चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौँ । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ । सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने अपेक्षा आयोजकको रहेको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रूप दिने गरी निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताएको छ । नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन, व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताए ।

उनले एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बुल्गेरिया, चेक रिपब्लिक इटली, स्विडेन, बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकायहरु आउने बताए । उनले जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको बताए ।

त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुक ऊर्जामय भएको अवस्था रहेको बताए । उनले २०३५ सम्म १३ हजार मेगावाट नेपालमा उत्पादित विद्युत खपत गर्ने लक्ष्य रहेको भन्दै विशेष गरी विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको बताए ।

उनले १० वर्षमा १० हजार मेगावाट भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत उत्पादन गर्न विषय गम्भीर रहेको बताए । अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार विद्युत मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने बताए ।

नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उनको भनाई छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गरे ।

उनले विद्युत उत्पादन, खपत र निर्यातको लागि सरकारले सबैभन्दा पहिला नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने छन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा …

प्रतिकृया दिनुहॊस