निर्मलाको पोष्टर : जति च्यात्यो, उति भाइरल

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।

जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो । पोलपोलमा प्रधानमन्त्रीका पोस्टर जसरी टाँगिएका थिए, त्यसरी नै निर्मलाका पोस्टरले पोलबाटै न्याय मागिरहेका थिए ।

प्रधानमन्त्रीको तस्बिरसहित नारा फैलाउन सरकारी कोष र सरकारको आह्वानमा निजी क्षेत्रले लगानी गरेको थियो भने निर्मलाको न्याय माग्न सार्वजनिक हुन नचाहने तन्नेरीको एउटा समूह थियो । एउटा प्रचारको तरिका थियो, अर्को न्यायको खोजी ।

प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्‍यो । न्याय खोज्नेहरू झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । न्याय माग्ने अभियान भाइरल बन्दै गएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।यी पोस्टर र स्टिकर कसले छापिरहेछ,कसले टाँसिरहेछ?

सामाजिक सञ्जाल फेसबुकमा एउटा ग्रुप छ– ‘मेन्स रुम रिलोडेड’ अर्थात् ‘एमआरआर’। २०११ डिसेम्बरबाट सक्रिय झन्डै एक लाख २७ हजार फलोअर रहेको उक्त पेजमार्फत जोडिएका केही तन्नेरी थिए, जसले पर्दापछाडि बसेर निर्मलाको न्यायका निम्ति पोस्टर डिजाइन गरे।

सार्वजनिक हुन नचाहने यस समूहका एक सदस्यले यसबारे खुलासा गरे । न्याय दिन सरकार असफल भइरहेका बेला प्रधानमन्त्री मुस्कुराइरहेको तस्बिरछ्यापछ्याप्ती भएकामा असन्तुष्ट यस समूहका केही सदस्य १२ गते बेलुकी काठमाडौंको एक ठाउँमा भेला भए । कोही विद्यार्थी र कोही काम गर्ने तन्नेरीको भेलाले न्याय माग्नका लागि प्रधानमन्त्रीको तस्बिरसहितको पोस्टरकै डिजाइनमा निर्मलाको तस्बिर राखेर न्यायकोआह्वान गर्ने निर्णय लियो ।

समूहकै एक जनाले तुरुन्तै डिजाइन तयार पारे । ‘सरकारले नयाँ युगको सुरुवात भन्ने नारा राखेको थियो, त्यसप्रति भएको विरोधको प्रतिवाद गर्दै प्रधानमन्त्रीले सरकारको उपस्थिति देखाउन प्रचार गरेको तर्क अगाडि सारेका थिए,’ समूहका ती सदस्यले भने, ‘सोही भनाइ सम्झेर हामीले नारा तय गर्‍यौं, सरकार भेटियो न्याय भेटिएन ।’ ३ हजार ६ सय रुपैयाँ खर्चेर तीसवटा फ्लेक्स र ३ हजार ४ सय रुपैयाँ खर्चेर दुई सयवटा पोस्टर छापिए, राति १० बजेतिर ।

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय समिटको सुरक्षामा खटिएका प्रहरीको आँखा छल्दै राति १२ बजे निस्केको ६–६ जनाको तीन टोलीले फ्लेक्स र पोस्टर राजधानीका मुख्य केन्द्र बानेश्वरदेखि कोटेश्वरसम्म र पुल्चोक–असन हुँदै बालाजुसम्म टाँसेको थियो । बिहान ५ बजेसम्म लगाएर टाँसिएका फ्लेक्स र पम्प्लेटमध्ये केही सबेरै प्रहरीले हटाएको थियो ।

पोस्टर र फ्लेक्स टाँगेपछि समूहले आफ्नो फेसबुक पेजमा सन्देश पोस्ट गर्‍यो । लेखिएको थियो, ‘चार महिना बित्दा पनि निर्मलाले न्याय नपाउनु र परिवारको स्वास्थ्यमा समेत नराम्रो असर पर्नु दुःखद छ । गएको शनिबार पशुपतिमा एक रुपैयाँ भिख मागेको टोलीले सरकार र सरोकारवाला सबैलाई दबाब दिन रातभर काठमाडौंका विभिन्न स्थानमा फ्लेक्स र पम्प्लेट टाँसेको छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस