प्रधानमन्त्री सतही आतिथ्य सत्कार र तीर्थाटनमा सीमित !

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् । नेपाल आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंसामा रमाएर बसेको उनको आरोप छ ।

प्रधानमन्त्रीले तीर्थाटन जान छाडेर देश विकासका लागि सोच्नुपर्ने उनको भनाई छ । ‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिएपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘नेपाल यतिबेला आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ । यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकूल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको उनले बताए । ‘अहिले २१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो ।’

उनले अगाडि भनेका छन्, ‘सयौँ वर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर-दुई दशक निरन्तर)को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृङ्खलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुसी हुनेछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री