ब्राण्डिङमा बेग्लै नाम : अनिता थापा आचार्य

परिचय
म जावलाखेल ललितपुरमा जन्मिएकी हुँ । हाल सिटी एक्सप्रेस मनी ट्रान्सफरमा ब्राण्ड एण्ड मार्केटिङ प्रमुखका रूपमा कार्यरत छु । यस कार्यालयमा कार्यरत भएको ६ वर्ष पुरा भई ७ वर्ष प्रारम्भ भएको छ । यो संस्थामा मेरो रमाइलो अनुभव छ । आफ्नो जीवनको महत्त्वपूर्ण समय बिताइसकेको छु । यहाँ दोस्रो घरमा जस्तो अनुभूति हुन्छ । यो मेरो कार्यथलो मात्र होइन, धेरै नयाँ र सिर्जनात्मक विषयहरू सिक्ने ठाउँ पनि हो । जीवनमा रेमिट्यान्स क्षेत्रमा काम गरेको पहिलो अनुभव हो । जब म कामका लागि यहाँ आएँ । आफूलाई प्रमाणित गर्ने अवसर पाएँ । आफ्नो क्षमतालाई निखार्ने अवसर पाएँ ।

मानव भएर जन्म लिइसकेपछि समाजमा सकारात्मक सन्देश दिने कामहरू गर्नुपर्छ । धेरै प्रकारका चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्छ । मैले आफूलाई प्रमाणित गर्नका लागि धेरै मेहनत गर्ने गरेको छु । अझै धेरै गर्नुपर्ने पनि छ । सिटीमा आउनुभन्दा पहिले अन्य केही कम्पनीहरूमा काम गरेँ । ती कम्पनीमा पनि मेरो राम्रो सम्बन्ध रहेको छ । मलाई सबैसँग मिलेर अगाडि बढ्न र प्रगति गर्न मनपर्छ ।

बाल्यकाल:
मेरो बाल्यकाल एकदमै सामान्यरुपमा बित्यो । अतिनै लजालु स्वभावको थिएँ । विद्यालय पनि नजिकै थियो । धेरै मानिसहरूसँग घुलमिल गर्ने अवसर मिलेन । त्यसकारण म कम बोल्ने स्वभावको थिएँ । म आफूलाई निकै भाग्यमानी ठान्छु । राम्रो शिक्षा दीक्षाको अवसर पाएँ । त्यही अनुसार राम्रो पालन पोषण भयो । सानो परिवारमा हुर्किएकाले बुबा आमासँगको सम्बन्ध धेरै नजिकको हुने मौका मिल्यो । मेरो भाइ र म अनि बुवाआमाको सानो परिवार थियो । हाल भाइ अस्ट्रेलियामा बस्छ । बाल्यकाल रमाइलोसँग बित्यो ।

अध्ययन:
प्रसादि कलेजमा अध्ययन गरेँ । बीएको पढाई पिनाकल कलेजबाट सकेको हो । पढाइमा पनि राम्रै विद्यार्थी थिएँ । सबैसँग मिलनसार रूपमा प्रस्तुत हुन्थेँ ।

जागिर अनुभव
मेरो पहिलो जागिर म्यागेजिनबाट सुरु भएको हो । त्यो काम रहरले गरेको होइन । साथी पहिलेदेखिनै पत्रिकामा काम गर्दै आएको  र सोही कार्यालयमा काम गर्ने मानिसको खोजी पनि भइरहेको रहेछ । मैले त्यहाँ रहरले काम गरेको होइन । पहिलो जागिर सुरु गरेको सुनाउँदा बाबा आमा त्यति खुसी हुनु भएन तरपनि त्यहाँ करिब ३ वर्षसम्म काम गरेँ । जागिर सुरु गर्दाको रमाइलो किस्सा छ । घरमा नयाँ काम सुरु गर्छु भनेपछि बाबाआमाको चित्त नबुझेको जस्तो लाग्यो ।

काम गर्न सक्दिन भनेपछि मेरो साथी (जसले अन्तर्वार्ताका लागि अफिससम्म पुर्‍याएको थियो) रिसाई । त्यसपछि १–२ हप्तासम्म बोलचाल पनि भएन । उसको व्यवहारमा पनि परिवर्तन देखिन थाल्यो । साथीको मन राख्नकै लागि काम गरेँ । काम गर्दै जाँदा त्यहाँको वातावरणमा घुलमिल हुन थालेँ । सञ्चालकले अहिले पनि फोन गरेर हालखबर सोध्नुहुन्छ । सम्बन्ध अतिनै राम्रो छ । ३ वर्षसम्म काम गरेपछि अर्को कम्पनीमा जागिर सिफ्ट गरेँ । अर्को कम्पनीमा पनि ३ वर्ष काम गरेँ । त्यसपछि सिटीको यात्रा सुरु भयो ।

सिटीमा आइसकेपछि मेरो जीवनमा नौलो परिवर्तन आयो । घरमा जस्तो सुरक्षित वातावरण भएकाले कामको बोझ कहिल्यै भएन । प्रबन्ध निर्देशक शरले महिलाहरूका लागि सहज वातावरण बनाइदिनुभएको छ । जसका कारण लामो समयसम्म काम गर्ने दिदीबहिनीहरू धेरै हुनुहुन्छ । बैङ्किङ क्षेत्रबाट आएकाहरूले समेत हामीकहाँ काम गर्ने इच्छा राख्नुहुन्छ । महिलाहरूको लागि यो कार्यालय घरजस्तै छ । कुनै महिला कर्मचारी गर्भवती भए बेबी सावरको व्यवस्था समेत कार्यालयले गरिदिने गरेको छ । यति राम्रो वातावरण भएपछि कर्मचारीले पनि आफूले सकेको योगदान संस्थालाई दिन्छन् ।

अहिले ब्राण्ड एण्ड मार्केटिङ प्रमुखका रूपमा म कार्यरत छु । सुरुमा मार्केटिङबाटै जागिरको सुरुवात गरेको हुँ । समय समयमा जागिरमा प्रमोसन पनि हुने गरेको छ । यसले काम गर्ने जाँगर बढाउँछ । यस कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन शर र सम्पूर्ण सिटी परिवारप्रति आभारी छु ।

बिहेपछिको यात्रा
उहाँ म कक्षा १० मा अध्ययनरत रहँदा विद्यालयको कार्यक्रममा प्रमुख अतिथिका रूपमा आउनुभएको थियो । त्यतिबेला नै मलाई ध्यान दिनुभएको रहेछ । मैले भने खासै याद गरेको थिइन । एकदिन जावलाखेलमा हाम्रो भेट भयो । त्यतिबेला म्यागेजिनमा काम गर्दै थिएँ । मेरो भिजिटिङ कार्ड मागेर लानुभयो । बेला बेलामा भेट भइरहन्थ्यो । पछि उहाँ आफैले विवाहको प्रस्ताव राख्नुभयो । सुरुमा त के गर्नु ? जस्तो भएको थियो । पछि एकअर्काको आनीबानी सबै थाहा हुन थाल्यो । बिस्तारै धेरै कुरा मन पर्यो अनि बिहे गर्‍यौँ । बिहे भएको २ वर्षपछि छोरा जन्मियो । बाबु जन्मिएको लामो समय घरमै आराम गरेँ । परिवार र छोरासँग समय बिताएँ । जागिर महिलाको लागि महत्त्वपूर्ण छ तर परिवारलाई समय दिनु पनि आवश्यक हुन्छ । छोरालाई मन्टेश्वरीमा राखेपछि पुनः जागिर गर्न थालेँ । मैले गर्दै आएको कामप्रति खुसी छु । विवाहपछिको जीवन पहिलेजस्तो सहज त हुँदैन तरपनि माया गर्ने परिवार पाएका कारण रमाइलो नै छ ।

कर्पोरेट क्षेत्रको अनुभव 
कर्पोरेट क्षेत्र राम्रो लाग्छ । मैले जतिपनि यो क्षेत्रमा काम गरेँ संस्थाप्रति बफादार भएरै गरेँ ।  सिटीमा धेरै कुराहरू सिक्ने मौका पाएँ । यो कम्पनीमा धेरै समय बिताएको छु । सुरुको दिनबाट मैले असल वातावरणमा काम गर्ने मौका पाएँ

। काम गर्दा स्वतन्त्र निर्णय लिने महिलाहरूको नेचर हुन्छ । यहाँ काम सुरु गर्दा एक्जुकेटिभ अफिसरका रूपमा प्रवेश गरेँ ।
हाल ब्राण्ड हेडको रूपमा आफ्नो करियर अगाडि बढाउँदैछु । सुरु र अहिलेको अवस्थामा आकाश जमिनको फरक छ । परिपक्वता महसुस गरेको छु । तुरुन्तै निर्णय लिनसक्ने क्षमताको विकास भएको छ । मेरो अनुभवलाई र क्षमतालाई सम्मान गर्ने परिवेशका कारण पनि मलाई सहज भएको छ । अझैँ निखारिने प्रयत्नमा छु ।

ब्राण्डिङमा रचनात्मकता
संस्थाको पहिचानका लागि आजभोलि ब्राण्डिङ्ग जरुरी हुन्छ । रचनात्मकता त हरेक ठाउँमा चाहिन्छ नै तर कुनैपनि संस्थालाई बजारमा चिनाउनका लागि बाण्ड भ्यालु आवश्यक छ । अहिलेको समयमा एकदमै धेरै कम्पिटिसन छ । डिजिटल सामग्रीहरूको बजारीकरणमा सृजनशीलता आवश्यक हुन्छ । राम्रो भन्दा नराम्रो कुरा भाइरल हुन्छ । त्यस्तो अवस्थामा आफ्नो ब्राण्डिङ कसरी सकारात्मक बनाउने भन्ने जिम्मेवार व्यक्तिको हातमा हुन्छ । चाँडै समाजमा परिचित हुने भन्दै गलत कुराहरू फैलाउने काम भइरहेको छ । यी सबै विषयहरूलाई ध्यानमा राख्दै संस्थाको शिर उँचो राख्दै ब्राण्डिङको काममा व्यस्त छु ।

सिटी एक्सप्रेसमा अनुभव
यो कम्पनीमा मेरो अनुभव राम्रो रहेको छ । सबैजना मिलेर अगाडि बढ्ने संस्कार छ । तथापि काम गर्ने क्रममा तीता/मीठा पलहरू त भइनैहाल्छन् । जिम्मेवारी जति आफैले लिने तर जस चाही अरूको भागमा पर्ने गर्छ । यस्तो अवस्थामा केही पलहरू निराशाजनक पनि हुने गर्छ । आजभोलि Hard work  मात्रै होइन की Smart work को जरुरी हुन्छ । काम गर्ने क्रममा मेरो विषयमा कसले के सोच्छ ? यो जरुरी होइन । मैले के गर्ने ? गर्नसक्ने केके हुनसक्छ ? यसतर्फ ध्यान दिनुपर्छ । यसले सकारात्मक धारणा फैलाउँछ ।

ब्राण्डिङ्गमा आउनु संयोग
म त सुरुमै ब्राण्डिङमा नै प्रवेश गरेको हो । अहिलेको बजारको कोर मूल्य भनेको ब्राण्डिङ नै हो । कम्पनीले कतिको नाफा कमाइरहेको छ ? वा छैन त्यो पनि ब्राण्डिङले नै तय गर्छ । कम्पनी कुन स्तरमा (लेवलमा) छ ? कम्पनीको नाफा कति छ ? आजको समयमा ब्राण्डिङ महत्त्वपूर्ण छ । ब्राण्डिङमा मैले राम्रो गर्न सक्छु भनेर संस्थाले ममाथि विश्वास गरेको छ । मैले मात्र होइन, सबै कर्मचारीले उत्प्रेरणा पाएका छन् ।

केही रेमिट्यान्स कम्पनीकै कुरा गर्नुपर्दा हामीभन्दा डबल ट्रिपल मानवश्रोतमा काम गर्नेहरू छन् तर संस्थालाई उचाइमा पुर्‍याएको देख्दा अरू रेमिट्यान्स कम्पनीहरूले पनि सिटी एक्सप्रेस कम्पनीको तारिफ गर्छन् । कर्मचारीहरू पनि लामो समयसम्म जागिर छोड्दैनन् । छोडेर जान पनि चाहँदैनन् । म ब्राण्डिङमा आउनु संयोग नै हो । यहाँ आउनु अगाडि ब्राण्डिङमैं हुन्छु भन्ने सोचेको थिइन तर आइसकेपछि यसमै रमाइलो लागेको छु । अझ धेरै सिर्जनात्मक काम गर्न बाँकी नै छ ।

रुचि 
मैले २–३ वटा म्युजिक भिडियोमा काम पनि गरेको छु । रहर भन्दापनि करले हो । मेरो श्रीमान् गायक हुनुहुन्छ । उहाँको गीतमा मैले उहाँकै चाहना बमोजिम प्रयास गरेको हो । निर्देशक स्वर्गीय आलोक नेङ्गवाङ दाईसँग सहकार्य गर्न पाएकोमा म आफूलाई एकदमै भाग्यमानी ठान्छु । सो भिडियो सफल भयो वा भएन त्यो आफ्नो ठाउँमा छ । उक्त गीतबाट मेरो श्रीमान्ले अवार्ड पाउनुभएको थियो । दोस्रो गीत भने भूषण दाहाल दाइले निर्देशन गर्नु भएको थियो । उक्त भिडियोबाट पनि मेरो श्रीमान्ले अवार्ड पाउनुभयो ।

मेरो जीवनसाथीका लागि म एकदमै भाग्यमानी छु रे ! मेरो अर्को रुचि भनेको उद्यमशीलता हो । अहिले म जागिर गर्दैछु । यसबाट सेवा निवृत्त भई सकेपश्चात् उद्यमशीलतालाई मैले दिमागमा राखिराखेको छु । भविष्यमा आफूपनि एउटा उद्यमशील महिला बन्ने सोच छ ।   सोचेजस्तो भयो भने डिजाइनर ड्रेससँग सम्बन्धित उद्यमशीलता गर्ने सोच छ ।

घर र कार्यालय व्यवस्थापन 
घर र कार्यालय व्यवस्थापनको काम एकदमै चुनौतीपूर्ण रहेको छ । पुरुषलाई यो दुवै पक्ष सम्हाल्न निकै कठिन छ । राम्रो ढङ्गले सम्हालेको पनि देख्न पाइँदैन तर हामीले पुरुषजत्तिकै कार्यालयमा काम गरिसकेपछि घरमा गएर किचेनको कामकाज गर्नुनै पर्दछ । पुरुषले घरको काममा महिलालाई सघाउने अवस्था समेत देखिँदैन । घर व्यवस्थापन महिलाको ठेक्का नै हो भनेर सोच्ने मानसिकतामा परिवर्तन भएको छैन । कामबाट आएर, पाकेको खाना खाएर टीभी हेरेर सुतेको जस्तो सहज महिलालाई छैन । महिलाहरूले कार्यालय र घरको काम सम्हाल्न निकै चुनौती देखिन्छ ।

हाम्रो पुस्तासम्म त ठुलो परिवर्तन नआउला तर १—२ पुस्तापछि भने पक्कै परिवर्तन हुन्छ ।   हामी महिलाहरूले पनि घरको सबै जिम्मेवारी हाम्रै हो भनेर स्वीकार गरिसकेका छौँ । दुवैतर्फको जिम्मेवारी पक्कैपनि निकै अप्ठेरो छ । तरपनि परिवारको साथ र सहयोगले सहज भएको छ ।  ससुरा (गायक भक्तराज आचार्य), सासू र श्रीमान्बाट काम गर, करियर बनाऊँ भनेर सहयोग र हौसला मिल्दै आएको छ । परिवारकै कारण घर र कार्यालय व्यवस्थापनमा सहजता भएको छ ।

आत्मविश्वासको सूत्र
महिलाहरू एकदमै कोमल र संवेदनशील हुने गर्दछन् । उनीहरूलाई धेरै ठूलो आत्मविश्वास पनि चाहिँदैन । घरपरिवारबाट हौसला मात्रै दिए पनि पुग्ने रहेछ । थोरै मात्र आत्मविश्वास दिए ठुलो कुरो केही चाहिँदैन । महिला र पुरुषबीच तुलना नै गर्न सकिन्न । महिलाहरूले जिम्मा लिएको काम एकदमै सफल हुने गरेको छ । उनीहरू बच्चा पाइसकेपछि झनै परिपक्व हुने रहेछन् । मैले देखाउन नसकेको सीप बच्चा पाइसकेपछि देखाउन पाएँ । आत्मविश्वासका लागि इमानदार भएर काम गर्नुपर्छ । सानो समस्या आइपर्‍यो भन्दैमा अत्तालिनुहुँदैन । घरलाई सम्हाल्दै करियर बनाउन पनि पछि पर्नुहुँदैन ।

विज्ञापनमा मोडलिङ
विज्ञापनमा पनि मलाई त्यति धेरै रुचि थिएन तर एजेन्सीका साथीहरूले मलाई अफर गर्नुहुन्छ । सायद मप्रतिको विश्वासका कारण हुनसक्छ । उहाँहरूले कर गरेपछि विज्ञापनमा देखिएको हुँ । सकेसम्म नआऊँ भन्ने नै लाग्छ तर बजारले डिमाण्ड गरेपछि एजेन्सीका साथीहरूले माया गर्नुहुन्छ । विज्ञापनमा आउनुको पनि एउटा बेग्लै किस्सा छ ।

एउटा विज्ञापन एजेन्सीले फ्रेम वर्क बनाएको रहेछ । त्यो एउटा पात्रको लागि पहिलेनै मेरो नाम लेखेर ल्याउनुभएको रहेछ । मैले गर्दिन भनेँ । उहाँहरूले विज्ञापनका लागि उपयुक्त पात्र तपाइ नै हो भनेर जिद्दी गरेपछि म तयार भएँ । अवधारणा नै मलाई राखेर बनाएको पछिमात्र थाहा पाएँ । अरू मोडल खोजेकै छैनौँ भनेपछि पहिलो विज्ञापनमा काम गरेँ । अहिले पनि बेला बेलामा अफर गर्नुहुन्छ । सबैमा काम गर्दिन तर राम्रो स्क्रिप्टमा आयो भने चाहिँ गर्ने गरेको छु ।

प्रतिष्ठित परिवारमा पहिचान
हो म नेपालको साङ्गीतिक माहौल भएको परिवारबाट प्रतिनिधित्व गर्छु । भक्तराज आचार्यको नाम धेरैलाई थाहा छ । मेरो श्रीमान् सत्यराज आचार्यको पनि आफ्नै पहिचान छ । उहाँहरूको परिवारमा जोडिन पाउँदा खुसी लागेको छ तर दुःख र मेहनतले अलग्गै पहिचान बनाएको छु । मैले काम गर्ने कार्यालयमा पनि व्यक्तिगत परिचय मात्रै दिने गरेको छु तर अहिले धेरैले चिन्नुहुन्छ ।

कहिलेकाहीँ राम्रै पनि हुने रहेछ भने कहिले चर्चित व्यक्तिहरूको पहिचानका कारण अप्ठेरो पनि पर्दोरहेछ । उ त यस्तो परिवारबाट आएको हो, संघर्ष पनि खासै गर्नुनपर्ने रहेछ । सजिलै सफल भइहालिन्छ नि !भनेर कम आँक्ने भएका कारण पनि समस्या पर्ने गरेको छ । मैले दुःख गरेर बेग्लै पहिचान बनाएको छु । प्रतिष्ठित परिवारको सदस्य हुँदैमा सफलता यत्तिकै प्राप्त हुँदैन त्यसका लागि रातदिनको मेहनत जरुरी हुन्छ ।

महिला सशक्तीकरण
महिला सशक्त हुन सबैभन्दा पहिले आफै तयार हुनुपर्छ । अरूले त केही समयका लागि साथ र हात देलान् तर आफनो हिस्साको लडाइँ आफैले लड्नुपर्छ । एक सफल महिलाले अर्को महिलाको कुरा सुन्नुपर्छ र अगाडि बढ्नका लागि हौसला दिनुपर्छ । मैले त संस्थाका माध्यमबाट वर्षमा एक पटक भएपनि सशक्तीकरणका लागि पहल गर्दै आएको छु । गत वर्ष हामीले अस्तित्व फाउन्डेसन नेपाललाई एसिड आक्रमणबाट पीडित महिलाहरुको लागि सहयोग गरेको थियौ ।

सबैभन्दा पहिले सकारात्मक सोच हुनुपर्छ । सृष्टि गर्नेमा महिलालाई नै भगवान्ले शक्ति दिएको छ । त्यसकारण सशक्तीकरणका लागि ठुलो केही चाहिँदैन । आत्मविश्वास जगाउन प्रयत्न गर्नुपर्छ । एउटा महिलालाले अर्को महिलाको पीडा र क्षमतालाई बुझ्नुपर्छ ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस