किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

काठमाडौं । भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ । कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको हो ।

भारतको मुख्य विपक्षी कांग्रेसलगायतले घटनाको विरोध गरेका छन् । आपले आफ्ना अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले केजरीवाललाई पक्राउ गरिएको बताएको छ । भारतमा आगामी एप्रिल १९ तारिकदेखि लोकसभा निर्वाचन हुँदै छ । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पुनः विजयी हुने धेरैको आकलन छ ।

मुद्दा के हो ?
दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपका सम्बन्धमा छानबिन गर्न उनलाई पक्राउ गरिएको बताइएको छ । सन् २०२२ मा केजरीवाल सरकारले लागु गरेको उक्त नीतिले निजी क्षेत्रका थोक विक्रेतालाई अनुचित लाभ दिएको आरोप लागेको छ ।

आप समर्थकहरूले भने यस नीतिले सरकारी एकाधिकार तोडेको बताउँदै आएका छन् । निर्देशनालयले यस विषयमा सोधपुछका लागि केजरीवाललाई बारम्बार बोलाएकामा उनले धेरै पटक त्यसको बेवास्ता गरेका थिए । यसै मुद्दाका सम्बन्धमा उनको पार्टीका दुई नेता सञ्जय सिंह र मनीष सिसोडियालाई गत वर्ष पक्राउ गरिएको थियो ।

विपक्षीद्वारा विरोध
दिल्ली विधानसभामा आपका मुख्य सचेतक दिलीप पाण्डेले अरविन्द केजरीवाललाई पक्राउ गर्नुले प्रधानमन्त्री मोदी उनीसँग डराएको देखिएको बताए । ‘उनीहरू केजरीवाललाई पक्राउ गर्न सक्छन् तर उनका सोचलाई पक्रन सक्दैनन् । हामी उनको पक्राउ तथा मोदी सरकारका अन्यायपूर्ण नीतिका विरुद्ध निरन्तर लड्छौँ,’ पाण्डेले भने ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसकी नेत्री प्रियङ्का गान्धीले केजरीवाल पक्राउ परेको घटना गलत तथा असंवैधानिक भएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, ‘चुनाव आउन लाग्दा दिल्लीका मुख्यमन्त्रीलाई पक्राउ गरेर यसरी राजनीतिको स्तर घटाउनु प्रधानमन्त्री मोदी वा उनको सरकारका लागि शोभनीय होइन । आफ्ना आलोचकसँग चुनावी रणभूमिमा मुकाबिला गर्नुपर्छ ।’

राज्य संयन्त्रको दुरुपयोगको आरोप
केही साताअघिदेखि नै भारतको प्रमुख विपक्षी कांग्रेसले मोदी सरकारले विपक्षीलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

बिहीवार दिउँसो मात्र पत्रकार सम्मेलन गरेर यसका अध्यक्ष मल्लिकार्जुन खड्गे र वरिष्ठ नेता सोनिया गान्धी तथा राहुल गान्धीले कर विभागको प्रयोग गरेर मोदीले आफ्नो दलका ब्याङ्क खाता रोक्का गरिदिएको बताएका थिए । गत वर्ष एक अदालतले राहुल गान्धीलाई गालीबेइज्जती मुद्दामा दोषी ठहर गरी दुई वर्ष जेल सजाय सुनाएको थियो । उनको सांसद पद पनि निलम्बनमा परेको थियो ।

सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि गान्धी पुनः संसद् प्रवेश गरे पनि यसले भारतमा प्रजातन्त्रको अवस्था देखाएको विपक्षीको आरोप छ । –बीबीसीको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस

This will auto close after