‘सेलिब्रेटी’ : अपराध र संयमता 

  • कल्पना शर्मा

पछिल्लो समय समाजमा नाम कमाएका ‘सेलिब्रेटी’ का कर्तुतहरू बाहिर आउँदैछन् । नेपाली फिल्म जगतमा प्रसिद्धि कमाएका पल शाह गत चैतमा एक चर्चित गायिकालाई बलात्कार गरेको आरोपमा जेल परे । उनका ‘डाइहार्ट फ्यानहरू’ ले कलाकारिता र समाजसेवामा नाम कमाएका रिल मात्रै होइन रियल हिरोले गलत काम गर्न नसक्ने भनेर समर्थन गरे । नामुद कलाकार र समाजसेवी भएकाले बालिकाले नै फसाउने चाल चलेको आरोप समेत लगाए । कतिसम्म समर्थन भयो भने, उनका पक्षमा नारा÷जुलुस नै निस्के । चलचित्र क्षेत्रकै अग्रज र समकालीन कलाकारले उनको बचाउमा थुप्रै विवादित अभिव्यक्ति दिन भ्याए । हाम्रो समाजको वास्तविकता यही हो । हामी कोही व्यक्तिप्रति यतिबिधि ढुक्क हुन्छौँ की मानौँ उसले कुनै गल्तीनै गर्दैन । तर पछिल्लोपल्ट जब नामुद क्रिकेटर सन्दीप लामिछानेमाथि पनि सोही प्रकृतिको आरोप लाग्यो अनि प्रतिष्ठित व्यक्ति हुँदैमा उसले अपराधै गर्दैन भन्ने हुँदैन भनेर थोरै भएपनि बुझ्ने जमात बढेको हो की भन्ने अवस्था निर्माण भएको छ । नभए त सन्दीपको केश बाहिर आउन बित्तिकै फेरी पक्षमा नारा/जुलुस लागिहाल्थे । उता सामाजिक सञ्जालमा पनि तर्क÷वितर्कहरू व्यापक छन् । उच्च पदासीन, चर्चित, लोकप्रिय व्यक्तिहरूका फलोअर्स धेरै हुन्छन् । यसको अर्थ यो होइन की कुनै व्यक्ति चर्चाको शिखरमा पुग्दैमा गलत काम गर्न सक्दैन वा गर्दैन ।

चर्चित व्यक्तिलाई फसाउन सजिलो हुन्छ भनेर सन्दीपमाथि चाल चलेको भन्ने पक्ष पनि हाबी भयो । हो, चर्चित व्यक्तिको पनि व्यक्तिगत जीवन हुन्छ । उसको पनि एक सामान्य मानिससरह गोपनीयताको अधिकार हुन्छ तर जब कुनै व्यक्ति चर्चित हुन्छ तब उसको गोपनीयता आफसेआफ लुज हुन्छ । हो यहाँनेर हुन्छ समस्या । एक सामान्य र चर्चित व्यक्तिबिच । हामीलाई पनि चर्चित मानिसका बारेमा जान्ने इच्छा हुन्छ । राजेश हमालले कस्तो ब्रेकफास्ट खान्छन् ? करिश्माले कुन ब्राण्डको लुगा लगाउँछिन् ? महजोडीको जीवनशैली कस्तो छ ? आदि इत्यादि । वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ परिच्छेद २ को ४ मा ‘कसैले कुनैपनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुनेगरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनैपनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनैपनि सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’ भनेर स्पष्टसँग उल्लेख गरिएको छ । यसले के प्रष्ट पार्छ भने कानूनले सबैलाई एउटै नजरले हेर्छ ।

गोपनीयतासम्बन्धि कानूनले सबैलाई बराबरीरुपमा हेर्छ । अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका क्रिकेटरले नाबालिकासँग सम्बन्ध राख्न हुन्थ्यो की हुँदैनथ्यो ? उनको ठाउँमा एक सामान्य व्यक्ति हुँदा कानून आकर्षित हुन्थ्यो वा हुन्थेन ? अब बुझ्नुपर्ने कुरो यहाँनेर छ की चर्चित व्यक्ति क्षणभरमै यत्रतत्र सर्वत्र हुन्छन् भने सर्वसाधारणका मुद्दामा धेरैको चासो हुँदैन वा राखिँदैन तर कानूनको नजरमा भने सबै बराबर हुन्छन् । कानूनले को चर्चित ? को सर्वसाधारण ? केही चिन्दैन र चिन्नुपनि हुँदैन । अब प्रश्न बुझ्नुपर्ने हुन्छ, सत्य र न्यायको अनि गलत र सहीको । हाम्रो कानून अनुसार १८ वर्षभन्दा मुनिका नानीहरूले निर्णय लिनसक्ने क्षमता राख्दैनन् । १८ वर्ष नपुगी परिपक्व नहुने भएकाले कानूनमा नाबालिका भनिएको हो । तसर्थ सानो उमेरका महिलासँग सहमतिमै पनि सम्बन्ध राखे त्यो बलात्कार नै ठहरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक चर्चित नाम हो । अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको शिखरमा पुग्न सफल लामिछाने सानै उमेरमा सफलता प्राप्त गर्ने त्यो नाम हो, जसले खेलका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाए । उनका महिला फ्यानहरू पनि धेरै छन् । प्रशंसक पनि धेरै छन् तर यत्रो सफलता प्राप्त गरेको व्यक्तिले १८ वर्षपनि नपुगेकी नाबालिकासँग सम्बन्ध कायम गर्नु उचित थियो ? प्राप्त प्रमाणहरूले पछि उनलाई बलात्कारी प्रमाणित गर्ला या नगर्ला ? दोषी साबित होलान् या नहोलान् । त्यो प्रहरी र अपराध अनुसन्धानसँग सम्बन्धित क्षेत्रले जान्ने विषय भयो । आम सर्वसाधारणले त समाचार बाहिर आएपछि आफ्ना धारणा प्रस्तुत गर्ने हुन् । नाबालक भनेको संरक्षकको साथ चाहिने व्यक्ति हो । उ आफै निर्णय गर्न सक्दैन । यदि कुनै नाबालिग राजीखुसी सम्बन्ध स्थापित गर्न चाहेको भएपनि त्यो बलात्कारै हुन्छ भनेर कानूनमा स्पष्टसँग लेखिएको छ । यति हुँदा हुँदै पनि देशका लब्धप्रतिष्ठित व्यक्तिहरूले ती नाबालिगमाथी गरेका टिप्पणीहरू अशोभनीय मात्र होइनन् तुच्छ र तल्लो स्तरका देखिए वा मापन गरिए । महिलाले मात्रै होइन हरेक पुरुषले संयमता अपनाउनुपर्छ । कानून विपरीत जाने छुट कसैलाई छैन । सेलीब्रेटी यसैपनि धेरैका आदर्श हुन्छन् । उनीहरूप्रतिको दृष्टिकोण फरक हुन्छ । चर्चित हुनु भनेको त समाजको जिम्मेवारी बहन गर्नु हो । समाजलाई सकारात्मक दिशामा लैजानुपर्नेहरु नै नाबालिगमाथि हिंसा र बलात्कार गर्ने गलत काममा सरिक भएपछि कोहीपनि व्यक्ति चर्चित र सफल हुने चाहाना किन राख्ला ? यसतर्फ विचार गर्नु आवश्यक छ ।

मानिसमा विवेक प्रयोग गर्ने क्षमता हुने भएकाले बौद्धिक प्राणीमा राखिएको हो । यदि जनावर जस्तै अविवेकी बन्ने हो भने मानव र जनावरबिचको भिन्नता नै के रहन्छ ? पृथ्वीका हरेक प्राणी यौनजन्य कार्यबाटै जन्मिन्छन् वा अस्तित्वमा आउँछन् । तर मानव त्यो हो जसले आफ्नो विवेकले समाजमा आफ्नो क्षमता प्रदर्शन गर्छ । मानव हुनुको अर्थभित्र धेरै अन्तर्निहित अन्तर्वस्तु छन् । आफूभित्रको गलत प्रवृत्तिलाई हटाएर नैतिकवान् बन्न सकेमात्रै मानव चोलाले सार्थकता पाउँछ । बलात्कारजस्तो जघन्य अपराधमा संलग्न जोसुकैलेपनि उन्मुक्ति पाउनु हुँदैन । कानूनको पालना गर्ने सबैको कर्तव्य हो । अहिले ‘सेलिब्रेटी भर्सेज चेलीबेटी’ को आवाज बुलन्द हुँदैछ । त्यसैले समाजमा नाम कमाएकाहरूले झनै संयमता अपनाउनुपर्छ । तपाईँका वरिपरि पनि यस्तै नकाबधारी सेलिब्रेटी छन् की भनेर सचेत हुनुहोस् । व्यक्ति पद, प्रतिष्ठाले होइन विचार र सोचले असल हुन्छ ।

नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस