चुनावको मनमुटाव मेटाउन सामूहिक तरकारी खेती

काठमाडाैं । तीन तहको चुनावका बेला बारा प्रसौनी गाउँपालिका-७, बन्जरियाका बासिन्दा विभिन्न पार्टीका पक्षमा खुलेर लागे। एकै परिवारका सदस्य पनि यो र त्यो पार्टी भन्दै हिँडे। वल्लोपल्लो घरका स्थानीयबीच मतभेद बढ्यो। कतिको बोलचालै बन्द भयो।

चुनावको नतिजा आइसक्दा पनि स्थानीयबीच मेलमिलापको वातावरण बनेन। एउटालाई देख्दा अर्को तर्केर हिँड्ने, भेट भइहाले झगडा गर्ने । ससाना कुरामा खोंचे थाप्ने। चुनावको तुष लामो समयसम्म रहँदा सामूहिक निर्णयका आधारमा गर्नुपर्ने काम हुन सकेन। सामाजिक सद्भावमै खलल पर्ने अवस्था आएपछि स्थानीय युवाले मेलमिलाप गराउने उपाय खोजे। धेरै विकल्पमा छलफल भयो। अन्तिममा उनीहरूले निर्णय गरे- सामूहिक तरकारी खेती।

त्यसका लागि २५ युवाको समिति बन्यो । युवाको यो प्रयासले अहिले दोहोरो सफलता पाइरहेको छ, गाउँलेबीच मेलमिलाप र मनग्य आम्दानी। चुनावसँगै बढेको अविश्वास तरकारी खेतीले घटाइरहेको खबर बाराबाट लक्ष्मी साहले आजको कान्तिपुर दैनिकमा लेखेका छन्। सामान्य खेतीपातीबाट गुजारा चलाइरहेका स्थानीयको जीवनस्तरमा पनि सुधार आइरहेको छ। कलैया हाटबजार नजिकै भएकाले उत्पादित तरकारीका लागि बिक्रीको समस्या छैन ।

‘चुनावताका मनमुटाव बढेकाले सम्बन्ध बिग्रेको थियो । सामूहिक खेतीका माध्यमबाट मतभेद हट्दै छ,’ युवा समूहका अगुवा रामबाबु राउत भेडिहरले भने, ‘खेतीका लागि सबै जनालाई जिम्मेवारी तोकिएको छ । त्यसैअनुसार काम गरिरहेका छौं।’ उनका अनुसार बीउ बेर्ना बनाउने, गोडमेल गर्ने, सिँचाइ, मल, औषधि छर्ने, बजार लैजाने, हिसाबकिताब राख्नेलगायत जिम्मेवारी बाँडिएको छ।

समूहकी सदस्य कान्तिदेवी रामले तरकारी खेतीले समुदायका सबै पार्टीका समर्थकलाई एकै ठाउँमा ल्याएको बताइन् । सामूहिक खेतीले झन्डै २ सय घरधुरी एकै ठाउँमा जोडिएको उनले बताइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस