व्यवसायीले ऋण तिर्नसक्ने अवस्था आएन भने सबै बैंकहरु घाटामा जान्छन् : सिईओ कोईराला

 सन्तोष कोइराला भोजपुर जिल्लाको भोजपुर नगरपालिका-४ साविकको सिद्धेश्वर गाउँ पञ्चायत-६ मा निम्न मध्यम परिवारमा जन्मिए । बाल्यकाल भोजपुरमैं बित्यो, गाउँकै कक्षा ५ सम्म सिद्धेश्वर माध्यमिक विद्यालय पढेका कोइरालाको परिवार पछि बसाई सरेर झापाको चन्द्रगढी आयो ।

बुवाको सरकारी जागिर थियो, झापा बसाइ सरेपछि वीरेन्द्र माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका कोइराला प्रथम श्रेणीमा एसएलसी पास भए । उच्चशिक्षाका लागि अमृत साइन्स कलेजमा भर्ना हुन काठमाण्डौ आए । उनले त्यहाँबाट आइएस्सी पास गरे भने मेची बहुमूखी क्याम्पसबाट बिकम र त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरे ।

स्कुल र क्याम्पसको जीवन सुखद् नै रहयो । उनले नेदरल्याण्डको एयरमर्स युनिभर्सिटीबाट एडभान्स लिडरसिप एण्ड मेनेजमेन्ट प्रोग्राममा डिप्लोमा गरेका छन् । सानैदेखि रुचि चाँहि इञ्जिनियर बन्ने थियो त्यहि भएर अस्कल क्याम्पसबाट आइएसी गरे तर, सोचेजस्तो सफलता हात नलागेपछि फेरी मेची क्याम्पसबाट बिकम गरे, बिकममा उनीले क्याम्पस टप गरे ।थप अध्ययनका लागि फेरी काठमाण्डौ आए । शंकरदेवमा एमबिए भर्ना भए तर उनमा सिए पढ्ने रुचि जाग्यो र भारतको चेन्नई गए । त्यहाँ उनको बसाई सुखद् रहेन । बिरामी भएर रेष्ट गर्नु परेपछि सिएको पढाई बीचमैं छोडे । फेरी त्रिभुवन विश्वविद्यालयमा प्राइभेटबाट एमबिए पढे । एमबिए नसक्दै सन् २००० मार्चबाट कोइरालाले बैंक अफ काठमाडौंमा सहायकको रुपमा बैंकिङ करियर सुरु गरे ।

फुर्सदको समय खेलकुद र पढाईमा
सिईओ कोईराला फुर्सदको समयमा खेल र पढाइमा रुचि राख्छन् । सानैदेखिको उनको यो बानी अहिलेसम्म पनि उस्तै छ त्यसबाहेक अन्य समय टेलिभिजन हेर्न र सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा लकडाउन जारी रहेकाले उनले अहिले परिवारलाई राम्ररी समय दिन पाएका छन् ।

श्रीमतीको साथ र सहयोगले सहजता
अति नै ब्यस्त हुने भएका कारण कोइरालालाई सबैभन्दा ठूलो चुनौती परिवारलाई समय दिनु हो जस्तो लाग्छ । उनी भन्छन्- ‘सोचजस्तो समय दिन सकेको छैन तर, यो लकडाउनको समयमा भने प्रशस्त समय दिन पाएको छु ।’ परिवारमा अहिले श्रीमती र दुइवटा छोरी छन् । श्रीमतीले उच्च शिक्षा हासिल गरेको भएपनि छोरीहरुको रेखदेखमै व्यस्त हुनु परेको उनी बताउँछन् ।

कोइरालाको श्रीमतीले ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छिन् भने माइक्रो बाइलोजीमा बिएस्सी । काठमाडौं शहरमा दुई छोरी हुर्काउनुपर्ने बाध्यता भएकाले श्रीमती घरपरिवारकै काममा व्यस्त रहेको उनी भन्छन् । श्रीमतीले घरको काममा मुख्य भूमिका निर्वाह गरेकोमा कोइराला खुसी छन् र धन्यवाद दिन चाहन्छन् । सहयोगी र मिलनसार जीवनसाथी पाएका कारण नै उनी आफ्नो करियरमा सफलता हात पार्न सकेको धारणा राख्छन् ।

कोरोनाका कारण अर्थतन्त्र डामाडोल अवस्थामा छ । यसको लामो समयसम्म असर बैंकिङ क्षेत्रमा पर्ने सम्भावना देखिन्छ । आगामी दिनमा कोरोनाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? कोरोनापछि बैंकहरुको लगानीको मोडालिटी कस्तो रहला ? माछापुच्छ्रे बैंक यस्तो जटिल अवस्थाबाट कसरी अगाडि बढ्दैछ ? लगायतका विषयमा केन्द्रित रहेर सम्पादक कल्पना शर्माले माछापुच्छ्रे बैंक लिमिटेडका सिईओ सन्तोष कोईरालासँग गरेको कुराकानीको सम्पादित अंश :-

तपाई माछापुच्छ्रे बैंकमा सिइओमा नियुक्ति हुनवित्तिकै कोरोनाका कारण लकडाउन भयो, कस्तो अनूभुति हुँदैछ ?
आज बेलुका सिइओको निर्णय भयो बोर्डबाट, भोलिदेखि देशमा लकडाउन सुरु भयो । तरपनि मलाई खासै फरक अनुभूति भने भएन किनभने मैले ७ वर्षदेखि यसै संस्थामा काम गर्दै आएको थिएँ, विभिन्न भूमिकामा रहेर । सिनियर मेनेजरमा काम गरेपछि पछिल्लो समय डेपुटी सिइओको रुपमै कार्यरत थिए । गत दुई वर्षदेखि डेपुटी सिईओको रुपमा कार्यरत रहँदा पनि लगभग सिईओकै जस्तै मोडलको जिम्मेवारी हुनेगर्छ ।

वास्तवमा मलाई प्रमोशन भएजस्तो अनुभव भयो । यदि अर्काे अर्गनाइजेशनमा सिईओ भएर जान्थे भने त्यहाँ पूरै नयाँ वातावरण हुन्थ्यो, नयाँ परिवेश हुन्थ्यो होला अनि मलाई गाह्रो पनि हुन्थ्यो होला । अहिले लकडाउनको बेलामा कसरी काम गर्ने ? कसरी अर्गनाइजेशनलाई लिएर जाने ? भन्ने विषयमा नै केन्द्रित छु । नौलोपन केहि लागेन । सायद ! लामो समयसम्म यहि संस्थामैं रहेर होला फरक चाँही मलाई केहि पनि अनुभव भएन । सामान्य नै लाग्यो ।

दुई महिनाभन्दा बढी समय नागरिकले लकडाउनमा बिताए, लकडाउनका कारण भविष्यमा आर्थिकरुपमा कस्तो जोखिमको सामना गर्नुपर्छ ?
बैंकिङ क्षेत्रलाई भविष्यमा जोखिम ठूलै देखिन्छ । किनभने अब अहिले हेर्दाखेरी हामीले चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको र त्यसबीचमा राष्ट्र बैकले विभिन्न खालका परिपत्रहरु ग¥यो । त्यो अनुसार अहिलेसम्म ब्याज उठाउन राष्ट्र बैंकले नै असार १ सम्मको समय दिएको हुनाले ग्राहकहरुलाई ताकेता गरेका पनि छैनौं र गर्न पनि मिल्दैन । जसले गर्दाखेरी अब ठूला ऋणहरुको ब्याज बाँकी छ । बैंकहरुले तिनुपर्ने ब्याज कतिपयलाई हामीले तिरिसकेका छौं । लिनुपर्ने ब्याजहरु लिन पाइएको छैन, त्यहि भएर ठूलो ग्याप छ । आर्थिक अवस्था शून्य भएको अवस्थामा लकडाउन यसरी नै जारी रह्यो भने ग्राहकहरुले ब्याज तिर्नसक्ने अवस्था रहदैन ।नेपालमा ठूला ऋण लिएकाहरुले ब्याज तिर्न सक्ने अवस्था रहेन भने सबैभन्दा जोखिम बैंकिङ क्षेत्रमा हुन्छ । ब्यवसायीहरुले ऋण तिर्नसक्ने अवस्था आएन भने सबै बैंकहरु घाटामा जान्छन् । अहिले नै तपाईले हेर्नुभयो भने चैतमा हामीले वितरण गर्नसक्ने मुनाफा १८ करोडमा झरिसक्यो, अब असारमा पनि रिकभर गर्न सकिएन भने त्यो शून्यमा जानेजस्तो देखिन्छ । कागजमा मात्रै नाफा भएर भएन । बैंकको ढुकुटीमा पनि नाफा हुनुपर्छ । अब सरकारले जनजीवनलाई सहज बनाउनतिर लाग्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई पनि सहजताको वातावरण तयार गरेर अगाडि बढ्न नसक्ने हो भने आर्थिक क्षेत्रमा ठूलो समस्या आउँछ । देशनै ठूलो आर्थिक भुमरिमा फस्नेजस्तो देखिन्छ ।

आर्थिक संकुचनका कारण अब बैंकको संख्या निकै कम हुने विश्लेषण हुँदै छ नी ?
अब अरु बैंकहरुको हामीले क्रिटिकल्ली विश्लेषण त गरेका छौनौं तर, मलाई के लाग्छ भने अझै असारदेखि नै राम्ररी काम गर्न सकिने अवस्था रह्यो भने बैंकहरु फेरि पुरानै अवस्थामा आउन सक्छन् । जोखिम त धेरै छ, उद्योग व्यवसाय नचलेको बेलामा । तरपनि व्यवस्थित रुपमा चल्नदिने हो भने फेरी पनि बैंकहरु रिभाइब गर्नसक्ने अवस्था छ । त्यस्तो एकदमै खत्तम भइसकेको, डुबिसकेको अवस्था छैन । मर्जरले बैंकहरुको संख्यामा कमी आउने पहिलेकै कुरो हो ।

मैले मर्जरको कुरो जोड्न खोजेको होईन, आर्थिक गतिविधी नै बन्द भएपछि बैंकहरु स्वतः घाटामा जान्छन् र संख्या घट्छ होइन र ?
त्यो त अब ग्राहकनै नै नभएपछि बैंक चल्ने कुरो पनि भएन । सारा ब्यवसाय चौपट भएका बेलामा बैंकमात्रै चल्ने र नाफा गर्ने भन्ने कुरो आउँदैन । त्यहि भएर अब सहज हुँदै आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्छ । मुख्यतया बैंकले गर्ने नाफामा चाँहि ठूलो घाटा लाग्ने देखिन्छ । तर बैंकिङ क्षेत्रले रिभाइब नै गर्न सक्दैन भन्ने खालको अवस्था अहिले आइसकेको छैन । मेरो विचारमा संख्यानै घटेर सानो चाहिं पक्कै हुँदैन ।

बजेटको सर्वत्र आलोचना भयो, वजेटबाट बैंकिङ क्षेत्रले राखेका आशा के कस्ता थिए ?
बैंकिङ क्षेत्रले बजेटबाट यो आउँछ त्यो आउँछ भनेर ठूलो आशा पनि राखेको थिएन । तर, सरसर्ती हेर्दाखेरी चाँहि बजेट सन्तुलित नै लाग्यो मलाई । किनभने जे आफूसँग स्रोत र साधन छ त्यहि स्रोतलाई प्रयोग गरेर बजेट ल्याउनुपर्ने थियो । जीडीपीको सबैभन्दा ठूलो हिस्सा भनेको रेमिटेन्स हो । नेपालमा चैतको फिगर हामीकहाँ आइसकेको छ । ७०-७५ अर्ब आउनुपर्ने ठाउँमा बैशाखमा आएर १३–१४ अर्बमा खुम्चियो भन्ने कुरा आएको छ ।

तर जेठमा अलिकति सुधार आएको सुनिन्छ । यसको बिस्तृत आउन बाँकी नै छ । अब सबैभन्दा ठूलो जिडीपीको स्रोत नै त्यसरी घटिसकेपछि बजेट एग्रेसिभ टाइपको ल्याएर हुँदै हुँदैन । अहिले नै आएको बजेटमा हेर्ने हो भने साढे ५ खर्ब जति आन्तरिक ऋण उठाउने भनेर भनेको छ । अनुदानबाट लिने भनेको छ । यो समग्रमा सन्तुलित नै हो । जुन रिलिफहरु दिने भन्ने कुरा भइरहेको छ त्यो चाँहि हामीसँग सम्बन्धित ग्राहकहरुलाई राष्ट्र बैंकको च्यानल हुँदै बैंकिङ च्यानलबाट गरेजस्तो देखिन्छ ।

लकडाउनबारे सरकारले विश्लेषण गरिरहेको होला तर मैले एउटा सिईओको रुपमा भन्नुपर्दा चाँहि यहि अवस्था जारी रहे अर्थतन्त्रमा ठूलो असर पर्छ । कोरोनासँग अभ्यस्त भएर जीवन पद्धति सञ्चालन गर्न दिनु आजको सबैभन्दा ठूलो बुद्धिमानी हो ।

किनभने रिफाइनान्सको रकम पनि ६० अर्बबाट १ खर्ब पु-याएको छ त्यो पनि बैंकिङ च्यानलबाटै हुने भयो, अर्काे ५० अर्बको एउटा फन्ट छ, त्यो चाँहि महामारीले असर गरेको क्षेत्रलाई मात्रै केन्द्रीत गर्ने भनेको छ तथापी त्यसको कार्यविधि बन्दै छ । यसबारे हामीसँग पनि राय सुझावहरु मागिएको छ । यसपाली बजेटमा स्वास्थ्य क्षेत्रमा धेरै लगानी बढाएको छ । योे अहिलेको आवश्यकता थियो । शिक्षा क्षेत्रमा पनि त्यस्तै छ, खर्चको हिसाबले कटौती गर्ने कुरा पनि केहि गरेको देखिन्छ ।

बैंकिङ क्षेत्रमा मौद्रिक क्षेत्रको कुरालाई हामीले बेला बेलामा उठाउने गरेका छौं, त्यसले गर्दा मौद्रिक नीति कस्तो आउँछ ? भन्ने हामीलाई ठूलो चासो छ । बजेटले त समग्ररुपमा आर्थिक परिसूचकहरु के कस्तो हुने भन्ने कुरा मात्रै हो हेर्ने हो । पर्टिकुलर बैंकिङ क्षेत्रलाई यस्तो उस्तो भन्ने त त्यसमा आउँदैन । तर मलाई लागेको चाँहि के हो भने अबका दिनमा बैंकिङ क्षेत्रहरुलाई अलि स्थीर बनाउने हो भने अहिले भन्दा बढी असर गर्न नदिने काम गर्नुपर्छ ।

राष्ट्र बैंकले आफ्नो नीतिहरुमा ऋण तिर्न नसक्नेहरुलाई इन्ट्रेस्ट क्यापिटलाईजेसन सुविधा दिनुपर्छ । लोन रिन्यूका कुरामा खुकुलो हुने, लोनलाई रिस्ट्रक्चर गर्न दिनेजस्ता सुविधालाई समेटिदिने हो भने बैंकिङ क्षेत्र डगमगाईहाल्ने अवस्थामा रहँदैन । लकडाउन मात्रै अन्तिम विकल्प होइन । यसरी आर्थिक गतिविधिहरु नै ठप्प पारेर लकडाउन गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ । अब यसबारे सरकारले विश्लेषण गरिरहेको होला तर मैले एउटा सिईओको रुपमा भन्नुपर्दा चाँहि यहि अवस्था जारी रहे अर्थतन्त्रमा ठूलो असर पर्छ । कोरोनासँग अभ्यस्त भएर जीवन पद्धति सञ्चालन गर्न दिनु आजको सबैभन्दा ठूलो बुद्धिमानी हो । लकडाउन जारी रहेका बेला हामीले ग्राहकलाई तपाइले लोन तिर्नुस् भन्न सकिने अवस्था पनि हुँदैन र भन्नु हुँदैन । किनभने भोलि तिनै ग्राहकहरुसँग काम गर्नुपर्ने हुन्छ ।आर्थिक गतिविधि चलायमान भएपछि यो स्वतः मिलेर जान्छ तर यो अवस्था जारी रह्यो भने त सबै क्षेत्र धरासायी हुनसक्छ । राष्ट्र बैंकले सबै बैंकहरु सञ्चालन गर्न भनिसकेको छ तर ग्राहकहरुलाई आउन पनि सजिलो हुनुप-यो । बैंकहरु त खोलौंला, स्टाफहरुलाई बोलाउँला तर ग्राहकहरु पनि आउनुप¥यो । निक्षेप गर्ने, ऋण लिनेजस्ता बैंकिङ गतिविधिमा संलग्न हुनपनि त प-यो । आर्थिक सबै क्रियाकलापहरु हुन थालेपछि मात्रै बैंक राम्ररी सञ्चालित हुन्छ । त्यसैले चाँडै नै बजार व्यवस्थित गर्न सरकार लाग्नुपर्छ ।

ब्यापार ब्यवसाय ठप्प छ, आर्थिक गतिविधि नभएपछि ब्यवसायीले ब्याज तिर्नसक्ने कुरो पनि भएन, यस्तो अवस्थामा बैंकले ऋणीसँग सम्बन्ध कसरी अगाडि बढाउँछ ? (कतिपय बैंकले लोन तिर्न ऋणीलाई ताकेका पनि गरेको कुरो आएको)
हामीले ताकेता गरेका छैनौं । कसरी ताकेता गर्नु ? कुनैपनि ग्राहकलाई ताकेता गरेर ब्याज तिर्न आउनुस्, भन्नसक्ने अवस्था पनि छैन । अरु बैंकहरुका बारेमा त मलाई थाहा हुने कुरा भएन । माछापुच्छ्रेले  चाँहि त्यसो गरेको छैन । जसको एकाउन्टमा पैसा थियो, अटोमेटिक रुपमा हामीले पैसा लिएका हौंला तर हामीले तपाईहरु ब्याज तिर्नुहोस् भनेका छैनौं । बरु हाम्रो बैंकले तपाईलाई ऋण चाहिन्छ, स्टाफलाई तलव खुवाउन गाह्रो भएको छ भने भन्नुहोस्, ऋण दिन्छौं, सहयोग गर्छाैं भनेका छौं ।

माछापुच्छ्रे बैंकको चैत मसान्तसम्मको वित्तीय अवस्था कस्तो रह्यो र अब यो आवको अन्त्यसम्म कस्तो रहला ? विश्लेषण गरिदिनुस् न ?

साधारणतया चैत मसान्तसम्म हाम्रो वितरणयोग्य नाफा १८ करोड मात्रै हो । मेरो बुझाईमा सबै बैंकको नाफा नकारात्मक भएर जान्छ । त्यसमा अलिकति राष्ट्र बैंकले रिल्याक्सेसन निकाल्छ भन्ने ठूलो आशा छ । इन्ट्रेस्ट क्यापिटलाइज गर्नसक्ने वित्तिकै जसले तिर्न सक्नुहुन्छ उहाँहरुले तिर्नुहुन्छ जसले तिर्न सक्नुहुन्न उहाँहरुले ऋणको रुपमा त्यो पैसा पाउनुहुन्छ । अब हामी अहिले राष्ट्र बैंकले कसरी संवोधन गर्छ त भनेर पर्ख र हेरको अवस्थामा छौं ।

हामीले तपाईहरु ब्याज तिर्नुहोस् भनेका छैनौं, बरु तपाईलाई ऋण चाहिन्छ, स्टाफलाई तलव खुवाउन गाह्रो भएको छ भने भन्नुहोस्, ऋण दिन्छौं, सहयोग गर्छाैं भनेका छौं ।

कोरोनापछि पुरानो मोडालिटीको बैंकिङ क्षेत्रमा कस्ता खाले परिवर्तन आउँछन् ?
बैंकिङ क्षेत्रमा कोरोनाले ल्याएको सबैभन्दा राम्रो एउटा पक्ष छ त्यो हो, डिजिटल बैंकिङ । डिजिटल बैंकिङका प्रयोगकर्ताहरु चाँहि अधिकतम बढेका छन् । एटिएमबाट कार्ड ट्रांन्जेक्सनहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङदेखि लिएर जतिपनि डिजिटल प्रोडक्टहरु हामीले लञ्च गरेका छौं त्यसमा प्रयोगकर्ताहरु धेरै बढेका छन् । ग्राहकहरुलाई सजिलो होस् भनेर मोबाइलबाट पैसा ट्रान्सफर गर्नुहोस् बरु आउँदैन भने हामी सिकाइदिन्छौं भनेर क्याम्पियन समेत गरेका थियौं । अबको युग भनेको डिजिटाइजेशनको हो । यसमा सबै बैंकहरुले त्यसरी नै काम गर्नुपर्छ । जोखिम पनि लिनुप¥यो । यो चाँहि कोरोनाले ल्याएको एउटा राम्रो पक्षका रुपमा म लिन्छु ।अहिलेको अवस्थामा हेर्दाखेरी चाँहि सबैभन्दा बढी असर गरेको क्षेत्र पर्यटन हो । यसमा होटल, एयरलाइन्स, ट्राभर टुरलाई बढी असर गरेको छ । अब रिभाइब हुन पनि धेरै गाह्रो छ । जबसम्म कोरोनाको भ्याक्सिन बन्दैन, तबसम्म मान्छे ढुक्कसँग घुमफिरमा जाँदैनन् । यसबाट पर्यटन क्षेत्रमा ठूलो समस्या आउँछ । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रमा त यसले प्रभाव पारेको छ, त्यस्तै युरोपमा पनि । चीन र भारतलाई पनि अति आक्रान्त पारेको छ ।

अबको युग भनेको डिजिटाइजेशनको हो । यसमा सबै बैंकहरुले त्यसरी नै काम गर्नुपर्छ । यो चाँहि कोरोनाले ल्याएको एउटा राम्रो पक्षका रुपमा म लिन्छु ।

यस्तो अवस्थामा हामीले कृषिजन्य उत्पादनलाई बढावा दिने काम गर्नुपर्छ । बजेटमा पनि कृषिलाई प्राथमिकता दिईएको छ । स्वास्थ्य क्षेत्रतिर पनि लगानी बढाउनुपर्छ । त्यसपछि मिडियम साइज लोन (SME) हरुमा बढावा दिने तथा रिटेल साइजमा लोनलाई प्रोत्साहन गर्ने सोच हामीले वनाएका छौं । हामीसँग अहिले धेरै प्रकारका प्रोडक्टहरु छन् । लकडाउन खुलेर सहज हुनेबित्तिकै सबै ग्राहकलाई पक्कै जानकारी दिनेछौं ।

रेमिटेन्स घटेको छ, यसबाट रेमिटेन्स ब्यवसायमा ठूलो धक्का लागेको छ, बैंकिङ क्षेत्रमा यसले पार्ने प्रभावको चर्चा गरौं न ?
पूरै अर्थतन्त्रमा नै असर पार्ने भएपछि बैंकमा नपर्ने त कुरै आएन । बाहिरबाट पैंसा आउँदाखेरी तरलतालाई पनि सहज हुन्थ्यो । हुन त राष्ट्र बैंकले सिआरआरहरुलाई चाँहि घटाउने कुरा गरिरहेको छ । फिक्स डिपोजिटमा पनि यति भन्दा माथिकालाई शत प्रतिशत लोन दिएपनि फरक पर्दैन भन्ने कुराहरु पनि आएका छन् । रेमिटेन्सको नकारात्मक प्रभाव छ । यो देशको लागि एकदमै घातक हुन्छ । आजसम्म हेर्दा हाम्रो देशलाई धानेकै रेमिटेन्सले हो । यसबाट अर्थतन्त्रलाई नै असर हुन्छ भने बैंकलाई असर गर्दैन भन्ने त कुरै आउदैन । तथापि पछिल्लो समय अलिकति आशालाग्दो अवस्था पनि देखिन्छ । बैशाखमा भन्दा जेठमा रेमिटेन्स बढेको छ ।

नेपाल राष्ट्र बैंकले १५ लाखसम्मको साना, लघु र घरेलु उद्यमका लागि ल्याएको पुर्नकर्जा कार्यविधि मस्यौदा २०७७ का बारेमा प्रष्ट पारिदिनुस् न ?
यसमा दुई प्रकारको पुर्नकर्जा समेटिएको छ । बजेटले समेटेको कुरा गर्दाखेरी चाँहि साधारण पुर्नकर्जाका लागि भनेर ल्याएको ५० अर्बको एउटा फन्ट छ । त्यसमा क्षेत्रहरु छुट्याइएका छन् । त्यसको एउटा सीमा पनि तोकिएको छ । साधारण पुर्नकर्जामा चाँहि एउटा ग्राहकलाई २० वर्षसम्म दिने भन्ने हो । यसबाट विशेषत अहिले असर गरेको क्षेत्रलाई राहत मिल्ने देखिन्छ । महामारीले प्रभाव परेको क्षेत्रलाई माथि उकास्नका लागि यो पुर्नकर्जा ल्याएको हो । एकदमै सकारात्मक छ ।

माछापुच्छ्रे बैंक यस्तो जटिल अवस्थाबाट कसरी अगाडि बढ्दैछ ?
अब कोरोनासँग अभ्यस्त भएर अगाडि बढ्ने हो । एकदमै आक्रामक भएर म यो गर्छु, त्यो गर्छु भनेर भन्नसक्ने अवस्था छैन । हामीले बाहिरी वातावरणलाई पनि हेर्नुपर्ने हुन्छ । उद्योगधन्दाहरु कसरी अगाडि बढ्छन् ? लगानी गर्नेले लगानी गर्छ वा गर्दैन ? कुनकुन क्षेत्रमा लगानी गर्दा बैंक सुरक्षित हुन्छ ? अहिलेको लगानी गर्नुपर्ने क्षेत्र कुनकुन हुन् ? माग कस्तो आउँछ ? सबैभन्दा पहिले मसिनोगरी अध्ययन गर्छौ अनिमात्रै अघि बढ्छौं । यहि प्रश्न तपाईले फागुनमा सोध्नु भएको भए म यस्तो-उस्तो गर्छु भन्थें होला तर अब धेरै सोच्नुपर्ने बेला आएको छ ।

आगामी आवमा माछापुच्छे बैंकको प्राथमिकतामा कृषिमा आधारित उद्योगहरुमा पर्नेछन् । सानो-सानो लगानी गर्नेहरुदेखि लिएर ठूलो लगानी गर्नेहरु मध्यम वर्गीय परिवारका टेडिङ हाउसहरु लगायत साना उद्योगहरुमा लगानी गरेर पक्कै अगाडि बढाउँछौं ।

आगामी आवमा माछापुच्छे बैंकको प्राथमिकतामा चाँहि कृषिमा आधारित उद्योगहरुमा केन्द्रित हुन सकिन्छ । सानो-सानो लगानी गर्नेहरुदेखि लिएर ठूलो लगानी गर्नेहरु मध्यम वर्गीय परिवारका टेडिङ हाउसहरु लगायत साना उद्योगहरुमा लगानी गरेर पक्कै अगाडि बढाउँछौं । हाम्रो शाखा सञ्जाल पनि ठूलो छ । १६० शाखा छन् । ती शाखाहरु पुर्वदेखि पश्चिमसम्म र हिमालदेखि तपाईसम्म सबैतिर छरिएका छन् । तीनै सञ्जालहरुलाई प्रयोग गरेर त्यहाँका नागरिकलाई सेवा दिने हो ।

अन्त्यमा आफ्ना ग्राहकहरुलाई के भन्नुहुन्छ ?
माछापुच्छ्रे बैंकका समस्त ग्राहकहरु, तपाईहरु यस्तो अवस्थामा सबैभन्दा पहिले आफू सुरक्षित रहनुहोला । आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्ने रोगबाट हामी अहिले पिरोलिएका छौं । धैर्यताको पनि खाँचो पर्नसक्छ । विस्तारै लकडाउन खुकुलो हुँदै जानेछ भन्ने आशा राखौं । खुकुलो हुँदै गर्दा पनि हामीले पालना गर्नुपर्ने सामाजिक दूरी पनि कायम गरौं । भीडभाडमा नजाने, मास्कहरु लगाएर हिड्ने, सेनिटाईजरको व्यवस्था गर्ने, डिजिटल बैंकिङको प्रयोग गर्न अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लकडाउनमा साना कृषि व्यवसाय

काठमाडौं। कोरोना भाइरसको कारणबाट विश्वभरीको आर्थिक गतिविधि ठप्प प्राय भएको छ । सोही कारण नेपाल …

प्रतिकृया दिनुहॊस