पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ: अध्यक्ष डा.केसी 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनएलाई पैसा र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सकेसम्म पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यहाँ हामीले केही पनि चिजको खोलो बगाउन सकेको छैनौं । हामी त्यसअर्थमा सुख्खा लागेका छौं, हाम्रो प्रचारशैली शान्त छ ।’

मंगलबारबाट सुरु भएको एनआरएनएको ११औँ महाधिवेशनमा आगामी नेतृत्वका लागि टिमसहित उम्मेदवारी दिएका केसीले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो टिमका उम्मेदवारको परिचय गराएका थिए । त्यसक्रममा उनले महाधिवेशनमा प्रतिस्पर्धाको नाममा अनावश्यक तामझाम र तडकभडकले संस्थालाई बिगारेको बताए । ‘एनआरएनमा तामझाम गरेर जरैदेखि यो संस्थालाई बिगार्ने काम भएको थियो । २०२१ मा तामझाम, राजनीतिक रंगले गर्दा २० वर्ष हजारौँ मान्छेले गरेको दुख र आबद्ध भएर बनाएको संस्था एकपटक ढलिसकेको थियो । त्यो ढलेको संस्थालाई फेरि उठाउनुपर्नेछ । हामीले कहाँनेर गल्ती ग-यौं, सच्याएर अगाडि जानुपर्नेछ,’ उनले भने, ‘त्यसैले एकपटक परेर पनि नचेत्ने मान्छेले कहिले पनि प्रगति गर्न सक्दैन । हामी परिसक्यौं, अब चेत्ने समय हो । हामीले तामझाम गरेका छैनौं ।’ आफ्नो टिमका सबै उम्मेदवार शालीन रहेकाले धेरै तडकभडकमा नउत्रिएको उनको भनाइ थियो । आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार केसीले प्रस्तावक र समर्थक नेपाल आइनपुग्दा आफ्नो प्यानलको ८ वटा पदमा उम्मेदवारी खाली रहेको र निर्वाचनपछि मनोनीत गरिने जानकारी दिए । आफूहरूको एजेण्डा गैरआवासीय नेपालीलाई सम्पन्न बनाएर त्यसपछि देश समृद्ध बनाउने रहेको उनले बताए । ‘विदेशमा रहेका नेपालीलाई सम्पन्न बनाउने हो । लगातार रूपान्तरण र परिवर्तन मुख्य ध्येय हो । एउटै पोखरीमा रहेर हुँदैन । समृद्ध र रूपान्तर नै हाम्रो एजेण्डा हो,’ उनले भने ।

केसी टिमबाट उपाध्यक्षका उम्मेदवार एवं वर्तमान उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनए महाधिवेशनमा प्रयोग हुने पैसा, शक्ति र राजनीतिक पद्धतिलाई बदल्न अहिले चुनाव पूर्णरुपमा अनलाइन माध्यममा रूपान्तरण गरिएको बताए । ‘सन् २०२१ मा सम्पूर्ण गैरआवासीय नेपालीलाई संघमा आबद्ध गर्दै सबैले गौरव गर्नसक्ने खालको संस्था बनाउने अभियान लिएर डा. केसीको नेतृत्वमा अघि बढेका थियौं । निर्वाचन हुन नसकेपछि सपना अधुरै रहे,’ उनले भने, ‘त्यो सपना पूरा गर्न अहिले त्यही एजेण्डा र करिब त्यही समूह लिएर अहिले आएका छौं ।’

आफू उपाध्यक्ष चुनिँदै गर्दा त्यतिखेर देखिएको बेथिति सच्याउने प्रण गरेको र अहिलेको चुनावमा त्यसको सुरुवात भइसकेको डा. शर्माले बताए । ‘त्यो बेला देखेको बेथिति अन्त्य गर्न २०२३ को निर्वाचन पूर्णरुपमा अनलाइन गर्छाैं, र यसलाई प्रि मेम्बरसीप गर्छाैं, आम गैरआवासीय नेपालीले साँच्चिकै नेतृत्व प्रक्रियामा भाग लिन सकुन् भनेर अनलाइन प्रणालीको परिकल्पना गरेका थियौं,’ उनले भने, ‘पूर्णरुपले हामी सबै प्रतिनिधि सदस्य अनलाइन प्रणालीबाट निर्वाचित गर्ने भन्ने कुरा सम्भव नभए पनि एनआरएनएको इतिहासमै पहिलोपटक अनलाइन प्रणालीबाट निर्वाचन गर्दैछौं । यो सुधारको प्रयास हो ।’

उपाध्यक्ष डा. शर्माले बिहीबार हुने मतदानमा काठमाडौं आएका प्रतिनिधिहरूले रजिष्ट्रेसन गरेर भौतिक रूपमा उपस्थिति भई विद्युतीय मतदान गर्नुपर्ने र देशबाहिर रहेका प्रतिनिधिहरूले अनलाइनमार्फत भोटिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए । काठमाडौं आएका प्रतिनिधिलाई बिहीबार १० देखि ८ बजेसम्मको समय र बाहिर रहेकालाई बुधबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेगरी मतदानका लागि २४ घण्टाको समय दिइएको छ । ‘इतिहासमै पहिलोपटक हुन लागेको अनलाइन प्रणालीमा काठमाडौं आउँदा हुने विभिन्न खाले प्रभाव, प्रलोभन आउने छैन । आफ्नै घरमा बसेर उम्मेदवारको प्रोफाइल हेरेर छानी छानी तपाईँहरूले  भोट गर्नसक्नु हुन्छ,’ उनले भने, ‘यो अवसर र डा. बद्री केसी टिमलाई गुमाउनुभयो भने फेरि अवसर आउँछ कि आउँदैन भन्ने म ग्यारेन्टी गर्न सक्दिन । भविष्यमा एनआरएनए सच्चिने दिशामा लैजाने हो र सबै गैरआवासीय नेपालीलाई गोलबद्ध गर्न चाहनुहुन्छ भने हाम्रो टिमलाई मौका दिनुहोस् ।’

महासचिवका उम्मेदवार गौरीराज जोशीले आफूहरू मन मिल्ने साथीहरूको समूह भएको बताए । ‘रूपान्तरण सम्भव छ, गर्न सक्छौँ भनेर लागेका छौं । साथीहरूले विश्वास गरेर जिम्मेवारी दिने विश्वास छ,’ उनले भने ।

को-को छन् टिममा ?
गैरआवासीय नेपाली संघको अर्को कार्यकालका लागि अध्यक्षका उम्मेदवार डा. केसीको टिममा डाक्टर, इन्जिनियर, वैज्ञानिक, बौद्धिक, महिला, मुस्लिम, युवा समुदायका उम्मेदवार छन् । पत्रकार सम्मेलनमा केसीले आफ्नो समूहमा एनआरएनएमा राम्रो ट्रयाक रेकर्ड बनाएका र सबै राजनीतिक पक्षको संगम हुनेगरी उम्मेदवारहरू रहेको जानकारी गराए । ‘काम गरेर प्रमाणित भइसकेका साथीलाई मात्र टिममा राखेका छौं,’ उनले भने, ‘होनहार व्यक्तिको नेतृत्व गर्न पाउँदा गौरवान्वित छु । सबै क्षेत्र, जात, धर्म, भेगलाई समेटेको छु । सकारात्मक परिणाम आउनेमा आशावादी छु ।’

डा. केसीको टिममा उपाध्यक्ष डा. हेमराज शर्मा, रामशरण शिम्खडा, डा. विनोद श्रेष्ठ, चिरिञ्जीवी घिमिरे, रविन शेरचन छन् । छैटौं उपाध्यक्ष खाली छ, बुधबारै राति १२ बजेभन्दा अगाडि तय गरिनेछ । महिला उपाध्यक्षमा यास्मिन बेगम सैयद, युवा उपाध्यक्षमा रोशन थापा उम्मेदवार छन् ।

महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सन्तोषकुमार भट्टराई, प्रमोद सिटौला छन् । सचिवमा राजेन्द्रप्रसाद पुडासैनी, यज्ञराज सुवेदी, डा. ज्ञानेन्द्र रेग्मी, डा. नवराज रोस्यारा, प्रकाश सापकोटा, पारसमणी पोखरेल र महा सचिवमा राधिका गुरुङ उम्मेदवार छन् । कोषाध्यक्षमा सुदनकुमार थापा छन् ।   सहसचिवमा ददी खड्का, सीपी पौडेल, अभिमन्यू बस्नेत, अमृता थापा (कञ्चन) छन् । महिला संयोजकमा अनुजा प्रधान, युवा सयोजकमा सुपेन्द्र केसी उम्मेदवार छन् ।

यसबाहेक बेदराज बस्नेत, शिवप्रसाद पौडेल, डा चिरन्जिवी खड्का, केवी हमाल उम्मेदवार छन् । दिनेश पोखरल र पुष्पराज भट्टराई निर्विरोध भएका छन् । डा विमल सुवेदी, बुद्धिराज घिमिरे, दिपक केसी, महेश अधिकारी, राजु अर्याल, रोबर्ट लिम्बु उम्मेदवार छन् । जनकराज पराजुली, लालप्रसाद पुन, माधव पौडेल पनि उम्मेदवार छन् । अरुण ठाकुर, गोकुल घिमिरे र कमल पाठक निर्विरोध भएका छन् । पूर्ण बानियाँ, सन्जिव श्रेष्ठ र गोविन्द सुवेदी उम्मेदवार  छन् ।

क्षेत्रीय महिला संयोजकमा डा इन्दिरा तिवारी, प्रसुना कँडेल उम्मेदवार छन् । इन्दिरा त्रिपाठी, लक्ष्मी गिरी र रेनुका लामा निर्विरोध भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस