फाइल फाेटाे

आलोचना नभएपछि देउवा खुसी

काठमाडौँ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सरकारले थालेका जुनसुकै भ्रष्टाचारविरोधी अभियानमा सरकारलाई सघाउने निर्णय गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका नेता बालकृष्ण खाँणको नाम उल्लेख नगरी कांग्रेसले सरकारलाई सघाउने निर्णय गरेको हो ।

पार्टीबाट निलम्बन गर्नुपर्ने माग भए पनि कांग्रेसको केन्द्रीय समिति बैठकले खाँणको नाम नलिई भ्रष्टाचारको जात, धर्म, लिंग र दल नहुने भन्दै सरकारलाई यो अभियानमा सहयोग गर्ने निर्णय गरेको हो । साउन २ गतेदेखि बसेको केन्द्रीय समितिको बैठकको बुधबार निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘सुशासन कांग्रेसको पहिलो प्राथमिकता हो । सुशासन र भ्रष्टाचार सँगसँगै जान सक्दैन । भ्रष्टाचार, बेथिति अन्त्य नगरी सुशासन अगाडि जान सक्दैन । २१ वर्षअघि अख्तियारलाई कानुनसम्मत कांग्रेसले नै बनाएर बलियो बनाएको हो । भ्रष्टाचारको जात, धर्म, लिंग, वर्ण, सम्प्रदाय, समुदाय वा राजनीतिक दल हुँदैन । जोसुकैले भ्रष्टाचार गरे पनि कानुनबमोजिम दण्ड सजाय हुनुपर्छ । भ्रष्टाचार निर्मूल बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ । यो सरकारले थालेको भ्रष्टाचार निर्मूलको अभियानमा हाम्रो पूर्ण साथ र सहयोग रहेको विदितै छ ।’

कांग्रेस भ्रष्टाचारका दोषी नउम्किउन्, निर्दोष नफसून् भन्नेमा प्रष्ट भएको उल्लेख गर्दै कांग्रेसको निर्णयमा भनिएको छ, ‘भ्रष्टाचारविरुद्ध पार्टीको साथ र सहयोग रहन्छ । दोषी नउम्किउन् तर निर्दोष नपरून् भन्ने कांग्रेसको नीति हो ।’ ११ महिनापछि कांग्रेसको बैठक २ साउनदेखि १० साउनसम्म सात दिन चलेको थियो । बैठकमा प्राप्त सुझाव, आलोचनालाई ग्रहण गर्ने र १० वटा प्रस्तावलाई समेटेर निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री शर्माले अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको बताए । जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिनेसमेत उनको भनाई छ ।

देउवा खुसी
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो खासै आलोचना नभएकोप्रति खुसी व्यक्त गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकको अन्त्यमा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा लामो छलफल भएको तर बैठकमा आफ्नो त्यति धेरै आलोचना नभएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

सभापति देउवाले भने, ‘सबैलाई धेरै धेरै धन्यवाद छ । मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन । त्यसका लागि खुसी लागेको छ ।’ उनले बैठकलाई प्रत्यक्ष प्रसारण गर्दा कांग्रेसमा कोहीभन्दा कोही कम रहेनछ भनेर सबैलाई प्रष्ट भएको जिकिर गरे । ‘वास्तवमा हामीले धेरै विषयमा जीवन्त किसिमको छलफल गरेका छौँ,’ उनले भने, ‘आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर सबैलाई प्रष्ट भएको छ ।’

सभापति देउवाले सबै शहीदहरूप्रति सम्मान व्यक्त गरेका छन् । ‘देशभरिबाट धेरैको योगदानबाट पार्टी यो ठाउँमा पुगेको छ । पार्टीले सबैप्रति सम्मान गर्दछ । पार्टी र देशलाई योगदान पुर्‍याउने सबै व्यक्तिहरूलाई हाम्रो सम्मान छ । पार्टीलाई विशेष सहयोग पुर्‍याउने व्यक्तिहरूलाई हामीले पार्टी कार्यालयमा फोटो राखेर पनि सम्मान गर्नुपर्छ,’ सभापति देउवाले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस