अभागी भाइ : तिहारमा सेतो टीका

  • डम्मर बम

मिति २०८० कात्तिक महिनाको २९ गते बुधवार बिहान १०ः५१ मिनेट भाइटीकाको उत्तम साइत । तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन । दिदी बहिनीले दाजुभाइलाई टीका लगाइ दीर्घायुको कामना गर्ने पवित्र दिन । तिहारको समय घर–घरमा चहलपहल, देउसी र भैलो साथमा नाचगान, बाजा र गाजासहितको रमाइलो । बजारमा किनमेल । सप्तरङ्गी टीकाहरू, मखमली, सुपारी फूलको माला, सेल रोटी सहित अन्य परिकारको तयारी । सबैतिर हर्ष खुसीयाली त्यो दिनको रौनक ।

यमपञ्चकको पाँचौदिन दाजुभाइको निधारमा दिदी बहिनीको हातबाट लगाएको सप्तरङ्गी टीका, गलामा मखमली, सुपारी फूलको माला । सबैजना सबै दाजुभाइ दिदी बहिनीको घरमा भाइटीका थाप्न जान्छन्, म बाघको आक्रमणबाट मृत्यु भएकी दिदीको छमासी (मृत्यु भएको छ महिना पुग्दा गरिने श्राद्ध) मा । अरू तिहारको शुभकामना साटासाट गरिरहँदा म दिदीको आत्माको चिरशान्तिको कामना गर्दे थिएँ, अरूको निधारमा सप्तरङ्गी टीका, माला हुँदा मेरो भने निधारमा सेतो टीका ।

२०८० वैशाख ८ गते शुक्रबार बेलौरी-८ पहुँईमा ४२ वर्षीया मेरी ठूली दिदी (गंगा चन्द) को बाघको आक्रमणबाट मृत्यु भएको थियो । असोजमा हुनुपर्ने छमासी मलमासले गर्दा एक महिना ढिलो भई भाईटीकाकै साइतकै दिन पर्‍यो । वर्षको एक दिन आउने दिदीभाइको विशेष पर्व जुन दिन दिदीले भाइको दीर्घायुको कामना गर्दै भाइलाई सप्तरङ्गी टीका अनि कहिले नओइल्याउने मखमली, सुपारी फूलको माला लगाउँछन्, मेरो भागमा यो वर्ष यो रहेन । तिहारको रौनक हुनुपर्ने मेरो ठूलो दिदीको घरमा सन्नाटा थियो । दिदीको छमासीकै दिन भएपनि दिदीको अँगेनीमा पाइला टेक्दै गर्दा लाथ्यो तिहारको दिन ढोका खोल्दै उनी आउनेछिन् र भन्नेछिन् भाइ आइज टीकाको साइत जानै लाग्यो । साइतमा टीका लगाउनु राम्रो हुन्छ । कल्पनाको दुनियाँमा कल्पित हुँदै गर्दा झसँग हुन्छु जहाँ दिदी नभएर ब्राह्मणले श्राद्ध सकेर टीका लगाउन बोलाएको रहेछ ।

दिदीको हातको सप्तरङ्गी टीका थिएन, बस त्यो टीका दिदीकै श्राद्धको टीका थियो । गहभरि पीडा, आँखामा आँसु टिलपिलाए, ओठमुख सुके अभागी म । त्यो दिदीको घरमा छु त्यसको छमासी श्राद्धमा छु, जसले म दुई वर्षको नहुँदै मुवाबुवाको भूमिका हुर्काउनुभयो । घरको आँगनीको एक कुनामा बसे जहाँ मेरी दिदी गाई भैँसीको खानेकुरा पकाउने गर्थिन । सानो छँदा निम्न वर्गका हामी चाहेको कुरा नहुँदा जसरी म रिसाएर बसेको हुन्थ्ये, दिदी आएर कपाल सुमसुम्याउँदै भाइ भन्दै फकाएको सम्झेँ । म त्यो दिन त्यति भावुक हुँदा मलाई सम्झाउन त्यहाँ कोही आएनन् । सपनामै भएपनि मिठास मिल्थ्यो । तर यथार्थमा त्यो थिएन ।

गत वर्ष भान्जीको विवाहमा रंगिएको घरको रंग उड्न थालेको थियो । गोठ खाली भइसकेको थियो । दूध दिने गाई भैँसी थिएनन् । एकदमै शान्त भएको थियो । न कुकुरको आवाज नत बाख्राको आवाज सबैतिर शान्त थियो । घर होकी की कुनै समसानघाट जस्तै । दिदी बिनाको त्यो घर । भनिन्छ, नारी बिनाको घरपनि के घर साँच्चै दिदी बिनाको त्यो घरमा एकछिन पनि बस्न मन लागेन मेरी ठूली दिदी हुँदा स्वर्ग लाग्थ्यो त्यो घर । सधैँ बिहानको नित्यकर्म पछि पूजा गर्ने त्यो पूजाकोठामा माकुराको जालो । चिटिक्क हुने ती कोठा अव्यवस्थित । तिहारमा विभिन्न परिकार पाक्ने त्यो भान्सामा श्राद्धको परिकार । यस्तैयस्तै उजाड अवस्था मेरो ठूल दिदीको घर ।

दिदीको हत्या गर्ने नरभक्षी बाघलाई सरकारले महारानीको उपनाम दियो, जावलाखेल स्थित चिडियाखानामा राख्यो । पीडित पक्षलाई नियमानुसार सरकारले दिने १० लाख दियो । दश लाखले सरकारको जिम्मेवारी पूरा भयो या भएन ? राज्य भएको आभास दिलायो या दिलाएन ? तर मेरो प्रश्न अझै छ, मेरी दिदीको हत्यारा महारानी कसरी ? सरकार । बाघको आक्रमणबाट मान्छेको मृत्यु हुनेक्रम बढ्दो सरकारले ठोस कदम चाल्न सकेको छैन । फेरि पनि सरकारलाई सोध्न मन लाग्छ बाघ देखाएर विदेशी भित्र्याउन उद्यत मात्रै हुने की आफ्ना नागरिकको संरक्षणमा ध्यान दिने ।

घर फर्किँदै गर्दा बस प्रतीक्षालयसम्म दिदी पुर्‍याउन आउँदै गरेको याद आयो । बस स्टपसम्म मेरो झोला दिदीको हातमा हुन्थ्यो । त्यो स्मृतिमा याद मात्रै भए । राम्रोसँग जा मुवाको ख्याल गरेस् । म गाईभैँसी तेरो भिनाजुको जिम्मा लगाएर मुवालाई भेट्न आउँछु । यी दिदीमा सधैँ छुट्टिँदा भन्ने वाणी नै भएका भएका थिए । ठूली दिदीपछि दुईजना दिदी छन्, मेरो निधार त कहिले खाली नहोला तर जीवनभर दिदीको अभाव भने खट्किरहनेछ । जीवनमा अभिभावकको कमी महसुस भएको हुनेछ । हार्दिक श्रद्धाञ्जली मेरी दिदी ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस