महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले भने, ‘कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के–कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै वेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्‍याैँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’

महासंघले नै आममानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरूको सुरुवात गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरू देखिएको अध्यक्ष ढकालको दाबी थियो । महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उनको भनाइ थियो ।

उनले भने, ‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरू नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्‍याैँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रोसमेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठवटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ– अब दातालाई प्रतिबद्धताअनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।’

यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरूमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए ।

उनले भने, ‘यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरूलाई पटक–पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकै दिन बिहान एकैपटक आठवटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिले–पहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरूले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति बिस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि बिस्तारै बन्दै गएको छ ।’

यतिखेर जिल्लाजिल्लामा जाँदा साना व्यवसायीहरूले लौन हाम्रो सानोतिनो पुँजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्‍याे भन्ने गरेकाे प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकत्रित गरी ठुला लगानीमा लगाउन सक्ने बताए ।

यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकारी पनि उनले दिए ।

यो कम्पनीमार्फत जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्विटीका रूपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुँजीलाई एकत्रित गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत सिर्जना हुने उनको भनाइ थियो ।

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ वर्षमा धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds