युक्रेनको मरिउपोलबाट ४६ जनाको उद्धार

एजेन्सी । युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको राष्ट्रसंघले जनाएको छ । रुसी रक्षा मन्त्रालयले पनि दुई पटक गरी ४६ जनालाई मरिउपोलस्थित एजोभस्टल स्टिल कारखाना परिसरबाट उद्धार गरिएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा मानवीयतालाई ध्यान दिएर हामीले उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालेका छौं,’ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये २५ जनाले दिउँसो र २१ जनाले साँझपख कारखाना परिसर छाडेका हुन् । त्यहाँबाट बाहिर निकालिएकामध्ये २० जना महिला तथा बालबालिका छन् । उद्धार गरिएकाहरूलाई रुसी सीमा क्षेत्रमा पर्ने बेजिमेन्नी लगिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारण थुनिएका थिए ।

युक्रेनी अधिकारीले कारखाना परिसरमा कम्तीमा एक हजार सर्वसाधारण अझै फसिरहेका जनाएका छन् । उनीहरूलाई बाहिर निस्कन दिने विषयमा वार्ता भइरहेको बीबीसीले जनाएको छ । त्यस्तै, कारखाना परिसरमा कम्तीमा ५ सय घाइते युक्रेनी सेना रहेका जनाइएको छ ।

युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा व्यक्त गरेको एएफपीले जनाएको छ । पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पार्दै लगेको छ । रुसी राष्ट्रपति पुटिनले एक साताअघि मरिउपोल कब्जा भएको बताउँदै त्यहाँबाट कसैलाई पनि बाहिर निस्कन नदिन आफ्नो फौजलाई निर्देशन दिएका थिए ।

मरिउपोलमा अझै कम्तीमा एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बाँचिरहेका बीबीसीले उल्लेख गरेको छ । मरिउपोलका मेयर भदिम बोइचेन्कोले रुसी आक्रमणमा परी कम्तीमा २० हजार गैरसैनिकको मृत्यु भएको जनाएका छन् । मारिनेहरूको संख्या अझै बढी हुन सक्ने उनको दाबी छ ।

‘नर्क छ र त्यो मरिउपोल हो,’ मरिउपोल छाड्ने सर्वसाधारणलाई उद्धृत गर्दै बोइचेन्कोले भनेका छन्, ‘मानिसहरू उद्धारको पर्खाइमा छन् । उनीहरूको जीवनरक्षाका लागि हामीसँग कति समय छ भन्न गाह्रो छ ।’ रुसी फौजले शनिबार र आइतबार दक्षिण पश्चिमी बन्दरगाह सहर ओडेसामा आक्रमण तीव्र पारेको छ । आक्रमणमा ओडेसास्थित विमानस्थलको धावनमार्ग पूणर्रूपमा क्षतिग्रस्त भएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा जारी पछिल्लो अवस्थाबारे बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग टेलिफोनमा कुराकानी गरेका छन् । दुई नेताबीच युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका विषयमा कुराकानी भएको राष्ट्रपति जेलेन्स्कीले ट्वीटमार्फत जानकारी दिएका छन् । यसअघि उनले फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोंसँगको कुराकानीमा मानवीय लगायतका सहयोगको लागि आग्रह गरेका थिए ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । त्यसयता रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत आफ्नो देशमा लगिरहेको युक्रेनको आरोप छ । यसअघि रुसले युक्रेनबाट कम्तीमा १० लाख सर्वसाधारणको उद्धार गरेको दाबी गरेको थियो । उद्धार गरिएकामध्ये १ लाख २० हजार विदेशी नागरिक भएको रुसको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after