हो । उतापट्टीको बृहद चैतन्य फाँटमा आत्मा जीवित नै रहेको हुन्छ । हो त्यही अमर आत्मा भेटिने वा भेट्ने आकाँक्षाको सन्लाप हो डा. शर्माको ‘घाम अस्ताएको होइन’ ।

दुबै दिदी बहिनी डाक्टरहरुको बिषय एउटै, सार एउटै, प्रकृया आ आफ्ना छन् सृजनामा । एकजनाले आफ्नो भौतिक उपस्थिति दर्ज गरेर एउटा शीर्षकमा आमालाई यस धरतीबाट भौतिक बिदाई गर्दाको उकुसकुमुस अभिव्यक्त गर्नु भएको छ भने अर्की बहिनीले उक्त प्रकृयामा सामेल हुन नपाएर रोएको मनलाई फुल्याउन दिवंगत आत्मासित बारबार विभिन्न सन्दर्भ जोडेर आमाको नाममा लेखिएका पत्रहरु मार्फत मनलाई शान्ति दिन खोजिएको देखिन्छ । दुबैका सृजनामा उच्च स्तरिय भाषा प्रयोग भएको पाइन्छ । घटना विवरणले मानिसलाई रुवाउँदछ । फेरि सन्यमताको मार्ग समातेर सन्तति अगाडि बड्नु पर्छ भन्ने सन्देशयुक्त सृजनाका भावछटाले अरुहरू टुहुरा सन्तति समेतको मनलाई सम्झाउन सबल भएको बोध हुन्छ ।

समाप्त
२०८०/०८/१३
कोटेश्वर, काठमाण्डौ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रौतहटमा अबैध ६ लाखसहित एक जना पक्राउ

काठमाडौं । रौतहटको सदरमुकाम गौर स्थित राईसल मिलको बाटोमा प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत …

प्रतिकृया दिनुहॊस