प्रचण्ड सरकारको बचाउमा, बामदेव विरोधमा, किन बाझिँन थाल्याे शीर्ष नेताहरुको बोली?

काठमाडाैं । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा ।

‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा।

यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए।

अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन्। दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे। गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन। त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ। कांग्रेस सभापति देउवाले भने जस्तै।’

आफू नेतृत्वको कार्यदलको रिपोर्ट सरकारले ग्रहण गर्न नसकेको भन्दै शनिबार गौतमले असन्तुष्टि पोखेका हुन्। गौतम मात्र होइन, नेकपामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदो छ। केही समयअघि वरिष्ठ नेता माधव नेपालले संसद्मै उभिएर सरकारको आलोचना गरे। त्यसयता जिम्मेवार नेताहरूबाटै सरकारप्रति असन्तुष्टि पोख्ने क्रम बढ्दो छ।

सचिवालयभित्रै वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारको गतिमा सन्तुष्ट देखिँदैनन्। अध्यक्ष दाहाल भने सार्वजनिक रूपमा खुलेरै सरकारको पक्षमा बोलिरहेका छन्। शनिबार उनले भने, ‘अब सरकारले उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’

नेताहरूकै यस्ता विरोधाभासपूर्ण अभिव्यक्ति आइरहँदा पार्टी कार्यकर्ता भने अन्यौलमा देखिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने नेकपाका शीर्ष नेताका फरक–फरक अभिव्यक्ति देशको आवश्यकताअनुसार जरुरी रहेको बताउँछन्। ‘सरकारभित्र र बाहिर रहने नेताका अभिव्यक्ति फरक देखिनु स्वाभाविक हो, त्यो जरुरी पनि छ,’ श्रेष्ठले भने, ‘जीवन्त पार्टीमा फरक कोणबाट आवाज उठेमात्र त्यसले सरकार र नेतालाई सच्चिने सम्भावना दिन्छ।’

एकनासको अभिव्यक्ति र कार्यशैली भनेको यान्त्रिक पार्टीमा मात्र हुने उनले जिकिर गरे। उनले भने, ‘ओलीले जे बोल्यो, त्यही बोल्ने मात्र खोज्न थाल्यौं भने यान्त्रिकता हुन्छ, जिउँदो पार्टीमा आलोचनाका आवाज उठाउन सक्नुपर्छ। माधव नेपाल, वामदेवदेखि नारायणकाजीहरूले उठाएको आवाज जरुरी छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after