जितको नजिक पुगे बाइडन, ट्रम्पले भने- ‘वैध मतले मै विजयी हुँ’

काठमाडौं । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् ।

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरे । ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, तर ‘प्रक्रियाले काम गरिरहेको छ ।’

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।’ मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताए ।

त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप फेरि लगाए । बीबीसीले उल्लेख गरेअनुसार मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन् ।

ट्रम्पले भने, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु ।’ हुलाकमार्फत्‌ गरिएको मतदान ‘एकतर्फी’ भएको दाबी पनि उनले गरेका छन् । मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेप’को सङ्ज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर ‘पूर्ण युद्धमा जान’ आफ्ना बुवालाई आग्रह गरेका छन् ।

उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ । जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् । तर, निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी हुन अब जम्मा १७ इलेक्टरल मत चाहिएको छ । पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस