काठमाडौँ । रङ, अबिर र प्रेम सद्भावको पर्वको रूपमा रहेको होली पर्व उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बुधबार मनाइए पनि तराईमा विहिबार मनाइँदै छ । विराटनगर घर भई अहिले राजधानीको लगनटोलमा व्यापार व्यवसाय गरी बसोबास गर्दै आउनुभएका सोचन महतोले उमेरको हद र नातागोताको बन्देज समेत नहुने यो पर्व एक–अर्काबीच रङ अबिर छ्यापाछ्याप गरेर मनाइने गरिएको बताए ।
उनले भने, “तराईमा यो पर्व विशेषगरी दुई दिन मनाइने गरिन्छ । पहिलो दिनलाई ‘होलिका दहन’ भन्ने गरिन्छ भने दोस्रो दिनलाई होलीको रूपमा मनाइन्छ । पूर्णिमाको रातको अन्तिम प्रहरमा ‘होलिका दहन’ गर्ने गरिन्छ ।” ‘होलिका दहन’ को दिन राति गाउँ टोलका मानिसहरु आ–आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्दछन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ ।
‘होलिका दहन’ भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । ‘होलिका दहन’ भइसकेपछि मात्र होली पर्व सुरु भएको मान्ने गरिएको बताउँदै ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने महतोले बताए। त्यसैगरी, पर्सा घर भई अहिले बालाजुमा बस्दै आउनुभएका पर्सा वीरगञ्जका सुदर्शन त्रिपाठीले ‘होलिका दहन’ पछि मात्र होली पर्व सुरुभएको मानिने बताए । विहानै स्नान गरी नयाँ लुगा कपडा लगाइने गरिन्छ र एकले अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको उनले जानकारी दिए । यस पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिने गरिन्छ ।
त्यसैगरी, यस दिन नातागोता, ईष्टमित्रलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार, फलफूल, बदाम, सुकमेल खान दिई रङ अबिर लगाई सद्भाव र आत्मीयता सटासाट गरिन्छ । यस क्रममा बर्षभरिको रिस, द्वेष, शत्रुतालाई समाप्त पारी मित्रताको भावनालाई यस पर्वले प्रवाह गर्ने गरिएको त्रिपाठीले बताए।
प्रतिकृया दिनुहॊस