पुरानो अन्न स्वास्थ्यका लागि फाइदाजनक हुन्छ: डा. पुनम नेपाल

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँकी डा. पुनम नेपालसँग गरिएको कुराकानी

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्दै आएका सेवाहरू कस्ता छन् ?
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको सिनामङ्गलमा रहेको छ । हामीले प्रदान गर्ने सेवाहरूमा विभिन्न रोग लागेर उपचार गर्न आउनुभएका सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ । रोग अनुसारको नेपाल सरकारले प्रदान गर्ने गरेका औषधिहरू निः शुल्क वितरण गर्ने गरेका छौँ । त्यो बाहेक सेवाग्राहीहरूलाई अन्य औषधिहरू आवश्यक परेमा जिल्ला आयुर्वेद काठमाडौँको हाताभित्र सशुल्क फार्मेसीको पनि व्यवस्था रहेको छ र बाँकी २३ किसिमका औषधिहरू बाहेक अन्य किसिमका औषधि चाहिएमा सेवाग्राहीहरूले हाम्रो फार्मेसीबाट खरिद गर्न सक्नुहुन्छ ।

त्यो भन्दा बाहेक हाम्रो आयुर्वेदको निकै आकर्षणको रूपमा रहेको सेवाका रूपमा भन्नुपर्दा हामीले दुखाई भएको भागमा अथवा पुरा शरीरमा आयुर्वेदिक औषधिको तेलले मालिस गर्ने गरेका छौँ । त्यसपछि औषधि पकाएको बाफले दुखेको भागमा सेक्ने गर्ने गरेका छौँ यसले सम्पूर्ण शरीरमा सेक्ने वा निश्चित ठाउँमा सेकेर उपचार गर्ने गरेका छौँ । अर्को सेवा भनेको शिरोधारा सेवा रहेको छ । विशेष गरेर स्वस्थ व्यक्तिको तनाव व्यवस्थापन गर्ने गरेका छौ र यदि कसैलाई धेरै तनाव हुने गरेको छ र साथसाथै निन्द्रा नलाग्ने समस्याहरू छन् भने यस्तो समस्यामा शिरोधारा सेवा दिने गरेका छौँ । अन्य किसिमका सेवाहरूमा जस्तै तेलबाट सेक्ने, बाफबाट सेक्ने प्रक्रियाहरूद्वारा शरीरका विभिन्न भागहरूको उपचार गर्छौ ।

हामीकहाँ फिजियोथेरापी सेवा रहेको छ । जुन विशेषतः हाडजोर्नीको समस्या, मांसपेशीको समस्या र नसाको समस्यामा उपयोग गर्ने गरेका छाैँ । अर्को त्यस्तै प्रकृतिको समस्याको लागि अकुपंचर सेवा रहेको छ भने योग सेवा पनि प्रदान गर्दै आएका छौँ । यो स्वस्थ व्यक्तिलाई पनि गराइरहेका छाैँ । हामीले विशेषतः रोग पहिचान गरेर त्यस्ता व्यक्तिहरूलाई पनि सेवा प्रदान गर्ने गरेका छौँ । अर्को महत्त्वपूर्ण सेवा भनेको महिलाहरूको लागि विशेष किसिमको सेवा उपलब्ध छ ।

महिलाहरूका लागि स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । महिनावारी गडबडी हुने, पाठेघरमा समस्या भएको, सेतो पानी बग्ने रोगहरूको उपचार गराइरहेका छौँ । त्यो बाहेक हामीले गर्भ अवस्थामा कस्तो किसिमको खानपान गर्ने ? गर्भावस्थामा कस्तो किसिमको योग आसन गर्दा सजिलो हुन्छ ? त्यसको लागि हामीले गर्भ रहेकाहरूको लागि विशेष प्रकारको योगासनहरु सिकाउँछौँ । बच्चा जन्मिसकेपछि ६ महिनासम्म बच्चालाई पूर्ण स्तनपान गराउन प्रेरित गर्छौं । जसले आमा र शिशुको स्वास्थ्यलाई प्रवर्धन गराउनका लागि विभिन्न किसिमका औषधिहरू उपलब्ध गराउने गरेका छौँ । हामीकहाँ जेष्ठ नागरिक विशेष सेवा रहेको छ । उमेर सँगसँगै शरीरमा विभिन्न किसिमका परिवर्तन देखिने गर्छन् भने अनेक प्रकारका समस्याहरू पनि आउने गर्दछन् । त्यसका लागि जेष्ठ नागरिकहरूलाई विभिन्न किसिमका औषधिको तेलले मालिस गर्ने गर्छौं भने रोग अनुसारको औषधि उपलब्ध छ । प्रत्येक बुधबारको दिन बिहान ८ बजे देखि १० बजेसम्म कार्यालयभित्र क्लिनिक सञ्चालन गर्ने गरेका छौँ । त्यसमा हामीले रगत, दिशा र पिसाब तथा केही तोकिएका जाँचहरू गराउँछौँ र त्यसबाट हामीलाई मुटुरोग, ब्लडप्रेसर, डाईविटिजको समस्या हुने जोखिम कत्तिको रहेको छ ? जाँचबाट औषधि उपलब्ध गराउने गर्छौं । त्यतिमात्र होइन, हामीले स्वस्थ व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ ।

सेवाग्राहीहरूको चाप कत्तिको रहने गरेको छ ?
सेवाग्राहीको चाप हाम्रोमा धेरै नै हुने गरेको छ । दैनिक नयाँ बिरामी ३० देखि ४० जना ओपिडीमा सेवा लिन आउनुहुन्छ । फिजियोथेरापी, अकुपंचर, तेलले मालिस गर्ने, बाफले सेक्ने सेवाहरूमा एकदिनको मात्र नभई प्याकेजमा कम्तीमा ६ दिन गराउनुपर्ने भएको हुँदा ती सेवाहरू लिन आउनेहरूको सङ्ख्या दिनमा कहिलेकाहीँ १०० जनाभन्दा पनि बढी हुन्छ ।

लामो समयदेखि भाडाको घरबाट स्वास्थ्य सेवा दिँदै आउनुभएको छ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हालसम्म भाडाको घरमा नै सञ्चालन गर्दै हुनुहुन्छ हैन ?
हामीसँग जिल्ला स्वास्थ्य केन्द्रको नाममा आफ्नै जग्गा छैन । जग्गा उपलब्ध कहीँ कतैबाट भएको पनि छैन । आफ्नो जग्गा नभईकन भवन बन्ने कुरा पनि भएन । हाम्रो आफ्नै जग्गा नभएका कारण भाडाको घरमा कार्यालय सञ्चालन गर्नु परेको हो । जिल्ला आयुर्वेद स्वास्थ्यले प्रदान गर्ने उपचार पद्धति कत्तिको सस्तो वा महँगो रहेको छ ? हाम्रो सेवा एकदमै सुलभ रहेको छ । कतिपय चिकित्सा निःशुल्क पनि छ । जसमा २३ किसिमका औषधिहरू रहेका छन् । नयाँ बिरामीले जम्मा २० रुपैयाँमा टिकट काट्ने सुविधा छ । पुरानो बिरामीले फलोअपमा जम्मा १० रुपैयाँ मात्रै तिरे हुन्छ । एउटा नयाँ बिरामीले २० रुपैयाँ तिरिसकेपछि २३ किसिमका ओषधिहरू प्रयोग गर्न पाउनुहुन्छ । अन्य औषधि थप गर्नुपर्ने नभए २० रुपैयाँमै सम्पूर्ण उपचार सम्भव हुन्छ ।

औषधिबाहेक तेल मालिस, बाफले सेक्ने सेवा लिनुपर्ने भएमा अकुपंचर, फिजियोथेरापी सेवा लिनुपर्ने भएमा त्यही अनुसारको शुल्क रहेको छ । उदाहरणका लागि पेटमा हामीले शिरोधारा सेवा लिनुपर्‍यो भने सो सेवा हप्तामा छ दिन उपचार गराउने गरेका छौँ । जसमा नतिजा राम्रो देखियोस् भनेर हामी सचेत हुन्छौँ । यसका लागि १ सय ५० रुपैयाँ मात्र तिर्नुपर्छ । आजको समयमा ६ दिनमा १ सय ५० रुपैयाँ भनेको एकदमै सस्तो उपचार विधि हो । त्यसकारण हामीकहाँ एकदमै सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छ ।  प्याथोलोजी ल्याब पनि रहेको छ । दिसा, पिसाब र रगत जाँच हुन्छ । त्यसमा पनि हामीले न्यूनतम मूल्य तोकेका छौँ । उदाहरणका लागि सुगरको जाँच गराउनुपरेमा २५ रुपैयाँ तिरे पुग्छ ।

तपाईँहरुकोमा एकपटक सेवाग्राहीले सेवा लिएपछि फेरी आउने क्रम कस्ताे रहेको छ ? आयुर्वेदिक उपचारप्रतिको विश्वास कस्तो पाउनुभएको छ ?
हाम्रोमा सेवाग्राहीको फलोअपको चाप एकदमै राम्रो रहेको छ । नरदेबी आयुर्वेद चिकित्सालय काठमाडौँमै रहेको छ । सरकारीमा जिल्ला आयुर्वेद स्वास्थ्य चिकित्सालय, प्राइभेट आयुर्वेद चिकित्सालय काठमाडौँका विभिन्न स्थानमा रहेका छन् । काठमाडौँमा अत्यधिक चाप रहेका कारण पनि सङ्ख्या बढेको हुनसक्छ । बिरामी नयाँ भन्दा पुरानो फलोअप गर्नेको सङ्ख्या बढी रहेको छ । हामी भाडाको भवनमा भएका कारण बेला बेला सर्नुपर्ने बाध्यता पनि हुन्छ । पहिले मित्रपार्कमा थियो । हाल सिनामङ्गलमा रहेको छ । सोधीखोजी, फोन सम्पर्क गरेर हाम्रोमा आउनेको सङ्ख्या बाक्लो छ । पहिले फलोअपमा ठिक भैसकेका वा पुनः समस्या आएका साथै स्वास्थ्य समस्या भएका नयाँ सेवाग्राहीहरू आउने गरेका छन् ।

आजभोलि स्वास्थ्य बिगार्ने जंकफुडहरु बजारमा धेरै मात्रामा पाइन्छन्, बच्चा र बुढा मानिसहरूसम्मले यस्ता खानेकुरा अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ । दीर्घायुको लागि कस्ताे किसिमको खानपान शैली उचित होला ? 
आजभोली जंकफुडको चलन छ । तर जंकफुड स्वास्थ्यका लागि भने एकदमै खराब हुन्छ । हामीले कस्ता खानेकुरा कतिबेला खाने ? यसका विषयमा सजग हुनुपर्छ । खाना खाने भन्ने बित्तिकै मात्रादेखि लिएर कुन बेला खाने ? कस्तो किसिमको खानेकुरा खाने ? यसको समय, मात्राका विषयमा जानकार हुनु आवश्यक छ । हामीले अन्न खाँदा पुरानो अन्न खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । पहिले खेतीबाली हुने ठाउँहरूमा नयाँ धान काटेपछी भकारीमा भरेर राख्ने चलन हुन्थ्यो । हामीले अघिल्लो वर्ष काटेको धान प्रयोगमा ल्याउँथ्यौँ । त्यो भनेको घरमा धान राख्ने ठाउँको अभाव भन्दा पनि पुरानो अन्न खानुपर्छ भन्ने हिसाबले हो । अहिले यस्तो चलन खासै छैन ।

आजभोलि खेतीपाती धेरै जनाको हुँदैन । बजारबाट किनेर खान्छाैँ । त्यसरी बजारबाट किनेर खाना खाने चलन बढ्दैछ । कुन नयाँ ? कुन पुरानो ? हामीलाई थाहा पनि हुँदैन तर हामीले सकेसम्म एकवर्ष पुरानो चामल प्रयोग गर्दा पच्नलाई एकदमै सजिलो हुन्छ । हामीलाई त्यसबाट रोग लाग्ने जोखिम एकदमै न्यून हुन्छ । नयाँ अन्न खाँदा शरीरमा चाँडो पच्दैन ।

चामल पुरानो खाने सल्लाह दिनुभयो तर तरकारी फलफूल कस्तो खाँदा उपयुक्त हुन्छ ?
दाल र चामल दैनिक धेरै प्रयोग हुने खानेकुरा हुन् । दाल, चामल सकेसम्म एक वर्ष पुरानो खानुपर्छ भने तरकारी सिजनल प्रयोग गर्नुपर्छ । आजभोलि बजारमा बाह्रै महिना प्रशस्त किसिमका तरकारी पाइन्छन् तर हामीले कुन समयमा ? कुन ऋतुमा कुन तरकारी फलफूल फल्छन् ? आफू होसियार हुनैपर्छ । केटाकेटीहरूलाई समेत सिकाउँदै जानुपर्दछ । अहिले लहरे तरकारीको बेला हो तर बजारमा काउली बन्दा पनि सजिलै पाइन्छन् । काउली बन्दा भने हिउँदे तरकारी हुन् । प्रकृतिले मिलाएर दिएका खानेकुरा मिलाएर खान जान्नुपर्छ । मौसमी तरकारीहरूको प्रयोग गर्नुपर्छ । तरकारी फलफूल जुन मौसममा जे पाइन्छ त्यही खाने बानी गर्नुपर्छ ।

अर्को महत्त्वपूर्ण भनेको मात्रा मिलाएर खाने भन्ने हुन्छ । दैनिक कति मात्रामा खाने भन्ने हुन्छ । खानाको क्षमता कति छ ? त्यसलाई चार भाग लगाएर दुई भाग ठोस खानेकुराले भर्नुपर्छ । जस्तै भात, चिउरा, रोटी लगायत खाँदा एक भाग तरल खानेकुराहरू जस्तै पानी, मही, दालजस्ता तरल पदार्थ खानुपर्छ । बाँकी एक भाग हावा चल्नको लागि खाली नै छोडिदिनुपर्छ । धेरैजसोको खानेकुरा घडी हेरेर खाने बानी हुन्छ । कतिको बिहान ८ बज्यो खाना खाइहाल्ने बानी हुन्छ । दिउसो २ बजिसक्दा नास्ता खाने अनि साँझ ८ बजे खाना खाएर सुत्ने चलन हुन्छ । हामीलाई भोक लागेपछि मात्रै खाने बानी गर्नुपर्छ । भोक लागेको भने थाहा हुनुपर्छ । भोक नलागी खाना खानु स्वास्थ्यका दृष्टिकोणले ठिक होइन ।

सामान्यतया आम मानिसको बेलुकाको खाना खाने समय कतिबजे उपयुक्त हुन्छ ?
आयुर्वेदका अनुसार सूर्यास्त हुनुभन्दा अगाडीनै भोजन गर्नुपर्छ भन्ने मान्यता रहेको छ । हाम्रो पाचन शक्ति सूर्यको गति सँगसँगै उतारचढाव हुने गर्दछ । जस्तै दिउसोको समयमा सूर्यको ताप बढी हुन्छ साथै उक्त समयमा हाम्रो पाचन शक्ति पनि उच्च हुने गर्दछ । सूर्यको तापसँगै बिहानदेखि दिउसोसम्म पाचन शक्ति बढ्दै जान्छ र सूर्यको शक्ति सङ्गै पाचन शक्ति घट्दै जान्छ । त्यही भएर सूर्यास्तपछि खाना पचाउने शक्ति शरीरमा धेरै हुँदैन । त्यही भएर जुन समयमा खाना पच्छ त्यही बेलामा खाने हो । हामीले बेलुकाको खाना एकदमै नै चाँडै खानुपर्छ । यो एकदमै याद गर्नुपर्छ । अर्को भनेको ऋतु अनुसारको खानेकुरा छुट्टाछुट्टै हुन्छन् । त्यो पनि याद गर्नुपर्छ ।

वर्षा ऋतुमा पानी एकदमै धेरै परिरहेको हुन्छ । हाम्रो शरीरको पाचन शक्ति एकदमै कमजोर हुन्छ यतिबेला । त्यही भएर हामीले धेरै चिल्लो र धेरै गुलियो पचाउनलाई गाह्रो हुने खालका खानेकुरासँगै भारी खालका खानेकुराहरू खानु हुँदैन । टुसा उमारेको गेडागुडीहरूको रस त्यसमा थोरै घ्यु वा तेल हालेर खानुपर्छ । यो पचाउनलाई एकदमै सजिलो हुन्छ ।

आयुर्वेदिक उपचार पद्धतिमा अधिका‌ंशकाे खासै ध्यान पुग्न सकेको देखिँदैन, किन होला ?
आयुर्वेदिक उपचार पद्धतिमा आम मानिसको ध्यान पुग्न नसक्नुमा प्रचार प्रसारको पनि कमी भयो की जस्तो लाग्छ । लामो समयसम्म औषधि खानुपर्छ । उपचारको प्रक्रिया एकदमै महँगो हुन्छ भन्ने भ्रम पनि व्याप्त छ । सेवाग्राही हामीकहाँ आउँदा सबै ठाउँमा गएर उपचार सम्भव नभएको अवस्थामा आउनुभयो भने आयुर्वेदिक चिकित्सामा समेत समय लाग्ने हुन्छ । यो पद्धति महँगो हुँदैन । हाम्रोमा एक हप्ताको प्याकेजमा १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म तिर्दाखेरी ६ दिनसम्म उपचार पाउन सकिन्छ । हामीले बुझाउन नसकेका कारण पनि आम मानिसमा आयुर्वेद उपचार पद्धतिप्रतिको दृष्टिकोण सङ्कुचित भएको हुनसक्छ । प्रचार/प्रसार कमी हुनुपनि आयुर्वेदिक पद्धतिमा ध्यान पुग्न नसक्नुको कारण हुनसक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस