काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ । उनीँहरुमध्ये ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् ।

यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमुना निकाल्ने) गरिएको छ । बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले निःशुल्क जाँचका लागि वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु भएको हो । शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शङ्का लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।

पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । सुरुको जाँचका क्रममा अवस्था हेरेर अल्ट्रासाउन्ड गरिन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

बायोप्सीको रिपोर्टमा केही देखिएन भने १ वर्षसम्म फलोअप गर्न सुझाव दिइन्छ । रिपोर्टबाट सेकाउँदा (थर्मोक्वागुलेसन) उपचार हुन सक्ने देखियो भने रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गराउन थालिन्छ । सेकाएर नहुने देखियो भने यस्तो अवस्थाको उपचारका लागि अस्पतालहरूमा सिफारिस गरिन्छ ।

शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा जनप्रतिनिधि र महिला कर्मचारीको जाँच गरिएको थियो । त्यस दिन ७२ जनाले जाँच गराएका थिए । उनीहरुमध्ये एचपीभी डीएनए पीसीआरमा ५ जनामा पोजेटिभ देखिएको छ । प्रारम्भिक जाँचबाट शङ्का लागेपछि ८ जनाको स्तनको, १५ जनाको पाठेघरको अल्ट्रासाउन्ड र १ जनाको मेमोग्राफी गरिएको थियो । १३ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।

वैशाख ५ र ६ गते वडा नं. ३१ भीमसेनगोलामा रहेको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । २ दिनमा २१३ ले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १७७ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । परीक्षणका क्रममा ५ जनाको स्तनको, ३४ जनाको पाठेघरको अल्ट्रासाउन्ड र ४ जनाको मेमोग्राफी गरियो । उनीहरुमध्ये ५९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।

वडा नं. २५ र २७ लाई लक्षित गरेर बैशाख ७, ९ र १० गते ३ दिन इनबहालमा शिविर गरिएको थियो । यस शिविरमा ३३९ जनाले परीक्षण गराए । उनीहरुमध्ये २७३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ११ जनाको स्तनको, ४४ जनाको पाठेघरको अल्ट्रासाउन्ड गरिएको छ । ६९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।

वैशाख ११ र १२ गते वडा नं. ३ महाराजगञ्जमा शिविर सञ्चालन भयो । पहिलो दिन १२३ जनाको परीक्षण भयो । जसमध्ये ३ जनाको स्तनको, २३ जनाको पाठेघरको मुखको अल्ट्रासाउन्ड गरियो । उनीहरुमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ३४ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।

दोस्रो दिन १७५ जनाले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १४३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण भयो । २३ जनाको पाठेघरको र ४ जनाको स्तनको अल्ट्रासाउन्ड गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको सङ्क्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरू देखिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस