मोरङ-ललितपुर हत्याकाण्डः कमिसनको लोभले पालैपालो हत्या

काठमाडौँ । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा चौधरीको भएको पुष्टि भएको थियो ।

उनको हत्यालाई लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका बेला भोलिपल्ट शव भेटिएको भन्दा ३० मिटर पर अर्काे खाल्टो भेटियो । प्रहरीले उत्खनन् गर्दा त्यहाँ अर्काे शव भेटियो । त्यो शव धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको थियो । श्रेष्ठ जग्गा कारोबारी हुन् । उनी ४ मंसिरमा व्यवहार मिलाउन भन्दै भक्तपुरबाट हिँडेका थिए । २५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।

एकै ठाउँ थोरै मिटरको दूरीमा दुई-दुईवटा शव भेटिएपछि धेरैको चासोको विषय बन्यो यो घटना । प्रहरीले हत्याको वास्तविक कारण, हत्याराको पहिचान गरेर कहिले बाहिर ल्याउँछ भन्ने चासो बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित चरंगखेलको गोदाम परिसरमा फेरि अर्का एक जनाको शव उत्खनन् ग¥यो । सो शव तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६२ वर्षीय मोहनप्रसाद लिम्बूको थियो ।

सबैभन्दा पहिला लिम्बूको हत्या भए पनि सबैभन्दा अन्तिममा उनको र सबैभन्दा पछि चौधरीको हत्या गरेकोमा सबैभन्दा पहिला उनको शव भेटिएको थियो ।

चौधरी र श्रेष्ठको मोरङ र लिम्बूको ललितपुरमा हत्या गरिएको भए पनि हत्या गर्न र पुर्न प्रयोग गरिएको तरिका एउटै थियो । यी तीनै जनालाई पूर्वयोजनाअनुरूप नै हत्या गरिएको थियो । उनीहरू सबैको हत्या डोरी र गम्छाले घाँटी कसेर गरिएको थियो भने खाल्टो खनेर पुरिएको थियो । खन्ती र कोदालो प्रयोग गरेर खाल्टो खनिएको थियो । शव गलाउन तीनओटै शवमा पर्याप्त मात्रामा नुन राखिएको थियो ।

तीन जना व्यवसायीको एकै समूहबाट हत्या हुनुले उनीहरूको हत्या योजनाबद्व रूपमै भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । ‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ, पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्, गाड्न खाल्टो र मान्छेहरू तयार बसिरहेका थिए, त्यसपछि शवलाई गलाउन नुनको पनि प्रयोग भएको देखिन्छ ।’

यी तीन जनामध्ये सबैभन्दा पहिला लिम्बूको हत्या २८ मंसिरमा भएको थियो । यस्तै, श्रेष्ठको ५ पुस र चौधरीको ७ पुसमा । अहिलेसम्मको अनुसन्धानमा हत्याको प्रमुख योजनाकारमा उनीहरूकै ‘पार्टनर’ सिराहा घर भई काठमाडौं बल्खु बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डल देखिएका छन् ।

मण्डलले कसरी गरे हत्या ?
मण्डलले उनीहरूको हत्या कसरी योजनाबद्ध रूपमा गरे त्यसतर्फ जाऔं । मण्डलले सहयोगीको साथ लिएर २८ मंसिरमा लिम्बूको हत्या गरे पनि उनीहरूकै पार्टनर श्रेष्ठ र चौधरीलाई यसको सुइँको समेत थिएन । बरु उनीहरू ‘व्यवसायकै सिलसिलामा’ २९ मंसिरमा मण्डलसँगै विराटनगर गएका थिए । उनीहरू बसपार्कस्थित मेट्रोसिटी होटेलमा बसेका थिए । त्यहीँ बसेको बेला मण्डलले ५ पुसमा होटलबाट लगेर श्रेष्ठको हत्या गरे । तर, श्रेष्ठको हत्या’बारे पनि चौधरीलाई केही जानकारी थिएन । ७ पुसमा उनले त्यसैगरी चौधरीको हत्या गरे ।

श्रेष्ठ र चौधरीको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले सुरुमा उनीहरूसँगै व्यवसाय गरिरहेका मण्डल र लिम्बूलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको थियो । लिम्बूको मोबाइल २८ मंसिरबाट अफ थियो । मण्डलको भने २९ मंसिरसम्म काठमाडौं, त्यसै दिन साँझ विराटनगर, त्यसपछि लगातार ७ पुससम्म विराटनगर र ७ पुसपछि लोकेसन काठमाडौं देखिएको थियो । मोबाइल लोकेसनकै आधारमा प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको थियो श्रेष्ठ र चौधरीको शव बरामद भएपछि । यद्यपि, उनले हत्यामा आफ्नो कुनै संलग्नता नभएको. र आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका थिए ।

श्रेष्ठ र चौधरीको हत्या भएको खुलेपछि मोरङ प्रहरीले यसको अनुसन्धान गरिरहेको थियो । सोही क्रममा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थिए मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम । उनीहरूसमेत पक्राउ परेपछि मण्डलको नाटक मञ्चन अन्त्य भयो । स्रोतका अनुसार मण्डल यसअघि ठगीसम्बन्धी कसुरमा नख्खु कारागार बसेका थिए । कारागारमै उनले अमितलाई चिनेका थिए । चिनजानका आधारमा उनले अमितसँग सहयोग मागेका थिए । अमितमार्फत नै आलम यो घटनामा जोडिएका थिए ।

उनीहरू पक्राउ परेपछि श्रेष्ठ र चौधरीको हत्या अभियोगमा खोजिएका लिम्बूको पनि हत्या भइसकेको खुलासा भयो । पक्राउ परेका मण्डलसहित तीन जनाले नै लिम्बूको हत्या भएको ठाउँको जानकारी बिहीबार साँझ प्रहरीलाई दिएका थिए । लगत्तै प्रहरीले लिम्बूको शव उत्खनन् गरेको थियो ।

मण्डलले हत्यामा भारतीय नागरिकहरूलाई पनि प्रयोग गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

किन गरियो हत्या ?
मृतक तीन जना र मुख्य आरोपी मण्डलबीच पूर्व चिनजान थियो । पछि उनीहरू चारै जना मिलेर व्यसायमा हात हालेका थिए । राजेन्द्रकुमार श्रेष्ठले लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका थिए । शम्भु चौधरी ठेक्कापट्टामा संलग्न थिए । अनिलकुमार मण्डल सातदोबाटोमा रहेको एक फाइनान्सको अध्यक्ष थिए । उनले पठाओजस्तै राइड सेयरिङ एप ‘सफल यात्रा’ पनि सञ्चालन गर्दै आएका थिए । श्रेष्ठ र मण्डलको सम्बन्ध भने पहिलादेखि नै राम्रो थियो । मण्डल श्रेष्ठलाई जग्गा किन्ने ग्राहक भेट्टाउँथे । त्यसबापत कमिसन लिन्थे । उता, लिम्बूको विश्वास पात्र थिए जग्गा कारोबारी श्रेष्ठ । चौधरी र लिम्बूको पनि चिनजान थियो ।

एक दिन एक जना व्यक्तिले ललितपुर हरिसिद्धिको २५ रोपनी ७ आना जग्गा नेपाल बंगलादेश बैंकले लिलाम गर्न लागेकाले त्यसबाट जोगाइदिन भन्दै मण्डलकहाँ पुगेका थिए । हालको बजार मूल्यअनुसार १ अर्ब रुपैयाँभन्दा बढी पर्ने जग्गा आधा मूल्यमै हात पार्न सकिने देखिएपछि मण्डल अघि बढे ।

जिल्ला प्रहरी कार्यालय, मोरङका एक अनुसन्धान अधिकृतका अनुसार बैंकले ३५ करोड रुपैयाँ बुझाउन सके ऋणीलाई नै जग्गा फिर्ता गर्ने बताएको रहेछ ।

‘जग्गाधनीले मण्डललाई ५५ करोड रुपैयाँ दिए जग्गा नामसारी गरिदिन्छु वा १८ प्रतिशत ब्याजमा रकम नै फिर्ता गरिदिन्छु भन्ने प्रस्ताव राखेपछि मण्डल सक्रिय भएको देखिन्छ,’ उनले भने, ‘हाम्रो निष्कर्ष के छ भने जग्गा उकासिदिएबापत आउने कमिसनको रकमका कारण नै हत्या भएको हो । यसमा डेढ करोड रुपैयाँभन्दा बढी कमिसनको खेल भएको खुलेको छ ।’

जग्गाधनीले मण्डलसँग आफ्नो कुरा भनेपछि उनले आफ्ना साझेदार श्रेष्ठलाई लगानीका लागि गर्न प्रस्ताव गरेका थिए । उनले यो कुरा लिम्बूलाई र लिम्बूले चौधरीलाई सेयर गरे । कुराकानीका क्रममा चोधरी रकम दिन तयार भए । उनले जग्गा फिर्ता आउनेबित्तिकै आफ्नो नाममा गर्नुपर्ने र त्यही राखेर ८० करोड रुपैयाँ ऋण लिने सुनाए । कुराकानी अघि बढ्दै जाँदा उनीहरूबीच चौधरीको मागअनुसार नै बैंकबाट जग्गा धनीको नाममा आउनेबित्तिकै नामसारी गर्ने मौखिक सहमति भयो । मण्डल, श्रेष्ठ र लिम्बूलाई भने ५५ करोड रुपैयाँको ३ प्रतिशत कमिसन पाउने समझदारी भयो ।

मौखिक सहमतिअनुसार पीडितले अग्रिम १७ लाख रुपैयाँ मण्डललाई दिएका थिए । तर लिखित सहमति हुन बाँकी थियो । लिखित सम्झौता हुनुअगावै चौधरीले सिधै जग्गाधनीसँग डिल गर्न थालेपछि मण्डल बिच्किएको प्रहरीको भनाइ छ ।

पीडितले बैंकबाट जग्गा छुटाउन ३०÷३५ करोड रुपैयाँ तिर्नुपर्ने भने पनि ५५ करोड रुपैयाँ मागेकाले बाँकी रहेको रकम मण्डलले खान खोजेको हुन सक्ने मारिएका तीन जनाको उनीहरूको आशंका रहेछ,’ अनुसन्धान अधिकृतहरू भन्छन्, ‘यही शंकामा चौधरीले जग्गाधनीसँग सिधै डिल गर्न खोजे । त्यहीँबाट उनीहरूबीच मनमुटाव सुरु भएको देखिन्छ ।’

ठेक्कापट्टामा संलग्न चौधरीले पछिल्लो समयमा दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पनि हात हालेका थिए । २३ किलोमिटर लामो घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भन्दै संघीय सरकारले १ अर्ब ३५ करोड बजेट निकासा गरेको थियो ।

सो ठेक्का शम्भु चौधरीलगायतका समूहले हालसालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डेलगायतको समूहबाट लिएको थियो । ठेक्का लिँदा चौधरीको समूहले पाण्डे समूहलाई करिब ५ करोड रुपैयाँ बुझाइसकेको बताइएको छ । तर, पाण्डेले भने आफूले चौधरीको समूहबाट १९ लाख रुपैयाँ मात्रै लिएको बताएका छन् । शम्भुको समूहले तुलसीपुर–घोराही सडकखण्ड निर्माणका लागि बैंक ग्यारेन्टी राख्न जग्गाको समेत खोजी गरिरहेका थिए ।

अर्काे स्रोतका अनुसार सो सडक ठेक्कामा पार्टनरसिपमा हात हालेका उनलाई ‘बैंक ग्यारेन्टी’ आवश्यक परेपछि उनले श्रेष्ठ र लिम्बूलाई समस्याबारे सेयर गरे । उनीहरूले मण्डलसँग पनि त्यसबारे सल्लाह गरे । त्यसपछि उनीहरूले बैंक ग्यारेन्टी लिन जग्गा धितोमा राखेर कमिसनमा काम गर्ने मान्छे हरि खड्कासँग भेट्टाइदिए । ललितपुरमा रहेको डेढ अर्ब रुपैयाँबराबरको जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बनाउन खड्का सहमत भएपछि मोटो रकम कमिसन पाउने लोभ उनीहरूमा जाग्यो । यही विषयलाई लिएर उनीहरूमा बेलाबेलामा वादविवाद पनि भइरहन्थ्यो । कमिसन मोटै आउने देखिएपछि मण्डलमा बाँडफाँट’ गर्नुभन्दा एक्लै खाने मोह पलायो । त्यसपछि उनले सबैको हत्या गरी कमिसन एक्लै खाने योजना बनाए । सबैको हत्या गर्न उनी सफल भए पनि सोही हत्याका कारण उनको जीवन अब कारागारमा बित्नेछ । साझेदारमा व्यवसाय गर्ने भए पनि कारोबारको रकम एकलौटी बनाउन मण्डलले सबै साझेदारलाई सिध्याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीका अनुसार उनीहरूले झापामा ५० करोड रुपैयाँमा जग्गा बैना गरेका थिए । त्यसबापत डेढ करोड रुपैयाँभन्दा बढी कमिसन आउने कारोबारमा आफूलाई निकाल्न खोजेपछि मण्डल असन्तुष्ट बनेको अनुसन्धनका क्रममा खुलेको छ ।

‘जग्गा उकासिदिएबापत उनीहरूले डेढ करोड जति कमिसन पाउँदै थिए, कमिसन डिलका लागि काठमाडौंबाट आएका मान्छे होटल रत्नामा बसेको देखिन्छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘सबै रकम हत्याउन मण्डलले योजनाबद्ध रूपमा हत्या गरेको देखिन्छ ।’

उता, लिम्बू र हत्या आरोपी मण्डलबीच २ अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पनि पाइएको छ । मण्डल र मृतक लिम्बूबीच हाइड्रो तथा सिमेन्ट उद्योगमा लगानी गर्ने भन्दै २ अर्ब ५० करोडको करारनामा बनाएको पाइएको हो । कपिलवस्तुको कृष्णनगर–२ मा रहेको गणपति सिमेन्ट इन्डस्ट्रिज तथा सुपर सुनकोसी हाइड्रो पावरको सेयर खरिदका लागि करारनामा भएको हो । मण्डल आफैं प्रथम पक्ष रहेर बनाइएको करारनामामा सिमेन्ट उद्योग र हाइड्रो कम्पनीमा लगानी गर्न मण्डलले रकम दिने कुरा उल्लेख छ । तर, करारनामामा औंठाछाप भने लगाइएको छैन ।

करारनामामा मण्डल अर्थात् प्रथम पक्षले दोस्रो पक्षका लागि १५ प्रतिशत ब्याज लिने गरी लगानी गरिदिने उल्लेख गरिएको छ । मण्डलले लगानी गरिदिएबापत धितोमा लिम्बूको अन्य अचल सम्पत्ति धितोमा राख्ने कुरा पनि उल्लेख गरिएको छ ।

साक्षीको ठेगानाहरू केही उल्लेख नहुनु, यति ठूलो रकमको करारनामा वडामा दर्ता नहुनु र औंठाछापसमेत नहुनु यो करारनामा नक्कली हुन सक्ने बताइएको छ । साथै करारनामामा उल्लेख भएजस्तो रकमको कारोबार नदेखिएको हुँदा कारोबार नै भइनसकेको वा पैसा असुल गर्ने नियतका साथ सो करारनामा बनाएको हुन सक्ने प्रहरीको दाबी छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जिसीका अनुसार मान्छे नै बोलाएर हत्या गरेकाले यो ठूलो समूह रहेको हुन सक्ने भएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनले भने, ‘उनीहरूले जग्गादेखि विभिन्न आर्थिक कारोबार गर्ने गरेको देखिन्छ । विभिन्न कम्पनी खोलेर काम गरेको देखिन्छ । सोधपुछ गर्दा कोही भर्खर–भर्खर जोडिएको, कोहीचाहिँ लामै समयदेखि सँगै काम गरेको देखिन्छ, यसको ठूलै समूह रहेको हुन सक्ने अनुमान गरेका छौं ।’ –राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस