कोरोनाबाट भक्तपुर, बुटवल र विराटनगरमा थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भक्तपुर, बुटवल र विराटनगरमा थप चार जनाको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा. थापाले बताए ।

उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

कोरिया मैत्री अस्पतालमा एक संक्रमितको मृत्यु
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यसैगरी, भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज २१ (बुधबार) कोरोना संक्रमण पुष्टि भई भक्तपुर अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका–९ घरभई मध्यपुर थिमि निलवाराही बस्ने ४१ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । तीमध्ये १३ महिला र ३४ पुरुष छन् ।

विराटनगरमा कोरोना संक्रमितको मृत्यु
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धको शुक्रबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ बुद्धचोकका ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्ध नारायण दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा ज्यान गएको दाहालको भनाइ छ । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको जानकारी उनले दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस