- डम्मर बम
कसैले सानोमा ठूलो भएपछि के बन्छेस् ? भनेर सोध्दा, वकिल बन्छु भन्ने जवाफ दिने राधिका खतिवडा अहिले अब्बल कानून व्यवसायीका रूपमा चर्चित छिन् । बुवाको छोरीलाई ठूलो मान्छे बनाउने सपना थियो । विद्यार्थी जीवनमा नेपाल टेलिभिजनमा प्रसारित टेलिश्रृंखला वकिलको सकारात्मक भूमिका हेरेपछि राधिकालाई यस पेशाप्रति लाग्न थप प्रेरित गरेको हो । वि.सं.२०४३ सालमा साबिकको भक्तिपुर–६, सर्लाही हालको ईश्वरपुर नगरपालिका–१ मा बुवा नारायण प्रसाद खतिवडा र आमा नैनकुमारी सुवेदीको कोखबाट उनको जन्म भएको हो । गाउँकै श्री सरस्वती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरिन् । उच्च शिक्षाका लागि राजधानी आएकी उनले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट वि.सं.२०६१ म वि.एड.र वि.सं.२०६५ मा एम.एड.गरिन् । वि.सं.२०६९ नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गरेपश्चात् खतिवडा निरन्तर वकालत पेशामा सक्रिय छिन । प्रस्तुत छ, अधिवक्ता राधिका खतिवडासँग डम्मर बमले गरेको कुराकानीको अंश :-
अधिवक्ता बन्न केले हौस्यायो ?
मानिसमा कतिपय गुण बच्चा देखिनै हुन्छन् । म विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरू वक्तृत्वकला प्रतियोगिता वा वादविवाद प्रतियोगिता भाग लिने गर्दथेँ र प्रथम, द्धितिय हुन्थेँ । अतिरिक्त क्रियाकलापमा भाग लिनु र त्यसमा राम्रो स्थान आउनुले ममा निखारता आएको हो । सपना भने वकिल बन्ने थियो । त्यसका लागि कानुनमा स्नातक गर्नैपथ्र्यो । त्यतीबेला कुनै विषयमा स्नातक गरेकाले मात्र एलएलबी पढ्न पाउने तर प्लस टु पास गरेर पढ्न नपाइने थियो । मैले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट वि.एड पास गरेर मास्टर्स र ल सँगै पास गरे । विगत दश वर्षदेखि यो पेशामा निरन्तररुपमा पीडितलाई न्याय दिन लागिपरेको छु ।
कस्ता खालका मुद्दाहरूमा बहस गर्दै आउनुभएको छ ? प्रभावितहरू कसरी सम्पर्कमा आउँछन् ?
राज्यले मुद्दा लगाएका, उनीहरूका पक्षमा बोल्न मान्छे कोही हुँदैनन्, त्यस्ता खालका पीडितहरू न्यायका लागि हामी समक्ष आइपुग्छन् । हामीले वकालत गर्ने भनेको देवानी, फौजदारी र रिट जस्ता केश हुन । यस्ता प्रकृतिका मामिलाबाट पीडित भएका प्रभावितहरू हामीकहाँ आउँछन् । उनीहरूको पक्षबाट हामीले वकालत गरिदिनु पर्दछ । यो हाम्रो धर्म पनि हो । विभिन्न माध्यमबाट हामीकहाँ पीडितहरू आइपुग्छन् । महिलाहरू अवहेलना सम्बन्धी मुद्दाको बहस सुन्न आउँछन्, त्यहीबाट पनि सम्पर्क राख्छन् । कोही साथीभाइको माध्यमद्वारा पनि आइपुग्छन् । कतिपयले मिडियामार्फत अन्तरवार्ता सुनेर, हेरेर र पढेर पनि आशा लिएर आएका हुन्छन् ।
हालसम्म कतिवटा मुद्दा लड्नुभयो ?
मैले अघिपनि भने हामीले वकालत गर्ने भनेको देवानी, फौजदारी र रिट जस्ता केश हुन । अहिले धेरैजसो वैदेशिक रोजगारीमा ठगीमा परेका केशहरू दैनिकरुपमा आइरहेका छन् । हामी जिल्ला, उच्च र सर्वोच्चमा बहस गर्छाै, यत्ति नै मुद्दा लड्ने भन्न सकिँदैन दैनिक औसतमा ४/५ वटा बहस हुने गरेको छ ।
तपाई कानुन व्यवसायी हुनुहुन्छ, आर्थिक अवस्था कमजोर भएका पक्षमा वकिलहरू खासै देखिँदैनन् नि ?
म यो ल फर्मबाट कसैले पनि पैसा अभावका कारण नफर्किउन् भन्ने सोच राख्छु । हाम्रो सात जनाको समूह छ । हामीकहाँ न्यायको याचना गर्ने कसैलाई पनि निराश बनाएर फर्काएका छैनौ । पारिश्रमिक दिएपनि नदिए पनि सेवा दिएका छौ । पैसा अभावमा पीडितको मुद्दा नलड्ने भन्ने हुँदैन । तर अर्को सत्य के हो भने प्रभावितलाई सहयोग गर्दैगर्दा हामीले पनि कार्यालय, घर चलाउनुपर्ने हुन्छ । जसका लागि सेवा शुल्क निर्धारण गरेको हुन्छौँ । सोही अनुसार पारिश्रमिक लिने हो । आर्थिक अवस्था कमजोर भएकाहरूले सित्तैमा सेवाको चाहाना राख्नु गलत होइन तर राजधानीमै घर र पैसावालाले समेत सेवा लिँदा पैसा दिन खोज्दैनन् । मलाई यो अचम्म लाग्छ ।
तथापि पैसा र पावरवालाको पक्षमा मुद्दा लड्नेको तँछाडमछाड हुन्छ, तर गरिबको पक्षमा वा पहुँच नभएकाहरुकोमा भने वकिलहरू खास रुचि राख्दैनन्, यो सत्य हो ?
हाम्रो समाजमा बलेको आगो ताप्ने, फाइदा लिने प्रवृत्ति भएका व्यक्तिहरूको कमी छैन । वकिल मात्र नभएर सम्पूर्ण क्षेत्रमा यस्तै प्रवृत्ति भएकाहरू छन् । यसो भन्दै गर्दा पारिश्रमिक लिनु हुँदैन भन्ने होइन । वकालत पेशा वकिलहरूको रोजीरोटीसँग सम्बन्धित छ । विशुद्ध सेवा गर्छु भनेर मात्रै हुँदैन । यो कुनै नाफामूलक व्यवसाय नभए पनि जीवन सञ्चालनका लागि पारिश्रमिक लिनु स्वाभाविक हो । शक्तिका पक्ष पछाडि लागेर न्यायलाई मार्नु भएन । न्यायका पक्षमा वकालत गर्नुपर्छ ।
चर्चित पल शाह केशमा नाबालिगको पक्षबाट वकालत गर्नुभयो, यो केशबाट के सिकाई भयो ?
नाबालिग कसैको छोरा वा कसैको छोरी नभएर ती यो समाजको बच्चा हुन्छन् । बालिग बिग्रिनु र नाबालिग बिग्रनुमा धेरै अन्तर छ । बालिग बिग्रँदा एउटा व्यक्ति बिग्रन्छ, तर नाबालिग बिग्रँदा समाज बिग्रिन्छ । उनीहरूले सबैकुरा बुझेका हुँदैनन् । सबै जानेका हुँदैनन् । उनीहरूलाई संरक्षण गर्नुपर्दछ, जुन हाम्रो दायित्व हो । हामी सेवा दिने व्यक्ति हो । शुद्ध मनले सेवा दिने हो, अझ भनौँ न्यायका पक्षमा लड्ने व्यक्ति हौँ । सहयोग माग्न आउनेलाई हामीले सेवा दिन्छौ । पल शाहको केशका सन्दर्भमा धेरै केही बोल्नु आवश्यक छैन । उनीहरू सेटल छन् । सबै ठिक छ । यत्ति भन्दछु की भीडले न्याय दिँदैन । न्याय अदालतले दिन्छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
अदालतको बाहिर देवीको मूर्ति हुन्छ । जसको आँखामा पट्टी बाँधिएको र हातमा तराजु समातेको हुन्छ । यो भन्नुको अर्थ कसैलाई काखापाखा नगरेर प्रमाणका आधार न्याय प्रदान गर्दछ र गर्नुपर्दछ भन्ने हो । त्यो अधिकार सम्मानित अदालतलाई हुन्छ, कानूनको व्याख्या अदालतले नै गर्ने हो । न्याय क्षेत्रमा न्यायिक मन र न्यायिक विवेक हुनु जरुरी छ । यदि त्यसो हुँदैन भने त्यो यान्त्रिक हो । आर्थिक अभावका कारण कसैले न्यायबाट वञ्चित हुनुहुँदैन, सरकारले गरिबका पक्षमा बोल्न राज्यको तर्फबाट अदालतमा वैतनिक वकिल राखेको छ । तिनीहरूले त्यस्ता व्यक्तिको पक्षमा मुद्दा लड्ने र सेवा गरेका छन् । कानुनले परिभाषित गरे अनुसार सबैले चल्नुपर्दछ । न्यायको क्षेत्रमा पवित्रता र शुद्धता हुनुपर्दछ ।
- नवीन सन्देशबाट
[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
प्रतिकृया दिनुहॊस