ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्दै

काठमाडौं । नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यको आधारमा सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन हुने भएको छ।सर्वोत्तम  सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको हो। धितोपत्र बोर्डले सोमबार कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए।

सर्वोत्तम सिमेन्ट कम्पनीले पहिलो चरणमा संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो। यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत हो। यसअनुसार कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रूपैयाँदेखि ६ सय १ रूपैयाँको दरमा सेयर जारी गर्नेछ। यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्। बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता सेयर बाड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य ‘कट अफ प्राइस’ का रूपमा रहन्छ।

यसरी बोलकबोल गरेको सेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ। यसभन्दा अघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको सेयरमा बोलकबोल गरेका हुन्छन्। यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ। त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि सेयर भने बाँडफाँट गरिएको हुँदैन।

सर्वोत्तमले सुरूमा ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो।अब संस्थागत  योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा भने निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।

दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर जारी हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। सर्वोत्तम कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आइपिओ जारी गर्न २०७९ असारमा आवेदन दिएको थियो। यसअघिका स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष लगायतले कम्पनीको सेयर खरिद गरेपछि यो कम्पनीको सेयर विवादमा परेको थियो। र, सेयर जारी प्रक्रिया लम्बिएको थियो।

हाल धितोपत्र बोर्डबाट एक सय ३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन्। योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी लगायत छन्। यस्ता संस्थाको नेटवर्थ न्यूनतम १० करोड रूपैयाँ हुनुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस