काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित बिजुली एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रशारण लाइन सञ्जाल साढे ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरूबाट उत्पादित बिजुलीलाई निश्चित ठाउँसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रशारण लाइन आवश्यक पर्छ ।
गएको आर्थिक वर्ष (आव) २०८०÷८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रशारण लाइनको लम्बाइ ६,५०७ सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कुल प्रशारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४,१३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रशारण लाइन ६४४ सर्किट किलोमिटर छ । आव २०७२÷७३ सम्ममा २,९११ सर्किट किलोमिटर मात्र प्रशारण लाइन थियो ।
आव २०७३/७४ मा ३,३६४, आव २०७४/७५ मा ३,५३८, २०७५/७६ मा ३,९९० र आव २०७६/७७ मा ४,२६९ सर्किट किलोमिटर प्रशारण लाइन थियो । त्यस्तै २०७७/७८ मा ४,८७४, २०७८/७९ मा ५,३२९ र २०७९/८० मा ५,७४२ सर्किट किलोमिटर प्रशारण लाइन थियो । ग्रिड सबस्टेशनको क्षमता १३ हजार ५० एमभीए पुगेको जनाइएको छ । आव २०७२/७३ मा २,२२३ एमभीए मात्र रहेको ग्रिड सबस्टेशन क्षमता गएको आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेशनहरू छन् ।
प्रशारण लाइन तथा सबस्टेशन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरूबाट सहुलितपूर्ण ऋण लिएर प्रशारण लाइनमा लगानी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रशारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताएका छन् ।
‘स्थानीय बासिन्दाको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रशारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रशारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारणलाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली अहिले ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’
घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रशारण लाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने दक्षिण करिडोर प्रशारण लाइनका लागि विभिन्न दातृ निकायहरूबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रशारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लागिएको उनले बताए । भारतसँगको बिजुली व्यापारका लागि झण्डै २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रशारण लाइन निर्माणाधीन छ । नेपाल–भारतबीचको बिजुली आयात÷निर्यातका लागि आठ वर्षअघि ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइन क्षमता रहेकोमा अहिले झण्डै २ हजार मेगावाट पुगेको छ ।
इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारणलाइन कार्यान्वयनका चरणमा छन् । नेपाल र भारतबीच थप प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबीचको बिजुली व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमनीसम्म ४०० केभी प्रशारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
सन् २०३५ सम्ममा २० हजार मेगावाट बिजुली निर्यात गर्न सक्ने प्रशारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको बिजुली व्यापारका लागि पनि चिलिमे–केरुङ प्रशारण लाइन अगाडि बढाइएको छ ।
बिजुली आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेशनबाट उपभोक्ताकोसम्म बिजुली पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ ।
आव २०७२/७३ सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यति बेला ५८ प्रतिशत विद्युतीकरण थियो भने अहिले ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ । वितरणतर्फको सबस्टेशनको क्षमता २ हजार ५ सय एमभीए पुगेको छ । वितरण सबस्टेशनको संख्या १९६ वटा छ । आठ वर्षअघि सबस्टेशनको संख्या ८० वटा मात्र थियो । क्षमता ६४० एमभीए मात्र थियो ।
प्रतिकृया दिनुहॊस