सरकारले स्वीकृति दिएका सबै देशहरू सुरक्षित : कार्यकारी निर्देशक डा. उप्रेती (अन्तर्वार्ता)

  • वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीसँग गरिएको कुराकानी :-

वैदेशिक रोजगार बोर्डले गर्ने काम के हो ?
बोर्डको वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्ने मुख्य काम हो । तर यसका अतिरिक्त जोडिने काम भनेको वैदेशिक रोजगारीमा जानु अगाडि तालिम लिने र कामदारलाई आफू तयारी भएर विदेश जानका लागि सहयोग गर्ने पनि हो । वैदेशिक रोजगारीमा गइसकेपछि काम गर्ने क्रममा केही अप्ठेरो गाह्रो/साह्रो पर्‍यो भने बोर्डले सहयोग गर्छ । काम पूरा गरेर स्वदेश फर्किसकेपछि उनीहरूलाई कसरी स्वदेशमा नै स्थापित गराउने भनेर पुनः एकीकरण गर्ने मुख्य कामहरू हुन् । नयाँ नयाँ गन्तव्यको खोजी गर्न, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई विभिन्न क्षेत्रका सूचनाहरू प्रदान गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्छ । पाँचवटा मुख्य मुख्य कामहरू यस अन्तर्गत पर्दछन् ।

  • वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि तालिमको विषय
  • गइसकेपछि राहत र क्षतिपूर्ति
  • फर्किएर आएपछि पुनः स्थापित हुने
  • यी सबै कुराको सूचना थाहा पाउने गरी सूचना सम्प्रेषणको विषय
  • भइरहेका कामको गन्तव्य बाहेक नयाँ आकर्षक गन्तव्यको खोजीको विषय

वैदेशिक रोजगारीमा गएका श्रमिक र तिनका परिवारले बोर्डबाट कसरी सेवा लिन सक्छन् ?
वैदेशिक रोजगारीमा गएर फर्केर आइसकेपछि पुनः स्थापित हुनेगरी विभिन्न खालका उद्यमशीलता सम्बन्धी तालिम, बैंकिङसँग सम्बन्धित तालिम र मनोसामाजिक परामर्शका तालिम गरेर तीनवटा तालिमहरू फर्किएर आउनेहरूलाई दिने गरेका छौँ । यदि कोही व्यक्ति वैदेशिक रोजगारीकै क्रममा घाइते, अपाङ्गता भएको भए अथवा त्यहाँ कुनै समस्या परिहाल्यो भनेदेखि उनीहरूलाई उद्धार गरेर ल्याउने लगायत उपचार गराउने कामपनि भइरहेको छ । जुन देशमा भएपनि घाइते भएका कामदारको उपचारको कागजात पटाइदिने हो भने उनीहरूको खातामा यहाँबाट नै हामी पैसा पठाइदिन्छौँ । विदेशी भूमिमा केही अप्रिय घटना घट्यो र कसैको मृत्यु भयो भने उनीहरूको लास हामी घरसम्म पुर्‍याइदिन्छौँ र उनीहरूको दाहसंस्कार भइसकेपछि त्यहाँबाट मृत्युको प्रमाणपत्र लगायतका अन्य आवश्यक कागजपत्रहरू स्थानीय पालिकाबाट यहीँ झिकाउँछौँ र मृतकका परिवारको सबैभन्दा नजिकको व्यक्तिको खातामा पैसा हालिदिन्छौँ अथवा श्रीमान्को मृत्यु भएमा श्रीमतीको खातामा अथवा बिहे गरेको छैन भने बुबा आमाको खातामा जम्मा गरिदिने गरेका छौँ ।

वैदेशिक रोजगारमा गएकाहरू दुर्घटनामा परे वा मृत्यु भयो भने कतिसम्मको बिमा रकम पाउँछन् ? यो सम्बन्धी कस्तो व्यवस्था छ ?
यदि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा ७ लाख रुपैयाँ दिने गरेका छौँ । अब चाहिँ यो ७ लाख अलिक कम भयो भनेर रकम बढाउनका लागि एउटा समिति गठन गरेका छौँ । त्यो समितिले विभिन्न सम्बन्धित निकायहरूसँग सल्लाह गरेर कतिसम्मको क्षतिपूर्तिको रकम पुर्‍याउँदा उपयुक्त हुन्छ भनेर सिफारिस गर्छ । त्यो सिफारिसको आधारमा हामी निर्णय लिन्छौँ र वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि श्रमिकहरूको योगदानमा आधारित पनि हुन्छ । सामान्यतया ३ वर्षसम्म भिसा लगाउनेले १५ सय र ३ वर्षभन्दा माथिको भिसा लगाउँदा २५ सयको योगदान गरेर गएका हुन्छन् र यसरी जानेहरूको पनि २५ सय र १५ सय भनेको १५/१६ वर्ष अगाडिको दर हो ।

 मृतकको परिवारलाई दिने ७ लाखमा कुनै अपडेट भएको छैन । कुनै भिसा म्याद सकिएको छ अथवा गैरकानुनी ढंगले बसेको छ अथवा कागजात पुरा गरेको छैन यस्तो अवस्थामा पनि बोर्डले सहयोग गर्ने गरेको छ । कागजात नभएको अवस्थामा उनीहरूलाई किरिया खर्च स्वरूप २५ हजार रुपैयाँ दिने गरेको छ । यो रकम अपर्याप्त भयो । यसमा पनि वृद्धि गर्नुपर्दछ । उनीहरूको योगदानको सन्दर्भमा पनि केही रकम बढाउने की भनेर छलफल भइरहेको छ । यसका लागि समिति बनेर सचिवज्यूको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको छ । त्यसमा म सदस्य सचिव छु । यो कमिटीले विभिन्न सम्बन्धित निकायसँग छलफल गरेर एउटा निर्णय निकाल्छ । हामी वैदेशिक रोजगारीमा गएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीलाई सहज होस् भनेर हरसंभव कोसिस गरिराखेका छौँ ।

दैनिकजस्तो कति कामदार दुर्घटनामा पर्ने र मृत्यु हुने गरेको रेकर्ड छ ?
मृतककै सन्दर्भमा दैनिक ४/५ जनाको हाराहारीमा हुने गरेको रेकर्ड छ । वार्षिक संख्यालाई भाग गर्ने हो भने दैनिक ३ जनाको दरले मृत्यु भएकाको लास आउँछ । कहिलेकाहीँ ५-६ जना पनि पुग्छ । कुनैदिन १-२ जना हुन्छन् । कुनैदिन एउटा पनि लास नआएको अवस्था पनि हुन्छ । औसतमा ३ जनाको प्रत्येक दिन लास नेपालमा आउने गरेको छ ।

कतिपय कामदार कानुनी प्रक्रिया पूरा नगरेर विदेशमा दुःख पाएका छन् । उनीहरूलाई कसरी सहयोग गर्नुहुन्छ ?
बोर्डसँग सम्पर्कमा नआईकन अथवा श्रम मन्त्रालयसँग सम्पर्कमा नआईकन जानेहरूले श्रमको स्वीकृति पाएका हुँदैनन् । श्रमको स्वीकृति पाएपछि हामीसँग सम्पर्कमा आएको बुझिन्छ अनि श्रमको स्वीकृति लिने बेलामा निश्चित दस्तुर वैदेशिक रोजगार कोषमा डिपोजिट गरेका हुन्छन् । त्यही कोषको रकमले नै राहत दिने, क्षतिपूर्तिको रकम दिने लगायत तालिम दिने, सूचना दिनेजस्ता सबै काम उनीहरूले जम्मा गरेको रकमले नै हो । बोर्डले सहजीकरणको काम गरिदिएको छ ।

हाल वैदेशिक रोजगारीका लागि सबैभन्दा सुरक्षित र असुरक्षित देशहरू कुन कुन हुन् ?
वैदेशिक रोजगारीमा नेपाल सरकारले स्वीकृति दिएका सबै देशहरू सुरक्षित नै छन् तर खाडी मुलुकका केही देशहरूमा साउदी अरब लगायतमा कामदारमैत्री व्यवस्था छैन । कामदारमैत्री व्यवस्थाका लागि नेपाल सरकारले साउदी सरकारसँग वार्ता गरिरहेको छ । विभिन्न चरणहरूमा केही सहमति गर्नुपर्ने विषयहरू उठेका छन् । तर ती विषयवस्तुले मूर्तरूप लिइसकेको र कार्यान्वयनमा आइसकेको अवस्था छैन ।

जानै नहुने अथवा श्रम स्वीकृति नभएका देशहरूमा पनि कामदारहरू गइरहेका छन्, नि ?
युद्धमा होमिएका र आतंककारीलाई नियन्त्रण गर्न नसकिएका देशहरूमा जानु हुँदैन । युएनले लिष्टिङ गरेका र युएनले कारबाही गरेका देश बाहेक सबै देश हाम्रा मित्र राष्ट्रहरू नै हुन् । ती देशहरूमा सहज नै हुन्छ । कामदारले विदेश जानुभन्दा पहिले जान लागेको देश, भाषा, संस्कारका बारेमा राम्रो अध्ययन गर्नुपर्छ । जोखिम भएका देशहरूमा नजानुनै बुद्धिमानी हुन्छ ।

अहिलेसम्म अध्ययन गर्दा सबैभन्दा बढी घटना कुन देशमा हुने गरेको पाइन्छ ?
जहाँ धेरै मान्छे गएका छन्, त्यहीँ नै घटना बढी हुने हुन् । साउदी अरब र मलेसिया धेरै समस्या देखिन्छ । पहिला साउदी अरबमा बढी समस्या थियो । अहिले मलेसियामा देखिएको छ । मृतक र घाइते अनि अपाङ्गताको घटना मलेसियाबाट नै बढी आउँछ किनभने त्यहाँ जाने नेपालीको संख्या पनि बढी छ भने दोस्रोमा साउदी अरब छ ।

वैदेशिक रोजगारीमा विभिन्न जिल्लाबाट कामदारहरू गएका हुन्छन्, अप्ठेरो परेमा काठमाडौं नै आउनुपर्छ की जिल्लाबाट पनि सुविधा पाउने व्यवस्था छ ?
कोही व्यक्तिको मृत्यु, घाइते, अपाङ्ग भएका खण्डमा छोराछोरीलाई छात्रवृत्तिका लागि माग भए काठमाडौँसम्म आउनु पर्दैन वा वैदेशिक रोजगार बोर्डको कार्यालयमा आउनुपर्दैन । हरेक पालिकामा श्रम मन्त्रालय अन्तर्गतका रोजगार संयोजकहरू प्रत्येक चुनिएका छन् । ती रोजगार संयोजकहरूले आन्तरिक रोजगारी र बाह्य रोजगारीलाई सहयोग गर्दछन् । रोजगार संयोजकहरूले वैदेशिक रोजगारीमा निवेदन लेख्ने, बोर्डले दिने सेवा सुविधाको बारेमा स्थानीय पालिकाबाट नै सहजीकरण गर्ने गर्छन् । अनि वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहने गरी कार्यक्रम चलिरहेको छ ।

पालिकाले नै मेल गरेर हामीलाई सूचना पठाइदिन्छ । व्यक्तिले पठाएको मेल आधिकारिक हो की होइन छुट्याउन सकिँदैन । त्यसले गर्दा स्थानीय सरकारले नै त्यहाँ गएपछि मेल पठाइन्छ । वैदेशिक रोजगारीको कार्यालयमा र हामी उनीहरूले पठाएको मेलबाट डाउनलोड गरेर सबै फाइलहरू यहाँ नै निकाल्छौँ । कुनै कागजातहरू पुगेन भने स्थानीय पालीकालाई फोन गरेर जानकारी गराउँछौँ । कहिलेकाहीँ आमाको नाममा दिने की ? बुवाको नाममा दिने की ? छोरा वा छोरीको नाममा दिने भनेर विवाद पनि हुने गरेको छ । यदि विवाद भएमा स्थानीय पालीकाले नै उहाँहरूको सहमति गराउँछ अनि चिठी लेखेर पठाइदिन्छ । त्यही आधारमा खातामा पैसा जम्मा हुन्छ । काठमाडौँसम्म आउन/जान पनि समस्या नै छ । खर्चको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । परिवारमा परेको दुःखलाई सहजीकरण गर्ने काम गर्नु उचित हुन्छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग भएको अवस्था, मृत्यु भएका व्यक्तिका परिवारको राहतका लागि काम गर्दै आएको छ ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस