अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे । खेलको पहिलो ओभरको पहिलो र पाँचौ बलमा चौका प्रहार गर्दै साहले राम्रो सुरुआत गरे । दोस्रो ओभरको पहिलो बलमा एक रन लिएर आशिफले साहलाई स्ट्राइक दिए । साहले दोस्रो ओभरको दोस्रो, चौथो र अन्तिम बलमा छक्का प्रहार गरे ।

नेपालले तेस्रो ओभरमा आशिफको एक चौकासहित छ रन बटुल्यो । चौथो ओभरमा एक चौथासहित नेपालको खातामा सात रन थपियो । पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुलेपछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो ।

पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो । सातौ ओभरमा जम्मा चार रन आयो भने आठौ ओभरमा एक चौकाको सहयोगमा छ रन थपियो । नवौँ ओभरमा जम्मा चार रन थपिँदा नेपालले विना विकेट ७० रन बनायो । त्यसपछि नेपालले लय बिग्रियो । दसौँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए । त्यसपछि सोही ओभरमा नेपालले चार रन थप्यो । एघारौँ ओभरमा नेपालले दोस्रो विकेटका रुपमा आशिफलाई गुमायो । उनलाई साद विन जाफरले आउट गरे ।

नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो । कप्तान रोहित पौडेल व्यक्तिगत चार रनमा हर्ष ठाकरको सिकार भए । लगातार तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यसपछि दबाबमा पर्‍यो । तेह्रौँ ओभरमा जम्मा दुई रन आयो भने १४औँ ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो । मल्लले व्यक्तिगत चार रन बनाउँदा प्रवीन कुमारले आउट गरे ।

नेपालले १५औं ओभरमा चार रन र १६औं ओभरमा छ रन मात्रै बटुल्न सक्यो । १७औं ओभरको दोस्रो बलमा गुलसन झाले छक्का प्रहार गर्दै केही आशा जगाए । उक्त ओभरमा नेपालले नौ रन जोड्न सक्यो । तर १८औँ ओभरको तेस्रो बलमा नेपालले कुशल भुर्तेलका रुपमा पाँचौ विकेट गुमायो । सोही ओभरको अन्तिम बलमा गुलसनले व्यक्तिगत दोस्रो छक्का प्रहार गरे । नेपालले १९औं ओभरमा एक चौकासहित १२ रन जोड्यो । अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ रनमा आउट भए ।

त्यसपछि सोही ओभरको पाँचौ बलमा करण केसीको छक्काको सहयोगमा नेपालले उक्त ओभरमा ११ रन जोड्यो ।पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो । नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक÷एक विकेट झारे ।

एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए । राजवंशीले पाँच दशमलव एक ओभरमा पहिलो विकेटका रुपमा नवनित धालिवाललाई आउट गरे । धालिवालले १६ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन मात्रै बनाउन सके । क्यानडाले दोस्रो विकेट आठौँ ओभरको पाँचौ बलमा गुमायो । हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा रोक्दै पवेलियन फर्काए ।

त्यसपछि नेपालले १२औं ओभरमा महत्वपूर्ण दुई वटा सफलता प्राप्त गर्‍यो । उक्त ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्तनलाई व्यक्तिगत २६ रनमा आउट गरे । किर्तनले १४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । सोही ओभरमा चौथो बलमा ओपनर दिलप्रित बाज्वा २५ रन बनाउँदै रन आउट भए ।

त्यसपछि क्यानडाको रनको गति सुस्त भयो । उसले १३औँ ओभरमा एक चौकासहित छ रन जोड्यो भने १४औं ओभरमा जम्मा तीन रन मात्रै थप्यो । नेपालका लागि सन्दीप लामिछानेले १५औं ओभरमा थप दुई सफलता दिलाए । उनले उक्त ओभरको पहिलो बलमा श्रेयस मोभालाई व्यक्तिगत आठ रन र सोही ओभरमा तेस्रो बलमा दिलोन हेलिङ्गरलाई खाता खोल्न नदिइ पवेलियन फर्काए ।

क्यानडालाई अन्तिम पाँच ओभरमा १० रनको औसतले ५० रन बनाउनु पर्ने थियो । सोह्रौं ओभरमा क्यानडाले एक चौकासहित आठ रन र १७औँ ओभरमा एक चौकासहित नौ रन जोड्यो । त्यसैगरी १८औं ओभरमा सोमपाल कामीले एक चौका र नो बलसहित १२ रन खर्चिए ।

उन्नाइसौं ओभरमा बलिङका लागि आएका करण केसीले महत्वपूर्ण १८ रन दिए । केसीको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै साद विन जफरले खेललाई आफ्नो नियन्त्रणमा लिए । तेस्रो बलमा जफरले एक रन लिँदै स्ट्राइक रवीन्द्रपल सिंहलाई दिए । सिंहले सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै क्यानडालाई जित नजिक पुर्‍याए ।

क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए । त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्कोर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे । क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई-दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए । शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after