चीनमा रहेका विद्यार्थीलाई शनिबार काठमाडौं ल्याइने

काठमाडौं । चीनमा रहेका १८० जना नेपाली विद्यार्थीलाई शनिबार मात्रै नेपाल ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण देखिइको क्षेत्र वुहान र हुबेईमा रहेका १८० जना नेपाली नागरिकलाई शनिबार ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि शनिबार ल्याउने निर्णय गरेको स्रोतले जानकारी दियो ।

हुबेईमा रहेका १८० जना नेपालीले घर फिर्तीका लागि चीनमा रहेको दूतावासमा निवेदन दिइसकेका छन् । चीनबाट ल्याएर उनीहरुलाई १४ दिनसम्म भक्तपुरस्थित ‘आइसोलेसन सेन्टर’ मा राखिने भएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनीहरुलाई ल्याइन लागेको हो । यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ ।

चीन पठाउने चालक दलका सदस्य तथा चिकित्सकहरुलाई पूर्णरुपमा तालिम दिइनेछ । नेपालबाट जाने चालक दलका १६ जना सदस्यलाई आज तालिन दिन लागिएको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले मंगलबार १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन् । भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए । कुनै व्यक्तिमा भोलिबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरूलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरूलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सबै तयारी पूरा भएको बताए ।

चीनबाट संक्रमितहरूलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरू हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परीक्षण गरिने बताए । क्वारेन्टाइन्मा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिए तत्काल राख्नका लागि विभिन्न अस्पतालमा ४३ आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे ।

त्यसका लागि चौबीसै घण्टा एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले बताए । मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिलाई बोलाएर आ–आफ्नो अस्पतालमा आइसोलेसनसहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिए अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको बताए । विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिए पनि चीनमा रहेका नेपालीमध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस